काठमाडौं । गीतकार संघ नेपालले ‘अमर-भावना राष्ट्रिय स्रष्टा सम्मान’ विशिष्ट गीतकार गणेश रसिकलाई अर्पण गरिएको छ । अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका विशिष्ट गीतकार रसिकलाई निवासमानै पुगेर एक लाख ५१ हजार नगद रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान अर्पण गरिएको थियो । गीतकार संघमा यो पुरस्कार वरिष्ठ गीतकार अमर वान्तुले स्थापना गर्नुभएको हो ।
भोजपुर जिल्लामा जन्निुभएका ७८ वर्षीय रसिक कलिलो उमेरमै गीत संगीतमा सक्रिय हुनुभएको थियो । विसं २०२४ सालमा रसिकको रचना एवं संगीतमा रेडियो नेपालमा हिरण्य भोजपुरेसँगको युगल गायनमा गीत रेकर्ड भएपछि उहाँको नाम सांगीतिक आकाशमा गुञ्जन थालेको हो । रसिक गायक एवं संगीतकारका साथै मूलतः गीतकार हुहनुहुन्छ । उहाँका दर्जनका हाराहारीमा पुस्तक प्रकाशन भएका छन् । ‘रसिकका गीतहरू २०४५’ र स्वाधीनताको पीडा २०६८’ गीतसंग्रह प्रकाशन भएका छन् । त्यस्तै, रसिकको शव्द र संगीतमा तयार भएको अडियो क्यासेट ‘मेरो अतित्, अन्तराल भाग १, २ र ‘ओ सुन्यता’ नामक सिडी प्रकाशन भएका छन् ।
संघले बुधबार आफ्नो १६औं स्थापना दिवस मनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता संघका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोबीच स्थापना दिवस मनाइएको हो । हरेक वर्ष नियमित रुपमा प्रदान गर्दै आएका सम्मान तथा पुरस्कार यस वर्ष पनि अर्पण गरियो ।
यस वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल२०८१ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्याएकोमा अमेरिकामा बसोवास गर्ने गीतकार दिलिप योन्जन तामाङलाई १५ हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ । यस वर्ष विष्णुमन्सरा घले मातृभाषा गीतकार सम्मान २०८१ बाट मगर भाषाका गीतकार सन्जोग लाफा मगरलाई २५ हजार २५२ नगद रुपैयाँसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा संघमा आबद्ध सदस्यमध्ये ८० वर्षभन्दा ज्येष्ठ गीतकार हरिभक्त बुढाथोकी (८६ वर्ष)लाई पाँच हजार ५५१ नगद रुपैयाँसहित सम्मान-पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा यस वर्ष भैरवनाथ रिमाल(कदम) वर्ष गीत पुरस्कारबाट नगदसहित गीतकारद्वय डा.ओमकृष्ण प्रसाईं र ध्रुव खनाललाई ५७ हजार नगद रुपैयाँसहित पुरस्कृत गरिएको छ भने जगतमर्दन थापा वर्षगीत पुस्तक पुरस्कार २०८१ गीतकारद्वय त्रिविक्रम पाण्डे र गीतकार हिमांशु रायलाई ५७ हजार नगद रुपैयाँसहित प्रदान गरिएको छ । कार्यक्रममा साहित्य एवं गीतसंगीत जस्ता बौद्धिक सम्पतिको संरक्षण गर्न प्रतिलिपि अधिकारलाई कार्यान्वयन गर्न उल्लेख्य भूमिका खेलेकाले गीतकार एवं अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पति संरक्षण सम्मान अर्पण गरिएको थियो । त्यस्तै संघको कार्यालय सञ्चालनमा भौतिक सहयोग पु¥याएबापत एलेन ठूलेलाई पनि सम्मान प्रदान गरिएको थियो ।
सोही समारोहमा यस वर्ष गीतकार संघ नेपालको आजीवन सदस्यता प्राप्त गीतकारलाई प्रमाण-पत्रसमेत वितरण गरिएको थियो । प्रमुख अतिथि कुलपति राईले गीतकार संघ नेपाल गीतकार संघका सदस्य गीतकारहरूको हकहितमा स्थापित पवित्र संस्था रहेको र नेपालको लोकतान्त्रिक व्यवस्थाको मर्म अनुसार विभिन्न भाषाभाषिका गीतले समेत गरिमामय स्थान पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यस्तै राज्यका तर्फबाट गीतकार उपेक्षित भए तापनि गीतकारहरूले पाउनुपर्ने हकअधिकारका लागि गीतकार संघ नेपाल लडिरहन र संघका अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चारकर्मी एवं संघका आजीवन सदस्य हेम सुवेदीले सहजीकरण गर्नुभएको थियोे ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…