नेपाली साहित्यमा आख्यानको लोकप्रियता बढ्दै गर्दा उठ्ने ज्वलन्त प्रश्न हो— "कथा सङ्ग्रह कसरी विशेष हुन्छ?"
कुनै कथा सङ्ग्रह विशेष वा असाधारण बन्नका लागि त्यसभित्र भएका कथाहरूले पाठकको मनमा गहिरो प्रभाव पार्नुपर्ने हुन्छ। कथा सङ्ग्रह तब विशेष हुन्छ जब- विषयवस्तु गहिरो वा फरक हुन्छ, कथाहरू यथार्थ र आत्मीय हुन्छन्, शैली आकर्षक हुन्छ, र पाठकको मनमा दीर्घकालीन असर छोड्छ। धेरै कम पुस्तकाकार कथा सङ्ग्रहमा यी सबै विशेषताहरू अन्तरनिहित हुन्छ। काडमाडौंमा बुद्ध दर्शनका पुस्तक चर्चित हुँदै गर्दा प्रवासमा रहेर लेख्ने केही कथाकारहरूले उतैका कथावस्तु भन्ने वा यताका कथावस्तुमा उताका शैली भित्र्याउने प्रयास गरेका छन्।
कोही भन्छन् प्रवासीको मिश्रित सँस्कृति हुन्छ, अर्थात तेस्रो संस्कृति। न घरदेशको न परदेशको, तर दुबैको मिश्रणले बनेको ठिमाहा संस्कृति। तर लेखक पंचम अधिकारीको दावी अर्कै छ, प्रवासीको कुनै आफ्नो राज्य हुँदैन। त्यसैले, उनी पुस्तकको टाइटल घोषणा गर्छन्- ‘प्रवासीको देश हुन्न।’
पंचम अधिकारी नेपालमा जन्मे र यतै हुर्के पनि उनको कामकाजी जीवन युरोपमा बितेको छ। त्यसैले उनको लेखनमा प्रवासी मन मात्र होइन, पश्चिमी छाप र आधुनिकीकरणको गहिरो प्रभाव पाइन्छ। नेपालका प्रमुख मिडियामा केही वर्ष काम गरेको र मध्य नेपालको परिवेशमा हुर्केको हुनाले त्यो संसारको चित्रण पनि लुकेको हुन्छ उनको लेखनमा। पप सँस्कृतिको विकास र मिडिया प्रभावले उकास्ने संदर्भहरूलाई उनले समकालिन नेपालका विविध घटनासँग जोडेर बाहिरी विश्वसँग कनेक्ट गर्दछन्। यसै वर्ष प्रकाशित उनको कथा-सँग्रह ‘प्रवासीको देश हुन्न’ मा रहेका प्रमुख कथाहरूले यस्तै सन्देश दिन्छन्।
उनको “लेखकीय शैली” सादगीमा गहिराइ र मौनतामा उकुसमुकुसको विद्रोह हुन्छ। यो कथा संग्रह नेपाली साहित्यमा एकदमै प्रभावशाली र आत्मीय सिर्जना हो, जहाँ लेखकले प्रवासमा जिउनुको आफ्ना व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले साहित्यिक आकार दिएका छन्। यो संग्रहमा जीवनका विविध आयामहरू जस्तो की- बाल्यकालका सम्झना, प्रेमका आरोह-अवरोह, आत्म-खोज, सामाजिक विडम्बना, प्रवासी जीवनका नोँकझोँक र मानवीय संवेदनाहरू - गहिरो रूपमा चित्रित गरिएका छन्।
यो संग्रहको विशेषता के हो भने प्रत्येक कथा यथार्थपरक छ, बनावटीपन छैन। पाठक आफूलाई कहिले विदेशिनका लागि एक खुट्टा उचालीरहेको भूमिकामा, कहिले प्रेममा धोका पाएको पात्रमा, कहिले स्वदेश फिर्दै गरेको प्रवासीमा भेट्न सक्छ। यही आत्मीयता नै यसको सबैभन्दा ठूलो शक्ति हो।
कथाहरू सरल, प्रवाहपूर्ण भाषामा लेखिएका छन्, जसले पाठकलाई लेखकसँगै अनुभवको यात्रामा लैजान्छ। भाषा न त अत्यधिक जटिल छ, न अत्यधिक सरलीकृत। पाठक कुनै गह्रुङ्गो भाषिक संघर्षबिना कथाभित्र पस्न सक्छ। यीनै विशेषतामा उनी विशिष्ट गद्य र उपमाहरू बुन्दछन्। यो सहज, तर भावनात्मक छ। यस्तो सुस्पष्ट, सजीव र पाठकमैत्री लेखनले पठन अनुभवलाई जीवन्त बनाउँछ।
उनका धेरै कथाहरूमा व्यक्तिगत अनुभव, विशेषतः नेपाल र पश्चिम युरोपबीचको सांस्कृतिक द्वन्द्व, खुलेरै उपस्थित हुन्छ।
कथाकारले आफ्नो युवावस्था वा विगतका कथाहरूको नोस्टाल्जिया र अहिले विदेशको अनुभवसँग जोडेर सुनाउँदै गर्दा पात्रहरूलाई अझ वास्तविक रूपमा नजिक हुने र पाठकसँग प्रत्यक्ष अनुभूति हुने महशुश गराउँछन्। विगतलाई रोमान्टिक भावमा स्मरण गर्नु, र पात्रहरूको मनोविज्ञानको चित्रण र शब्दहरूको मनमोहक खेती गर्दै कल्पनाको गतिशीलता बढाउनु उनको विशेषता बनेको छ।
अधिकारीको लेखनमा बारम्बार मर्दाना प्रकृतिको पुरूष पात्र भेटिन्छ। ऊ कहिलेकाँही सडकमा हिरो पल्टे झैं देखा पर्छ। ‘चालू प्रेमी’, ‘घातक आकर्षण’, ‘लोकल हिरो’ र ‘तिम्री स्वास्नी’ मा यस्तो चरित्रको छनक पाइन्छ। तर उनी यदाकदा स्पष्ट रूपमा नारीवादी पनि देखिन्छन्— तर आक्रामक ढंगले होइन, विवेकपूर्ण र आत्मसम्मानको आधारमा। नेहा एक महिला पात्रको सशक्त कथा हो, जो अमेरिका बसाइँबाट फर्केकी हुन्छे। त्यसैगरी ‘तिम्रो लोग्ने खै?’ र ‘अनि ऊ भागी’ मा उनले महिला पात्रहरू मार्फत स्त्रि आवाज बुलन्द गरेका छन्।
उनका आख्यानमा यौनका सन्दर्भहरू च्वास्स घुसेका हुन्छन्। ‘तिम्री स्वास्नी’ यौन मनोविज्ञानको कथा हो भने ‘इडियट’, ‘इपीसेन्टर पालुङटार’, ‘चालू प्रेमी’ लगायतका कथामा यौन चेतना, यौन चाहना, मानसिक द्वन्द्वसँग सम्बन्धित गहिरा मनोवैज्ञानिक पक्षहरूलाई देश-विदेशका सेटिङमा उजागर गरिएका छन्। यी कथाहरूमा पात्रहरूको मानसिक अवस्था, सामाजिक सीमाहरू, आत्मसंघर्ष र यौन चाहना, पहिचान तथा प्राथमिकतालाई विशेष महत्त्व दिइएका छन्।
अधिकारीको लेखन कर्ममा शैलीगत रूपमा हेर्दा पश्चिमी लेखकहरूको जस्तो अन्तरसांस्कृतिक संवाद र जादुई यथार्थवादको प्रभाव पनि पाइन्छ। उनको ‘पिकासो केटी’ लगायतका कथाका आख्यान यस्तै छन्। रहस्यमयता, श्वैरकल्पना र काल्पनिकतामा उनी बेलाबखत उड्छन्।
लेखक पंचम अधिकारीले आफ्नो दोस्रो आख्यान मार्फत् पनि समकालीन डायस्पोरिक नेपाली साहित्यमा आत्मसमीक्षा र आत्मचिन्तनको सशक्त स्वर घन्काएका छन्। जसले मुख्यतः नेपाली आप्रवासी समुदायको मानसिक, सांस्कृतिक र सामाजिक द्वन्द्वलाई आफ्नो साहित्यमा उजागर गरेका छन्।
उनका कथामा पश्चिमी छाप हुनु सायद उनको कमजोरी ठान्न पनि सकिन्छ। तर यही कुरालाई फरकपनको स्वाद मान्न पनि सकिन्छ। परम्परागत कथाहरूले वाक्क भएका नेपाली पाठकहरू सायद यस्तै फरकपन खोज्दछन्। उनले जुन प्रवृत्तिलाई अँगीकार गरेर लेखेका छन्, जसरी कथाको उठान र बैठान गरेका छन्, समकालिन कथामा दुर्लभै देखिन्छ। जसले गर्दा उनको कथा सङ्ग्रह विशेष बनेको छ।
उनका कथाहरू केवल प्रवासीको कथा होइनन्; यो विश्व व्यवस्था, मानव सम्बन्ध, र सामाजिक सन्दर्भमा आफूलाई कसरी परिभाषित गरिन्छ भन्ने प्रश्नको उत्तर खोज्ने अतित्ववादी चेतना भएका कथाहरू हुन्। व्यक्तिगत अनुभवमा आधारित एक उत्कृष्ट कथा संग्रह हो। जसले पाठकलाई न केवल दिमागी रूपमा चुनौती दिन्छ, तर भावनात्मक रूपमा पनि गहिरो सन्देश दिन्छ।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि