
नेपाली कला संस्कृतिको धरोहरका रूपमा रहेको हस्तकलाले देशको अर्थतन्त्र र रोजगारीमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपालका अधिकांश उद्योग आयातित कच्चा पदार्थमा परनिर्भर रहेको अवस्थामा स्वदेशी कच्चा पदार्थ, स्वदेशी पुँजी, स्वदेशी सीप र स्वदेशी प्रविधिबाटै नेपाली हस्तकलाले विश्व बजारमा पहिचानमात्रै बनाएको छैन, हस्तकलामार्फत् अन्तरदेशीय सम्बन्ध विस्तारका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याएको छ । नेपालका निर्यातजन्य वस्तुमध्ये अधिक मूल्य शृंखला भएको हस्तकला आत्मनिर्भर अर्थतन्त्रको आधार पनि हुन सक्छ । तर, नीतिगत समस्याका कारण हस्तकला क्षेत्रले अपेक्षाअनुसार गति लिन सकेको देखिँदैन । सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई उच्च प्राथमिकता दिने भने पनि कार्यान्वयनमा उदासीनता देखिएको छ । हस्तकला नीतिमा भइरहेको ढिलासुस्तीबाट पनि त्यो पुष्टि हुन्छ । त्यस्तै, निर्यात अनुदान, स्वदेशी वस्तु प्रयोगलगायत व्यवस्थाको कार्यान्वयनसमेत निराशाजनक देखिएको छ । निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन नीति कागजमै सीमित हुँदा आयातमात्रै फस्टाउँदै गएको छ, परिणाम स्वरूप व्यापार घाटा चुलिँदै गएको छ । जसले निर्यातजन्य उद्यमीलाई चिन्तित तुल्याएको नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य बताउनुहुन्छ । युवा हस्तकला उद्यमी शाक्य केही महिनाअघिमात्रै हस्तकला महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । महासंघमा उहाँको आगमनले हस्तकला उद्यमीहरूमा केही होला कि भन्ने आशा जगाएको देखिएको छ । ‘नयाँ नेतृत्वसँगै नयाँ सोच त आउनैपर्यो परिवर्तनका लागि’ भन्नुहुने रविन्द्र शाक्यसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको विस्तृत कुराकानी :
निकै लामो प्रतीक्षापछि हालै महासंघले युवा नेतृत्व पाएको छ, कस्तो लागिरहेको छ ?
नयाँ नेतृत्वसँगै नयाँ सोच त आउनै प¥यो परिवर्तनका लागि । सोही कारण विगतभन्दा अहिले मैले अलि फरक ढंगले प्लानिङ गरिरहेको छु । अध्यक्षमा निर्वाचित भएपछि मैले सबै हस्तकला व्यवसायीसँग भेटेँ । जिल्ला संघ, वस्तुगत संघ, निर्यातकर्ता सबैलाई भेट्ने, उहाँहरूका समस्या सुन्ने, बुझ्ने काम ग¥यौं । जितपछि घरदैलोमै भेट्दा महासंघको नयाँ नेतृत्वप्रति एउटा पोजेटिभ भाइब्स क्रियसन भएको पाएको छु । व्यवसायी साथीहरूमा अबचाहिँ केही होला कि त भन्ने आशा पलाएको पाएको छु । उहाँहरूले पनि फरक खालको निकटता महसुस गर्नुभएको मैले पाएको छु । किनभने व्यस्तताले पनि होला चुनाव जितेपछि घरदैलो कार्यक्रम हुने गरेको थिएन । तर, घरदैलो कार्यक्रमबाट व्यवसायी साथीहरू धेरै खुल्नुभयो । नेतृत्वले आलोचना पनि सुन्न सक्नुपर्छ, त्यसबाट आफैंलाई फाइदा पनि हुने रहेछ । त्यसरी घरदैलोमै गएर, निकट भएर कुरा गर्दा कतिपय व्यवसायी साथीहरूमा रहेको नकारात्मक सोच परिवर्तन भएको छ ।
हस्तकला प्रवद्र्धनमा नयाँ योजनाचाहिँ के छन् ?
हस्तकला प्रवद्र्धनका लागि गर्नुपर्ने काम धेरै छन् । तर, बोलेरभन्दा पनि गरेर देखाउनुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले तीनवर्षे योजना बनाएका छौं । यसबीचमा हामी त्यही नीति, कार्यक्रम र योजनाको तयारीमा थियौं । अब सोहीअनुसार कार्यान्वयनमा केन्द्रित हुनेछौं । ठूला–ठूला कुरा होइन, गर्न नसक्ने काम गर्छु भनेर नगर्ने होइन कि गर्न सक्ने स-साना काम गर्दै अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । जसबाट साना उद्यमीले प्रत्यक्ष लाभ लिन सकून् । सबैभन्दा पहिलो नीतिगत सुधारका कुरामा जोड दिएका छौं । उद्यमशीलता प्रवद्र्धनका लागि भन्दै हरेक महिना नगरपालिकालगायत विभिन्न निकायले विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्ने गरेका हुन्छन् तर त्यसको प्रतिफल भने देखिएको देखिँदैन । हस्तकला क्षेत्रमा ठूलो रोजगारीको कुरा गर्छौं तर सोहीअनुसार रोजगारी सिर्जनाका लागि खासै काम भएको देखिँदैन । जसका कारण ठूलो जमात रोजगारीका लागि विदेशिइरहेको अवस्था छ । हस्तकलामा लाग्नेहरूमा नाम, दाम र भविष्य छैन भन्ने व्यापाक गुनासो छ । हस्तकला निर्यातको ठूलो सम्भावना रहेको भन्छौं तर अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । हस्तकला व्यवसायीका लागि क्षमता अभिवृद्धिसम्बन्धी तालिमको पनि आवश्यकता देखिएको छ । हस्तकला उद्यमीलाई पहिचान दिलाउनुपर्ने आवश्यकता छ । हामीले हस्तकला उद्यम वर्गीकरण गरेर सोही किसिमको पहिचान दिने योजना बनाएका छौं । हस्तकलामा ३६ वटा विधा छन् र ती विधामा पनि ८२ वर्गीकरण छ । ती सबैलार्ई समेट्नुपर्छ । अर्कोतर्फ नेपाली हस्तकलाको ब्राण्डिङ हुन सकेको छैन । हस्तकलाका ८२ थरिका उत्पादन, फरक-फरक ब्राण्ड नहोलान् तर एउटा कलेक्टिभ ब्राण्ड बनाउन सकिन्छ । हस्तकला नीतिको कुरा छ । यो तीन वर्षमा उल्लेखित काममात्रै गर्न सकियो भने पनि ठूलो उपलब्धि हुन सक्छ ।
हस्तकला निर्यात विगत लामो समयदेखि स्थिर रहेको देखिन्छ, किन बढ्न सकेन ?
सय दिनको हाम्रो अनुभवका आधारमा मिडिया र बजार हल्लाभन्दा अलि फरक पाएका छौंं । किनभने कोरोनाकालपछि यस वर्ष हस्तकलाजन्य निर्यात बढेको देखिएको छ । चालु आर्थिक वर्षको छ महिनाको निर्यातको तथ्यांकले पनि हस्तकलाजन्य वस्तुको निर्यात झण्डै १३ प्रतिशतले बढेको देखाएको छ । त्यसो त सरकारले २२ देखि ३० प्रतिशतले निर्यात बढेको जनाएको छ तर त्यसमा हस्तकलाभन्दा पनि पाम आयललगायत हिस्साले निर्यात बढेको देखिएको हो । प्रचारबाजीमा रमाउन त सकिएला । त्यस्तो निर्यातलाई निर्यात मान्न सकिँदैन । हस्तकलाजन्य वस्तु चालु आर्थिक वर्षको छ महिनामा आठ अर्ब बराबरको निर्यात भएको देखिएको छ । उक्त तथ्यांकका आधारमा यस वर्ष निर्यात १२ देखि १५ अर्ब हाराहारी पुग्ने सम्भावना छ ।
द्रुत गतिमा निर्यात बढाउन के गर्नुपर्ला ?
एउटा त सरकारको नीतिगत समस्याले पनि निर्यातमा समस्या आएको छ भने अर्कातिर हस्तकला व्यवसायीमा पनि केही कमी कमजोरी छन् । व्यवसायीले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेछ । किनभने एकैपटक हस्तकलाजन्य वस्तुको धेरै अर्डर आएमा व्यवसायीले दिन नसक्ने अवस्था छ । त्यसैले हस्तकला व्यवसायी पनि टेक्नोलोजी फ्रेण्ड्ली हुनैपर्छ । प्रविधिको जमानामा हस्तकलामा प्रविधि प्रयोग नै गर्दिन भनेर बस्यो पनि पछि परिन्छ । प्रतिस्पर्धामा उत्रिन प्रविधिको साथ चाहिन्छ । त्यसो त सरकारले नयाँ-नयाँ नीति ल्याउँदा पनि निर्यात प्रभावित हुने गरेको छ । हालैमात्र टिडिएसको कुरा आएको छ, मूल्य अभिवृद्धि कर(भ्याट)को कुरा आएको छ । २.५ प्रतिशत टिडिएस भनेको त धेरै मार पर्ने कुरा हो । एकातिर हामी निर्यात लागत घटाउने नीतिको कुरा गर्छौं, अर्कोतिर टिडिएस थप्दै जाने भने त सहजीकरणको नीतिको केही अर्थै भएन नि ! अर्को वर्षदेखि फेरि हामी विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरा छ । त्यसपछि झन् चुनौती थपिएला । हस्तकलाजन्य उद्योग र विदेशी अर्बौं लगानीका सिमेन्ट, डण्डी, चाउचाउ, बिस्कुटजस्ता उद्योग व्यवसायलाई एउटै डालोमा राखेर नीति बनाउँदा समस्या आएको हो । त्यही भएर हामीले हस्तकलाको छुट्टै नीति हुनुपर्छ भनेर माग गरेका हौं ।
प्रविधि प्रयोग नगरे पछि परिन्छ
पुस्तान्तरण नहुँदा केही हस्तकला लोपोेन्मुख छन्
स्थिरताका लागि महिला उद्यमशीलतामा जोड दिनुपर्छं
हस्तकला नीति ल्याउन ढिला भइसकेको छ
पाम आयल होइन, हस्तकलाको निर्यात बढ्नुपर्छ
विदेशमा हुने मेलामा एनआरएनले साथ दिएको छ
सरकारले महँगो भए पनि सरकारी निकायले स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि हस्तकलाको आन्तरिक खपत बढ्यो कि ?
यसमा पनि बिडम्वना रहेछ । सबै सरकारी निकायमा खरिद शाखा हुँदोरहेछ । सबैभन्दा पहिले ती निकायहरूलाई कुरा बुझाउनुप¥यो । बुझेरमात्रै भएन, नीतिगत समस्या पनि रहेको छ । सरकारले हस्तकलालाई भ्याट फ्रि भन्छ तर सरकारको खरिद ऐनअनुसार प्रक्रियामा जानुपर्दा भ्याटमा जानुपर्ने हुन्छ । हस्तकलाका साना उद्यमी भ्याटमै गएका हुँदैनन् अनि उनीहरू त्यो सरकारी खरिद प्रक्रियामै जान सक्दैनन् । भन्सारले पनि एउटा नियम बनाएको हुन्छ, त्यसलाई मिट गर्दागर्दै पछि परिन्छ । त्यसमा पनि बिचौलिया हावी हुने खतरा देखिएको छ । नीतिमा जति कुरा आए पनि प्राक्टिकलमा सहज छैन । अर्को कुरा, केही सरकारी निकायका खरिद शाखाहरूलाई जानकारी नभएर हो कि किन हो, विदेश भ्रमणमा लगिने उपहारहरू पनि स्वदेशी वस्तु नभएको पाइएको छ । यसमा सम्बन्धित खरिद शाखाहरूलाई अलिकति एजुकेटेड गर्नुपर्ने देखिएको छ । हुन त यस्तो समस्या समाधानका लागि अब हामी हस्तकला महासंघमै स्वदेशी वस्तुको शोरुम सञ्चालनको तयारी गर्दैछौं । जुन महासंघको बोर्ड बैठकबाट पास पनि भइसकेको छ । तर, हाम्रो शोरुम स्याप्लिङका लागिमात्रै हो, बिक्रीका लागि होइन । शोरुमको अवधारणाले साना हस्तकला उद्यमी कलाकारले सिधै सरकारी निकायलाई आफ्नो सामान बिक्री गर्न नसकेको अवस्थामा महासंघमार्फत् पनि जान सक्ने वातावरण बन्न सक्ला भन्ने विश्वास लिएका छौं ।
हस्तकला भन्नेबित्तिकै महँगो हुन्छ भन्ने छ नि ?
हुन त अन्य मेसिनरीबाट उत्पादित वस्तुभन्दा हस्तकला केही महँगो नै हुन्छ तर स्वदेशमै खपत बढाउन सकेमा यसलाई सस्तो पनि बनाउन सकिन्छ । खपत कम भएर पनि महँगो भएको हो । खपत बढ्यो भने मास प्रोडक्सन हुन्छ, मास प्रोडक्सन गर्दा स्वाभाविक रूपमा सस्तो पर्ने भयो । त्यही भएर हस्तकलामा रूपान्तरण आवश्यक देखिएको हो । अहिले जसले जे भने पनि सबैले आकर्षक, चमकपूर्ण सामान खोज्छन्, प्याकेजिङ पनि आकर्षक हुनुपर्यो । बजार प्रतिस्पर्धाका लागि पनि हस्तकलामा रूपान्तरण आवश्यक छ । रूपान्तरणले यसमा पुस्तान्तरणमा पनि सघाउन पुग्न सक्नेछ भने योङ जेनेरेसनदेखि थर्ड जेनेरेसनसम्मले हस्तकलाजन्य सामान रुचाउनेछन् भन्ने लाग्छ ।
निर्यात अनुदान नपाएको व्यापक गुनासो सुनिन्छ, हस्तकलामा चाहिँ के छ ?
हस्तकलामा पनि यथार्थता त्यही नै हो । निर्यात अनुदान रकम ‘आकाशको फल, आँखा तरी मर’ जस्तै भइरहेको अवस्था छ । सरकारलाई भन्न र सुन्न रमाइलो लाग्ला, लिन प्रक्रियागत झमेला यति धेरै छ, त्यो लिनुभन्दा नलिएकै ठीक जस्तो लाग्छ । केही पहुँचवालाबाहेक कसैले पनि निर्यात अनुदान रकम लिए, पाएजस्तो लाग्दैन । त्यसो त पैसैमात्र पनि इन्सेन्टिभ होइन, सरकारले इन्सेन्टिभ दिन सक्ने अवस्था पनि छैन । पैसा दिन नसके पनि अन्य विकल्पमा जान सकिन्छ । उद्यमी कलाकारको सम्मान, पहिचान पनि इन्टेन्सिभभन्दा कम हुँदैन । एक-दुईजनाले पहुँचका आधारमा सम्मान पाएका पनि होलान् तर सबै हस्तकला व्यवसायी कलाकार सम्मानयोग्य छन् । त्यही भएर महासंघले त्यसतर्फ पहलकदमी लिने भएको छ । इन्टेन्सिभ बेसमा हामीले अवार्ड दिने प्रचलन सुरु गरेपछि हस्तकलाकर्मीहरूको वास्तविक यथार्थता उजागर हुँदै जाला र सरकार तथा अन्य सरोकारवाला निकायहरूले पनि बुझ्दै जालान् भन्ने हाम्रो अपेक्षा हो ।
हस्तकलाको कच्चा पदार्थको अवस्था के छ ?
कच्चा पदार्थका सवालमा हामी बोल्दाबोल्दा थाकिसकेको अवस्था छ । वर्षैंदेखि समाधान हुन नसकेको यो समस्या देशमा संघीतासँगै झनै गिजोलिन पुगेको छ । तीन तहको सरकार भएपछि झनै गा¥हो भएको छ । केन्द्र सरकारले एउटा नीति बनाउँछ, प्रदेश र स्थानीय तहको अर्कै नीति हुन्छ । तीन तहका सरकारबीच नीतिगत समस्याका कारण भएकै कच्चा पदार्थका स्रोतहरू कुहिएर गइरहेको अवस्था छ । आयात गरेरै भए पनि बढीभन्दा बढी राजस्व उठाएर देश चलाउनुपर्ने बाध्यता वा खुला बजार नीति, वाइल्याटरल रिलेसनलगायतका कारण पनि यस्तो भएको होला । साँच्चिकै भन्ने हो भने हस्तकला क्षेत्रमा हालसम्म जे-जति भएको छ, त्यो सबै हस्तकला व्यवसायीकै मिहिनेत, परिश्रम र साधन स्रोतले भएको हो ।
भनेपछि हस्तकलाको कच्चा पदार्थका लागि काठमात्रै नभई ढुंगा पनि आयात हुने गरेको छ ?
अवस्था त्यस्तै छ । वन संरक्षणसम्बन्धी ऐन, खानी संरक्षणसम्बन्धी ऐन, राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन कानुनका कारण ढुंगा, काठ चलाउन नहुने अवस्था रहेछ । स्वदेशी काठ कुहिएर जान्छ तर व्यवसायीले इण्डिया, मलेसियाबाट आयातित काठ प्रयोग गर्नुपरिरहेको छ । यसमा सक्रिय रूपमा र राम्रो ढंगबाट सम्बोधन भएन भने अवस्था विकराल नै भएर जाला जस्तो लाग्छ ।
हस्तकलामा पुस्तान्तरणको अवस्था के छ ?
पछिल्लो समय हस्तकलामा पुस्तान्तरणको अवस्था राम्रो हुँदै गएको छ । तथापि परम्परागत रूपमा यसमा काम गर्ने व्यवसायीमा भने पुस्तान्तरणमा समस्या नै छ । नयाँ पुस्ताले बाउबाजेले गरेको पुख्र्यौली पेशा हस्तकलालाई निरन्तरता दिनेभन्दा पनि अध्ययनका नाममा विदेश जाने र उतै सेटल हुने प्रवृत्ति देखिएको छ । हुन त विदेश गएपछि पुनः फर्केर आउने सम्भावना कमै हुन्छ । किनभने देशको अवस्था र नीतिगत व्यवस्थाका कारण अलिकति निराशा देखिन्छ । व्यवसाय गरेर सरकारलाई कर तिर्न त यति धेरै झमेला बेहोर्नुपरेको हुन्छ भने कच्चा पदार्थ, बजारीकरणको कुरै छाडौं, कार्गो समस्या, एयरपोर्ट गयो भने अस्तव्यस्त अवस्था छ । जति दुःख पाए पनि तपाईं हामीले त यसैमा जिन्दगी बितायौं, अर्कोमा फड्को मार्ने अवस्था पनि छैन । नयाँ जेनेरेसनले त धेरै सुविधा खोज्छ, हामीले जस्तो दुःख गर्न चाहँदैन, स्मार्टपन खोज्छ, टेक्नोलोजी खोज्छ, बजार खोज्छ, लागतअनुसारको प्रतिफल खोज्छ । तथापि अलिकति नकारात्मक मेसेज हुँदाहुँदै पनि केही आशा पनि जागेको छ । पछिल्लो समय कतिपय युनिभर्सिटीहरूले हस्तकलालाई एकेडेमिक कोर्सहरूमा पनि राख्न थालेकाले केही आकर्षण बढाएको छ । आगामी दिनमा हस्तकला महासंघले पनि महिला उद्यमशीलता प्रवद्र्धनको नीति लिएको छ । किनभने पुरुषभन्दा महिलामा स्थिरता देखिएको छ । सानैदेखि महिलालाई आयमूलक तालिम दिन सकेमा उनीहरूले धेरै गर्न सक्छन् भन्ने लाग्छ ।
पुराना पुस्ताको अन्त्यसँगै हस्तकलाका परम्परागत विधा लोप भएको अवस्था पनि छ कि ?
कुनै कुनै हस्तकला विधा लोपोन्मुख अवस्था छन् । अहिले हामी त्यसको लिस्टिङ गर्दैछौं । सरकारलाई त्यस्तो लिस्टसहित लोपोन्मुख हस्तकला विधा संरक्षणका लागि स्पेसल प्याकेज नै ल्याउनुपर्ने सुझाव पनि हामीले दिएका थियौं । त्यसैको उपज भनौं श्रम मन्त्रालयले रोजगार दशक मनाउन लागेको छ । हामीले श्रम मन्त्रालयअन्तर्गत निकायसँग सहकार्यका लागि सम्झौता पनि गरेका छौं । अब अर्को वर्षदेखि सोसम्बन्धी पाठ्यक्रम नै निर्माण हुँदैछ । पाठ्यक्रम आएपछि हस्तकलाका केही लोपोन्मुख विधामा तालिम कार्यक्रम सञ्चालन गर्न सकिने विश्वास लिएका छौं ।
हस्तकला नीतिबारेमा विगत लामो समयदेखि महासंघले गरेको पहलले सार्थकता पाउन सकेन नि ?
हो, हामीले हस्तकला नीतिको कुरा गरेको झण्डै एक दशक नै भइसके पनि खासै प्रगति भएको छैन । तर, पछिल्लो समय हामीले हस्तकला नीति निर्माण प्रक्रिया अलि फरक ढंगले अगाडि बढाउन खोजेका छौं । विगतमा यसमा महासंघले काम गर्दै आएकोमा म महासंघमा आउनेबित्तिकै हस्तकला नीतिको मस्यौदाको जिम्मा सम्बन्धित विज्ञलाई दिने काम भएको छ । निजी क्षेत्रको संस्था महासंघले तर्जुमा गरेको हस्तकला नीतिको मस्यौदामा सरकारले अपनत्व लिन नसकेको हो कि भन्ने हामीलाई फिल भयो । फेरि नीतिको मस्यौदा अलि पुरानो पनि भइसकेकाले अहिलेको समय सान्दर्भिक पनि थिएन । त्यसलाई पुनर्लेखन नै गर्नुपर्नेछ । सम्भवतः त्यो २०७२ सालमा बनेको मस्यौदा थियो । त्यतिबेला प्रदेश संरचना थिएन र स्थानीय सरकारको संरचना पनि थिएन । विज्ञले नै बनाउँदा हामीले खोजेजस्तो नीति नआउला तर हुँदै नहुनुभन्दा त जस्तो भए पनि नीति आउनु ठूलो कुरा हो नि !
अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालीको सहभागिताको अवस्था के छ ?
विगत वर्षहरूको तुलनामा यस वर्ष अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा नेपाली व्यवसायीको सहभागिता बढेको देखिएको छ । यस वर्ष पछिल्ला चार महिनामा झण्डै ७७ वटा अन्तर्राष्ट्रिय व्यापार मेला भएका छन् । त्यसैलाई उपलब्धि मान्दै हामी आफैं पनि विभिन्न देशहरूमा सिंगल कन्ट्री शो आयोजना गर्न गइरहेका छौं । निकट भविष्यमै युकेमा सिंगल कन्ट्री शो गर्ने तयारी छ भने छिमेकी मुलुक चीनसँगको सहकार्यमा केरुङ नाकामा पनि एकल कन्ट्री शो आयोजना हुँदैछ । त्यसो त चाइनामा नेपाल-चाइना टुरिजम समिट नै गर्ने भन्ने तयारीमा हामी लागिरहेका छौं । खासगरी नेपाल-चाइना दौंत्य सम्बन्धको ७०औँ वर्षको अवसरमा चाइना गभर्मेन्ट पनि हामीसँग सहकार्य गर्न धेरै इच्छुक रहेकाले सहकार्यमै हामी शो र समिटहरू गर्न खोजिरहेका छौं । अस्ट्रेलिया पनि शो हुँदैछ । त्यस्तै, विभिन्न विदेशस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासमा हस्तकला बुझ्ने राजदूत र महावाणिज्य दूतज्यूहरू रहनुभएकाले पनि यस वर्ष हामी अलि बढी नै उत्साहित भएका हौं । युकेमा हाम्रा पूर्वसचिव चन्द्रप्रसाद घिमिरे हुनुहुन्छ, उहाँले हस्तकलालाई राम्ररी बुझ्नुभएको छ । बैंककमा पनि हस्तकलालाई माया गर्ने महामहिम धनबहादुर ओली हुनुहुन्छ ।
विदेशस्थित हाम्रा दूतावासहरूमा नेपाली हस्तकला शोरुम राख्ने कुरा पनि थियो नि ?
त्यो चाहिँ कुरामै सीमित भए जस्तो देखिएको छ । विदेशस्थित हाम्रा ४४ वटा विभिन्न दूतावास र महावाणिज्य दूतावासहरूमा शोरुम राख्ने भनेर सरकारले भने पनि कार्यान्वयन भएको देखिएन । हामीले शोरुम राखेको ठाउँमा पनि पछि त्यो हटाइएको पाइयो । उहाँहरूको सिस्टमले हो कि के नमिलेर हो, त्यो प्रयास सफल भएन । सरकारले बजेट नै छुट्याएर गर्यो भने होला । अन्यथा धेरै आशा गर्ने ठाउँ देखिएको छैन ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु प्रवद्र्धनमा सहयोग गर्ने बताउने गरेको छ, उपलब्धि केही छ त ?
यसमा एनआरएनहरूको केस चाहिँ एकदमै सकारात्मक छ । छ महिनाअगाडि पनि अष्ट्रेलियामा हामीले ‘नेपाल डे’ मनायांै । त्यहाँ एनआरएनहरूको सक्रिय सहभागिता रहेको पाइयो । युके मेला पनि हामी एनआरएनहरूकै सहयोगमा गर्न गइरहेका छौं । युरोप, अमेरिका, अष्टे«ेलियातिर नेपाली डायस्पोराहरू झन्-झन् वृद्धि भइरहेको अवस्था छ । नेपाली डायस्पोराले नै पुग्छ भन्ने हामीलाई लागेको छ । किनभने डायस्पोराहरूले नेपाली प्रोडक्टलाई एकदमै माया गर्ने रहेछन्, अष्ट्रेलिया जाँदा मैले स्वयं त्यो महसुस गरेँ । त्यहाँ हाम्रा प्रोडक्टहरू देखेर, किन्न पाएर त्यहाँका नेपाली डायस्पोराहरू एकदमै एक्साइट भएको पाएँ । त्यसो त नेपालमै पनि योङ जेनेरेसनले नेपाली प्रोडक्ट मन पराउने गरेका छन् ।
हस्तकला प्रवद्र्धनका लागि व्यवसायी र सरकारले के–के गर्र्नुपर्ला, सरकारलाई मात्रै दोष दिनेभन्दा व्यवसायीको पनि जिम्मेवारी होला नि ?
व्यवसायीहरू पनि अलिकति रूपान्तरित हुनुपर्छ, परम्परागत तरिकाले मात्रै व्यवसाय अब चल्दैन । व्यवसायीले सधंै अर्काको मुख ताकेर बस्नुहुँदैन । मोर्डनाइजेसनमा जानैपर्छ, अलिकति उदार बन्नैपर्छ । परिवर्तित अवस्थामा पुरानै सोच र मानसिकताले अब चल्दैन । सरकारले पनि पोलिसीमा सुधार गर्नुपर्छ । अहिले आइटीको जमानामा आइटी फ्रेण्ड्ली हुनुपर्छ । आइटी टेक्नोलोजीको जमाना छ, अधिकांश कारोबारमा फोनबाट, कार्डबाट पैसा पे गर्ने अवस्था छ विश्वभरि नै तर नेपाल त्यसमा चुकिरहेको अवस्था छ । अहिलेको जमानामा एउटा अमेरिकी बासिन्दाले नेपालमै आएर सामान किन्नुपर्ने आवश्यकता छैन । तर, हाम्रोमा अनलाइन कारोबारमा पेमेन्टमा समस्या छ । ई-कमर्स बिल कार्यान्वयनमा आउन सकेको छैन । ऐन नभएकाले सोसियल एप्सहरूबाट हामीले कारोबार गर्न सक्ने अवस्था छैन । विदेशस्थित व्यापार मेलाहरूमा जाँदा पनि भुक्तानीमा समस्या हुने गरेको छ । हाम्रै छिमेकी मुलुक भुटानले समेत आफ्नै एप्स बनाएर संसारभर पैसा कारोबार गर्न सक्ने अवस्था बनाइसकेको छ । हुन त हामी आफैं पनि निजी अनलाइन पोर्टलबाटै धेरै सामान किनिरहेका हुन्छौं । तर, हस्तकलाकोे अनलाइन व्यापार अलि संवेदनशील भएकाले च्याउसरी उम्रिएका निजी अनलाइन पोर्टलहरूलाई विश्वास गरिहाल्न सक्ने अवस्था छैन । किनभने हस्तकला खाना डेलिभरी गरेजस्तो होइन । अन्य वस्तुको तुलनामा हस्तकला महँगो वस्तु भएकाले सेक्युरिटीको कुरा पनि हुन्छ । यसबारेमा मन्त्रालय गएर मन्त्रीलाई भेट्दा ‘हुन्छ, ‘सबै कुरा थाहा छ’ भन्ने जवाफ आउँछ तर कार्यान्वयन हुँदैन । अहिलेको जमानामा पनि परम्परागत रूपमै निर्यातमै जाने, पसल थापेरै सामान बेच्ने हो भने हाम्रो भविष्य छैन ।
भाषणबाजीभन्दा पनि काम गरेर देखाउनुपर्नेछ
हामीले तीनवर्षे योजना बनाइसकेका छौं
नीतिगत सुधार नै पहिलो प्राथमिकता हो
सबै हस्तकला उद्यमी सम्मानयोग्य छन्
उद्यमीको क्षमता अभिवृद्धि आवश्यक छ
पाउँदै नपाउने निर्यात अनुदान के काम
हस्तकला महासंघ अन्य संघ महासंघहरूभन्दा के अर्थमा फरक छ ?
हस्तकला अन्य संघ महासंघभन्दा यस अर्थमा फरक छ कि विशुद्ध रूपमा आफ्नै कच्चा पदार्थ, स्वदेशी प्रोडक्ट, स्वदेशी हात, स्वदेशी सीप र स्वदेशी रोजगारका साथै निर्यात पनि आफैं गर्ने संस्था हो । जसले पुस्तान्तरणको पनि कुरा गर्छ । धेरैजसो व्यावसायिक संगठनहरू आयातित कच्चा पदार्थमा आधारित उद्योग व्यवसायका छन् । हस्तकला भनेको ‘मेक इन नेपाल’, ‘मेड इन नेपाल’भन्दा पनि माथिको विधा हो । तर, सरकारले हस्तकलाभन्दा व्यापारिक संगठनहरूको कुरा बढी सुन्छ । किनभने त्यहाँ पनि ‘गिभ एण्ड टेक’को कुरा होला । बढी राजस्व र रोजगारीमा योगदानको कुरा हेरिएला ? यहीँनिर हामी चुकेजस्तो लाग्छ । हस्तकला क्षेत्रले १०-१५ लाख रोजगारी सिर्जना गरेको छ भन्छौं तर स्पष्ट तथ्यांक दिन सकेका छैनौं । कारोबार, रोजगारी सबै स्वघोषित हुन्छ । कुटिर उद्योगका रूपमा स-सानो लगानी व्यवसाय गर्ने हस्तकला व्यवसायीहरूले अन्य कर्पोरेट हाउस जस्तो व्यवस्थापन गर्न सक्ने अवस्था पनि हुँदैन । पूर्ण रूपमा आयातित कच्चा पदार्थ नै प्रयोग भएको किन नहोस्, हामीभन्दा बढी निर्यात गर्ने क्षेत्रहरू छन्, बढी रोजगारी दिने क्षेत्रहरू छन्, उनीहरूले सबैतिर पहुँच पनि बनाएका छन्, बोल्न सक्छन्, परेको खर्च पनि गर्न सक्छन् । उनीहरूको कुरा छिटो सुनुवाइ पनि हुन्छ । अरू उद्योगी व्यावसायिक संगठनहरू नराम्रा, हस्तकलामात्रै राम्रो भन्न खोजिएको होइन, सबैको आ-आफ्नै विशेषता र महत्व छ । तथापि आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्ने, नेपाल र नेपालीको पहिचान, कल्चर, हेरिटेजको कुरा गर्ने हो भने चाहिँ फेरि हस्तकला नै अगाडि हुन्छ । राज्यले त्यो कोणबाट पनि हेर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । तर पनि हामी सबैसँग सहकार्य गरेर अघि बढ्न चाहन्छौं । अहिलेको जमानामा एक्लो प्रयासभन्दा पनि सामूहिक रूपमा अघि बढ्दामात्रै सफलता हासिल गर्न सकिन्छ ।
हस्तकला ग्रामको कुरा के भइरहेको छ ?
हस्तकला ग्रामको कुरामा नीतिगत समस्या नै देखिएको छ । त्यसमा पनि क्षेत्राधिकारको कुरा आउने रहेछ । प्रदेशस्तरमा हस्तकला ग्रामको कन्सेप्ट ल्याएर प्रदेशले सक्ने अवस्था नै छैन । केन्द्र सरकारअन्तर्गत नै हुनुपर्छ । त्यसो त प्रदेशले गर्ने पहल र प्रयासलाई पनि नकारात्मक रूपमा लिनु त भएन । सकारात्मक रूपमै लिनुपर्ने हुन्छ ।
महासंघको हस्तकला हेर्ने छुट्टै मन्त्रालय नै हुनुपर्ने माग थियो, त्यो कति सम्भव होला ?
मन्त्रालय अहिले सम्भव नभए हस्तकलामात्रै हेर्ने एउटा निकाय नै भए पनि केही सहज हुन्थ्यो भन्ने लाग्छ । अहिले एउटा विभाग त छ तर त्यो विभागले हस्तकलामात्रै होइन, सबै उद्योगलाई एउटै डालोमा राखिएको अवस्था छ । त्यसैगरी महासंघले हस्तकला दिवस पनि मनाउन थालेको छ तर महासंघले मात्रै मनाएर यसको प्रवद्र्धन हुँदैन । राज्यले नै हस्तकला दिवस घोषणा गरोस् भन्ने हाम्रो माग छ । त्यसका लागि हामीले लबिङ गरी पनि रहेका छौं ।
हस्तकलामा वैदेशिक लगानी आवश्यक छ ?
हस्तकला क्षेत्रमा विदेशी लगानीभन्दा पनि विदेशी प्रविधि आवश्यक हो । किनभने यो क्षेत्रमा विदेशी लगानी ल्याउन सरकारको नीतिले पनि दिँदैन र सम्भव पनि छैन । हामीले प्रविधि खोजेका हौं, प्रविधिले उत्पादन लागत पनि घटाएर प्रतिस्पर्धी बनाउन सहयोग पुग्छ । किनभने छिमेकी देशको बजार ठूलो छ । भारत, चीनजस्ता देशबाट १०-१५ प्रतिशतमात्रै माग आयो भने पनि हामीले काम गर्न सक्ने अवस्था छैन । जनशक्ति र कच्चा पदार्थ नै छैन । उनीहरूको प्रविधि भित्र्याउन सकेमा बढ्न सक्ने माग धान्न सहज हुनेछ । प्रविधि हस्तान्तरण पनि विदेशी लगानीकै एक अंश भएकाले हामीले प्रविधि हस्तान्तरण खोजेका हौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच