उपवासको शब्दिक अर्थ हो अनशन, दिनभर वा अहोरात्र भोजन नगर्ने अवस्था, केही पनि नखाइकन व्रत बस्ने काम र निराहार आदि । शारीरिक, आर्थिक, धार्मिक र राजनीतिक आदि विभिन्न कारणले उपवास गरिन्छ । प्राकृतिक चिकित्सामा उपवासको सम्बन्ध शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यसँग सम्बन्धित छ । प्राकृतिक चिकित्सामा उपवास चिकित्सालाई अत्यन्तै प्रभावकारी र सफल चिकित्सा विधि मानिन्छ । तसर्थ प्राकृतिक चिकित्सामा उपवासको महत्वपूर्ण स्थान छ । यो चिकित्सा अत्यन्तै प्रभावकारी चिकित्साभित्र पर्छ । उपवास चिकित्सा शरीरको विशेषतः पाचन प्रणालीलाई पूर्णविश्राम दिने र शरीरमा जम्मा भएको विषाक्त वस्तु निष्काशन गर्ने सिद्धान्तको प्रयोगात्मक विधि हो ।
पूर्णविश्रामअन्तर्गत पाचन प्रणालीलाई विश्राम, मानसिक विश्राम, शारीरिक विश्राम र आध्यात्मिक विश्राम आदि पर्छन् भने पाचन प्रणालीलाई विश्राम दिने उपचार पद्धतिलाई उपवास चिकित्सा भनिन्छ । उपवास चिकित्सालाई व्रत चिकित्सा र निराहार चिकित्सा पनि भनिन्छ । प्रसिद्ध प्राकृतिक चिकित्सक डाक्टर लुइकुनेका अनुसार सबै रोगहरूको उत्पत्तिको एउटामात्र कारण हुन्छ, त्यो हो शरीरमा विजातीय द्रव्य एकत्रित हुनु । विजातीय द्रव्य नामको विषाक्त तत्व शरीरमा जब एकत्रित हुन्छ यो नै शरीरमा अनेकौं रोगहरूको कारण बन्छ । त्यसैको परिणाम हो शरीरमा विभिन्न प्रकारका रोगको उत्पत्ति । प्राचीन चिकित्सा विज्ञानका लेखक प्लुलार्कले लेखेका छन् कि दवाई सेवन गर्नुभन्दा एक दिनको उपवास स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ ।
औषधिविहीन चिकित्सा संसारमा भिन्न तर प्रभावकारी र विश्वसनीय पद्धति हो । उपवास जुनसुकै कारणले बसे पनि त्यसबाट शारीरिक अवस्था र स्वास्थ्यलाई समान प्रभाव पार्छ । अर्थात् उपवासले अन्ततः पार्ने सकारात्मक प्रभाव भनेको नै पाचनतन्त्रलाई आराम र विजातीय द्रव्यको तीव्र निष्काशन प्रक्रियाको सुरुवात हो ।
औषधिविहीन चिकित्सा संसारमा भिन्न तर प्रभावकारी र विश्वसनीय पद्धति हो । उपवास जुनसुकै कारणले बसे पनि त्यसबाट शारीरिक अवस्था र स्वास्थ्यलाई समान प्रभाव पार्छ । अर्थात् उपवासले अन्ततः पार्ने सकारात्मक प्रभाव भनेको नै पाचनतन्त्रलाई आराम र विजातीय द्रव्यको तीव्र निष्काशन प्रक्रियाको सुरुवात हो । शरीरमा खानपिनको अनुशासनहीनताले उत्पन्न हुने विषाक्त पदार्थ र शरीरमा विकसित टक्सिनलाई शरीरबाट निष्काशन गरेर शरीलाई स्वास्थ्य बनाउने प्रभावकारी विधिको नाम हो उपवास । त्यसैले प्राकृतिक चिकित्साअन्तर्गत उपवास चिकित्सालाई विश्वमा नै सफल चिकित्सा र प्रभावकारी चिकित्सा विधाका रूपमा स्वीकार गरिन्छ ।
भनिन्छ, रोगकको उत्पत्ति खान नपाएर होइन खान नजानेर हुन्छ । रोगीहरूको अवस्थाको अध्ययनबाट के निष्कर्षमा पुग्न सकिन्छभन्दा विश्वमा खान नपाउने मानिसभन्दा खान नजान्ने मानिस रोगबाट संक्रमित भएको धेरै उदाहरण छन् । संसारमा खान नपाएरभन्दा मानिस खान नजानेर रोगी हुनेहरूको संख्या अत्यधिक छ । गरिबभन्दा धनीहरू संख्यात्मक रूपमा बढी रोगी भएको हुनाले यसको पुष्टि हुन्छ । तसर्थ राज्यले नागरिकहरूलाई स्वस्थ राख्न प्रारम्भिक तहको शिक्षादेखि उच्च तहको शिक्षाका पाठ्यक्रममा समेत खाद्य पोषण शिक्षाको पठनपाठन अनिवार्य गर्नुपर्छ । मानिस विद्वान छ तर ऊ स्वस्थ्य छैन भने त्यसको अर्थ छैन । त्यसैले राज्यको, समाजको र व्यक्ति स्वयंको सर्वाधिक प्राथमिकतामा स्वास्थ्य पर्नुपर्छ ।
स्वस्थकर जनशक्तिको आपूर्ति व्यवस्था मिलाउन स्वास्थ्य, खानपिन र स्वस्थ जीवनशैलीप्रति सचेतना विस्तारमा राज्यको विशेष ध्यान जान अनिवार्य छ । नागरिकहरू उद्यमशील, क्रियाशील हुन मानसिक र शारीरिक स्वास्थको व्यवस्था भरपर्दाे गर्न असफल राष्ट्रहरू विकास र प्रगतिको क्षेत्रमा असफल छन् । त्यसैले राज्यको आर्थिक पूर्वाधारको आधारस्तम्भ नै गुणस्तरीय, भरपर्दो साथै सुलभ स्वास्थ शिक्षा र स्वास्थ व्यवस्था हो । जहाँ सुलभ, गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध छैनन् ती देश आर्थिक प्रगतिमा असफल भएको हुनाले आर्थिक पूर्वाधारको पूर्वशर्त हो गुणस्तरीय स्वास्थ्य सुविधा । गुणस्तरीय स्वास्थ्य सुविधाको भरपर्दो र औषधिको प्रयोग नहुने हुनाले यो पाश्र्वप्रभावबाट मुक्त विधा हो प्राकृतिक चिकित्सा विधामा आधारित उपवास चिकित्सा । उपवास चिकित्साको सिद्धान्तलाई सबै शरीर विज्ञानका शास्त्रवेत्ताहरूले पनि स्वीकार गर्दछन् र उपवास चिकित्साको उपयोगितालाई सहस्र स्वीकार गर्दछन् ।
शरीरबाट विजातीय द्रव्यको प्रभावकारी निष्काशन यस्तो विधि र प्रविधि हो जसले समग्र शरीरलाई रोगमुक्त गर्छ । रोगाणुलाई निष्काशनको समुचित र नियमित प्रबन्धबाट मात्र शरीरलाई स्वस्थ्य र मस्तिष्कलाई उन्नत राख्न मद्दत गर्छ । त्यसैले प्राकृतिक चिकित्सा विधामा उपवास चिकित्सालाई प्राथमिकता दिइन्छ । शरीरबाट विषाक्त वस्तुको निष्काशन नै प्राकृतिक चिकित्सामा शरीरलाई स्वस्थ्य राख्ने र जीवनी शक्तिमा वृद्धि गर्ने अचुक विधि हो । उपवासको समयमा शरीरबाट विजातीय द्रव्य निष्काशन गर्न र शरीलाई स्वस्थ्य राख्ने प्रक्रिया स्वतः प्रभावकारी रूपमा क्रियाशील हुन्छ । उपवासको समयमा शरीरको सम्पूर्ण जीवनी शक्ति रोगलाई शरीरबाट निष्काशन गर्ने प्रक्रियामा प्रभावकारी ढंगबाट लाग्छ ।
उपवासको महत्वपूर्ण प्रभाव भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनु हो । रोग प्रतिरोधात्मक क्षमताले रोगीलाई निरोगी हुन सहयोग गर्छ भने निरोगीहरूको शरीरमा रोग प्रवेश गर्ने सम्भावनालाई टार्छ । तसर्थ उपवास चिकित्सा रोगी र निरोगी दुबैका लागि उत्तिकै प्रभावकारी चिकित्सा मानिन्छ ।
फलस्वरूप हाम्रो स्वस्थ्यमा सुधार हुन्छ र शरीरमा शक्ति वृद्धि हुन्छ । प्रमाणद्वारा यो सिद्ध भएको छ कि जब महामारी फैलन्छ त्यसबेला गरिब र भोकै बस्ने बहुसंख्यक बाँच्छन् र खातापिता अर्थात् धनीहरू धेरैको संख्यामा मृत्यु वरण गरेका थुप्रै उदाहरण छन् । खान नपाएर होइन खान नजानेर मानिस धेरै रोगी हुने गर्दछन् । शारीरिक शुद्धिका लागि सप्ताहमा एक दिनको उपवासलाई प्राकृतिक चिकित्साले उत्तम र प्रभावकारी मान्दछ । हाम्रा धर्मशास्त्रमा पनि एकादशी, औंसी, पूर्णिमा, नवदुर्गा, मकर संक्रान्ति जस्ता थुप्रै तिथिमितिमा उपवासको नियम छ । धर्मलाई हाम्रा पूर्वीय शास्त्रले स्वास्थ्यसँग एकाकार गरेको पुष्टि हुन्छ ।
उपवास चिकित्सामा शरीरको शक्ति आन्तरिक शुद्धिमा लाग्ने भएकोले शरीरको पाचन यन्त्रलाई आराम मिल्दछ । उपवासबाट हुने उपचारमा केवल कागतीपानीको प्रयोग हुन्छ । उपवासको बेलामा महपानी र कसैकसैले फलफूल र दूधमात्रैको उपवास गर्ने प्रचलन पनि छ । यो सम्बन्धित व्यक्तिको शारीरिक अवस्थामा भर पर्छ । उपवासका आफ्नै विधिविधान छन् । प्राकृतिक चिकित्साबाट स्वास्थ्य लाभ गर्न र शरीरमा विकसित विजातीय द्रव्य र टक्सिन आदिको निष्काशन गर्न यसका विधिको पू्र्णतः पालन गर्नु अनिवार्य हुन्छ । प्राकृतिक चिकित्साको अर्को नाम अनुशासित जीवनयापनको कला र विज्ञान दुबै हो ।
उपवास चिकित्सा प्राकृतिक चिकित्सामा आकाश तत्वको शुद्धिको लागि गरिने चिकित्सा पद्धति हो । प्रकृतिमा रहेका जीवजन्तु, बोटबिरुवा आदिले कुनै नकुनै रूपमा उपवास प्रक्रियालाई अवलम्बन गर्दछन् र जीवनमा स्वस्थ्य हुने प्रयत्न गर्दछन् । प्रकृतिमा सबै जीवधारीलाई उपवासको आवश्यकता हुन्छ किनकि उपवास रोग मुक्तिका लागि प्रबल र भरपर्दो साधना पद्धति हो । उपवास कालमा शरीरको सम्पूर्ण ऊर्जा शक्ति रोगलाई विभिन्न तरिका र मार्गबाट भगाउन भगीरथ प्रयत्नमा रहन्छ । परिणामस्वरूप शरीर निरोगी र शक्तिशाली हुन्छ । उपवासको सम्बन्ध शरीरको सम्पूर्ण विकाससँग छ । आहारालाई बर्जित गरेर आहारातन्त्रलाई पूर्णरूपमा आराम दिने क्रिया र प्रक्रियालाई उपवास भनिन्छ ।
उपवासको अर्थ आफैंमा केन्द्रीकृत हुनु हो । जसको अर्थ दृढ निश्चयका साथ संकल्पप्रतिको दृढता र प्रतिबद्धता हो । दृढ निश्चयपूर्वक शरीर एवं आत्मषोधनद्वारा स्वास्थ्यप्राप्तिको प्रयत्नलाई उपवास भनिन्छ । उपवासबाट शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक स्वच्छता प्राप्त हुन्छ । परिणामस्वरूप शरीर स्वतः स्वस्थ हुन्छ । मनभित्रका कुविचार, दुर्भावना आदिलाई हटाउन पनि उपवास सबैभन्दा उत्तम उपचार मानिन्छ । आचार्य श्रीराम शर्माले उपवासलाई पाँच प्रकारले विभाजन गरेका छन् । पाचक, शोधन, शामक, आनक र पावक आदि । पाचक उपवास त्यो उपवास हो जसले सबै प्रकारको कब्जियत, अजिर्णता, कोष्ठबद्धतालाई निर्मूल गरेर शरीरलाई स्वस्थ बनाउँछ । शोधन उपवासले शरीरको जठराग्नीलाई पुनः प्रज्ज्वलित गरेर रोगलाई नष्ट गर्छ । कुविचार, मानसिक दुर्भावना, नकारात्मक चिन्तन, चित्तवृति, मानसिक दुष्प्रवृति एवं विकृत चिन्तन र सोचलाई मन मस्तिष्कबाट हटाउन शामक उपवासले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । दैवी शक्तिलाई प्रशन्न र आकर्षित गर्न र वरदान प्राप्त गर्ने हेतुले देवीदेवताको पूजन गर्न गरिने उपवासलाई ‘आनक’ उपवास भनिन्छ । ‘पावक’ उपवास विशेषतः पापको प्रायश्चित्तका लागि गरिन्छ । यसमा सच्चा हृदयले प्रभुसँग क्षमा याचना गरिन्छ ।
प्राकृतिक चिकित्सामा उपवास एउटा प्रमुख उपचार विधि हो । यो विधिबाट उपचार गर्दा भोजन र पेय पदार्थसमेत बर्जित हुन्छन् । उपवासले शरीरलाई डिटक्स गर्न, पाचन क्रियालाई विश्राम दिएर विषाक्त वस्तुलाई निष्काशन गरेर शरीरलाई रोगमुक्त गर्न मद्दत गर्छ । उपवासलाई विशेषतः मधुमेह, उच्च रक्तचाप आदि धेरै रोग निको पार्ने विधिको रूपमा प्राकृतिक चिकित्साले उपयोग गर्दै आएको छ । उपवासले शरीरलाई आराम दिन्छ । परिणामस्वरूप तनाव र चिन्ता आदिको स्वतः उपचार हुन्छ । उपवासको महत्वपूर्ण प्रभाव भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनु हो । रोग प्रतिरोधात्मक क्षमताले रोगीलाई निरोगी हुन सहयोग गर्छ भने निरोगीको शरीरमा रोग प्रवेश गर्ने सम्भावनालाई टार्छ । तसर्थ उपवास चिकित्सा रोगी र निरोगी दुबैका लागि उत्तिकै प्रभावकारी चिकित्सा मानिन्छ । उपवासले शरीरमा जम्मा भएको विषाक्त पदार्थ अर्थात् टक्सिनजन्य वस्तुहरूलाई निष्काशन गर्ने हुँदा यो उपचार सबैका लागि फलदायी र प्रभावकारी हुन्छ ।
उपवास विभिन्न प्रकारका हुन्छन् । पानी : उपवासअन्तर्गत पानीमात्रै पिउने अनुमति हुन्छ । रस : उपवासमा फलफूल र हरियो सागपातको रस आदि पिउने अनुमति हुन्छ भने आहारा उपवासअन्तर्गत पूर्णतया सीमित मात्रामा तोकिएको खाद्य पदार्थको सेवनको अनुमति हुन्छ । प्राकृतिक चिकित्सामा हुने उपवास चिकित्सा सम्बन्धित विशेषज्ञ डाक्टरको सल्लाह र निर्देशनमा हुन्छ । उपवासको अनुभव नहुनेले डाक्टरको सल्लाहविना उपवासमा बस्नु खतरनाक हुनसक्छ । तसर्थ उपवास चिकित्सामा उपवासको विधि र प्रक्रियाको पूर्णपालना अनिवार्य शर्त हो । यस्तो चिकित्सा प्राकृतिक चिकित्सा विधाका विज्ञ र विशेषज्ञको निर्देशन र निगरानीमा हुन अनिवार्य हुन्छ । उपवासको समयमा पर्याप्त तरल पदार्थको सेवन अनिवार्य हुन्छ ।
उपवासको समयमा शरीर साथै मस्तिष्कसमेतलाई आरामको समुचित प्रबन्ध गर्नुपर्छ । उपवासमा दैनिक काम र व्यवहारबाट पूर्णआराम लिनुपर्छ । उपवास शरीर शुद्धीकरणको साधना हो । तसर्थ उपवासको समयमा शरीर र चित्तलाई आराम अनिवार्य हुन्छ । उपवासको सुरुवात र अन्त्य दुबैका निश्चित विधि र विधान छन् । तिनीहरूको पालनाविना हुने उपवास फलदायी हुँदैन । उपावासको अन्त्य गर्दा बिस्तारै तरल पदार्थ, फलफूलको रस, तरकारी तथा हरियो सागपातको रस जस्ता रस आहारा हुँदै क्रमिक रूपमा सीमित अन्न उपभोग गर्नुपर्छ । उपवास प्रारम्भ र अन्त्य गर्ने निश्चित विधिको यदि उचित पालना हुनसकेन भने उपवासले फाइदाभन्दा हानि हुने सम्भावनाको विषयमा उपवास बस्ने जोकोही सचेत र अनुशासित हुन अनिवार्य हुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच