काठमाडौं । साहित्यकार, गायक एवं संगीतकार एवं बहुआयामिक व्यक्तित्व नेपाली कला क्षेत्रका उज्ज्वल नक्षत्र गणेश रसिकको निधन भएको छ । थुप्रै कालजयी गीतका सर्जक रसिकको भौतिक शरीर सदाका लागि अस्ताएको छ । विगत केही वर्षदेखि प्रोस्टेट क्यान्सर रोगबाट पीडित उहाँको उपचारका क्रममा आइतबार ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो । रसिकको पार्थिव शरीरलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ । उहाँकी छोरी बेलायतबाट आज (सोमबार) नेपाल फर्किएपछि मात्रै रसिकको अन्तिम संस्कार गरिने भएको छ । रसिकले आफ्नो अन्तिम इच्छामा अन्तिम संस्कार भोजपुरमा गर्न आग्रह गरेकाले सोही अनुसारको तयारी रहेको पारिवारिक स्रोतको भनाइ छ ।
रसिक उपचारकै क्रममा भारतसमेत जानुभएको थियो । क्यान्सर अन्तिम स्टेजमा पुगेको थाहा पाएपछि उहाँ नेपाल फर्किनुभएको थियो । उहाँलाई केही दिनअघि मात्र गीतकार संघ नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘अमर-भावना राष्ट्रिय स्रष्टा सम्मान’ले विभूषित गरेको थियो ।
रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता प्राज्ञिक संस्थानमा उहाँले कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
रसिक बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका ‘हट्ने होइन डटी लड्ने’, ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता धेरै गीत कालजयी छन् । यस्तै, ‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुंगो’ (संस्मरण) लगायत उहाँका दर्जन बढी कृति प्रकाशित छन् ।
जनबोली र प्रकृतिका सुसेलीलाई टिपेर उहाँले सृजना गरेका गीत संगीतहरू देशको धड्कनका रूपमा प्रतिविम्बित भएका छन् । राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित उहाँका सिर्जना रैथाने स्वादका र कालजयी छन् ।
रसिकले बिएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको थियो । उहाँले सामान्य जागिरे हुँदै विभिन्न विभाग र संस्थाहरूमा ३१ वर्षसम्म काम गर्नुभयो । २०७८ को कात्तिकमा उहाँकी श्रीमती नीरा शेरचनको निधन भएको थियो भने छोराको पनि निधन भइसकेको छ ।
‘लेकाली’ समूहबाट गायनमा, कविदेखि नियात्राकारसम्म
करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आउनुभएका रसिकले कवि, गीतकार, संगीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाउनुभएको थियो । उहाँका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । रसिकले ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ’जस्ता राष्ट्रिय गीत गाउनुभएको छ । उहाँका केही रचना विद्यालयका पाठ्यपुस्तकमा समावेश छन् । रसिक वासु शशी स्मृति परिषद्का अध्यक्ष पनि हुनुहुन्थ्यो ।
गत असोजमा भोजपुर जिल्लासँग जोडिएका ३० भन्दा बढी संघसंस्थाले उहाँलाई अभिनन्दन गरेका थिए । सो क्रमममा उहाँको योगदानका विषयमा साहित्यकारले लेखेका लेखहरूलाई समेटेर तयार पारिएको ‘गणेश रसिक : अभ्यार्थना ग्रन्थ’को विमोचन पनि गरिएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई अभिनन्दन गर्नुका साथै उक्त ग्रन्थको विमोचन गर्नुभएको थियो ।
गीत संगीत क्षेत्र मात्रै नभएर सिंगो राष्ट्रलाई ठूलो क्षति : थापा
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले स्रष्टा रसिकको निधनले गीत संगीतका क्षेत्रमा मात्र नभएर सिंगो राष्ट्रलाई ठूलो क्षति भएको बताउनुभएको छ । उहाँले चार दिनअघि मात्र आफूले भेटेको स्मरण गर्दै कसैसँगै कहिल्यै रिस डाह नगर्ने शालीन व्यक्तित्व भएको बताउनुभयो । ‘आदरणीय दाइलाई गीतकार संघले चार दिनअघि मात्र भेटेर अमर-भावना राष्ट्रिय पुरस्कार अर्पण गरेका थियौँ, उहाँ कुशल प्रशासक, साहित्यकार, गायक, रचनाकार हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो, उहाँको निधनले गीत संगीत साहित्य क्षेत्रमा मात्र नभएर सिंगो राष्ट्रलाई ठूलो क्षति भएको छ्र ।’
सबैका प्रिय व्यक्ति हुनुहुन्थ्यो : वान्तु
वरिष्ठ गीतकार अमर वान्तुले बहुआयामिक सर्जक गणेश रसिक सबैका प्रिय व्यक्ति भएको स्मरण गर्नुहुन्छ । ‘आदरणीय व्यक्तित्व गीतकार संगीतकार, गायक, साहित्यकार दाइ गणेश रसिकलाई सानैदेखि हामीले सुन्दै आएका हौँ, उहाँ सबैका प्रिय व्यक्तित्व हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो ‘उहाँका थुप्रै गीत कालजयी छन् । हाम्रो भोजपुरको सबैभन्दा अग्रज पहिलो पुस्ताको हिरण्य भोजपुरी र गणेश रसिक चर्चित पनि हुनुहुन्छ । उहाँले दशगजा उपन्यासमा आफन्त गुमाउनुको पीडा लेख्नुभएको छ ।’ केही दिनअघि घरमै गएर सम्मान अर्पण गरेको स्मरण गर्दै वान्तुले उहाँ पञ्चायतदेखि लोकतन्त्र सबै कालमा उत्तिकै प्रिय साहित्यकार कवि भएको बताउनुभयो । रसिकको निधनले नेपाली साहित्य र संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि