काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आशंकाकै भरमा विपक्षी दलहरूले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसद्लाई बन्धक बनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा अध्यागमनका महानिर्देशक एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेसँगै विपक्षी दलहरूको गृहमन्त्री लेखकमाथि पनि आशंका छ । उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका बेला विपक्षीहरूले भने गृहमन्त्रीको राजीनामाको माग गर्दै १० दिनदेखि संसद्मा अवरोध गर्दै आएका छन् । बिहीबार पनि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहे पनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् । भिजिट भिसा प्रकरणमा कुनै उजुरी नपरेका तथा अख्तियारको छानविनको दायरामा समेत नरहेका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षीले संसद् अवरुद्ध गर्दै आएको छ । यो प्रकरण छानविन गर्न अख्तियारले जेठ ७ गते अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर त्यसैदिन छाडेको थियो । भट्टराईमाथि अहिले पनि अनुसन्धान चलिरहेको छ । भट्टराईसँग सुरुमै अख्तियारले प्रारम्भिक बयान लियो । उहाँले प्रयोग गरेका मोबाइल, ल्यापटसहितका डिभाइसमाथि पनि अनुसन्धान भइरहेको छ ।
जेठ १९ गते पहिलो बयान लिएको अख्तियारले २५ गते अर्को बयान तय गरेको छ । तर, विपक्षीले गृह मन्त्रालय मातहतको प्रकरण भएकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा र लेखकमाथि अनुसन्धानका लागि छानविन समितिको माग गर्दै आएका छन् । जसकारण १० दिनदेखि संसद् अवरुद्ध छ । संवैधानिक बाध्यताका कारण जेठ १५ गतेको बजेटमा विपक्षीले अवरोध नगरे पनि त्यसयता भने संसद् निरन्तर अवरुद्ध भइरहेको छ । अख्तियार छानविनमै रहे पनि बाहिर हल्ला भएजसरी पर्याप्त प्रमाण पुर्याएर अनुसन्धानलाई निचोडमा पुगिहाल्ने अवस्था छैन । विपक्षी दल जसरी पनि गृहमन्त्रीको राजीनामा गराउने र छानविन समिति गठन गराएरै छाड्ने रणनीतिमा छन् । तर, सत्तापक्ष भने विपक्षीको माग कुनै पनि हालतमा पूरा नहुने अडानमा छ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भन्नुभयो, ‘अख्तियार संवैधानिक निकाय हो । उसले उजुरी पर्दा, शंका लाग्दा राज्यको जुनसुकै निकायमा पनि अनुसन्धान गर्नसक्छ । यसपटक गृहमन्त्रीको विषयमा उजुरबाजुर, तथ्य–प्रमाण केही छैन । तर, अख्तियारले अध्यागमनका कार्यालयका प्रमुखमाथि अनुसन्धान थाल्यो । यो अख्तियारको नियमित प्रक्रिया हो । यस अगाडिका इस्यु हेर्दा १०० जनामा अख्तियारले २० जनामाथि पनि मुद्दा अभियोजन गर्दैन ।
तर, प्रारम्भिक कुरालाई ठूलो इस्यु बनाएर विपक्षीले गृहमन्त्रीको राजीनामा माग्नु, छानविन समिति गठन गर्नुपर्छ भन्दै संसद अवरुद्ध गर्नु सर्वथा अनुचित काम हो ।’ अख्तियार आफ्नै प्रक्रियामा अगाडि बढ्ने हुँदा भिजिट भिसा प्रकरणको अनुसन्धानमा महिनौँ पनि जानसक्छ । तर, विपक्षी दलहरू भने अहिले वारपार गरेर जानुपर्ने रणनीतिमा छन् । अव्यावाहारिक ढंगले जेठ १३ गतेयता संसद्लाई बन्धक बनाएपछि विपक्षी आफैँ दबाबमा पर्न थालेका छन् । गृहमन्त्री लेखकले यो विषयमा बोल्छु भन्दा पनि उनीहरूले अवरोध गर्दै आएका छन् ।
गृहमन्त्रीविरुद्ध उजुरी, प्रमाण र छानविन अगाडि नबढेपछि विपक्षी संसद् खोल्न नरम बन्नुपर्ने स्थितिमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहडमा लागेर गृहमन्त्रीको राजीनामा र छानविन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसमेत पछाडि फर्किने संकेत गरेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले व्यक्ति विषेशमाथि दबाब दिने पक्षमा माओवादी नभएको प्रष्ट पार्नुभएको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला भिजिट भिसा प्रकरणको उत्पत्ति नै अख्तियारले गरेपछि उसैले टुंगोमा पु¥याउने स्पष्ट पार्नुभएको छ ।
गृहमन्त्रीले किन राजीनामा दिने ? : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले किन राजीनामा दिने ? भन्दै प्रतिप्रश्न गर्नुभएको छ । बिहीबार धनुषाको जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी गर्नुभएको हो । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन भएको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रहसमेत गर्नुभयो । कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको दाबी गर्नुभएका सभापति देउवाले सबैलाई खुसी बनाउन नसकिने भएकाले आलोचना हुनु सामान्य रहेको जिकिर गर्दै भन्नुभयो, ‘कांग्रेस र एमालेको गठबन्धन छ र यो राम्रोसँग चलिरहेको छ । कतिपय कुरामा असहमति होला तैपनि आखिर बजेट आएको छ । अब त संसद् खुल्नुपर्ने हो । गृहमन्त्रीले किन राजीनामा दिने भन्या ?’
कांग्रेस र रास्वपा नेताहरूबीच छलफल
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ । बिहीबार दिउँसो संघीय संसद् भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो । छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी हुनुहुन्थ्यो । रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । रास्वपा सांसदहरूले आफूहरूसँग कांग्रेसले छलफल नै नगर्ने भनेपछि कांग्रेस उपसभापति खड्काले छलफलको अग्रसरता लिनुभएको थियो ।
त्यसपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा नेताहरूसँग छलफल प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावपछि रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले कांग्रेससँग छलफलका लागि उपसभापति वाग्ले र प्रमुख सचेतक परियारलाई जिम्मेवारी दिनुभएको हो । कांग्रेससँगको बैठकपछि संसद्को अवरोध खुलाउनेबारे छलफल भएको जानकारी दिँदै रास्वपा उपसभापति डा.वाग्लेले भन्नुभयो, ‘संसद् अवरोधबारे नेपाली कांग्रेसका नेताहरू र हामीबीच छलफल भएको छ । संवादहीनता तोडिएको छ । उहाँहरूले आफ्नो धारणा राख्नुभयो, हामीले हाम्रा धारणा राख्यौँ । कुनै सहमति भएको छैन । संवादहीनताको अवस्थाबाट छलफल गर्ने वातावरण आजबाट सुरु भएको छ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच