
प्राकृतिक विपत् विश्वका लागि ठूलो टाउको दुखाइ र चिन्ताको विषय बन्न थालेको छ । विशेषगरी पछिल्लो समय नेपालले प्राकृतिक विपत्का घटना भोगिरहेको छ । सार्क राष्ट्रका भारत, पाकिस्तान, चीन, नेपाल, श्रीलंका, भुटान, मालदिभ्स जस्ता मुलुकहरू अति जोखिम क्षेत्र भए पनि जोखिम न्यूनीकरणको दिशामा खासै चासो नदेखाउँदा वर्षेनी मानवीय र अर्बाै डलरको आर्थिक नोक्सानी झेल्दै आएका छन् ।
हुम्लाको तिलगाउँमा वर्षाबिनै आएको बाढी यसको पछिल्लो उदाहरण बनेको छ । गत बिहीबार राति हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँमा बिना वर्षा एकाएक लेदोसहितको बाढी आएर ठूलो क्षति पुर्याएको छ । यसले प्रकृतिमा हुने अनेक प्रकारका आश्चर्यजनक घटनाको स्मरण गराएको छ । राजधानी काठमाडौंमा यस्तै मानवीय कारणले वा प्राकृतिक कारणले प्रकृतिको सन्तुलनमा खलल् भइरहेको विषयमा आधारित भएर अन्तर्राष्ट्रिय सहभागिता समेतमा ‘सगरमाथा संवाद’ कार्यक्रम भइरहेको थियो । त्यही बेला हुम्लामा यस्तो आश्चर्यलाग्दो घटना भएको छ ।
केही समय पहिले सोलुखुम्बुको थामे गाउँमा पनि यस्तै प्रकारको घटना भएको थियो । उक्त गाउँमा पानी नपरेको बेला एकएक लेदोसहितको पहिरो आएर ठूलो क्षति पु¥यायो । विज्ञहरूबाट यसको अनुसन्धान भयो तर यसको यकिन निष्कर्ष आउन सकेन । धेरै टाढा कतै मानवपहुँच बाहिर हिमताल फुटेर यस्तो भएको हुनसक्ने सम्भावित निष्कर्ष निकालियो । यस्ता अनेकौं खालका घटनाहरू बेला बेलामा हुँदै आएका छन् । यिनका कारण र परिणामहरू भने फरकफरक हुन सक्छन् । हेटौंडामा सडकमै गाडी भासिएर हराएको घटना पनि नौलो नै हो । उक्त गाडीको खोजीका लागि पनि विज्ञहरूको टोली नै खटाउनु पर्यो । तैपनि यसको उचित निराकारण अझैसम्म हुनसकेको छैन ।
यस्ता विशुद्ध प्राकृतिक घटनामा कतिपय मानिसहरूले दैवी चमत्कार पनि देख्ने गर्छन् तर यसो हुनुमा कुनै न कुनै भौतिक कारण नै जिम्मेवार रहेको हुन्छ । कुनै ठाउँमा पानी नपरिरहेको अवस्थामा पनि कुनै खोलानाला तथा नदीहरूको मुहानतिर पानी परेर वा हलचल पैदा भएर जाँदा यस्ता घटना हुनपुग्छन् । नेपालका प्रायः नदीहरूको शिर हिमाल भएका कारण ती नदीहरूका मुहानतिर हिम नदीमा खलल् आउनाले र हिमतालहरू फुट्नाले त्यसभन्दा तलका नदी किनाराका ठाउँ नराम्ररी प्रभावित हुनपुग्छन् । नदी किनाराका बस्तीहरू बाढी तथा पहिरोका कारण प्रभावित बन्छन् । हालै हुम्लामा भएको घटना यस्तै प्रकारको हो भन्न सकिन्छ । यसका कारण र परिणाम पुरानै घटनाहरूको पुनरावृत्ति नै हो ।
सोलुको थामेको घटनामा पनि यस्तै प्रकारको निष्कर्ष निकालिएको थियो । तलका बस्तीहरूमा पानी नपरेको अवस्थामा पनि माथि शिरोस्थानतिर पानी परिरहेको अवस्थामा माथिको भल, बाढी र पहिरोहरू तल बगेर आउनाले घाम लागिरहेको वा पानी नपरेको बेलामा पनि यस्तो हुने गरेको पाइएको छ । सामान्यतया पहिरो बर्खाको समयमा जाने गर्छ तर कहिलेकाहीँ हिउँदको समयमा पानी नपरेको बेलामा पनि सुख्खा पहिरो जाने गर्छ । यस्तो सम्भावना बर्खामा भन्दा कम हुन्छ । जमिनमा हुने थर्थरावट वा हलचलका कारण यस्तो हुनसक्छ । यस्तो अवस्था पनि अनपेक्षित घटना नै हो । एकडेढ दशक पहिले पोखराको सेती नदीमा मध्यदिनमै टन्टलापुर घाम लागिरहेको बेलामा ठूलो बाढी आएको थियो ।
बगरमा बालुवा झिक्दै गरेका र पौडी खेलिरहेका केही मानिसहरू उक्त बाढीमा परेर मृत्यु वरण गर्न बाध्य भएका थिए । त्यस घटनाको कारण खोज्ने क्रममा पनि विज्ञहरूले यसको मुहानतिर कतै हिमताल फुटेर यस्तो घटना भएको हुनसक्ने निष्कर्ष निकालेका थिए । हाम्रोमा यस्ता सम्भावनाको पूर्वजानकारी गराउने संशाधन कमजोर छ । सम्भावित घटनाको पूर्वसंकेत गर्न सकेको पाइँदैन । कुनै ठाउँमा यस्ता सम्भावित घटनाको पूर्वसंकेत गर्नसक्ने प्रविधिको विकास हुनसकेको भए यस्ता घटनाहरूबाट ठूलो क्षति हुन पाउने थिएन । भौतिक सम्पत्तिका साथै मानिस र अन्य घरपालुवा जनावरहरूको ठूलो क्षति हुनबाट जोगिन सक्ने थियो । दोलखाको च्छोरोल्पा हिमताल फुट्ने हल्ला चलेपछि त्यसमा साइफन जडान गरेर पानी फाल्ने र तामाकोशी नदी किनाराका बस्तीहरूमा साइरन जडान गरेपछि त्यहाँ त्यस्तो घटना हुन पाएको थिएन ।
यस्ता जोखिमका सम्भावना भएका ठाउँहरूमा यस्ता प्रयास हुनुपर्छ । त्यतिमात्र होइन क्षति हुनबाट जोगाउने मात्र नभएर घटना भइसकेपछि उद्दारका कार्यका लागि पनि यस्तो प्रविधिको उपयोग ज्यादै महत्वपूर्ण मान्न सकिन्छ । सरकारले यस्ता प्रविधितर्फ पहुँच विकास गर्न सक्ने हो भने यस्ता घटनालाई न्यूनीकरण गर्न सजिलो हुनेथियो । बेलाबेलामा दोहोरिइरहने यस्ता अनपेक्षित घटनालाई मध्यनजर गरेर सम्भावित जोखिमपूर्ण स्थानमा यस्ता प्रविधि वा उपकरण राख्ने प्रयत्न हुनुपर्ने आवश्यकता छ । हालको राज्यप्रणाली अनुसार सरकार तीन तहको हुने व्यवस्था छ । केन्द्रीय वा संघीय सरकारले यस्ता सबै ठाउँमा यस प्रकारका कार्य गर्नका लागि दृष्टि पु¥याउन सक्ने सम्भावना नभए प्रदेश सरकार तथा स्थानीय सरकारहरूले नै पनि आफ्नो स्रोत र साधनबाट यस प्रकारको उपकरण राख्न वा प्रिविधिको विकास गर्न सक्ने हो भने पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारीले पनि यस घटनाको अध्ययन विज्ञहरूको टोलीले गर्ने बताउनुभएको छ । प्रतिपक्षी दलका नेताहरूले जलवायु परिवर्तनको बहसलाई राजधानी केद्रितमात्र गर्नुहुँदैन भन्ने प्रतिक्रिया दिनुभएको छ । यस्ता प्राकृतिक प्रकोपका घटनामा सरकरा र प्रतिपक्षले एकले अर्काको विरोध गर्नेभन्दा पनि सही सल्लाह र सुझावहरू दिएर समाधानको उचित मार्ग पहिल्याउन आवश्यक छ । यसतर्फ प्रदेश तथा स्थानीय सरकारले पनि चासो राख्नुपर्छ । अहिलेसम्म भएका घटना र तिनले पुर्याएको क्षतिको पूर्ति गर्न अब कसैले पनि सक्दैन तर अब त्यस प्रकारको क्षति नहोस् भनेर सावधानी भने सबैले अपनाउन सकिन्छ । त्यसैले वातावरण संरक्षणमा जति ढिलाइ ग¥यो उति चुनौती थपिनेछ । अतः यसतर्फको चासो र चिन्तन सबैको साझा विषय बन्नुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच