अथक साधक जो कहिल्यै थाक्दैन साधनाको संसारबाट । खोजको क्षितिजबाट । मुखमा निराशा भए पनि, गर्नु पथ्र्योको आशा भए पनि, गर्दैनन्को आक्रोश भए पनि अनेकौं महाकाव्य, खण्डकाव्य, समालोचकीय र अनुसन्धेय ठेलीका ठेली कृतिमा भित्र केही गुम्सिए पनि बाहिर हँसमुख चेहरामा स्रष्टत्वको उछाल छल्किएका व्यक्तित्वको नाम हो चन्द्रप्रसाद न्यौपाने । चार दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका चन्द्रसँग प्राविधिक क्षमताको पनि भण्डार छ । संस्था सञ्चालनको तौरतरिका पनि यिनीसँग नभएको होइन । शिक्षकको भूमिकामा लामो समय दासत्वभित्र हराउनु परे पनि असलमा यिनी स्रष्टा हुन्–असाध्य लागी पर्ने स्रष्टा । पद्य क्षेत्रमा लगातार कलम घोटेर यस वयसाँधमा नै अठचालीसभन्दा बढी कृति नेपाली साहित्यभण्डारमा सुम्पनु आफैंमा चानचुने समर्पणको कुरा होइन ।
स्रष्टा कसैसँग प्रतिस्पर्धी हुँदैन आफूसँगबाहेक । ऊ हाँस्छ आफैँमा । रुन्छ आफैँमा । मुस्कुराउँछ आफैँमा । उसको एउटा मुस्कानभित्र छुट्टै संसारको क्षितिजले घुम्टो खोलेको हुन्छ । उसको चेतनाको गुलाफी स्वरूप फक्रिएको हुन्छ । चलेको बास्नाले संसारका तानाशाहहरू तर्सन्छन् । निरङ्कुश तन्त्रका तानहरू एकपछि अर्को टुट्छन् सुकेका पातहरू आफ्ना वासस्थानबाट टप्प-टप्प भूइँमा खसेझैँ वा झरेझैँ ।
पद्यका पानामा शब्दका बिउ छरेर खेतमा समेत त्यसरी नै हातमा ठेला उठाउँदै श्रम गर्न रुचाउँने कवि/महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने प्रतिभाशाली आभ्यासिक पद्य कवि हुन् । छभन्दा बढी खण्डकाव्य, आठभन्दा बढी महाकाव्य, पाँचभन्दा बढी कविता सङ्ग्रह सिर्जनात्मक कविता फाँटमा प्रकाशित गरिसकेका स्रष्टा चन्द्रप्रसाद न्यौपाने लर्तरो कविव्यक्तित्व हो भनेर आँक्नु आँकलनकर्ताको मूर्खाता सिवाय केही होइन । अझ आफ्नो भीमकाय कृति ‘चन्द्रोदय’ महाकाव्य लोकार्पणको रोचक कहानी अद्यावधि मेरो स्मृतिपटलमा ताजा बनेर लहराइरहेको छ ।
चन्द्र वायुपङ्खी उच्च कलात्मक आवेगका कुवेर होइनन् यिनी देवकोटाजस्ता । निखार बस्तादी कसरतका नायक पनि होइनन् सोमनाथ सिग्देलजस्ता । नाकठिके एउटा कविता छपाउन छ महिना लगाउँदै राष्ट्रभक्ति र अन्तर आयआर्जनमा सारै लिप्सा राख्ने पनि होइनन् राष्ट्र कवि माधव घिमिरे जस्ता ।
पुष्पकमल दाहाल प्रचण्ड सायद प्रधानमन्त्री थिए त्यसबेला उनलाई नै प्रमुख अतिथिका आसनमा सजाएर निकै तामझामका साथ यस महाकाव्यको लोकार्पण गरे चन्द्रले । राजनीतिकर्मी त्यसमा पनि अहिलेका पुङ्मागे नेताहरू जसमा न कुनै आदर्श छ, न कुनै अडान । न कुनै वैचारिक सङ्कल्प छ, न कुनै कथित देशको सीमा र जनउत्थानप्रतिको चासोभाव छ यस्तालाई शिरमा राखेर कृति लोकार्पित गर्नु आफैँमा साहित्यिक कलात्मक उच्च आस्थाबाट निकै तल झरेको ठान्छु म ।
पद्य क्षेत्रमा लघु आकारका फुट्कर कवितासँग जुद्धै कवित्वचेतको निखारमा सङ्घर्षरत रही खण्डकाव्य, महाकाव्य त्यसमा पनि भीमकाय महाकाव्यसम्मको यात्रा गरिनु आफैँमा चानचुने उपलव्धि होइन कविता काव्य लेखनका क्षेत्रमा । यो भावात्मक विषय हो । भावुकताको भूत सवार भएपछि कलम चलेका सर्जकले साना विषयभित्रै विराट विश्व निर्माण-विनिर्माण गर्न सक्छ ।
चन्द्रकै सन्दर्भमा भन्नुपर्दा वायुपङ्खी उच्च कलात्मक आवेगका कुवेर होइनन् यिनी देवकोटाजस्ता । निखार बस्तादी कसरतका नायक पनि होइनन् सोमनाथ सिग्देलजस्ता । नाकठिके एउटा कविता छपाउन छ महिना लगाउँदै राष्ट्रभक्ति र अन्तर आयआर्जनमा सारै लिप्सा राख्ने पनि होइनन् राष्ट्र कवि माधव घिमिरे जस्ता । तैपनि यिनी विषयगत चौघेराका वरिपरि बस्तुगत ढङ्गले बढी परिभ्रमित हुने एक खालका वस्तुनिष्ठ कवि हुन् । ‘म’ शीर्षक यिनको एउटा फरक खालको महाकाव्य छ । यसमा शरीरस्थित ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुई अलग काम गर्ने विषयको साङ्गोपाङ्ग अपरेसन चन्द्रबाट भएको छ । त्यसका लागि कति अध्ययन आवश्यक हुन्छ ? उनी यी सबै सबै काम गर्न तयार भएर लेखनकार्य सुरु हुनु पर्यो ।
कल्पनात्मक क्षमता हावी भएका मान्छेमा यो धैर्य हुँदैन । दायाँबायाँ मस्तिष्कका दुई अलग धारलाई समाती उच्च कल्पनात्मक आहृवानको बाँसुरी बजेर हामीलाई कालिदासतिर लैजान्छ । होम र दाँतेतिर उफार्छ । देवकोटाको-सुन तार भयो सुनको नभमातिर डोर्याउँछ । कविता/काव्यबाट यसरी वस्तुनिष्ठताका अंश केलाएर कृत्याकार निर्माण गर्नु चन्द्रको फरक शैलीको आफ्नै खाले पद्यविधानका पारा छन् ।
पद्यमा वस्तुतावादी ढङ्गले पौडी खेल्ने चन्द्रप्रसाद न्यौपाने आख्यान अन्तर्गतका कथा/उपन्यासका परिधिभित्र घुमेर कृति प्रकाशन गर्न पनि उत्तिकै सफल रहेको देखिन्छ । यी नितान्त भिन्न भावात्मक सोचका विषय हुन् । कथा, उपन्यासमा केही हदसम्म प्राविधिक ज्ञानको मनोलोक पनि निर्माण गर्नु आवश्यक हुन्छ । कथावस्तु, पात्र छनोट, कथोपकथनमा अन्तर विरोधाभास भएकाखण्डमा यसतिरको लेखनले आफैंमा असन्तुष्टि जन्माउँछ ।
निबन्ध, यात्रासंस्मरणात्मक निबन्ध लेखनमा पनि यिनको रुचि पछि परेको छैन । ‘हुन्न’ सायद यिनका मस्तिष्कीय शब्दकोषमा शब्द नै नहुन सक्छ । ‘हुन्छ’ मा पुष्टि गर्ने सामग्री यिनका मस्तिष्कीय शब्दकोषका साहस हुन् । अर्कालाई बिझाउने शब्द यिनमा छँदै छैनन्, रिझाउँने कलाको पनि अभाव छ यिनमा । भलै चेहरामा यिनी आक्रोशित हुन् कि आभास नहुने होइन ।
राजनीति, साहित्य, व्यवहार, खेतीपाती, ज्योतिषसम्मको समेत आधिकारिक ज्ञान राख्छन् चन्द्रप्रसाद न्यौपाने । निश्चय नै बहुआयामिक व्यक्तित्वका व्यक्ति हुन् यिनी । सिन्धुपाल्चोक कृति लोकार्पण र प्रचण्डको प्रसङ्गले के देखाउँछ भने राजनीतिक रङ्कै हिसाबले प्रज्ञामा नेतृत्व छनोट गरे पनि यस स्तरका व्यक्ति छँदाछँदै माओवादी पार्टीले प्रज्ञालाई गोठालाहरूको आश्रयस्थल किन बनायो ? म अचम्ममा छु । एक हिसाबले त ठीकै पनि हो । प्रज्ञाशील व्यक्तित्वहरू आस्था भए पनि झोले बन्दैनन् । प्रज्ञाहीन व्यक्तिहरू आस्था नभएर पनि स्वार्थसिद्धिका लागि या त्यस अवधिसम्म किन नहोस् पुच्छर हल्लन्छन् ।
यति राम्रा विधिविज्ञ, कलासाधक चन्द्र यदाकदा भावुक आक्रोशमा पनि आउँछन् । एकपटक सञ्जालमा पनि साहित्यप्रतिको, लेखनप्रतिको निराशाभाव व्यक्त गरेका थिए निरर्थक निराशा । यिनमा अभाव केही छैन । सरकारी निवृत्ति पाएकै छन् । माथिल्लै स्तरको ग्रामीण पुँजी छँदै छ ।
सामान्य मान्छेमा भएको अस्मितासमेत गुम्ने ठाउँको प्रस्ताव त अस्तित्व नभएका मान्छेले मात्र स्वीकार्छ । चाहे कांग्रेसले गरेका हुन् चाहे एमालेले । चाहे राजा भएका बेलाको राप्रपाले नै किन नगरोस् प्रज्ञाको अस्तित्व नै दुर्गन्धित हुने जमघटचाहिँ इतिहासमा यो पहिलो हो । केही नभएका गए पनि त्यहाँ पुगेपछि केही भएका भएर देखिन्थे । अहिले यसको साङ्केतिक आभाससम्म पनि नहुनुले अप्राकृतिक विद्रोहीहरू लज्जास्पद भौतिक मनोलोकका रोगी हुँदारहेछन् भन्ने स्पष्ट भएपछि प्रचण्ड कुर्लिनुको निरर्थक ओठ दुखाइ छर्लङ्ग छ । यस्ता गिद्धहरूलाई एकछिन् सञ्जाल चर्चाका लागि क्षमतावान् कुनै पनि साहित्यकारले चाहे राष्ट्रपति होस् चाहे प्रधानमन्त्री, चाहे नेतासेता भरौटेका भाँडहरू यिनलाई निम्त्याउनु क्षणिक अज्ञानताको परिचायकमात्र हो । यो मूर्खता चन्द्रले जानेर हो वा नजानेर, भएर हो वा नभएर देखाएका छन् ।
यति राम्रा विधिविज्ञ, कलासाधक चन्द्र यदाकदा भावुक आक्रोशमा पनि आउँछन् । एकपटक सञ्जालमा पनि साहित्यप्रतिको, लेखनप्रतिको निराशाभाव व्यक्त गरेका थिए निरर्थक निराशा । यिनमा अभाव केही छैन । सरकारी निवृत्ति पाएकै छन् । माथिल्लै स्तरको ग्रामीण पुँजी छँदै छ । उपत्यकाभित्रै सिसमहलपति पनि भएका चन्द्रले गुनासामुक्त, निराशामुक्त, आशामुक्त भएर आफ्नै स्रोतसाधनलाई बलियो पुँजीका रूपमा अक्षयकोष खडा गरी साहित्यिक संस्थाको मानक व्यक्तित्व बन्ने बेला हो यो । अझ उनलाई सहज त के छ भने उनको आउने पुस्ता छोरासमेत यसै क्षेत्रमा समाहित छन् ।
प्रतिभा सफा र तटस्त हुनुपर्दछ जुन्सुकै सन्दर्भमा पनि । बिसौँ शताब्दी हल्लाउने व्यक्तित्वमध्ये एक हुन् अबलेयर कामु । कामु साम्यवादी विचारमा आबद्ध भएर पार्टीको महासचिवजस्तो उच्च पदमा पुगे । आफ्नो सामान्य एक स्वतन्त्र विचार राख्नासाथ पार्टीबाट घोक्रेठ्याक लागेका कामुले सडकमा ओर्लिनुप¥यो र साम्यवादी खोक्रो आदर्शका विपरीत पाएको नोबल पुरस्कार लिन उनी बाध्य भए बाँच्नकै लागि पनि । आनन्द रूपले स्वतन्त्र बसेर आफ्नो लेखन क्षेत्रमा मात्र लागे पनि कुनै समस्या छैनन् चन्द्रसँग तर सङ्कीर्ण मास्टर मानसिकताबाट चाहिँ सधैँमाथि उठाउने प्रयास मनसा, वाचा, कर्मणा मनलाई गराउनुपर्दछ ।
पछिल्लोपटक उनले गरेको खोज अनुसन्धान र प्रकाशमा आएको अमर काम हो, ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण ।’ यो आफैँमा कष्टसाध्य काम उनले लामो समयको खोज अनुसन्धानबाट सिद्ध गरे । तत्कालीन प्रज्ञाप्रतिष्ठानले यसलाई सहर्ष स्वीकार गरेर छाप्यो पनि । सायद अहिलेको प्रज्ञाप्रष्ठिान भएको भए यो पाण्डुलिपिमा नै थन्किएर रहने थियो कतै । कारण महाकाव्य के हो ? बुझ्ने व्यक्तिको सङ्ख्या अहिले प्रज्ञामा छँदै छैन, भए पनि एकदम नगण्य जसका आवाजको सुनुवाइ नियुक्त भएको केही दिनमै फेवा र राराको वनभोजमा कुद्ने बिचरा बहुसङ्ख्यक कथित प्राज्ञले यो कामगर्ने त सम्भावना नै थिएन ।
अझ गज्जब हाँस उठ्दो कुरा त के छ भने भानुभक्त र माधव घिमिरे नै को हुन् म चिन्दिन भन्ने वर्तमान प्रज्ञानायकले ९३६ पृष्ठको महाकाव्यसम्बन्धी खोजमूलक कृति छपाउने अनुमति देलान् ? हामी कल्पना नै गर्न सक्दैनौँ । केही छिटपुट यससम्बन्धी कृति पहिले पनि नआएका भने होइनन् तर यस रूपमा आधिकारिक अनुसन्धानबाट प्रकाशित कृति नेपाली साहित्य भण्डारले पाएको पहिलोपटक नै हो यो । प्रतिभा त छँदै छ यसभन्दा बढी अभ्यासमको आगोमा खारिएर खडा भएको चन्द्रको यो अस्तित्वको स्तम्भ पद र लालसाको भिखमा कतै नबिकोस् । यही कामना गर्दै गालीका शब्दलाई यहीँ विश्राम दिन्छु ।







यथार्थपरक विश्लेषण ।