
पाल्पा । जिल्लाका किसान संगठित अखिल नेपाल किसान महासङ्घ पाल्पाले बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग गरेको छ ।
महासङ्घले जिल्लाका स्थानीय सरकारलाई आगामी बजेटमा किसानहरुलाई पर्याप्त मात्रामा रासायनिक मलखादको व्यवस्था हुनुपर्ने, गुणस्तरीय विउ विजनको व्यवस्था घरदैलोमा गर्नुपर्ने, न्युनतम १५ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने जस्ता कार्यक्रम बजेटमा राख्नुपर्ने माग गरेको हो ।
महासङ्घले घोषणा पत्रमार्फत स्थानीय सरकारलाई आगामी बजेटमा किसानमैत्री कार्यक्रम ल्याउन भनेको छ । महासङ्घले ३८ बुँदे मागहरु सार्वजनिक गर्दै कार्यान्वयन गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको छ ।
महासङ्घले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ, पुँजी, प्रविधि र आधुनिक ज्ञान सीपलाई किसानको घरदैलोमा उपलब्ध गराउन माग गरेको छ । कृषकलाई संरक्षण गर्न अनिवार्य रुपमा कृषि तथा पशु बिमा निःशुल्क गर्ने सुनिश्चिता गर्न सुझाव दिएको छ ।
महासङ्घले किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी किसान परिचयपत्रको व्यवस्था गरी उक्त कार्डका आधारमा राज्यबाट पाउने सेवा सुविधाहरुको सुनिश्चित गर्न माग गरेको छ । किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बेच्नका लागि राज्यका तर्फबाट सरल, सहज, व्यावसायिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । यसैगरी सम्पूर्ण कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै उक्त मूल्य किसानले अनिवार्य पाउने गरी खरिदको सुनिश्चितता हुनुपर्ने माग महासङ्घको छ ।
महासङ्घ पाल्पाकी अध्यक्ष लक्ष्मी खनालले देशको सम्मृद्धि कायम गर्न, देशमा आयआर्जन बढाउन, कृषि उत्पादनमा आत्मनिर्भर बन्न ३८ बुँदाहरु कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीयतहमा कृषकहरुलाई आत्मनिर्भर हुने गरी कृषिक्रान्ती दशक घोषणा गरी नीति नियम तथा कार्यक्रम बजेट ल्याउनु पर्ने, कृषि अनुदानलाई उत्पादनको आधारमा दिने गरी नीति कार्यक्रम ल्याउनुपर्ने, कृषि उत्पादनमा वन्यजन्तुको नियन्त्रण गर्ने विधि ल्याई कार्यान्वयन हुनुपर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम लागु गर्नुपर्ने, कृषि भुमिमा कर छुटको व्यवस्था हुनुपर्ने, वडा वडामा कृषि प्राविधिकहरुको व्यवस्था गरी कृषकहरुको घरदैलोमा सेवा दिनुपर्ने, कृषि औजारमा ७५ प्रतिशत छुट दिनुपर्ने, रैथानेवाली प्रवद्र्धन गर्नुपर्ने लगायतका माग कार्यान्वयन गर्न अध्यक्ष खनालले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच