नमागिएको सल्लाह :
सगरमाथा संवाद २०२५ काठमाडौंमा सुरु भएको दिन हाम्रो काठमाडौंबाहिर जाने साइत जुरेको थियो । खासै परिचय नभएको समुदायसँग धार्मिक यात्रामा जानु आफैंमा एउटा नौलो अनुभव हो । तीस/पैतीस जनाको समूहमा फरक मनोविज्ञान, बुझाई र आग्रह भएका सहयात्री हुनु अन्यथा होइन । दोलखा जिल्लाको शैलुङ कालापानी क्षेत्र अहिले नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको छ । सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । नयाँ होटेल, रेष्टुरेण्ट बनिरहेका छन् । शनिबार परेकाले आन्तरिक पर्यटकको उपस्थिति राम्रै थियो । जिरिसम्मको यात्रा तय गरी फर्किने क्रममा मुढेबाट शैलुङ कालापानी गएर यात्रालाई सहज बनाइएको थियो । शैलुङको उपल्लो टाकुरामा पुग्न घुँडाको दुःखाइको कारण सम्भव नभए तापनि मोटामोटी रूपमा शैलुङको सेरोफेरो अवलोकन गरियो ।
यो सन्दर्भ जोड्नुको अर्थ हो-सहयात्रीहरूको वातावरण अमैत्री व्यवहार । यात्राका कुनै पनि सहभागीलाई सगरमाथा संवादका बारेमा थाहा थिएन । थाहा नभएको कुरा सामान्य हो । सबैले सबै कुरा थाहा पाउनुपर्छ भन्ने पनि छैन । तर, आफूले गरेको फोहोर व्यवस्थापन गर्नुपर्छ भन्ने चेतनाको कमी र थाहा भए पनि बेवास्ता गर्ने नेपाली बानीव्यहोराका कारण यात्रा अवधिमा हाम्रो टोलीले प्रकृतिमाथि अत्याचार ग¥यो । पानीका सयौं खाली बोतललगायत उत्पादित फोहोर सडक किनारामा फाल्ने काम भयो । दुई वर्षजति अगाडि कालिञ्चोक यात्राका समयमा भाडामा लिएको सार्वजनिक बसमा सवार सहयात्रीले त्यस्तै अत्याचार गरेका थिए । त्यसभन्दा अगाडि पाथीभरा जाँदाको बेलाका माइक्रोका चालकलाई बिन्ती गरेर बास बसेको स्थानको बिसर्जनस्थलमा बिसर्जन गर्न सहमत गराएकोमा मन आनन्दित भएको थियो ।
जलवायुको खतरा बढ्न नदिन पर्वतदेखि टापू राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानि-नोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधनका उपाय खोज्ने, जलवायु, न्याय तथा मानवताको भविष्यका लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउनेलगायत विषयमा सगरमाथा संवाद सम्मेलन केन्द्रित रहृयो ।
नेपालका सबै राजमार्गमा गुड्ने सार्वजनिक सवारीसाधन र अधिकांश निजी सवारीसाधनले दैनिक रूपमा यस्तै मनमौजी तवरले फोहोर बिसर्जन गर्छन्, त्यसमा पनि प्लाष्टिकका पानीका बोतल धेरै हुने गर्छन् । सहजै अनुमान लगाउन सकिन्छ-एक दिनमा बिसर्जन गरिने प्लाष्टिकका बोतलको संख्या नै लाखौं हुन्छ । अरू त के कुरा गेरुवा वस्त्रधारण गर्ने र अभिवादन पनि जय शम्भो, राधेराधे भनेर गर्नेहरूसमेत यसमा गम्भीर नहुनुले उनीहरूको कथित धार्मिकतालाई नै गिज्याइरहेको थियो । तपाईंहरूले गरेको यो कर्म ठूलो पाप हो । प्रकृतिमाथिको अपराध हो । अबदेखि यसो नगर्नुहोस्, भनेर सम्झाउने काम गरियो तर कसैको कानमा बतास लागेको होइन । अरूको त के कुरा भ्रमणकी व्यवस्थापिका जो काठमाडौं उपत्यकाको कुनै पालिकाकी जनप्रतिनिधि थिइन्, उनीसमेत हाम्रो आँखा छलेर फोहोर सडक किनारमा हुत्त पारिदिन्थिन् ।
यसो गर्नेमा सबैजसो आफ्ना छोराछोरीलाई सम्पन्न देशको नागरिक बनाइसकेकाहरू थिए । उनीहरू पश्चिमा पोशाकमा अमेरिका, अष्ट्रेलिया भ्रमण गर्दा चक्लेट छोडाएको प्लाष्टिकको टुक्रो पनि फोहोर बिसर्जन गर्ने स्थल नपाए पर्समा राखेर ल्याउँछन् तर नेपालको विमानस्थलको हावाले छुने बित्तिकै सबैको मति भ्रष्ट भइहाल्ने अनौठो हेलचेक्र्याइँ छ । यस्तो आनिवानी भएका औसत हामी नेपाली भएको देशमा सगरमाथा संवाद २०२५ नामकरण गरिएको वातावरण र प्रकृति जोगाउन चिन्तित भएकाहरूको भेला काठमाडौंमा सम्पन्न भएको छ । अब चर्चा गरौं सगरमाथा संवादका बारेमा ।
सगरमाथा संवाद-२०२५
मे १६, २०२५ शुक्रबारका दिन सुरु भई आइतबार समापन भएको सगरमाथा सम्मेलन केही वर्षअगाडि गर्ने तयारी भए तापनि कोभिड महामारीको कारण रोकिएको थियो । यो संवाद हिमालदेखि टापू राष्ट्रसम्मले सामना गरिरहेको जलवायु परिवर्तनको चुनौतीसँग जुध्न २५ बुँदे आहृवान पत्र (कल फर एक्सन्) जारी गर्दै समापन भएको छ । ‘जलवायु परिवर्तन हिमाल र मानवताको भविष्य’’ मुख्य विषय रहेको सम्मेलनका विभिन्न सत्रहरूमा १२ देशका मन्त्रीस्तरीय प्रतिनिधि १५० भन्दा बढी विदेशी पाहुना, ६१ वटा विकास साझेदार तथा संघसंस्थाका प्रतिनिधिबीच बृहत् छलफल भएको थियो । जलवायुको खतरा बढ्न नदिन पर्वतदेखि टापू राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानि–नोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधनका उपायहरू खोज्ने, जलवायु, न्याय तथा मानवताको भविष्यका लागि आवाज उठाउँने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउनेलगायत विषयहरूमा सम्मेलन केन्द्रित रहेको थियो ।
विश्वव्यापी औसत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने, राष्ट्रिय अनुकूलन योजना विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहायताको वृद्धि र परिचालन गर्न आहृवान गर्ने, विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्ने, पर्वतीय देशको विकासका लागि समर्पित कोष स्थापना गर्ने, दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा सहज पहुँच बनाउन र क्षमता अभिवृद्धि गर्न जस्ता व्यवस्था गरिएको छ ।
यसैगरी विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने, ग्रामीण र शहरी समुदायमा हरित लचिलो र समावेशी विकास प्रवर्धन गर्ने, स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्धन गर्ने, अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिने, तथ्यांक प्रणालीलाई सुधार गरी पूर्वचेतावनी संयन्त्रहरूको विकास गर्ने, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यलाई बढावा दिन र अन्तरपुस्ता समानता कायम राख्दै लैंगिक सन्तुलन कायम गर्ने व्यवस्था पनि यसमा भएका छन् ।
पर्वतीय समुदायको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियामा बुलन्द गर्न बहुसरोकारवाला अन्तर्राष्ट्रिय मञ्चको सिर्जना गर्ने, स्थानीय र आदिवासी समुदायहरूको भूमिकालाई स्वीकार गर्ने, वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्र विकास गर्ने, नवप्रवर्तनकारी वित्त पोषण अपनाउन सक्षम बनाउने, ज्ञानकेन्द्र विकास गर्ने, उत्कृष्ट अभ्यास साझा गर्ने, जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायको भूमिका बढाउने आवश्यकतालाई जोड दिने, सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापूसम्म गुन्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्पहरू २५ बुँदे आहृवानपत्रमा समाविष्ट छन् ।
आहृवानपत्र र यसको कार्यान्वयन
आहृवानपत्र विज्ञ समूहले मिहिनेतपूर्वक तयार गरेका छन् । पढ्दा आनन्ददायक र सुन्दा कर्णप्रिय छन् तर विश्वका सबैभन्दा बढी प्रदूषक चीन, अमेरिका र भारत यसमा कति गम्भीर छन् भन्ने प्रश्न उठेको छ । संयुक्त राज्य अमेरिका पेरिस सम्झौताबाट बाहिरिसकेको छ । चीनले उच्चस्तरको प्रतिनिधिमण्डल पठाएर सामान्य चासो राखेको छ भने भारतले मन्त्रिस्तरीय नेतृत्वमा प्रतिनिधिमण्डल पठाएर औसत चासो राखेको अवस्था छ । सार्वजनिक रूपमा मानवाधिकार र जलवायु न्यायका पक्षमा वकालत गर्ने, नेतृत्व लिने गरेको संयुक्त राज्य अमेरिकाले वातावरण संरक्षणलाई वास्ता नगरेपछि अरूहरूलाई पनि यसप्रति ओठेभक्ति प्रदर्शन गरे पुग्ने भएको छ ।
सगरमाथाको देश नेपालमा यस्तो सम्मेलनको आयोजनाले नेपालको र नेपालीहरूको पर्वतीय क्षेत्रलगायतको वातावरण जोगाउने उत्कट अभिलाषा प्रकट भएको छ । हिमाच्छादित पर्वतमाला काला पहाड बन्नुले पहाड, मधेस र टापू क्षेत्रलाई प्रभावित पार्ने घटना र दुर्घटना हरेक वर्ष देखिरहेका छौं ।
कुराले भोक मेटिँदैन भने जस्तै चुरो कुरो भनेको जलवायु वित्त हो । प्रदूषकहरूले वातावरण संरक्षण गरिदिनेलाई दिनुपर्ने मौद्रिक सहयोग जलवायु वित्त हो । पैसाको मुख कालो भने जसरी यो रकम सकभर दिनु नपरे हुनेथियो भने जसरी प्रदूषक असहयोगी बनिरहेको परिस्थितिमा यो सगरमाथा संवादमा अभिलेखित आदर्श विषय ट्रम्पकालीन द्रव्य पिपाशु विश्वमा कति कार्यान्वयनयोग्य होलान् विचारणीय छ । तर, संयुक्त राज्य अमेरिका मात्र सबै थोक होइन । डोनाल्ड ट्रम्पको बहुलठ्टीपनबाट वाक्क भएका युरोपियन मुलुक पनि आफैं सशक्त बन्न खोजिरहेको सन्दर्भमा अहिलेको विश्व व्यवस्थामा देखिएको अन्यौलको समाधान पनि समयले निकाल्ने नै छ ।
एउटा नेपाली उखान छ नि ‘राजा मरे राज्य हराउँदैन’ भनेजस्तै ट्रम्पको अमेरिका नभए विश्व व्यवस्थाले वैकल्पिक बाटो पहिल्याउने पक्का छ । आशा गरौं- सगरमाथा संवाद २०२५ का गहकिला र सान्दर्भिक आहृवान पनि कार्यान्वयन हुनेछन् । सगरमाथाको देश नेपालमा यस्तो सम्मेलनको आयोजनाले नेपालको र नेपालीहरूको पर्वतीय क्षेत्रलगायतको वातावरण जोगाउने उत्कट अभिलाषा प्रकट भएको छ । हिमाच्छादित पर्वतमाला काला पहाड बन्नुले पहाड, मधेस र टापू क्षेत्रलाई प्रभावित पार्ने घटना र दुर्घटना हरेक वर्ष देखिरहेका छौं ।
सन् २०२४/०२४ मा पूर्वी क्षेत्रमा भएको भारी वर्षाले जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा ६३ मिलियन अमेरिकी डलर बराबर क्षति हुनु, सन् २०२१ मा भारी वर्षाका कारण मेलम्चीमा आएको बाढीले ४९६ मिलियन अमेरिकी डलर बराबरको क्षति हुनु, गतसाल मात्र रोशी नदीमा आएको अकल्पनीय बाढीबाट सडक पूर्वाधारमा पुगेको क्षति, विगत पाँच वर्षमा बढ्दो रूपमा हिमताल फुटिरहेको अवस्था वातावरणीय असन्तुलनका उपज हुन्, सगरमाथा संवाद भइरहेकै समयमा हुम्लामा हिमताल फुटेर पुगेको क्षति पछिल्लो उदाहरण भएको छ ।
पृथ्वीको तापमान बढेको कारण हिमाल पग्लिरहेका छन्, हिमनदीहरू फुटिरहेका छन् । अप्रत्याशित रूपमा आउने बाढी पहिरो सामान्य भएको छ । टापु राष्ट्रहरूको जोखिम बढेको छ । यस्तो प्रतिकूलतालाई नेपालले सगरमाथा संवाद २०२५ आयोजना गरेर सूचित र सतर्क गराएको छ । विश्व समुदाय र क्षेत्रीय शक्तिहरूले यसमा जति छिटो चासो राख्छन् पृथ्वी र मानव जातिको भविष्य त्यसैमा निर्भर गर्दछ । नयाँ पुस्तालाई कस्तो पृथ्वी जिम्मा लगाउने हो, शक्ति र सामथ्र्य भएका र नभएका सबैले विमर्श गरौं ।
सगरमाथाको देश भनेर गौरव गर्ने नेपालीलाई पनि प्रकृतिलाई माया गर्न सिकाएर व्यवहार बदल्नुपरेको छ । यसका लागि चेतना जगाउने एउटा उपाय हो भने बुझेर बुझ पचाउनेलाई चाबुक लगाउन (कानुन बमोजिमको कारबाही) स्थानीय प्रशासन र प्रहरीलाई स्पष्ट निर्देशन दिन र सोको पालना भएको नभएको अनुगमन गर्न अनिवार्य भएको छ । अन्यथा, सगरमाथा संवाद जस्ता अन्तर्राष्ट्रिय सम्मेलनका प्रतिनिधिले हामीलाई गिज्याइरहेका हुनेछन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच