‘कथा एउटा सानो झ्याल हो जहाँबाट संसार च्याइन्छ ।’ : महाकवि देवकोटा
बास्तविकता हो उतिबेला देवकोटाले भनेको कुरा । कथा मानव जीवनका विभिन्न सन्दर्भहरूको प्रतिबिम्ब हो । मान्छेका भोगाइका अनवरत शृंखला कथा बन्न सक्छ । कुनै पनि घट्ना वा सन्दर्भलाई केन्द्रभागमा राखेर कथा बुन्ने गरिन्छ । आख्यानका तीनवटा रूपमध्ये बीचको रूप हो कथा । कथा गद्यात्मक हुन्छ ।
नेपाली आधुनिक कथाको थालनीको श्रेय कथाकार गुरुप्रसाद मैनालीलाई जान्छ । मैनाली भन्दा पछि सैयौं कथाकार कथा लेखनीमा लामबद्ध छन् । यसै लाइनमा जीवराज भट्टराई ‘अभिशप्त कुइनेटाहरू’ लिएर नेपाली कथा आकाशमा उदाएका छन् । कथाकार भट्टराई कथामार्फत नेपाली समाज बोल्न सक्षम देखिएका छन् । उनी नेपाली समाज र जीवन जगतका भोगाइका अनगिन्ती उच्छवासहरू कथामार्फत कुशलतापूर्वक उतार्न सफल कथाकार हुन् । जीवनका विभिन्न आयाम कथाहरूमा पर्गेल्न सफल देखिएका उनी वर्तमान युगका विकृति र विसंगति सहन सक्दैनन् । तिनलाई उजागर गर्छन् । कथामार्फत विभिन्न समय र सन्दर्भका आफ्ना वरपरका पात्र र कथानकतालाई सूक्ष्म रूपमा अध्ययन गर्छन् । दिमागले तिनको तस्वीर खिच्छन् र कथामा उतार्छन् ।
समाजको सकारात्मक परिवर्तनको दिशातर्फ लक्षित कथाहरूको प्रधानता कृतिमा पाइन्छ । सामाजिक मूल्य र मान्यतामा आधारित रही सकारात्मक सन्देश प्रवाह गर्नु कथाकारको विशेषता रहेको देखिन्छ । यसैले सामाजिक यथार्थको प्रकटिकरण गर्न चुकेका छैनन् कथाहरू । भूइँमान्छेका मनोदशाहरू पनि कथाहरूले उतारेका छन् । गहन विषयवस्तु समेत कथाहरूले उठाएका छन् । नातासम्बन्ध, साथी संगति, समाजका विकृति-विसंगति, महिलाशक्ति, प्रेमसम्बन्धलगायत कथानकतामा कथाहरू बगेका देखिन्छन् ।
कथाका भाषाहरू सरल, सहज र सुलोलित छन् । क्लिष्ट र दुरुह भाषा रत्तिभर छैन् । कथालाई कलात्मक मूल्य प्रदान गर्न भट्टराईले कुनै कसुर बाँकी राखेका छैनन् । कथाको संरचना पक्ष पनि बलियो नै देखिन्छ ।
‘अभिशप्त कुइनेटाहरू’मा विविध शीर्षकका २२ वटा कथा समावेश भएको पाइन्छ । कथाहरूले पाठकलाई ध्यान खिच्न सक्छन् । कथाहरूका संरचना, कथ्य, कथाका सन्दर्भहरू, जीवनको यथार्थ सन्निकट देखिन्छन् । कथाको रचना विधानमा पनि कुनै खोट लाउनुपर्ने देख्दिन् म । कुनै पनि कथाको कथावस्तु कथाको मुटु भएको हुँदा यस कृतिभित्रका कथावस्तुले कथालाई जीवन्त राख्न खोजेको देखिन्छ ।
पहिलो कथा ‘अमलोखित हरिलाल’ भूइँमान्छेको कथा हो । समाजमा सोझासिधा जनताको प्रतिनिधित्व गर्ने पात्र कसरी शोषणको मारमा पर्छ भन्ने चित्रावली लाग्छ यो कथा । अर्को कथा ‘लक्ष्मी भाउजु उर्फ लक्ष्मनीया’ यौनपरक कथा लागे पनि यसले समाजको वास्तविकतालाई उजागर गर्छ । श्रीमान् विदेश गएको अवस्थामा एक्लै हुने महिलालाई समाजका केही त्यस्तै आचरणका व्यक्तिहरूले लगाउने कुदृष्टि र श्रीमान्को अभावमा श्रीमतीमा उत्पन्न हुने मनोदशाको बेजोड चित्रण गर्छ यो कथाले । ‘तुफानी तरंग’ बर्तमान समयमा हुने सुन्दरी प्रतियोगिता लक्षित छ । कथाले एकातिर प्रतियोगिता आयोजना अर्कोतिर विरोध वर्तमान समाजको दोहोरो चरित्र देखाएको छ ।
हात्तीका दुईवटा दाँत हुन्छ भनिन्छ एउटा देखाउँछ र अर्कोले चपाउँछ । यस्तै समाजमा केही ढोंगी चरित्र हुन्छन् : हात्ती जस्तै । भन्छन् एउटा, गर्छन् अर्को । आफूलाई नपरेसम्म पूरै परिवर्तनकारी, कडा क्रान्तिकारी चरित्र देखाउँछन् तिनीहरू । आफूलाई परेपछि सम्झौतापरस्त हुन्छन् । अन्धविश्वासको जरो मज्जैले गडेको देखिन्छ । हाम्रो समाज र त्यसका केही गजवका चरित्रहरूको दृष्टान्त लाग्छ ‘विभ्रम’।
पढ्दा पूरै निबन्ध जस्तो लाग्ने, सुरुचिकर कथा हो-‘केटो फेरि हरायो’ । जुम्लाको केटोको पारिवारिक दुखान्त दृश्यहरूसहितको कथाले मन पगाल्छ । यथार्थपरक कथा हो-‘अप्रत्यासित बुढ्यौली’। यसमा उमेर चिप्लिँदै जाँदा सबै कुरा चिप्लिन्छ भन्ने भावजनित छ । एउटा सामान्य कर्मचारीको व्यथा मिसिएको कथा ‘अवतरण’ । समाजमा व्याप्त जातीयताको मध्ययुगीन संस्कारको विरुद्ध सन्देशप्रवाह गर्छ - ‘उजेलीको आलोक’ले । यसले कथाकारको बौद्धिकताको छनक देखाएको छ ।
पद र शक्तिमा हुनेहरूले कसरी त्यसलाई आफ्नो स्वार्थमा दुरुपयोग गर्छन् भन्ने आजको समयको यथार्थ चित्रण गरिएको कथा हो–‘रातो गलबन्दी’। ‘अधिग्रो कथा’ले साहित्यकारको मर्म बोल्छ । साहित्यकारलाई परिवार र साथीभाइको साथ, सहयोग र समर्थन हुनु/नहुनुको फरक देखाउँछ । राजनीतिले कसरी एउटा युवतीको सपना चकनाचुर हुन्छ भन्ने दृष्टान्त कथा हो-‘रञ्जिता’ । हिजोको सशस्त्र द्वन्द्वमा माओवादी छापामार बनेर देश र जनताको सुख र परिवर्तनको हुटहुटी बोक्ने युवतीमा कसरी राजनीतिक स्खलन आउँछ भन्ने मनोदशालाई चित्रण गरिएको मार्मिक कथा हो । ‘असमाधान’ नेपालका यस्ता दुरदराज गाउँको कथा हो जहाँ आफ्नो काम र दुःखबाहेक केही कुराको मतलब हुन्न । न उनीहरू सामाजिक सञ्जालका विभिन्न च्यानलहरूप्रति अभ्यस्त छन् । न उनीहरूलाई देशविदेशका घट्नाहरूसँग कुनै मतलब छ । मानौं सबका सब बेखवर छन् ।
अठ्ठाईस वर्षको लाउँखाउँ जवान उमेरकी एकल महिलाको समग्र उहापोह समेटेको कथा हो–‘अज्ञात प्रकटीकरण’ । कथाले जीवनका अनेकौं पहेलीहरूमा हन्डर खाँदै आएकी महिलापात्रको मनोदशा बोलेको छ । ‘दुई ध्रुव ः एक फन्को’ भित्र स्केन्डिभियन देशहरूमा पलायन भएका प्रवासी नेपालीहरूमा उमेरको शिखर चढ्दै जाँदा आउने स्वदेशको याद छ । र तिनमा स्वदेश छोड्दा आएका पश्चातापका कोरिने धर्साहरूको पश्चिमेली जीवनको कथा छ । उमेर अनुसारका साथी रोजेर बस्ने कुराहरू पनि जानकारी गराउँछ यस कथाले । ‘निमेकी आमा ः सरला’ कथाले वैदेशिक जीवनमा भाडाकी आमा अर्थात् सेरोगेट बनेर निसन्तानलाई सन्तान सुख दिने काम गर्ने सरलाको कथा हो । यसरी पटक–पटक सेरोगेट बनेकी सरला मोटो रकमसहित स्वदेश फर्केर समाजसेवामा तल्लिन हुन्छिन् ।
‘दुर्घटना’ तल्लो ओहोदाको कर्मचारीको दैनिकी हो । आर्थिक रूपमा थिल्थिलिएको परिवार, बच्चा पढाउन बिहेको मंगलशुत्र बेच्नुपर्ने परिस्थितिमा दुर्घटना हुँदा उपचार गर्न लागेको दर्दनाक पीडाको कथा हो । यसले आजको नेपाली समय र सन्दर्भको यथार्थलाई प्रतिबिम्बित गरेको छ । विगतमा विभिन्न उद्योग, होटलहरूमा राजनीतिक दलका मजदुर संगठनले आफ्ना कार्यकर्ता भर्ती गर्न दबाब दिएर नेपालका विभिन्न उद्योगधन्दा बन्द भएको यथार्थ हामी सबैलाई जगजाहेर छ । यही कुराको सत्यापन हो-‘एउटा उद्योेगको कथा ।’
समाजको सकारात्मक परिवर्तनको दिशातर्फ लक्षित कथाहरूको प्रधानता कृतिमा पाइन्छ । सामाजिक मूल्य र मान्यतामा आधारित रही सकारात्मक सन्देश प्रवाह गर्नु कथाकारको विशेषता रहेको देखिन्छ । यसैले सामाजिक यथार्थको प्रकटीकरण गर्न चुकेका छैनन् कथाहरू ।
‘अपरिभाषित सम्बन्ध’मा एउटा व्यवसायीलाई मजदुर कर्मचारीको कस्तो दबाब खेप्नुपर्छ भन्ने देखाइएको छ । उद्योग व्यवसाय नै बन्द हुने परिस्थितिले आजको यथार्थजनित गरेको कथा बुनिएको छ । ‘अभिशप्त कुइनेटाहरू’ शीर्षक कथा हो । इँटाभट्टामा काम गर्न बाध्य भूइँमान्छेका कथा पढ्न पाइन्छ यसमा । बालश्रम, असावधानीले भोग्नु परेको दर्दनाक पीडा, अनि यसैको कारण बैराग्य बोकेको मान्छेको कथा यसमा पढ्न पाइन्छ । ‘अधुरो कथा’मार्फत कथाकारले लण्डन भ्रमणका भोगाई केही शृंखलाहरू जोडेजस्तो लाग्छ । तीनलाई नेपाली स्थानीय परिवेशहरूमा तुलना गरिएका छन् । त्यहीँभित्र छन् यौनका कुरा, विभिन्न सेलिब्रेटीका कुरा, चालकरहित सवारीसाधन, मान्छेका रोजगारी र आर्थिक समुन्नतिले दिएका सुखसुविधाका कुरा पनि त्यहीँ छ । यसैगरी ‘अठ्ठाईस वर्ष’ पछिमा विगतका कुरामा समयसँगै आएको परिवर्तनलाई उजागर गरिएको छ । कथाले हिजोका राम्रा कुराहरूको यादलाई पुनर्ताजगी गराउँछ । जुन तपाईं हाम्रा आफ्नै कथा हुन् सक्छन् । अन्तिम कथा हो ‘अनेकानेक’ । अपत्यारिलो जीवन कथा,नातासम्बन्धको कथा हो यो । दार्शनिक भाव पनि यसमा सूक्ष्म रूपमा पढ्न पाइन्छ ।
सर्सर्ती हेर्दा कथावस्तुहरूमा घट्ना र चरित्रको सुगठित विन्यास देख्न सकिन्छ । कथा सिर्जनाको परिवेशले पनि कथाहरू बलिष्ठ देखिन्छन् । कथाको मानवेतर चरित्र अर्थात् पात्रहरू यसै समाजका उपज लाग्छन् । कथाहरूमा प्रयुक्त पात्रहरूप्रति कथाकारले न्याय नै गरेको प्रतीत हुन्छ । कथाहरूको अपेक्षानुरुप नै कथानकता निर्माण गरिएको देखिन्छ । कथाकारले जे अनुभूति गरेर कथा निर्माण गरे त्यसलाई पूर्णता प्रदान गर्न उनी खासै चुकेका देखिँदैनन् । कथाहरूले सामाजिक र यथार्थवादी धारलाई अंगालेको जस्तो लाग्छ । तसर्थ, समाजमा स्थापित मूल्य र मान्यतालाई कथाहरूमा आत्मसात गरिएको छ ।
कथाका भाषा सरल, सहज र सुलोलित छन् । क्लिष्ट र दुरुह भाषा रत्तिभर छैन् । कथालाई कलात्मक मूल्य प्रदान गर्न भट्टराईले कुनै कसुर बाँकी राखेका छैनन् । कथाको संरचना पक्ष पनि बलियो नै देखिन्छ । यद्यपि कथाहरू केही लम्बेतान लाग्छन् वा भनौं अनावश्यक तन्काइएको जस्तो भान पर्न जान्छ । पत्रकारिताका विषयमा दखल राख्ने कथाकारको कथाकारिता पत्रकारिताबाट पनि प्रभावित भएको देखिन्छ । एकाध यी कुरालाई नजरअन्दाज गरिदिने हो भने भट्टराईको यो कृति पठनीय देखिन्छ । कृति नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो । कथाकारलाई हार्दिक बधाई ।







हिमालय टाइम्स परिवारप्रति मेरो सानो समीक्षालाई स्थान दिनुभएकोमा हार्दिक आभारी छु ।