
‘विद्यावतां भागवते परीक्षा’ भन्ने भनाइ त प्रचलित नै पाइन्छ । विद्याका सन्दर्भमा भागवतको महत्व अधिक छ । ज्ञानका सूक्ष्मातिसूक्ष्म विषयवस्तुको सटिक प्रयोग भागवतमा उल्लेख भएका छन् । श्रीमद्भागवतमा इतिहास, भूगोल, खगोललगायत अनेक वर्णन पाइन्छन् । भुवनकोशको वर्णन विशेष पाइन्छ । पञ्चमस्कन्धमा वर्णित प्रियव्रतको उपाख्यान भूगोल र खगोलमा आधारित देखिन्छ । पृथ्वीमा किन कतै उज्यालो र कतै अँध्यारो रहन्छ भन्ने जिज्ञासासहित सार्वत्रिक उज्यालो बनाउने सङ्कल्पसहित उनी पृथ्वीको सात परिक्रमा गर्न लाग्दछन् । यसरी उनले पृथ्वीको परिक्रमा गर्दै गर्दा उनको सङ्कल्प पूरा भयो कि भएन भन्ने जिज्ञासको उत्तर भने प्रत्यक्ष भागवतमा पाइँदैन ।
पृथ्वीभित्रै अन्य लोकको पनि परिकल्पना गर्ने हो भने श्रीमद्भागवतमा वर्णन भएका द्वीपको योजनात्मक मान र पृथ्वीको योजनात्मक मानसँग तादात्म्य राख्दैनन् । जम्बुद्वीपले नै पृथ्वीको आधा भाग ढाकेको छ भने जम्बुभन्दा दुईगुणा प्लक्ष, प्लक्षभन्दा दुई गुणा शाल्मली एवं क्रमले बढोत्तरीले सात द्वीप रहनुपर्दछ । जुन कुरा पृथ्वीभित्र सम्भव देखिँदैन ।
त्यस प्रसङ्गभन्दा पनि अन्य विषयवस्तुले प्राथमिकता पाएका छन् । सात परिक्रमाबाट सातद्वीपको उत्पत्तिका बारेमा वर्णन छ, देवलोक, लोकालोक पर्वतसम्मको वर्णन भागवतमा पाइन्छ । यसपछि उनको मूल सङ्कल्प पूरा भयो कि भएन भन्ने प्रसङ्गमा भने अन्य ग्रन्थको साहार लिनुपर्ने देखिन्छ । अन्ततः उनले लिएको सङ्कल्प ज्योतिषीय पक्षबाट सार्थक भएको पाउन सकिन्छ । जुन स्थान ब्रहृमलोक हो जहाँ हाम्रा चार अर्ब ३२ करोड वर्ष हुन्छन् त्यो स्थानमा सूर्य त्यति समयसम्म अस्ताउँदैनन् । श्रीमद्भागवतमा भुवनकोशको वर्णन गरिएको छ । जसलाई पृथ्वीलगायत ब्रहृमलोकसम्मको स्थानमा परिभाषित गरेको पाइन्छ । कतिपय विद्वान्ले यही पृथ्वीमै सबै द्वीप छन् भन्ने धाराणा पनि राखेको पाइन्छ । स्वयं भास्कराचार्यले पृथ्वीको दक्षिणी गोलार्धमा अन्य लोक छन् भन्ने धारणा पनि राखेका छन् ।
‘भूमेरर्धं क्षारसिन्धोरुदक्स्थं जम्बुद्वीपं प्राहुराचार्यवर्याः ।
अर्धेद्रन्यस्मिन् द्वीपषट्कस्य याम्ये क्षारक्षीराद्यम्बुधीनां निवेशः ।।’ (सिद्धान्तशिरोमणि, भुवनकोश, श्लो.२१)
पृथ्वीको उत्तरी गोलमा नुनिलो समुद्रदेखि उत्तरदिशामा जम्बुद्वीप छ भनी आचार्यले बताएका छन् । यसको अर्को आधा भागमा अर्थात् दक्षिणी गोलार्धमा क्षीरसागर तथा अन्य छ द्वीप छन् । यसरी भास्कराचार्यले बताए पनि पुराणमा उल्लेख भएको द्वीपको परिमाणले यो कुरालाई पुष्टि गर्न सक्दैन । जस्तो कि जम्बुद्वीपभन्दा दुईगुणा प्लक्षद्वीप ठूलो छ । प्लक्षभन्दा शाल्मलि, शाल्मलिभन्दा कुश, कुशभन्दा क्रौञ्च र क्रौञ्चभन्दा पुष्करद्वीप पहिलेको तुलनामा पछिल्ला दोब्बर ठूला छन् । (श्रीमद्भागवतमहापुराण, ५।१।३२) यो कुरा विष्णुपुराण, ब्रहृमाण्डपुराण, वायुपुराण, कूर्मपुराण, ब्रहृमपुराणमा पनि उल्लेख पाइन्छ । कसैले पृथ्वीका स्थान अनुसार विभिन्न द्वीप भनेका छन् ।
कसैले महादेशलाई द्वीपमा राखेर पनि उल्लेख गरेको पाइन्छ तर शास्त्रीय प्रमाण र परिमाणलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस विषयमा गहिरो चिन्तन गर्नुभएका प्रा.शम्भुप्रसाद ढकालले पनि मर्यादा पत्रिकाका लेखमा पृथ्वीभित्र सात द्वीप हुन नसक्ने र बाहिर रहने कुरालाई नै पुष्टि गर्नुभएको छ । यसरी पृथ्वीभित्रै अन्य लोकको पनि परिकल्पना गर्ने हो भने श्रीमद्भागवतमा वर्णन भएका द्वीपको योजनात्मक मान र पृथ्वीको योजनात्मक मानसँग तादात्म्य राख्दैनन् । जम्बुद्वीपले नै पृथ्वीको आधा भाग ढाकेको छ भने जम्बूभन्दा दुईगुणा प्लक्ष, प्लक्षभन्दा दुई गुणा शाल्मली एवं क्रमले बढोत्तरीले सात द्वीप रहनुपर्दछ । जुन कुरा पृथ्वीभित्र सम्भव देखिँदैन । यसैले भुवनकोश भनेको पृथ्वीलगायत यसभन्दा पर जहाँ सूर्यको प्रकाश रहन्छ त्यहाँसम्म अर्थात् लोकालोक पर्वतका दृश्यभागसम्मको भागलाई भुवनकोशभित्र राख्दा राजा प्रियव्रतको सङ्कल्प र ब्रहृलोकको सार्थकता रहनपुग्छ ।
राजा प्रियव्रतको सङ्कल्प श्रीमद्भागवतमा यसरी बताइएको छ : ‘यावदवभासयति सुरगिरिमनुपरिक्रामन् भगवानादित्यो वसुधातलमर्धेनैव प्रतपत्यर्धेनावच्छादयित तदा हि भगवदुपासनोपचितातिपुरुषप्रभावस्तदनभिनन्दन् समजवेन रथेन ज्योतिर्मयेन रजनीमपि दिनं करिष्यामीति सप्तकृतपरिखातास्ते सप्तसिन्धव आसन् यत् एव कृताः सप्त भुवो द्वीपाः ।। (श्रीमद्भागवतमहापुराण, ५।१।३०) अर्थात् एकपटक राजा प्रियव्रतले जब यो देखे कि भगवान् सूर्यले सुमेरुको परिक्रमा गर्दै लोकालोकपर्यन्त पृथ्वीको जति भाग आलोकित गरेका छन् त्यसमा आधा प्रकाशमा रहन्छ र आधा भाग अन्धकार छायाँ रहन्छ ।
यो उनलाई उपुयक्त लागेन र उनले रातलाई पनि दिन बनाउने सङ्कल्प लिएर अर्को सूर्यकै जस्तो भुवनकोशको सात परिक्रमा गरे । पछि ती सात परिक्रमा गर्दाका रथका पाङ्ग्रा धसिएर सात द्वीप बने । (श्रीमद्भागवतमहापुराण, ५।१।३१) जसको नाम क्रमशः जम्बू, प्लक्ष, शाल्मली, कुश, क्रौञ्च, शाक र पुष्कर रहे । (श्रीमद्भागवतमहापुराण, ५।१।३२) यसरी सात द्वीप भएको सम्मका विषय पुराणमा वर्णन पाइन्छन् ।
श्रीमद्भागवतमा वर्णन भएका द्वीप पृथ्वीमा छन् भन्ने कुराको पुष्टि प्राप्त परिणामबाट हुन सक्दैन । उनले गरेको परिक्रमा पृथ्वीलगायतका माथिका स्थान पनि हुनुपर्दछ । पुराणमा बताइएको योजन परिमाणले पनि पृथ्वीभित्र ती द्वीप अटाउन सक्ने स्थिति रहँदैन । यसैले भास्कराचार्यले उत्तरी गोललाई जम्बुद्वीप भनेका हुन् ।
उनले सतत दिन रात प्राप्त हुने स्थान प्राप्त गरे कि गरेनन् भन्ने विषयको उत्तर भने प्रत्यक्ष भागवतमा उल्लेख छैन । अप्रत्यक्ष रूपमा उल्लेख पाइन्छ । यो कुरालाई पुष्टि गर्न ज्योतिषीय विषयवस्तुको साहार लिनुपर्ने हुन्छ । जहाँ सतत् रविदर्शन हुने स्थानको वर्णन उपपत्तिसहित प्रदर्शन गरिएको छ । ज्योतिषीय परिगणना अनुसार ब्रहृलोकमा सधैं दिन हुन्छ अर्थात् हाम्रा चार अर्ब बत्तीस करोडवर्षसम्म ब्रहृमलोक झमल्ल उज्यालो रहन्छ । सोही कुरालाई सिद्धान्तशिरोमणिकार भास्काराचार्यले यसरी बताएका छन् :
‘यदतिदूरगतो द्रुहिणः क्षितेः सततमाप्रलयं रविमिक्षते ।
भवति तावदयं शयितश्च तद्युगसहस्रयुगं द्युनिशं विधेः ।।’ (सिद्धान्तशिरोमणि, त्रिप्रश्नवासना, श्लो.१५)
अर्थात् पृथ्वीबाट अति टाढा रहनुभएका ब्रहृमाजीले सधैँ सूर्य उदित देख्नुहुन्छ अर्थात् पृथ्वीलोकमा प्रलय नहुञ्जेलसम्म (चार अर्ब बत्तीस करोड वर्षसम्म) सतत सूर्यलाई देखिन्छ त्यहाँ सधैँ उज्यालो हुन्छ । एकहजार महायुगतुल्य ब्रहृमाको एकदिनसम्म सूर्य आकाशमा देखिन्छन् त्यसपछि त्यति नै समय एक रात्रसम्म ब्रहृमाजी विश्राम गर्नुहुन्छ । त्यहाँबाट प्रलयकाल आरम्भ हुन्छ । यसरी हुने सतत् रविदर्शको सोपपत्ति प्रदर्शन भास्करलगायत अन्य आचार्यप्रणीत ज्योतिषका ग्रन्थमा प्राप्त गर्न सकिन्छ । यसरी हेर्दा राजा प्रियव्रतको सङ्कल्प साकार भएको कुरा ब्रहृलोकको ज्योतिषीय वर्णनबाट पुष्टि हुन्छ । उनले सधैँ सूर्य देखिने, सधैँ उज्यालोको खोज गरेका थिए जो ब्रहृमलोकको स्थानमा प्राप्त भएको पाइन्छ । लोकालोक पर्वतको चर्चा पनि यसै प्रसङ्गमा भएको छ । भुवनकोशमा यस्ता स्थान छन् जहाँ सधैँ सूर्य देखिन्छ, उज्यालो नै रहिरहन्छ ।
श्रीमद्भागवतमा वर्णन भएका द्वीप पृथ्वीमा छन् भन्ने कुराको पुष्टि प्राप्त परिणामबाट हुन सक्दैन । उनले गरेको परिक्रमा पृथ्वी लगायतका माथिका स्थान पनि हुनुपर्दछ । पुराणमा बताइएको योजन परिमाणले पनि पृथ्वीभित्र ती द्वीप अटाउन सक्ने स्थिति रहँदैन । यसैले भास्कराचार्यले उत्तरी गोललाई जम्बुद्वीप भनेका हुन् । यो भनाइ अनुसार सङ्कल्पमा पृथ्वीका सबै उत्तरी स्थानलाई जम्बुद्विप उच्चारण गर्दा अनुपयुक्त हुने देखिँदैन । दक्षिणी भागका विषय भने विचारणीय देखिन्छन् ।
राजा प्रियव्रतको सङ्कल्प भू र खगोलको वर्णन हो । भौगोलिक अवस्थितिको प्रदर्शन हो । लोकको प्रकृति र अवस्थाको दर्शन हो । जसअनुसारका व्यवस्था र ती व्यवस्थाको गणितीय उपपत्ति पनि प्राप्त गर्न सकिन्छ । सतत रवि दर्शन हुने स्थानको निदर्शन गराइएको प्रसङ्गबाट पनि उनको सङ्कल्प साकार भएको जान्न सकिन्छ । हुन त ब्रहृमलोकका लागि एक दिनकै समय हो । त्यहाँ पनि सधैँ उज्यालो नै त रहँदैन । एक कल्पसम्म मात्र हो तर हाम्रा शास्त्रीय व्यवस्था पनि यही कल्पभित्र नै अटाएका छन् । हामीले सङ्कल्पमा पनि यही एक कल्पको नै उच्चारण गर्दछौँ ।
हाम्रा लागि यति समय नै सतत हुनआउँछ । सय वर्षको मध्यम आयु हुने मनुष्यले चार अर्ब वर्षको अनुभव लिन सक्दैन । पृथ्वीवासीका सन्दर्भमा सतत रविदर्शन हुने स्थान प्राप्त हुनु नै प्रियव्रतको सङ्कल्प साकार हुनु हो । स्वर्गादि लोक, दुई, तीन, चार र छ महिनाका दिनरात हुने स्थानको वर्णनका साथै सतत रविदर्शन हुने स्थानको बारेमा गणितीय उपपत्ति ज्योतिषबाट प्राप्त गर्न सकिन्छ । यसैले यस्ता स्थान छन् र राजा प्रियव्रतले पनि आफ्नो सङ्कल्प ब्रहृमलोकमा ससत रविदर्श हुने उपक्रमबाट पूरा गरेको आशय जान्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच