
मेरा हातमा अहिले एउटा सुन्दर पुस्तक छ र यसको शीर्षक ‘दीपमालिका’ रहेको छ । यो पुस्तक मुकुन्दराज दाहालद्वारा लेखिएको हो । विधागत रूपमा भन्ने हो भने यो कवितासङ्ग्रह हो । धेरै अगाडि झण्डै साढे चार दशकदेखिका फुटकर कसवताहरूलाई सङ्गृहीत गरेर यो पुस्तक यस रूपमा आएको छ । फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित गर्दै आउनुुभएका मुकुन्दराज दाहाल पेशागत रूपमा प्राध्यापक हुनुहुन्छ र हाल उहाँ सेवानिवृत्त भइसक्नुभएको छ । उहाँले यी फुटकर कविताहरूलाई सङ्गृहीत गरेर पुस्तक प्रकाशनको जमर्को गर्नुभएको थिएन । अहिले आएर भने सबैले घचघच्याउँदा उहाँले यो पुस्तक प्रकाशन गर्ने जमर्को गर्नुभएको हो ।
हालैमात्र प्रकाशित भएको पुस्तक प्रकाशक सीता रेग्मी दाहाल हुनुहुन्छ । उहाँ कवि दाहालकी जीवनसँगिनी हुनुहुन्छ । पुस्तकको सर्वाधिकार कविमै सुरक्षित छ । यो पुस्तकको प्रथम संस्करण हो । पुस्तक डिएमआई आकारमा सुन्दर आवरणमा छापिएको छ । पुस्तकमा भूमिका खण्डमा २८ र पाठ्य खण्डमा १७० गरी १९८ पृष्ठ छन् । पुस्तकको मूल्य ३५० रुपैयाँ छ । नेपालमा मुद्रित भनेर यहाँ उल्लेख भएको हुँदा यसको मुद्रण गरिएको प्रेस भने खुल्न आएको छैन । पुस्तकमा सेतो तौलयुक्त कागजको प्रयोग भएको छ । पुस्तकको छपाइ स्तरीय छ । अशुद्धिहरू पनि त्यति धेरै भेटिँदैनन् ।
पुस्तकको आवरण सुन्दर देखिन्छ र पुस्तकको शीर्षकलाई सार्थकता दिँदै बीचमा बलिरहेको दीप अथवा दियो राखिएको छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक राखिएको छ ‘दीपमाला’ भनेर र तल कविको नाम दिएको छ । यसैगरी पृष्ठावरणमा फोटोसहित कविको परिचय दिइएको छ । उहाँको व्यक्तिगत विवरण र उहाँ संलग्न भएका संघसंस्थाहरूको नाम उल्लेख गरिएको छ । तल प्रकाशक सीता रेग्मीको नाम उल्लेख छ भने दायाँतिर बारकोड र मूल्य उल्लेख छ ।
जन्मभूमिको सम्झना, चाडपर्व र रीतिसंस्कृति, यौन, शहीदहरू, समय, प्रकृति, दायित्व वा जिम्मेवारी, राष्ट्रप्रेम, मानवता, समाज चित्रण, व्यङ्ग्य जस्ता विविध विषय यहाँका कविताहरूमा समेटिएका छन् । आकारका आधारमा हेर्दा यस सङ्ग्रहमा रहेका कविता लघु र मध्यम आकारका भन्न मिल्ने खालका छन् ।
पुस्तकको समर्पणमा कविले आफ्ना श्रद्धेय मातापिता तथा कर्मपिताको फोटो राख्नुभएको छ र उहाँहरूको जन्म र निधन भएको मिति खुलाउनुभएको छ । त्यसैगरी भूमिकाखण्डमा प्राध्यापक पुरुषोत्तम दाहालको ‘दीपमालिकासँग मुकुन्द’, डा.कृष्णप्रसाद भट्टराईको ‘भूमिका’, डा.रामप्रसाद दाहालको ‘दीपमालिकाले युगबोध गरिरहेको छ’, डा.होमप्रसाद गृहस्थीको ‘शुभकामना’, कलानिधि दाहालको ‘शुभकामना’ रहेका छन् । अन्तिममा कविले ‘आफ्नै भनाइ’ भनेर आफ्ना केही विचारहरू राख्नुभएको छ । यसका साथै छोटोमा प्रकाशक सीता रेग्मी दाहालको भनाइ राखिएको छ । त्यसपछि उहाँले शिष्टाचार अभियान नेपालको सौजन्यमा यो पुस्तक प्रकाशित भएको हुँदा शिष्टाचारका नौवटा बुँदाहरू उल्लेख गर्दै कविताक्रम भनेर विषयसूची राखिएको छ । पुस्तकमा गद्यात्मकखण्ड र पद्यात्मकखण्ड गरी दुई खण्ड छन् । यसबाट कवि गद्य पद्य दुबैमा कलम चलाउन सक्नुहुँदोरहेछ भन्ने पुष्टि हुन्छ ।
गद्य खण्डमा उहाँको ४६ वटा कविताहरू सङ्गृहीत भएका छन् । लामो कालावधिमा छरिएर रहेका कविताहरू समेटिएको हुँदा सबै कविताको गुणात्मकता र भावाभिव्यक्ति समान स्तरको नपाइनु स्वाभाविक हो । उहाँले एक शब्ददेखि पाँच शब्दसम्मका शीर्षकमा आफ्नो अभिव्यक्ति दिनुभएको छ । विषयवस्तुमा विविधता रहेको पाइन्छ । जन्मभूमिको सम्झना, चाडपर्व र रीतिसंस्कृति, यौन, शहीदहरू, समय, प्रकृति, दायित्व वा जिम्मेवारी, राष्ट्रप्रेम, मानवता, समाज चित्रण, व्यङ्ग्य जस्ता विविध विषय यहाँका कवितामा समेटिएका छन् । आकारका आधारमा हेर्दा पनि यस सङ्ग्रहमा रहेका कविताहरू लघु र मध्यम आकारका भन्न मिल्ने खालकै छन् । एक दुई पृष्ठमै यी कविताहरू अटेका छन् ।
पद्य खण्डमा ५७ वटा कविता सङ्ग्रह भएका छन् र अन्तिममा केही मुक्तकहरू पनि समेटिएका छन् । यहाँका कविताहरू जन्मभूमिको सम्झना र अग्रजहरूलाई सम्झिएर सम्मान गर्दै लेखिएका छन् । यसका साथै गद्य कविताहरूमै जस्तो राष्ट्र र राष्ट्रियता, माटाको ममता, समाज चित्रण, मानवता, राजनीतिप्रतिको व्यङ्ग्य, चाडपर्व रीति संस्कृति, यात्रासंस्मरणलगायत विविध भाव समेटिएका छन् । यी कविता पनि दुईदेखि सात आठ श्लोकसम्मका छन् ।
शार्दुलविक्रिडित, अनुष्टुपलगायत छन्दहरूमा कथिएका कविताहरूको शीर्षक छोटा र आकर्षक छन् । छोटो अखबारीय लेखनमा यसको समग्र समालोचनात्मक विश्लेषण सम्भव छैन, त्यो पछि गरौंला अहिलेलाई कवि मुकुन्दराज दाहालले आफ्नो वयसन्धिमा ढिलै भए पनि यो पुस्तक प्रकाशन गरेर आपूmलाई समाजमा चिनाउने र पछि अमर हुने काम गर्नुभएको छ । उहाँलाई यसका लागि बधाई तथा शुभकामना । पुस्तकको सफलताको पनि कामना तथा उहाँबाट यस्ता अन्य पुस्तकहरू आइरहून् भन्ने अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच