काठमाडौं । अमेरिकाको लस एञ्जलसमा नेपथ्यको लोकरक गुञ्जिएको छ । शृंखलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एञ्जलसमा अर्को सफल प्रस्तुति दिएको हो । नेपथ्यले अमेरिकाको यात्रा गर्दा वैभवशाली राज्य क्यालिफोर्निया प्रायः छुट्ने गरेको छैन । गत वर्षमात्र पनि डेढ महिना लामो प्रस्तुतिका क्रममा सानफ्रान्सिस्कोमा ब्याण्ड प्रस्तुत भएको थियो । तर विश्वकै अग्रणी सिने उद्योग हलिउड अटाएको र जनसंख्याका हिसाबले क्यालिफोर्नियाकै ठूलो शहर लस एञ्जलसमा भने नेपथ्यको यो दोस्रो प्रस्तुति हो । यसअघि सन् २०१६ मा ब्याण्ड यहाँ प्रस्तुत भएको थियो ।
सदाझैँ लस एञ्जलसमा पनि गायक अमृत गुरुङले गीतहरूमात्र नगाई ती गीतहरूको उद्गम विन्दु पहिल्याउँदाको प्रसंग सुनाउनुभयो अनि त्यस्ता स्थानको सुन्दरताको बयान गर्दै स्वदेश घुम्न दर्शकलाई प्रेरित गर्नुभयो । कन्सर्टको सुरुवात ‘कोशीको पानी’बाट भएको थियो भने नेपथ्यका सर्वकालिक लोकरकसँगै अन्तिममा नेपाली झण्डाको स्तुतिमा आधारित ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो । कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’ पनि सुनाइएको थियो ।
मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गीतारमा सुविन शाक्य, गीतारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थियो । यसपाला नेपथ्यको महिना दिन लामो अमेरिका यात्राका लागि तय सात शहरको प्रस्तुतिमध्ये यो तेस्रो शो हो । ब्याण्डले टेक्सासको अस्टिन र वासिंटनको सियाटलमा कन्सर्ट गरिसकेको छ ।
ब्याण्ड अब पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँको पिट्सबर्ग शहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्याण्डले यसै राज्यको हृयारिसबर्गमा आफूलाई उभ्याएको थियो । ब्याण्ड मे ३१ मा पिट्सबर्गस्थित ‘रक्सियन थिएटर’मा प्रस्तुत हुनेछ । त्यसपछि ब्याण्ड पाँचौं प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यस सहरस्थित ‘दि भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ ।
त्यसपछि जुन ११ मा नेपथ्य वोष्टन शहरको ‘रोयल वोष्टन’ हलमा उभिनेछ । यस वर्षको कार्य तालिका अनुसार यात्राको अन्तिम प्रस्तुति भने नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहरमा तोकिएको छ । त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षका निम्ति ब्याण्डले अमेरिकाबाट बिदा लिनेछ । व्यवस्थापन, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ । अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ले संयुक्त रूपमा सम्हालेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम