
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी आगामी मौद्रिक नीतिमा नीतिगत सुधारका लागि विभिन्न पाँचबुँदे सुझाव दिएको छ । नाडा अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलसँग भेट गरी नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा विस्तृत रूपमा छलफल गर्दै नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँचबुँदे सुझाव दिएको हो । सो अवसरमा विशेष गरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यावहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताका विषयमा गम्भीर छलफल भएको नाडाले जनाएको छ ।
गभर्नर पौडेलले नाडाका सुझावलाई गम्भीरताका साथ लिइने भन्दै आवश्यक विषयहरूमा छलफल गरी समन्वयसमेत गरिने आश्वासन दिनुभएको छ ।
नाडाले राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसके पनि व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएकाले सम्पूर्ण उद्योग प्रभावित भइरहेको भन्दै नाडाले तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग गरेको छ । त्यस्तै, लोन टु भ्यालु रेसियो(एलटिभी) न्यूनतम ७० प्रतिशत बनाइनुपर्ने जनाएको छ । हालको ५० प्रतिशत सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकाले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टका लागि एलटिभी बढाएर यथार्थपरक स्तरमा ल्याउन नाडाले माग गरेको छ ।
त्यसैगरी डेबिट सर्भिस टु ग्रस इनकम रेसियोमा लचकता ल्याइनुपर्ने बताइएको छ । हालको सख्त डिएसआर नीतिले मध्यम वर्गीय तथा तलब दरमा आधारित ग्राहकलाई ऋण पाउन कठिनाइ भएको भन्दै त्यसमा व्यावहारिक लचकता ल्याउनुपर्नेमा जोड दिएको हो । त्यस्तै, इभी तथा हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याइनुपर्ने पनि नाडाको सुझाव रहेको छ । देशको दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई साथ दिन विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रमहरू आवश्यक रहेको, वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडा बनाइनुपर्ने, ग्राहकलाई निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने वा प्रतिस्पर्धी संस्थामाथि अवरोध सिर्जना हुने व्यवहार रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नुपर्ने पनि नाडाका सुझाव रहेका छन् ।
सो भेटघाट तथा छलफलका क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै अटोमोबाइल उद्योगलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताउनुभयो ।
छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति तय गर्ने विषयमा राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम गर्ने बताउनुभयो । गभर्नर पौडेलले नाडाका सुझावलाई गम्भीरताका साथ लिइने भन्दै आवश्यक विषयहरूमा छलफल गरी समन्वयसमेत गरिने आश्वासन दिनुभयो । उक्त छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय यमुना श्रेष्ठ तथा दिपेन्द्रकुमार मिश्रसमेतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच