ग्रहका रूपमा होस या देवताका रूपमा ‘शनि’ का नामले हामी सबैको सातोपुत्लो उड्ने गर्दछ । ज्योतिषशास्त्रका नौवटा ग्रहहरूमध्ये शनि ग्रहसँग मानिसहरूको विशेष डर रहने गर्दछ । किनकी कतिपय अवस्थामा शनि ग्रहको अढैया तथा साढेसाती दशाका कारण अग्निपरीक्षा नै दिनुपर्ने अवस्था आउँछ । तर, शनिसँग डराउनुभन्दा यसको बारेमा केही जानकारी लिन र सचेतना अपनाउन सकियो भने डराएर बस्नु पर्दैन । किनकी बिनाकारण शनिले कसैलाई पनि समस्यामा पार्दैन र शनि ग्रहको प्रभावबाट बच्न ठूलो पूजा-पाठ गर्नैपर्छ भन्ने पनि छैन् । केवल आफ्ना केही बानी तथा व्यवहारमा परिवर्तन गरेर परिस्थितिलाई सहज बनाउन सकिन्छ ।
सृष्टि सञ्चालन गर्नका लागि परमशक्ति (ईश्वर)ले मानव र देवतालाई एउटा-एउटा विशिष्ट उद्देश्य र उत्तरदायित्वसहित कार्य विभाजन गरिदिएको छ । हिन्दु धर्ममा शनिलाई देवता मानिन्छ भने ज्योतिष शास्त्रमा शनिलाई कर्मफलदाता तथा न्यायाधीशका रूपमा व्याख्या गरिएको छ । त्यसैगरी शनिलाई श्रम, न्याय, गरिब तथा मजदुर वर्गका ग्रहको रूपमा समेत मानिन्छ । नवग्रहहरूमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित भएकाले शनिलाई न्यायसम्बन्धी जिम्मेवारी दिइएको हो । यसले नीति, नियम, अनुशासन, न्याय तथा कर्मको प्रतिनिधित्व गर्छ । जसले गर्दा मानिसले गर्ने कडा परिश्रम, साधना तथा न्यायपूर्ण व्यवहारलाई मध्यनजर गर्दै शनिले शुभफल प्रदान गर्दछ । शनिको दृष्टिमा कोही आफ्नो र कोही बिरानो छैन ।
हामीले आफ्नो नराम्रो बानी तथा व्यवहारमा सुधार ल्याउन सक्यौं र सामाजिक कार्यतर्फ उन्मुख हुन सक्यौं भने निश्चय नै परिणाम सकारात्मक नै आउँछ । त्यसैले समग्रमा हाम्रो जीवनमा सजिलै उन्नति प्रगति होस भन्ने चाहना छ भने कडा परिश्रम गर्न, कर्मशिल हुन, सहयोगी बन्न सक्नुपर्छ साथै जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि डटेर सामना गर्न सामथ्र्य राख्नुपर्छ ।
शनिलाई श्रमको देवताको रूपमासमेत पूजिने हुनाले यसले आफ्नो प्रभावमा आउने व्यक्तिलाई अधिकतम श्रम गराउने गर्दछ । गलत कामको परिणाम दिनु शनि ग्रहको कार्यभारभित्र पर्दछ । शनि ग्रहले श्रम नगर्ने वा अल्छि र अन्यायी व्यक्तिलाई पटक्कै सहनै सक्दैन । शनिले आफ्नो पालोमा कडा परिक्षा लिने हुँदा सत्यको पक्षमा रहेर प्रतिकुल परिस्थितिसँग नडराइ डटेर यसको सामना गर्नुपर्दछ । त्यसो गरेमा व्यक्तिमा रहेको नकारात्मकता तथा दुर्गुणलाई उजिल्याउँदै शनिले असल कर्म गर्न अभिप्रेरित गर्दछ ।
श्रीमद्भागवत गीतामा कर्मका बारेमा बिस्तृत व्याख्या गरिएको छ । जसमा ‘कर्मण्येवाधिकारस्ते मा फलेषुकदाचन’ भन्ने वाक्यलाई विशेष रूपमा प्रयोग गरिएको पाइन्छ । ‘कर्मण्येवाधिकारस्ते’ अर्थात कर्ममा मात्रै व्यक्तिको अधिकार छ । ऊ कर्म गर्न स्वतन्त्र छ । कर्म गर्न उसलाई कसैले रोक्न सक्दैन । मानव भएर जन्मनुको विशिष्टता यो हो कि उसले आफ्नो इच्छा अनुसार कर्म गर्न सक्छ ।
त्यसैगरी ‘मा फलेषुकदाचन’को अर्थ सो कर्मको ‘फलमा तिम्रो अधिकार छैन’ भन्ने हो । एउटै परिस्थितिमा, एकै प्रकारका साधन वा माध्यम प्रयोग गर्ने तथा उस्तै कर्म गर्नेहरूको फल प्राप्ति वा परिणाममा भिन्नता रहन्छ । जुन कुरा हामीले व्यावहारिक जीवनमा देखिरहेको र भोगिरहेकै हो । गीतामा उल्लेख भए अनुसार प्रत्येक व्यक्ति विशेष उद्देश्यसहित जन्मेका र फरकफरक स्वभावका हुन्छन् । त्यसैले उनीहरू आ-आफ्नो विशेषता र उद्देश्य अनुसारका कर्म गर्न अघि वढ्छन र यसमा उनीहरू समर्थ पनि हुन्छन् । त्यसैले आजको यो आधुनिक युगमा ‘मा फलेषुकदाचन’ को अर्थ ‘कर्म जति गरिन्छ, त्यसबाट जति परिणाम आउँछ त्यतिमा नै चित बुझाउनु पर्ने हुन्छ’ भनेर बुझ्दा पनि हुन्छ ।
त्यसैले सक्षमता हासिल गर्न तथा सफलता प्राप्त गर्न चाहने व्यक्तिले कठोर परिश्रम तथा निरन्तर अभ्यास गर्नुुपर्छ भनिएको हो ।
यसैगरी गीतामा तीन प्रकारका कर्मको सिद्धान्तको व्याख्या पनि गरिएको छ । जसलाई सञ्चित कर्म, पूर्वनिर्धारित कर्म (प्रारब्ध कर्म) र क्रियमाण कर्म भनिन्छ । यस जन्ममा हालसम्म गरिएको कर्म तथा पूर्वजन्ममा गरिएको सञ्चित कर्मलाई समग्रमा सञ्चित कर्म भनिन्छ ।
त्यसैगरी पूर्वजन्ममा गरिएको सञ्चित कर्महरूबाट आगामी जन्मका लागि निर्धारित फल दिने कर्महरूलाई पूर्वनिर्धारित कर्म वा प्रारब्ध कर्म भनिन्छ । क्रियमाण कर्म भनेको वर्तमानमा गरिने कर्म हुन् । क्रियमाण कर्म वर्तमानमा हामीले गर्ने कर्मको आधारमा भविष्यमा प्राप्त गर्ने फलसँग सम्बन्धित छ । यसभित्र शुभ र अशुभ दुबै कर्म पर्दछन् । जुन कर्म हाम्रो हातमा हुँदैन त्यसलाई प्रारब्ध कर्म भनिन्छ र जीवनको जुन कर्म हाम्रो नियन्त्रणमा हुन्छ त्यसलाई क्रियमाण कर्म भनिन्छ ।
क्रियमाण कर्मद्वारा प्रारब्ध कर्ममाथि विजय प्राप्त गर्न सकिने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । यसका लागि शुभकर्म, कठोर परिश्रम, साधना तथा निरन्तर अभ्यासको जरूरत पर्दछ । बुद्धधर्ममा पनि कर्मलाई नै प्रधान तथा सर्वशक्तिमान मानिएको छ । ‘कर्म फर्केर, आफैंसँग आउँछ’ भन्ने मान्यता रहेको छ । बुद्धधर्मले कर्मभन्दा माथि कोही छैन किनकी बुद्ध पनि कर्मको नियममा नै बाँधिएका छन्, भन्दछ ।
शनिलाई कर्मफलदाताका साथै न्यायाधीशका रूपमा माथि उल्लेख गरिएको छ, अब कुरा गरौं न्यायको । न्याय दिने आधार भनेको कानुनी आधार हो । कानुनभन्दा माथि कोही हुँदैन र कानुनका अगाडी सबै समान हुन्छन भन्ने न्यायको सिद्धान्त हो । कानुनको एउटा विशेषता भनेको कानुन थाहा छैन भन्न पाइँदैन । जसरी कानूनको बारेमा अनविज्ञ व्यक्ति दायित्वबाट बच्न सक्दैन अथवा आफूले गरेको गल्तीबाट उम्कन सक्दैन र अन्ततः सजायको भागीदार बन्छ । त्यसरी नै शनिदेवको न्याय प्रणालीमा पनि ठ्याक्कै यही फर्मुला लागू हुन्छ ।
शास्त्रहरूमा उल्लेख भए अनुसार शनिदेवको जन्म ज्येष्ठ कृष्ण औंशीको दिन भएको हो, जुन आज परेको छ । शनि देव सूर्य तथा छायाँका छोरा र देवी यमुना तथा यम देवका भाइ हुन् । शनि ग्रहको चाल अन्य ग्रहहरूको तुलनामा ढिलो हुन्छ । जसकारण यो ग्रह कुनै एक राशिबाट दोस्रो राशिमा भ्रमण गर्न साढे दुई वर्ष लाग्दछ, जसलाई अढैया भनिन्छ । त्यसैगरी साढेसात वर्ष चल्ने प्रक्रियालाई साढेसाती भनिन्छ । शनिले आफ्नो पूरा एक चक्र पार गर्न करिब तीस वर्ष लाग्छ ।
शनि कर्म तथा परिश्रमसँग सम्बन्धित भएकाले शनिलाई ‘स्ट्रोङ टास्क मास्टर’ तथा ‘शनि इज मनि’ भन्दा पनि फरक पर्दैन । कर्मफलदाता भएकै हुनाले शनिले कडा परिश्रम गर्न, धैर्य गर्न र आफ्ना काम, कर्तव्यहरू लगनशीलताका साथ पूरा गर्न प्रोत्साहन दिन्छ ।
खगोलशास्त्र अनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रतिसेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ । यसको परिक्रमा वृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ । यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ । खगोलशास्त्रमा सबै ग्रहहरूले सूर्यको परिक्रमा गर्ने भने पनि ज्योतिष शास्त्रमा पृथ्वीलाई स्थिर मानेर अरू ग्रहहरूले परिक्रमा गरेको मान्दछ । यस अर्थमा सबै ग्रह ३६० डिग्रीको वृत्तमा आ-आफ्नोे गतिमा भ्रमण गरिरहेका हुन्छन् र त्यो ३६० डिग्री वा सबै राशिमा एक पटक भ्रमण गर्न ग्रहहरूलाई फरक-फरक समय लाग्छ । शनिलाई यो वृत्त पूरा गर्न अरू ग्रहको तुलनामा सबैभन्दा बढी समय अर्थात् लगभग ३० वर्ष लाग्छ । त्यसैले यसलाई ढिलो हिँड्ने ग्रह भनिएको हो ।
शनिलाई मन नपर्ने कुराहरू नगरेमा नकारात्मक प्रभावबाट बच्न सकिन्छ । शनिलाई जुवा खेल्ने, मादक पदार्थ पिउने, सट्टाबाजी गर्ने, चर्को ब्याज लिने, व्यभिचार गर्ने, झुटो बयान दिने, निर्दोष मानिसहरूलाई यातना दिने व्यक्ति मनपर्दैन । यसैगरी आमा–बुबा, गुरु र सेवकको अपमान गरेकोसमेत मनपर्दैन । यसका अलावा शरीरबाट आउने पसिनाको गन्ध, मुख तथा खुट्टाबाट आउने दुर्गन्ध शनिले नसहने हुँदा शरीरको सरसफाइमा विशेष ध्यान दिने, घर तथा कार्यालयमा काम गर्ने आफूभन्दा तलका कर्मचारी तथा मजदुरसँग राम्रो व्यवहार गर्ने तथा उनीहरूको कामको सम्मान गर्ने, आर्थिक कारोबार तथा लगानी गर्दा अत्यन्त सावधानी अपनाउने, गरीब-दुःखी, अशक्त, बिरामी तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने, आर्थिक रूपले विपन्न बालबालिकाको अध्ययनका लागि मद्दत गर्ने, आमाबुबालाई माया तथा श्रद्धा गर्नेलगायत काम गरेमा शनिको नकारात्मक प्रभावबाट बच्न सकिन्छ ।
दीर्घकालीन प्रभावलाई मध्यनजर गर्दा, सकारात्मक कामले हामीलाई खुशी र सन्तुष्टि दिन्छ भने नकारात्मक कामले अनिच्छित परिणाम निम्त्याउँछ । हामीले आफ्नो नराम्रो बानी तथा व्यवहारमा सुधार ल्याउन सक्यौं र सामाजिक कार्यतर्फ उन्मुख हुन सक्यौं भने निश्चय नै परिणाम सकारात्मक नै आउँछ । त्यसैले समग्रमा हाम्रो जीवनमा सजिलै उन्नति प्रगति होस भन्ने चाहना छ भने कडा परिश्रम गर्न, कर्मशील हुन, सहयोगी बन्न सक्नुपर्छ साथै जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि डटेर सामना गर्न सामथ्र्य राख्नुपर्छ । शनि कर्म तथा परिश्रमसँग सम्बन्धित भएकाले शनिलाई ‘स्ट्रोङ टास्क मास्टर’ तथा ‘शनि इज मनि’ भन्दा पनि फरक पर्दैन । कर्मफलदाता भएकै हुनाले शनिले कडा परिश्रम गर्न, धैर्य गर्न र आफ्ना काम, कर्तव्यहरू लगनशीलताका साथ पूरा गर्न प्रोत्साहन दिन्छ । झट्टहेर्दा, शनिको प्रभाव चुनौतीपूर्ण लागे पनि यसले व्यक्तिलाई आर्थिक, मानसिक तथा अध्यात्मिक विकासतर्फ डोर्याउने गर्दछ । शनिग्रह तथा शनिदेवसँग जोडिएका सम्पूर्ण प्रसंगहरूले यही नै प्रेरणा दिन्छन् । हामी सबैलाई कर्मयोगी हुन तथा आर्थिकलगायत जीवनका विभिन्न आयामहरू सुधार गर्न शनिले प्रेरणा प्रदान गरून्, शनि जयन्तीको शुभकामना । (लेखक पौडेल अपाङ्गता अधिकार तथा सञ्चारकर्मी हुनुहुन्छ ।)






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच