काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा जोडिएको ‘बाहुन’मा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले ‘बाहुन’को ठाउँमा ‘मान्छे’ राखिएको निर्माणपक्षले जनाएको छ ।
नाम परिवर्तन गर्दै निर्माणपक्षले पोष्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्रको क्यारेक्टर लुक्समा छन् । पोष्टरमा मुख्य कलाकार विजय बराल हुनुहुन्छ । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । निर्देशक हिमाल न्यौपानेका अनुसार ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले गाउँदेखि शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई देखाउनेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुनुहुन्छ ।
चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रूपेश लामा, सुमन थापालागायतको अभिनय छ । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ । सहनिर्मातामा आरके मानन्धर, रूपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहनुभएको छ ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहनेछ । नवीन गुरुङ डीओपी रहेको यो चलचित्र तीजको अवसर पारेर भदौमा प्रदर्शन हुने बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच