काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनदेखि नेपालमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । यसपालि प्री-मनसुनमा मे पहिलो दिनदेखि नै पहाडी क्षेत्रहरूमा केही दिनबाहेक छिटफुट नै भए पनि पानी परिरहेको छ र यो क्रम आगामी एक हप्तासम्म चल्ने देखिन्छ । पानी पर्ने अवधि र मात्रामा आएको फेरबदलले प्री-मनसुनकै वर्षातले विपद् निम्त्याएको जलवायु विज्ञ बताउँछन् । उनीहरूका अनुसार पानी पर्ने समय घटेको छ । तर, मात्रा बढेको छ । विभागका अनुसार यसवर्ष प्री-मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा भइसकेको छ । प्री-मनसुनमा मात्रै होइन यस वर्षको मनसुन अवधिमा पनि सरदरभन्दा बढी वर्षा भएको विभागको प्रक्षेपण छ । चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनुभयो । यसपालि स्थानअनुसार देशभर ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । वर्षा राम्रो हुँदा बालिनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने गर्दछ । विज्ञहरूका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्दछ । यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण, मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोग एवं विपद उद्धार तथा राहतको तयारी आवश्यक देखिएको उनीहरूको भनाइ छ ।
गर्मी र जाडो पनि धेरै हुने
यो वर्ष गर्मी र जाडो पनि धेरै हुने भएको छ । यस वर्षको मनसुन अवधिको अधिकतम् तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ । स्थानअनुसार देशभरको तापक्रम ५५ देखि ६५, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशत हुने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रम पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना विभागले जनाएको छ । कर्णाली र बागमती प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको मध्य भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशको तराई भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको दक्षिण-पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भूभाग र कोशी प्रदेशको उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ ।
कहिलेदेखि भित्रिन्छ मनसुन ?
जुनको पहिलो हप्ता भने सुक्खा हुने पूर्वानुमान गरिएको छ, जुन दोस्रो साता वर्षा हुने भए पनि तराई क्षेत्रमा अपेक्षाकृत रूपमा पानी पर्ने सम्भावना नरहेको विभागको अनुमान छ । जुनको १३ देखि १५ को बीचमा बंगालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन पूर्र्वी नेपालको झापा हुँदै प्रवेश हुने पूर्वानुमान छ । यस वर्ष औसतभन्दा ५ देखि १० प्रतिशतभन्दा बढी मनसुनी वर्षात् हुने अनुमान गरिएको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने मनसुन भित्रिनेबारे यकिन पूर्वानुमान गरिसकेको छैन । ‘अहिले प्री-मनसुन नै चलिरहेको छ, यो नसकिएसम्म मनसुन सुरुवात हुँदैन, कहिले प्रवेश गर्छ भन्ने अहिले भन्न सकिँदैन,’ मौसमविद् ढकालले भन्नुभयो । तर, यस वर्ष अप्रिलमा पूरै सुक्खा खडेरी लागेको भए पनि मे लागेपछि भने देशैभर बादल लाग्ने, पानी पर्ने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम चलिरहेको मौसमविद् डेबिड ढकालले बताउनुभयो ।
यद्यपि, सामान्यतया मनसुन जुन १३ मा पूर्र्वी नेपालबाट प्रवेश भएर अक्टोबर २ मा पश्चिम नेपाल हुँदै बाहिरिन्छ । गत वर्ष औसतभन्दा तीन दिनअगावै प्रवेश गरेको थियो । मनसुन नेपाल आउनु भनेको पानीको मात्रा बढी भएको हावा बग्दैबग्दै आउनु हो । त्यो मनसुनी हावाका पनि दुईवटा हाँगा हुन्छन् । एउटा हाँगो सिधा भारतको बीच भागबाट पश्चिमतिर लाग्छ भने अर्को बंगालको खाडीतिरबाट नेपाल भित्रिने गर्दछ । अहिले मनसुनी वायु श्रीलंका आसपास आइपुगेको छ । यो भारतको केरला, सिक्किम हुँदै नेपालको पूर्वी भागबाट भित्रिन्छ ।
औसत ११२ दिन सक्रिय हुने मनसुन सबैभन्दा छोटो ७३ दिन सन् १९७९ मा रेकर्ड भएको थियो भने सबैभन्दा लामो अवधिको १३४ दिन सन् २०२२ मा रेकर्ड भएको थियो । हालसम्म सबैभन्दा चाँडै सन् १९९६ को मे ३१ मा र सबैभन्दा ढिलो सन् १९८२ को जुन २७ मा मनसुन भित्रिएको थियो । सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ मा र सबैभन्दा ढिला सन् २०१४ अक्टोबर १९ मा मनसुन बाहिरिएको थियो । विभागका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा हरेक वर्ष तीन सयभन्दा बढी नागरिकको ज्यान जाने गरेको छ भने दुई सय मिलियन अमेरिकी डलरभन्दा बढीको क्षति हुने गरेको छ ।
अगाडि नै एक्सन लियौँ भने क्षति न्यूनीकरण गर्न सकिन्छ : वरिष्ठ मौसमविद् मानन्धर
८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्का घटना मनसुनको अवधिमा हुने उहाँले बताउनुभयो । वर्षासँगैको बाढीपहिरोले हुने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने उहाँले बताउनुभयो । यो अवधिमा पहिरो-बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुनसक्ने उहाँको भनाइ थियो । मनसुनअगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । ‘१२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्का घटना मनसुनकै बेला हुने भएकाले हामी तयारी भएर बस्नुपर्ने हुन्छ । हामीले अगाडि नै एक्सन लियौँ भने ज्यान र धनको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र दुई सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ । नेपालमा जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ ।
मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पुर्याउनु आजको आवश्यकता : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पुर्याउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम-२०८२’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताउनुभयो । उहाँले ठूलो संख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताउनुभयो । मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गर्नुभयो । उहाँले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिनुभयो । मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । यसैबीच, जल तथा मौसम विज्ञान विभागले बुधबार ललितपुरमा ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ आयोजना गरेर मौसमको प्रक्षेपण सार्वजनिक गरेको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…