काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित सुरु भएको राजावादी आन्दोलनको दोस्रो चरण संकटमा परेको छ । सुरुमा सडकमा उल्लेख्य उपस्थिति देखिएको आन्दोलन पछिल्ला घटनाक्रमले अस्तव्यस्त बनेको छ । नेतृत्वप्रति असन्तुष्टि र आन्तरिक गुटबन्दीका कारण आन्दोलन दिशाहीन बन्दै गएको देखिन्छ । राजावादी आन्दोलनको पछिल्लो लहर पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न पक्षलाई एकताको आहृवान गरेपछि सुरु भएको थियो । त्यसपछि कमल थापा, राजेन्द्र लिङ्देन र अन्य नेताहरू नवराज सुवेदीको संयोजनमा संयुक्त जनआन्दोलन समिति बनाएर १५ जेठदेखि आन्दोलनमा उत्रिएका थिए । प्रारम्भमा आन्दोलनमा उल्लेखनीय जनसहभागिता देखिएको थियोे । तर, जेठ १८ गतेको प्रदर्शनपछि प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेपछि आन्दोलनको उत्साह खस्कँदै गएको देखियो । त्यसको जवाफस्वरूप संयोजक सुवेदीले जेठ १९ मा उपत्यका बन्दको आहृवान गर्नुभयो । तर, राप्रपाले समर्थन जनाएन । त्यसकै कारण बन्द फिर्ता लिनुपर्यो ।
राजावादीहरूले अबको आन्दोलन कसरी अगाडि बढाउँछन् ? भन्नेमा पनि अन्योल देखिएको छ । सरकारले काठमाडौंका तीन स्थानबाहेक सबैतिर निषेधाज्ञा लगाइएपछि राजावादी आन्दोलन थप अन्योलग्रस्त बनेको हो । निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने कि सरकारले तोकेका तीन ठाउँमै खुम्चिएर बस्ने भन्नेमा समितिले कुनै निर्णय लिन सकेको छैन । यो आन्दोलन यत्तिकै तुहिन सक्ने आशंकाहरू पनि राजावादी घटकहरूभित्रै हुन थालेको छ ।
असमझदारी फेरि सतहमा
संयुक्त जनआन्दोलन समिति र राप्रपाबीचको असमझदारी फेरि सतहमा आएको छ । आन्दोलनको नेतृत्व समितिले लिएको भए पनि उसित राष्ट्रव्यापी सञ्जाल र संगठन छैन । राप्रपाकै शक्तिमा आन्दोलन अत्यधिक निर्भर छ । जनआन्दोलन समितिका संयोजक सुवेदीले अझैसम्म पनि राजेन्द्र लिङ्देनलाई पूर्ण विश्वासमा लिन सक्नुभएको छैन । लिङ्देन भने पर्ख र हेरको अवस्थामा हुनुहुन्छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बुधबार राजधानीमा बसेको संयुक्त जनआन्दोलन समितिको बैठक कार्यकर्ताहरूबीचको विवादले अवरुद्ध भयो । बैठकमा उपस्थित केही युवाहरूले नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै बैठकमा होहल्ला गरेपछि कार्यक्रम टुंगोमा पुग्न सकेन ।
बैठकमा युवाहरूले राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापामाथि कडा आलोचना गरे । उनीहरूले लिङ्देनलाई गणतान्त्रिक संसद्लाई राजा फर्काउने एजेण्डाभन्दा प्राथमिकता दिएको र थापालाई गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री बन्न हतारिएको आरोप लगाए । युवाहरूको भनाइ थियो- ‘राजसंस्था पुनःस्थापनाको अभियानमा जुट्नुपर्ने नेतृत्व उल्टै गणतान्त्रिक संरचनाभित्र अवसर खोज्न थालेको छ ।’ यस्तै आक्रोशबीच बैठक अव्यवस्थित बन्यो ।
असहमतिको चुलिँदो माहोल
बुधबारको बैठकमा राप्रपा अध्यक्ष लिङ्देन संसद्मा व्यस्त रहेको भन्दै अनुपस्थित हुँदा कार्यकर्ताहरू आक्रोशित भए । ‘संसद्मै लाग्ने हो भने आन्दोलन किन चाहियो ?’ भन्ने प्रश्न उठाउँदै युवाहरूले नाराबाजी गरे । त्यसैबीच कमल थापाले बैठकमा हल्ला भएमा आफू बोल्न नसक्ने बताउँदै असहमति प्रकट गर्नुभयो । त्यसपछि संयोजक सुवेदीले बैठक अन्त्य गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आन्दोलनको दोस्रो चरण जिल्ला केन्द्रित बनाउने निर्णय भएको जनाउँदै छ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभयो । सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार अब आन्दोलनलाई काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा फैलाउने योजना बनाइएको छ । स्थानीय तहमा आन्दोलन समिति विस्तार गर्ने, जुझारु युवा समूह गठन गर्ने, र अन्ततः काठमाडौंमा पुनः आन्दोलन केन्द्रित गर्ने रणनीति तय गरिएको छ । यसका साथै, निजामती सेवा, सेना र प्रहरीका पूर्वकर्मचारीहरूलाई समेत आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ ।
युवाहरू छुट्टै मोर्चा खोल्ने तयारीमा
तर, आन्दोलनप्रति असन्तुष्ट युवाहरू भने नेतृत्वप्रति अविश्वास जनाउँदै छुट्टै मोर्चा खोल्ने तयारीमा देखिएका छन् । उनीहरूले ‘बुढा पुस्ताबाट आन्दोलन चल्दैन’ भन्दै नयाँ पुस्ताबाट नेतृत्व हुनुपर्ने माग गरेका छन् । सुवेदीले बोलाएको बुधबारको बैठकमा ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी थिए । तर, विवादले बैठक निष्कर्षविहीन बन्न पुगेपछि राजावादी आन्दोलनको दोस्रो चरण नै अन्योलमा परेको विश्लेषण गरिँदै छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कने क्रममा देखिएको ठूलो समर्थनपछि उत्साहित देखिएका राजावादीहरू अहिले पुनः गम्भीर गुटबन्दी र उद्देश्यहीनताले आक्रान्त छन् । राप्रपाका प्रमुख नेताहरूको सहभागिताबिना चैत ४ मा गठित जनआन्दोलन समितिमा आन्तरिक समन्वय अभाव देखिएको थियो । पछिल्ला विवाद र असहमतिबीच राजसंस्था पुनःस्थापनाको आन्दोलन कता मोडिने हो भन्ने प्रश्न अब अझ पेचिलो बन्दै गएको छ ।
राजावादी आन्दोलन तुहिसक्यो : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहीन रहेको धारणा व्यक्त गर्नुभएको छ । बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पणी गर्नुभयो । पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्रविरोधी गतिविधि भएकाले जनताको त्याग र संघर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभयो । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच