
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र कनेक्टिभिटीमा जोड दिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।
‘हाम्रा दुर्ई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउन तदनुसार ब्राण्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ ।’
मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालका लागि ब्राण्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा दुर्ई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउन तदनुसार ब्राण्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ ।’
अध्यक्ष ढकालले बौद्ध पर्यटन प्रवद्र्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने बताउनुभयो ।
ढकालले अर्बौंको लागतमा गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थल हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ । यो कुरा पोखरा विमानस्थलमा पनि लागू हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ ।’
बिआइटिएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको बसाइ लम्ब्याउन र लुम्बिनीलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि मद्दत गर्ने अध्यक्ष ढकालको भनाइ थियो । उहाँले भन्नुभयो, ‘लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्नका लागि उपयुक्त छ । आजको द्रुत गतिको संसारमा धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वास्थ्य पर्यटनका लागि आदर्श शान्त वातावरण प्रदान गर्छ । हामी विभिन्न प्रकारका कल्याणकारी कार्यक्रमहरू विकास गर्न सक्छौं ।’
अध्यक्ष ढकालले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएकाले समीक्षा गर्न आग्रह गर्नुभयो । नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनका लागि गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्दै उहाँले नेपालका सीमावर्ती क्षेत्रहरूमा लगभग १५ करोड भारतीय मध्यम वर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटक नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँमात्र ल्याउन सक्ने प्रावधान परिमार्जन गर्न र अन्य देशबाट आउने पर्यटक जस्तै नेपालमा मान्य हुने पाँच हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै सरकार र निजी क्षेत्रले मिलेर पर्यटनबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्तालाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले लगानी गर्न आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच