पोखरा । नेपाली साहित्यकी हस्ती, साहित्यकार उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’को पोखरामा विमोचन गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको लोकार्पण उषा शेरचनका दामली साथीहरू सरुभक्त, तीर्थ श्रेष्ठलगायत विशिष्ट अतिथिबाट गरिएको थियो ।
पोखरामा जन्मनुभएको तर विवाहपछि काठमाडौंमा बसोवास गर्दै आएउनुभएको उषाले आफ्नो नवीनतम् कृति ‘त्रासदीका हिमनदी’ को विमोचन आफ्नो जन्मस्थान तथा साहित्यिक यात्राको प्रारम्भस्थल पोखरालाई नै छान्नुभएको हो । उहाँले यो पुस्तक पोखरेली युवा सांस्कृतिक परिवारलाई समर्पित गर्नुभएको छ । संग्रहमा ४५९ वटा मुक्तकहरू समावेश छन् । यसअघि २०५६ मा उहाँको ‘अक्षरहरूका शिविरबाट’ नामक मुक्तकसंग्रह प्रकाशित भइसकेको छ ।
मुक्तकमा विद्यावारिधि गर्नुभएको समालोचक डा.मुरारी पराजुलीका अनुसार नेपालमा मुक्तक संग्रह प्रकाशित गर्ने महिला मुक्तककारमध्ये उषा शेरचन पहिलो हुनुहुन्छ । उहाँले उषाका मुक्तकमा जीवनका विविध आयामहरूको मार्मिक चित्रण रहेको बताउनुभयो ।
डा.उषा शेरचनले यस पुस्तकसँगै आफ्नो मुक्तक लेखनको यात्रा समापन गरेको घोषणा समारोहमा गर्नुभएको छ । यद्यपि उहाँ अरू विधामा लेखन जारी राख्ने बताउँनुहुन्छ । उहाँका ‘नजन्मेका आस्थाहरू’ (फुटकर कविता), ‘अक्षरहरूको शिविरबाट’ (मुक्तक), ‘सर्वकालीन पीडा र जागृतिको शंखघोष’ (कविता), ‘तेस्रो रङ’ (कथा संग्रह), ‘बेग्लै म’ र ‘आँधी’ (उपन्यास) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।
विमोचन समारोहमा साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले पोखरेली युवा सांस्कृतिक परिवारको स्थापनाकालीन समय र उषाको साहित्यिक यात्राबारे स्मरणीय प्रसंग प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उपन्यासकार सरस्वती प्रतीक्षा सहितका अन्य लेखक तथा साहित्यकारहरूले पनि आ-आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रममा केही कलाकारहरूले उषा शेरचनका मुक्तकहरू पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रम पोखरेली युवा सांस्कृतिक परिवारसका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो । २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारसँगै साहित्यिक यात्रा आरम्भ गर्नुभएको उषाले ४० वर्षअघि पोखरामा आयोजित ‘टिकटमा मुक्तक’ कार्यक्रममा आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।







१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :
हरितालिका पर्व : पशुपति क्षेत्रमा
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
एक सय ८४ हप्तादेखि निरन्तर
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित