
हिजो बुधबार छुवाछूत उन्मूलन दिवस मनाइयो । ‘जातीय विभेदलगायत कूप्रथाको अन्त्य गरौं’ भन्ने नाराका साथ मनाइएको यस दिवसको वास्तवमा धेरै महत्वपूर्ण स्थान रहेको छ । अहिलेभन्दा १९ वर्ष पहिले २०६३ सालमै नेपाल जातीय छुवाछूतमुक्त राष्ट्र घोषाण गरिएको थियो । यसलाई २०६८ सालदेखि हरेक वर्ष जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूमा मनाउँदै आइएको छ । वर्तमान संविधानले पनि यस विषयलाई प्राथमिकताका साथ समावेश गरेको छ । वर्तमान संविधानले मौलिक हकमै यसलाई संलग्न गरेर जात, जाति, वर्ण, लिंग, आस्था, धर्म आदिका आधारमा भेदभाव गर्न पाइने छैन भनेको छ । संविधानले जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको कल्पना गरेको छ ।
मानिस सबै एकै हुन् र मानिसको सबैभन्दा पहिलो चिनारी वा परिचय भनेकै यही हो अर्थात् मानिस मानिस नै हो । जातजाति पछि बनेका र बनाइएका हुन् । जातहरू कामका आधारमा बनेका हुन् जसले जे काम गर्छ त्यसलाई त्यही प्रकारको जातजातिमा समावेश गरिएको छ । फलामको काम गर्नेलाई लोहार, सुनको काम गर्नेलाई सुनारदेखि छालाको काम गर्नेलाई चर्मकार वा बयलकोटी जस्ता जातजाति नामकरण गरियो । यसरी धेरैजसो जातजातिहरू कामका आधारमा बनेका छन् । केही बसोवासको ठाउँका आधारमा बनेका छन् । मानिसलाई दलित मानिसले नै बनाएका हुन् । समाजमा सामाजिक मान्यताविपरीत काम गर्नेलाई जात काढ्ने काम राणा शासनकालको अन्त्यसम्म पनि गरिँदै थियो ।
यसका साथै शासकलाई मन नपरे उच्च जातलाई दलित घोषणा गर्ने र राम्रो लागेकोखण्डमा दलित भनिएका जातलाई पनि पानी चल्ने जातमा बढुवा गरिएको घटना अध्ययन गर्न इतिकासको धेरै पहिलेसम्म जानै पर्दैन । राजा महेन्द्रले समेत केही अछूत भनिएका जातिहरूको पानी चलाएका थिए भनिन्छ । त्यसयता समयले धेरै कोल्टो फेरिसकेको छ । जंगबहादुरका पालामा बनेको मुलुकी ऐनले जातअनुसारको कर्म गर्न अनिवार्य गरेको भए तापनि २०२० सालको नयाँ मुलुकी ऐनले छुवाछूत प्रथा हटाउने प्रयास गरेको थियो । त्यसयता पनि छ दशक बितिसकेको छ तर यो प्रथाको विद्यमानता अझैसम्म छँदैछ । संविधान तथा कानुनहरूमा यस सम्बन्धी अनेकौं व्यवस्था भइसकेका छन् ।
२०७२ सालको संविधान सबैभन्दा पछिल्लो पटकको प्रामाणिक दस्तावेज हो । नेपाली समाज केही छिमेकी देशहरूमा रहेको सामाजिक प्रणालीभन्दा चाहिँ अगाडि छ । कानुनी रूपमा पनि धेरै नै प्रावधान व्यवस्थित भइसकेका छन् । तैपनि हाम्रो समाजमा यस्ता छुवाछूतसम्बन्धी व्यवहार रहिरहेकै छन् । छिमेकी देश भारतमा अछूत भनिएका जातिहरूलाई हरिजन भनेर अत्यन्त ठूलो भेदभाव हालसम्म पनि गरिँदैछ । नेपालमा त्यस तुलनामा यस्तो भेदभाव कम छ तर यसो भन्दैमा यस्तो मान्यता हटिसकेको छ भन्ने होइन । कतिपय स्थानमा मन्दिर पस्न र पूनाआजा गर्न दलितहरूलाई निषेध गरिएको र धारा पँधेराहरूमा पानी छोएको निहुँमा दलितहरूमा कुटपिटलगायत अमानवीय व्यवहार भएको भन्ने खालका समाचार बेलाबेलामा सार्वजनिक हुनेगरेका छन् ।
यसबाट कानुनका पुस्तकहरूमा लेखेरमात्र यस्ता सामाजिक व्यवहारहरू हटेर जाने रहेनछन् भन्ने देखिन्छ । यस्ता मान्यताहरू हटाउनका लागि हाम्रो मानसिकतामा परिवर्तन गर्नुपर्ने आवश्यकता बोध हुने गरेको छ । शिक्षित र उपल्लो स्तरका वा ठूला पदधारण गरेका व्यक्तिहरूबाटै पनि यस्ता विभेदकारी व्यवहार हुने गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भ पारेर महामहिम राष्ट्रपतिज्यूबाट छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरुरी छ भन्ने खालको सन्देश संप्रेषण भएको छ । यथार्थमा सिद्धान्त र व्यवहारमा एक रूपता भने पाइँदैन । दलितहरू अझैसम्म दलित नै छन् । दलित भन्ने वित्तिकै हेपिएको वर्ग हो भन्ने मान्यता राख्न छोडिएको छैन ।
यस्तो अपहेलना लुकाउन धेरैजसो दलितले आफ्नो जात र थर लुकाएर उपल्ला जातजातिका थर जात लेख्ने काम पछिल्लो समयमा व्यापक बन्दै गएकोमा वर्तमान संविधानले ब्राहृमण र क्षेत्री पुरुषहरूबाहेक महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडा वर्ग, सीमान्तीकृत वर्ग, मुस्लिमहरूलाई राजनीतिक तथा सरकारी सेवा प्रवेशलगायत विभिन्न स्थानमा आरक्षणको व्यवस्था गरेपछि पुनः दलितहरूले दलित देखिने जातथर लेख्न थालेका कारण संविधानले नै दलितहरूलाई दलित भनेर चिनायो भन्ने तर्क पनि गर्ने गरिएको छ । जे होस् मानिस मानिसमा जातका आधारमा गरिने भेदभाव मानवताविरोधी व्यवहार हो । यसको उन्मूलन हुनुपर्छ तर यसलाई ऐन कानुनहरूले भन्दा पनि मानिसको भावनाले विस्तापित गर्न सक्नुपर्छ । यसका लागि केही समय अझै पनि लाग्न सक्छ ।
तीव्र गतिमा गुडिरहेको गाडीमा एकाएक ब्रेक लगाउँदा गाडी पटिल्न सक्छ । त्यसलाई गति सीमित गरेर रोक्दा त्यस्तो दुर्घटना हुँदैन । यसरी नै मानिसहरूको मष्तिष्कमा रहेको यस्तो भावना बिस्तारै हटाउँदा सामाजिक दुर्घटनाबाट जोगिन सकिन्छ । गोबर सोहोेर्ने बाहुन चाहिँ उच्च वर्गको हुने हामी तोलाको लाखौं पर्ने सुनको काम गर्ने फोहोर नछोएका मानिसहरू चाहिँ कसरी अछूत वा दलित हुने भन्ने तर्क गरेर सडक आन्दोलन गरी जात बढुवाको माग गर्दाभन्दा मानिसहरूमा चेतनाको दीयो बालिदिने हो भने समाज छिटो रूपान्तरण हुनसक्छ भन्नेतर्फ सबैको सोचाइ रहृयो भने मानवताविरोधी यस्ता कुप्रथाहरूमा छिटो पविर्तन आउनसक्छ भन्ने मान्यताको विकास गरौं, समाज निश्चिय पनि परिवर्तन हुन्छ र छुवाछूत जस्ता मानवताविरोधी व्यवहारहरू हटेर जान्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच