काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन सेटिङ प्रकरणमा बयान लिने कार्य प्रारम्भ गरेको छ । भिजिट भिसामा सेटिङ गरेको उजुरी परेसँगै अख्तियारले बुधबार साँझ पक्राउ परेका सहसचिव तीर्थराज भट्टराईसँग बयान लिएको हो । उक्त प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नताको आशंका भएपछि अख्तियारले अनुसन्धानलाई तीव्र बनाउँदै बयान कार्य अगाडि बढाएको हो । प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म लिएर युवालाई भिजिट भिसामा विदेश पठाउने गरिएको उजुरीपछि अख्तियारले बुधबार विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेको थियो । भट्टराईमाथि मुख्यतया दुबई लगायतका मुलुकमा यात्रा गर्न चाहने नेपाली नागरिकहरूलाई भिजिट भिसा सहज गरिदिने नाममा ठूलो रकम असुलेको आरोप छ । भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत हुनुहुन्थ्यो । उहाँविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी परेपछि मंगलबार नै मन्त्रालय तानिनुभएको थियो । त्यसलगत्तै बुधबार अख्तियारले उहाँलाई नियन्त्रणमा लिइएको थियो ।
बिहीबार प्रारम्भिक चरणको बयान सकिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । ‘यो विस्तृत अनुसन्धानमा गएको विषय हो । भट्टराईसँग हामीले प्रारम्भिक चरणको बयान लिएका छौँ । यसमा अन्य व्यक्तिको संलग्नताको विषयमा पनि अध्ययन गरिरहेका छौँ । अहिले हामी अनुसन्धानकै क्रममा छौँ’, आयोग प्रवक्ता पौडेलले भन्नुभयो । उहाँका अनुसार, उपकरण लगायतका केही प्रमाणहरू संकलन भइसकेकाले थुनामा राख्नुपर्ने आवश्यकता नभएको हो । उहाँले भन्नुभयो, ‘रंगेहात घुसको घटना अनि प्रमाण नष्ट गर्नसक्ने अवस्थामा बाहेक कुनै पनि व्यक्तिलाई पक्राउ नगर्ने आयोगको रणनीति नै छ । यसमा अरू केही कर्मचारी र एजेण्टहरू समेत अनुसन्धानको दायरामा छन् । हामी सबैसँग सोधपुछ गर्छौं ।’
अख्तियारले टुप्पोबाटै अपनाएको थियो अनुसन्धानको शैली
अध्यागमन विभागका कर्मचारी र बिचौलियाले दैनिक ४० लाखसम्म असुल गर्ने गरेको सूचना आएपछि अख्तियारले टुप्पोबाटै अनुसन्धान गर्ने शैली अपनाएको छ । अख्तियारका एक अधिकृतका अनुसार तलबाट अनुसन्धान गर्दा तल्लो तहका कर्मचारी आफैँले स्वीकार्ने र माथिसम्म नपुग्ने देखिएपछि माथिबाट अनुसन्धान गर्न थालिएको थियो ।
यसअघि पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८० मंसिरमा अध्यागमनका केही कर्मचारीलाई फर्जी कागजात बनाएर विदेश पठाएको अभियोगमा पक्राउ गरे पनि अनुसन्धान माथिल्लो तहमा पुग्न सकेको थिएन । त्यतिबेला पक्राउ परेका नरवीर खड्कालगायत अधिकारीहरूले सफाइ पाएपछि फेरि ‘सेटिङ’ सुरु भएको बताइएको छ । त्यसवेला सेटिङमा संलग्न अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोले सफाइ पाएका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएका प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, अहिलेको शैलीबाट अनुसन्धान गर्दा भिजिट भिसाको ‘सेटिङ’ ब्रेक हुने र टुंगोमा पुग्नसक्ने अख्तियारका अधिकृतहरू दाबी गर्छन् ।
अध्यागमन विभागका कर्मचारी र बिचौलियाले पर्यटक भिसामा विदेश पठाउने महिलासँग रकम असुल्दा ‘कोडवर्ड’ प्रयोग हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान सुरु गरेको छ र त्रिभुवन विमानस्थलका प्रमुखसहित चार जनाको डिभाइस बरामद गरेको छ । पर्यटक भिसा लगाएर विदेशिनेहरूसँग असुल्न अध्यागमन विभागका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए ।
पर्यटक भिसा लगाएर युएई र कुवेततर्फ जाने महिलालाई अध्यागमनका कर्मचारीहरूले कोड भाषामा ‘एल’ भन्छन् । पुरुषलाई ‘एस’ प्रयोग गरेर रकम असुल्ने गरिएको विमानस्थलका कर्मचारीहरू नै बताउँछन् । अख्तियार प्रवक्ता पौडेलले विमानस्थल घटनाबारे विस्तृत अनुसन्धान सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार जनाबाट डिभाइस बरामद गरेर विस्तृत अनुसन्धान थालेका छौँ ।’
पर्यटक भिसामा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट युएई र त्यहाँबाट कुवेत पठाउँदै आएका छन् । कुवेत पुगेका महिला त्यहाँ घरेलु कामदारका रूपमा रहँदा पीडित भएर फर्किने गरेका प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो ।
गृहमा हलचल मच्चिएपछि तीव्र पारिएको थियो अनुसन्धान
आयोगका एक उच्च अधिकारी ३ दिनअघि मात्र उजुरी आएको बताउँछन् । तर, अख्तियार स्रोतका अनुसार अगाडिदेखि नै सूक्ष्म रूपमा अनुसन्धान भइरहेको थियो । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईमाथि अनुसन्धान केन्द्रित गरेको थियो । तर, सो सूचना चुहिएपछि गृहमा हलचल मच्चियो । र, जेठ ६ मा भट्टराईलाई गृहमन्त्री रमेश लेखकले मन्त्रालय तान्नुभयो । भट्टराईसँगै अरू आठजना नायब सुब्बाहरू पनि मन्त्रालयमा सरुवा भएका छन् । अध्यागमन विभागका एक अधिकृत भन्छन्, ‘सुब्बाहरू पनि कारबाही भोगेका र विवादित पृष्ठभूमिका थिए ।’
सूक्ष्म ढंगले अनुसन्धान अघि बढिरहेका बेला भट्टराईलाई सरुवा गरिएपछि आफूहरू ‘हतारो’मा परेको अख्तियारका अधिकृतहरू बताउँछन् । एक अधिकृतका अनुसार प्रमाण खोज्दै गर्दा हलचल आएपछि अख्तियारले हतारो गरी कारबाही अगाडि बढाएको हो । सहसचिव भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एकजना खगेन्द्र सुवेदीसहित चार जनाको डिभाइस आयोगले बरामद गरेको छ । ती डिभाइसको डिएफएल गरिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । सुवेदी र भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन् । पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु विष्टविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायव सुब्बा पूर्णसिंह विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नामा रहेको प्रतिष्ठानमा नासु पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विष्टले प्रतिष्ठानमा नियुक्ति लिन एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान हुँदा विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जिएनके इण्टरमिडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण-पत्र पेस गरेको पाइएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार विष्टले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा नियुक्ति लिएका थिए । कैद र जरिवाना मागदाबीसहित उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच