
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि निर्माण थालेको छ ।
जिल्लाकै दोस्रो ठूलो सहरको रुपमा रहेको कोहलपुरमा फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले कार्यविधि निर्माण कार्य थालेको हो ।
वैशाख १५ गते बसेको कोहलपुर नगरपालिका नगर कार्यपालिकाले कार्यविधि निर्माणका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । सो कार्यपालिका बैठकले कार्यपालिका सदस्य तथा विधायन समिति संयोजक सुनिता सुनारको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर राना, कोहलपुर नगरपालिका वातावरण प्राविधिक प्रेम बुढाथोकी, कोहलपुर उद्योग वाणिज्य संघका सदस्य अशोक गौडेल रहेका छन् ।
मस्यौदा समितिको सदस्यसचिव कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापालाई तोकिएको छ । समितिको मुख्य कार्यभार कोहलपुर नगरपालिकाको सरसफाइ तथा फोहोरमैला व्यवस्थान कार्यविधिका लागि आवश्यक मस्यौदा तयार गर्ने रहेको छ । सदस्यसचिव थापाले समितिले प्रारम्भिक मस्यौदा तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार कार्यपालिकाले समितिलाई एक महिनाको समय प्रदान गरेको थियो ।
एक महिना पुगिसकेको तर केही समय लिएर विस्तृत रुपमा काम गरिने थापाले बताए । ‘मस्यौदामा तयारीको काम भइरहेको छ । प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिँदैछौँ । मस्यौदा निर्माण भएपछि संशोधन र सुझावका लागि सरोकारवालाहरुसँग छलफल गर्छौँ । त्यसपछि परिमार्जनसहित कार्यविधिलाई प्रक्रियागत रुपमा अघि बढाउने काम हुन्छ्,’ उहाँले भन्नुभयो ।
मस्यौदा तयारीकै सम्बन्धमा बुधबार कोहलपुरमा प्लास्टिकजन्य फोहोरमैलाको असर विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा बोल्दै थापाले कोहलपुर नगरपालिकाले दैनिक १२ टनभन्दा बढी फोहोर संकलन गरिरहेको बताउनुभयो । त्योमध्ये ७० प्रतिशत प्लाष्टिकजन्य फोहोर रहेको छ । उहाँले कोहलपुरको दीर्घकालीन फोहोर व्यवस्थापनको लागि नीति नै आवश्यक रहेकोमा जोड दिनुभयो । मस्यौदा समितिकी संयोजक सुनिता सुनारले समितिले मस्यौदा तयार गरिरहेको बताउनु भएको छ । उहाँका अनुसार मस्यौदा निर्माणको अन्तिम चरणमा समिति पुगेको छ ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विश्वकर्माले प्लाष्टिकजन्य फोहोरको दुरगामी असरबारे सचेतना आवश्यक रहेको बताउँदै प्लाष्टिक प्रतिबन्ध गर्नेदेखि वर्गीकरणसम्मको व्यवस्था गर्नुपर्ने बताउनु भएको थियो यसैगरी कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगरपालिकाले कार्यविधि निर्माणको थालनी सुरु गरेको बताउनुभयो । उहाँका अनुसार कोहलपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न, प्लाष्टिक मुक्त बनाउनेदेखि फोहोरमैला व्यवस्थापनलाई स्थानीय पाठ्यक्रममा पनि समावेश गरिनेछ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कार्यविधि निर्माणका लागि विधायन समितिको संयोजकको नेतृत्वमा मस्यौदा समिति गठन गरिएको बताउनुभयो । उहाँका अनुसार कोहलपुरको दीर्घकालीन फोहोरमैला व्यवस्थापनको लागि कार्यविधि निर्माण सुरु गरिएको छ । कार्यविधि बनेपछि फोहोरमैला व्यवस्थापनमा सहजता हुने उहाँको भनाइ छ ।
रेष्टलेस डेभलप्मेन्ट, युथ इनोभेसन ल्याब, क्रियसन नेपाल र बास नेपालको आयोजना र कोहलपुर नगरपालिकाको समन्वयमा सम्पन्न प्लाष्टिकजन्य फोहोरमैलाको असर विषयक अभिमुखीकरण कार्यक्रममार्फत कोहलपुरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुले पाँच बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले कोहलपुर नगरपालिकाले निर्माण गर्न लागेको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यविधिमा समेटिनुपर्ने सबै विषयवस्तुका बारेमा सरोकारवालाहरुबाट सुझाव संकलन गरी यसै आर्थिक वर्षभित्र कार्यविधि जारी गर्ने प्रतिबद्धता गरेका हुन् ।
प्रतिबद्धता पत्रमा भनिएको छ, ‘हामी वडाअध्यक्षहरु आफ्नो वडाहरुमा प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापनविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न कटिबद्ध छौँ । कार्यविधि निर्माण र सचेतनामूलक कार्यक्रम गर्न नगरपालिकासँग माग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन गर्नका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता गर्दछौँ ।’
प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापनका लागि नियमित रुपमा अभियान सञ्चालन गर्नुका साथै प्लाष्टिकजन्य झोलाको विकल्पको रुपमा वैकल्पिक व्यवस्थाका लागि आवश्यक पहल गर्ने र प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापनका लागि विषयविज्ञ उपस्थितिमा नगर स्तरीय विशेष प्रकारको तालिम, छलफल गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच