बहुदलीयताको पुनरागमन सँगसँगै देशको स्वाभिमान र अस्तित्व कमजोर हुँदै गएको छ । जनताको दलप्रतिको मनोभावना र महत्वकांक्षा स्कलित हुँदै गयो । नेतृत्व वर्गमा देशप्रतिको चिन्तन रास हुँदै जानु सामान्य विषय थिएन, संकटका चरमोत्कर्षहरू एकाएक देखिन थाले । आमनागरिकमा नेतृत्वविरुद्धको चरम असन्तुष्टि विकसित हुँदै जानुले राज्य र आमनागरिकबीचको दूरी बढ्दै जानु स्वाभाविक थियो । बहुदलीयताको आडमा म नै राज्य हुँ भन्ने हुटहुटी नेतृत्व गणमा देखापर्न थाल्यो । जसका कारण संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नै धरापमा परेको अनुभूति आमनागरिकले गर्न थाले । सामान्य अर्थमा जनताको बलिदान त्याग र तपस्याबाट प्राप्त जनअधिकार दलतन्त्रको आडमा कुण्ठित हुन थाले जसले गर्दा राष्ट्रियता, सार्वभौमिकता र देशप्रेम नेतृत्व गणमा साँघुरिँदै गयो । दलतन्त्रको हुर्मत यतिसम्म अराजक बन्दै गयो कि राजनीति भनेको पद पैसा र शक्तिको दुरुपयोगद्वारा जनतामाथि शासन गर्ने अमुक संयन्त्र हो भन्ने मानसिकताका रूपमा हेर्न थालियो जसको प्रतिक्रिया स्वरूप हामीले जे गरे पनि हुन्छ भन्ने लघुतावास नेतृत्व वर्गले पाल्न थाले जसका कारण भ्रष्टाचार व्यथिति र विसंगतिले प्रसय पाउन थाल्यो ।
भूत र भविष्य पहिचान गर्न नसक्नेको हातमा नेपालको राजकीय सत्ता नेपाली जनताले सुम्पिएका छन् । नागरिकलाई सधैं माली गाई जस्तो ठान्ने अमुक पुराना राजनीतिक दलहरू गत चुनावबाट शसंकित भएका छन् । वैकल्पिक विचारधाराका नयाँ पार्टीहरूको निर्वाचनमार्फत सदन अवतरणले पुराना राजनीतिक दलहरूको निध हराम भएको छ ।
प्रसयताको विषयले मात्र पुगेन राज्यका उच्च पदासीन रहेका व्यक्ति नै भ्रष्टाचारको मुद्दा मामिलामा संलग्न भएको पाइयो । राजनीति भनेको राज्य दोहन गर्ने माध्यम हो भन्ने अर्थमा हेर्न थालियो । यसले सामाजिक राजनीतिक र आर्थिक रूपमा मात्र प्रभाव पारेन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा देशको छविलाई निमिट्यान्न पार्ने काम भयो । वास्तवमै भन्ने हो भने कालेकाले मिलेर खाउँ भाले जस्तो भयो संघीय लोकतान्त्रिक गणतन्त्र । अदूरदर्शी नेपाली मनोविज्ञानका कारण आज नेपालमा धेरैजसो नेपालीहरू विदेश जान बाध्य भएका छन् । यसैगरी सदैव विदेश जाने वातावरण सिर्जना हुँदै जाने हो भने एकदिन नेपाल रितो हुने पक्कापक्की छ । देशको गम्भीरता र चिन्तनको विषयलाई मनन् नगर्ने हो भने हामी एकदिन एकल काटी हुनेछौं ।
विद्यमान संसद्को रवैया देख्दा आरोप-प्रत्यारोपको थलोबाहेक अरू केही हुन सकेको छैन । एकले अर्कालाई सिध्याउने खेल बाहेक अन्य सकारात्मक विषयको उजागर हुनसकेको छैन । भुटानी शरणार्थीकाण्डदेखि सहकारी काण्डसम्म, गिरिबन्धु, यती ओमनी हुँदै अध्यागमन विभागसम्म जता हेरे पनि भ्रष्टाचारै भ्रष्टाचारका व्यथिति र विसंगति प्रशस्त मात्रामा मौलाएका छन् । विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी र मोहनमोहन अधिकारीका नाराहरू बजाएर दलतन्त्र विचारविहीनताको राजनीतिमा सक्रिय छन् । यसले देशको अस्तित्व र सार्वभौमिकतामाथि कस्तो प्रभाव पारेको छ भनेर ध्यान दिएको पाइएको छैन । यही कुबुद्धिको यात्रामा हाम्रो आचरण प्रवृत्ति र रवैया निरन्तर रहने हो भने दक्षिणी सुडान, रुवान्डा र मध्यपूर्व क्षेत्रजस्तो नभइएला भन्ने कुरामा सन्देह छैन ।
वामपन्थीहरू दक्षिणपन्थी जस्तो देखिने, दक्षिणपन्थहरू वामपन्थी जस्तो देखिने यो कस्तो संस्कारको राजनीति हामीले विकास गरिरहेका छौं । वामपन्थीवादी होस् वा प्रजातन्त्रवादी होस् विश्वमै गरिब राष्ट्रपतिको नाम कमाउन सफल भएका उरुग्वेका राष्ट्रपति होसे मुहीका अर्थात् पेपेबाट हामीले किन शिक्षा लिन सक्दैनौ । प्राचीन ग्रन्थहरूमा राजा बेनको नाम आउँछ जहाँ देवताको होइन राजाको पूजा गरिनुपर्छ अहिले राजावादी आवरणमा बिदा भएको राजसंस्थाको जयजकार गर्ने प्रयत्न भइरहेको छ । यसले संघर्ष र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र उपर कस्तो विश्लेषण गर्न सक्दछ ? सत्ता चलाउने मठादिशहरूले समीक्षा गर्ने विषय बनेको छ । संस्कृतमा एउटा श्लोक आउँछ न भूतो न भविष्यती अहिले ठ्याक्कै त्यस्तै भएको छ । भूत र भविष्य पहिचान गर्न नसक्नेको हातमा नेपालको राजकीय सत्ता नेपाली जनताले सुम्पिएका छन् । नागरिकलाई सधैं माली गाई जस्तो ठान्ने अमुक पुराना राजनीतिक दलहरू गत चुनावबाट शसंकित भएका छन् । वैकल्पिक विचारधाराका नयाँ पार्टीहरूको निर्वाचनमार्फत सदन अवतरणले पुराना राजनीतिक दलहरूको निध हराम भएको छ ।
दलभन्दा देश ठूलो हो भन्ने उक्तिलाई सिरोपर ठानी शान्ति स्थिरता र स्थायित्वको मार्ग अवलम्बन गर्दै सुशासनयुक्त समाजको निर्माणमा हामी सबै कटिबद्ध भएर लाग्न सकियो भनेमात्र गणतन्त्र र देश बलियो हुन सक्दछ ।
यावत् घटनाक्रम हुनुमा अग्र पंक्तिमा कांग्रेस–एमालेको नाम आउँछ । एउटा भनाइ छ, ‘महाजनो चेत गतः स पन्था’ अर्थात् ठूला मान्छे जता जान्छन् बाटो त्यतै हो । जनताहरूलाई राजनीतिक दलहरूले जस्तो शिक्षा प्रदान गरे आज नागरिकहरूले त्यही शिक्षा लिइरहेका छन् । अतः नेपालको बिग्रँदो राजनीतिलाई व्यवस्थित रूपमा सुचारु गर्न उच्चस्तरीय राजनीतिक सहमतिको सहकार्य आवश्यक देखिन्छ । अनुशासित दलीय तन्त्रका साथै एकत्वको भाव झल्कने राष्ट्र निर्माणको अभियानमा सबै राजनीतिकर्मी हिँड्नुको विकल्प छैन । मुख्यतः संविधान संशोधनको मुद्दालाई गम्भीर रूपमा समीक्षा गर्न सकिएन भने हामी सही गन्तव्यमा पुग्न सक्दैनौं । हाम्रो निर्वाचन प्रणालीमा थुप्रै कमीकमजोरी छन् यसमा सबै दल दत्तचित्त भएर खर्चिलो निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न सक्नुपर्दछ । संघीय संरचनालाई दुई तहको सरकारको रूपमा विकास गर्नुपर्दछ त्यो भनेको स्थानीय सरकारलाई पूर्ण अधिकार दिएर मजबुत तल्लो सरकार निर्माण गर्ने अर्कोतर्फ केन्द्रीय तहलाई नीतिनिर्माणको प्रमुख थलो निर्माण गर्ने । यसो गरियो भने विकेन्द्रीकरण सिद्धान्तको मर्म र भाव बमोजिम संघीयतालाई सुव्यवस्था गर्न सकिन्छ ।
स्थानीय तहको संख्यालाई न्यूनीकरणगरी आवश्यक बमोजिमको भूगोल र जनसंख्यामा आधारित वडा कार्यालय थपघट गर्न सकिनेछ । यसले आर्थिक बोझको न्यूनीकरणका साथै वित्तीय व्यवस्थाको सुनिश्चिततामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । तराई, पहाड, मधेस हिमालको भौगोलिक क्षेत्र र सम्भाव्यता अध्ययनगरी युवा जनशक्तिलाई रोजगार प्रदान गर्न सकिन्छ । कृषि पर्यटन र पूर्वाधारका क्षेत्रमा दिगो विकास अवधारणाको महासंकल्पलाई कार्यान्वयन गर्न सकेमात्र त्यसको आर्थिक उन्नति र प्रगति प्राप्त गर्न सकिन्छ । यसले सयौं थुंगाफूलका हामी भन्ने मूलमन्त्रलाई आत्मबोध गर्न प्रेरित गर्दछ र देश बलियो बन्दछ ।
शब्दमा राष्ट्रवाद खोज्नुभन्दा राजनीतिक, सामाजिक र आर्थिक उन्नयनको पक्षधरतालाई आत्मसात गर्न सके सुखी नेपाली समृद्ध नेपालीको राष्ट्रिय महत्वकांक्षा हासिल गर्न सक्दछौं । अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्रिय मामिलाका सन्दर्भमा फिलहालमात्र सगरमाथा संवादले सिर्जना गर्न नसकेको रौनकताको विषयमा हामी सर्वविधितै छौं । आखिर हामी कौटल्य कूटनीतिमा कसरी कमजोर साबित हुन पुग्यौं । विगतका कमीकमजोरीलाई औलाउँदै विदेश नीति सुदृढीकरणका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यता अंगीकार गर्नु सिवाय अर्काे कुनै विकल्प छैन । अन्त्यमा दलभन्दा देश ठूलो हो भन्ने उक्तिलाई सिरोपर ठानी शान्ति स्थिरता र स्थायित्वको मार्ग अवलम्बन गर्दै सुशासनयुक्त समाजको निर्माणमा हामी सबै कटिबद्ध भएर लाग्न सकियो भनेमात्र गणतन्त्र र देश बलियो हुन सक्दछ । गणतन्त्र दिवसको शुभकमना । शुद्धोधन-४ रूपन्देही ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…