
संघीय लोकतान्त्रिक गणतन्त्रका दुई दशक हुन लागे पनि संविधानसभाले पारित गरे अनुसारको अवधिले एकदशक पार गरेको छ । यो एक दशक संघीय लोकतान्त्रिक गणतन्त्रको समीक्षा गर्न पर्याप्त छ । हामीले वर्तमान परिवर्तनको समय आधारलाई हेर्ने हो भने ०६३ वैशाख ११ नै हुन्छ र त्यसै दिनदेखि नेपाल लोकतान्त्रिक गणतन्त्रको लोकमार्गमा प्रवेश गरेको हो । नेपाली जनता अब संघीय लोकतान्त्रिक गणतन्त्रको आकार प्रकारभन्दा पनि यसले प्रदान गर्ने सेवाका आधारमा मूल्यांकन गर्न समर्थ भएका छन् । ढुंगे युगको सापेक्षतामा विगतलाई हेर्दा विकासको उत्कर्ष देखिन्छ । अब त कृत्रिम बौद्धिकताको युग आरम्भ भएको छ । मानिस क्रमिक रूपले मेसिनमा परिणत भइरहेका छन् । मानिसले निर्माण गरेको मेसिनले मानिसलाई नै विस्थापित गर्ने समय आश्चर्य लाग्दो छ । मानिसकै बुद्धिले जन्मेको मेसिन मानिसको बौद्धिकता र उसको रोजगारीमूलक अवस्थामाथि विजय हासिल गर्ने चरणमा पुगेको छ । समयले यसरी फन्को मार्दै गर्दा राजनीतिको कुन मौलो सही हो वा गलत हो सामान्यतः छुट्याउन कठीन हुनसक्छ । हिजोका अनेक वादहरूको अवशान हुन लागेको छ र त्यस्ता वादहरू अब अध्ययन र अनुसन्धानका विषय भएका छन् । पुराना पुस्तकालयमा पुगेर समय खर्चन सक्ने विद्वानका लागि बुद्धिविलासको श्रेणीमा ती मानव निर्मित वादहरूको अवशेष फेला पर्दछ । समयको यो फड्को मराइलाई सिधा चुनौती दिनसक्ने कोही जन्मेको छ भने त्यो कृत्रिम बौद्धिकता नै हो ।
समय एकातिर यसरी तीव्र वेगकासाथ कुदिरहेको छ भने हामी नेपालीहरू वर्तमानको सत्यप्रति निरपेक्ष भएजस्तो अतिरिक्त चिन्तन र सोचमा निमग्न हुने तयारीमा जुटिरहेका छौं । मौलिक रूपमा स्वतन्त्रता र आर्थिक सामाजिक रूपमा न्यायबाहेक अब अरू कुनै खाले वाद र सिद्धान्त गौण हुनलागेका छन् । हिजोसम्म साम्यवादको प्रतिनिधि संसारका २५ देशहरूमा देखिएको परिवर्तनले स्वतन्त्रतालाई पूर्ण निषेध गर्ने अपवादका निरंकुशबाहेक अरू समाप्त भए । उत्तर कोरियाको निर्मम निरंकुशतन्त्रमा मात्रै जीवित साम्यवादको मौलो भाँचिइ सकेको छ । तर, पनि साम्यवादी मौलो जोड्ने प्रयास नेपालमा भइरहेको छ । यस्तो अवस्था एकातिर देखिन्छ भने अर्कातिर राजसंस्थाको पुनरावृत्तिको शंखघोषमा रामरमिता भइरहेको छ । सन् १६५६ को बेलायतको सपना सन् २०२१ मा देख्नु उदेक लाग्दो भएको छ । कम्बोडियाको अवस्था पनि छैन । पोलपोटको आतंकको छायाँमा नरोदम सिंहानुकको पतन भएको थियो । तर, उनी साम्यवादी चीनको शरणागत भएका थिए । चीनकै मध्यस्थतामा कम्बोडियामा राजा फर्केको इतिहास भएको छ ।
तर, नेपालमा कुनै त्यस्तो राजसंस्थाप्रति मोह देखाउने सहयोगी शक्ति कतै पनि देखिएको छैन । भारतीय राजनीतिको भित्री खेल निरर्थक हुँदै गएको छ । पाकिस्तानसंगको गम्भीर विवादमा यतिखेर अल्झिएको हुनाले भारतीय राजनीतिक नेतृत्वको ध्यान नेपालतिर फर्कने स्थिति छैन । पश्चिमा शक्ति त यसै नेपालमा राजासँग आउने धर्मको विषयसँग तर्सने देखिएकै हो । चीनले भरखरैमात्र पूर्वराष्ट्रपति अर्थात् नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीप्रति देखाएको चासो र दिएको राजकीयशैलीको सम्मानले राजतन्त्रप्रति निरपेक्ष लाग्दछ । अर्थात् राजसंस्था ल्याउने, फिर्ता गर्ने, हुने सपनाको कुनै बलियो आधार विकास भएको छैन । देखिँदैन पनि ।
हो, यतिखेर मानिसहरू प्रतिक्रियात्मक देखिएका छन् । आमनागरिकलाई सही सेवा प्रदान गर्न शासकीय चरित्र, नेतृत्वको असफलता र अहंकार, अनि सुशासनप्रति नेतृत्वको उदासीनताकै प्रतिक्रियाले राजसंस्थाको बहस बलियो भएको मात्रै देखिन्छ । अहिलेको प्रशासनयन्त्र, राजनीतिक प्रतिनिधिले सेवामूलक कामहरू अहंकाररहीत र विवेकपूर्ण रहेर गर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्रका विपक्षमा बोल्ने कसैको साहस हुँदैन र आवश्यक पनि पर्दैन । तर, प्रतिदिन जनता भ्रष्टाचारका कथाहरू सुन्न विवस छन्, प्रतिदिन नागरिकहरू सेटिङका अनेक समाचारको थुप्रोमा बस्नुपर्ने बाध्यता छ, प्रतिदिन नागरिक सेवाको नाममा पदमा आसीनबाट ठगिएका, पिल्सिएका दारुण कथा बनिरहेका छन् । संक्रमणकालीन न्यायको अन्धकार छिचोल्न सरकार चाहिरहेको छैन । न्यायका लागि अनेक आत्माको पुकार, चित्कार छताछुल्ल छ । प्रतिदिन श्रमबजारमा जाने युवा युवतीहरूको लस्कर र श्रमबजारबाट स्पन्दनहीन भएर बाकसमा फर्कने दर्जनौंको कारुणिक अवस्था आँखा अगाडि देखिन्छ । शिक्षाको महŒवाकांक्षा राख्ने किशोर वयको विद्यार्थी ल्यापटप बोकेर प्रतिदिन हजारौंको संख्यामा विदेश पलायन भइरहेका छन् । यही र यस्तै निरासालाई राजा फर्काउने अस्त्र ठानिँदैछ । यदि यस्ता निरासा चिर्ने हो भने राजामहाराजादेखि अरू कुनै विकल्प मानिसका मनमा उठ्न सक्दैन ।
यद्यपि एउटा ज्वलन्त प्रश्न उठिरहेको छ । त्यो हो राष्ट्रियताको स्थायी चुरो कसरी बलियो हुनसक्छ । सचेत, प्रतिबद्ध र विश्वसनीय राष्ट्रियताका लागि बलियो राष्ट्रिय संयन्त्र जरुरी हुन्छ । अहिले नै पाकिस्तान र भारतका बीचको विवादलाई अध्ययन गरियो भने पाकिस्तान कमजोर देखिनुमा राष्ट्रिय चुरो निर्माण गर्ने संयन्त्र सबल नहुनु जस्तो देखिन्छ । पाकिस्तानमा भन्दा राष्ट्रियताको चुरो भारतमा सबल भइसकेको धेरैको विश्लेषण छ । नेपालमा जहिले पनि राष्ट्रभक्तिको प्रसंगमा, देशभक्तिको विषयमा, राष्ट्रियताको सन्दर्भमा विगत लामो समयदेखि राजसंस्थाप्रति मानिसहरूको दृष्टि पर्ने गरेको हो । अहिले व्याप्त दलीयकरण, दलीय केस्राहरूमा प्रविष्ट बाहृय स्वार्थहरू र तिनै स्वार्थहरूको परिपूरणमा समर्पित राजनीतिक नेतृत्वकै कारण राजसंस्थावादीहरूले राजा फर्काउने उद्घोष गरेको स्पष्ट छ । यस्तो उद्घोषणलाई सत्तामा बस्ने र नबस्ने दल, दलीय नेतृत्वले नै उकास्ने काम गरिरहेको अनुभूति सबैमा छ । एकप्रकारले हेर्ने हो भने कतै दलका नेताहरू सिधा भन्न लाज मानेर घुमाउरो पाराले राजसंस्था फर्काउने तयारीमा त छैनन् भन्ने प्रश्न गर्नुपर्ने हुन्छ । सडकमा पुगेर चुट, ठोक, निषेध गर, प्रतिकार गर जस्ता शब्द निर्दलीय शासकहरूका प्रिय थिए ।
आमनागरिकलाई उत्तेजित गराउने शब्दहरूकै कारण मानिसहरू सोचेभन्दा बढी सडकमा पुगेपछि त्यो सत्ता र व्यवस्था विस्थापनमा पुग्यो । त्यही शब्दावलीलाई यतिखेर सरकारमा बस्ने, नबस्नेहरूका मुखबाट सुनिन्छ । आज गणतन्त्रवादीहरूले उत्सव मनाइरहेको अवस्थामा अर्कातिर राजसंस्थावादीहरूको प्रदर्शन तयारी देखिन्छ । गणतन्त्रवादीहरू जिम्मेदार भएको हुनाले संयमित हुनुपर्ने हो । आफैं उत्तेजना बढाउने खेलमा लाग्नु अस्वाभाविक र अप्रिय हुनेछ । यसै पनि नेपाली नागरिक संघीय लोकतन्त्रवादी र राजसंस्थावादी दुई धारमा स्पष्ट विभाजित छ । अर्थात् यो गम्भीर अवस्था हो । यसैकारण जिम्मेदारहरू संयम हुनु जरुरी छ । आज लामो संघर्ष, बलिदान र विपत्ति सहँदै प्राप्त गणतन्त्र दिवस । यस सुखद् अवसरमा हामी सम्पूर्ण नेपालीमा हार्दिक बधाई र शुभकामना प्रकट गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच