
ओखलढुङ्गाको बिगुटारमा जन्मिएका कवि कवि मुकुन्दराज दाहाल (२०१३) को दीपमालिका (२०८२) कवितासङ्ग्रह हालसालै प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसमा प्राध्यापन गरी हाल अवकाश लिइसकेका कवि दाहालले २०३० सालदेखि कविता यात्राको थालनी गरिसकेका थिए । माधुर्य पत्रिकामा प्रकाशन गरेको ‘माटोको माया’ शीर्षकको कविता नै उनको पहिलो प्रकाशित कविता हो । फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा कविता प्रकाशित गर्दै आएका कविले लगभग सात दशकको जीवनयात्रा पार गरिसकेपछि पुस्तकाकार रूपमा यो कृति प्रकाशन गरेका छन् । यसको प्रकाशक भने उनकी जीवनसङ्गिनी सीता रेग्मी दाहाल हुन् ।
दाहालको प्रस्तुत कृतिमा गद्य र पद्य गरी दुई खण्ड रहेका छन् । गद्य खण्डमा ४६ वटा र पद्यमा ५८ वटा गरी जम्मा ११४ कविताहरू यसमा संलग्न देखिन्छन् । यसबाहेक अन्तिम पृष्ठमा कविले तीनवटा मुक्तक पनि समावेश गरेका छन् । यसरी हेर्दा उनी गद्य एवम् पद्य दुवै शैलीमा कलम चलाउने कवि तथा मुक्तककारका रूपमा देखापर्दछन् ।
कविको जन्मस्थान ओखलढुङ्गा साहित्यकारहरू जन्माउने उर्वर भूमि नै हो । युगकवि सिद्धिचरण श्रेष्ठदेखि घटराज भट्टराई, प्रयागराज वाशिष्ठ, कलानिधि दाहाल, व्याकुल माइला आदि यहीँका स्रष्टा हुन् । यस्तो उर्वर भूमिमा जन्मेर पनि अत्यन्तै गुपचुप रूपमा कलम चलाइरहेका तर बाहिर चर्चामा नआएका शालीन व्यक्तित्व दाहालको काव्यात्मक प्रतिभालाई यस कृतिले उजागर गरेको छ ।
कविको जन्मस्थान ओखलढुङ्गा साहित्यकारहरू जन्माउने उर्वर भूमि नै हो । युगकवि सिद्धिचरण श्रेष्ठदेखि घटराज भट्टराई, प्रयागराज वाशिष्ठ, कलानिधि दाहाल, व्याकुल माइला आदि यहीँका स्रष्टा हुन् । यस्तो उर्वर भूमिमा जन्मेर पनि अत्यन्तै गुपचुप रूपमा कलम चलाइरहेका तर बाहिर चर्चामा नआएका शालीन व्यक्तित्व दाहालको काव्यात्मक प्रतिभालाई यस कृतिले उजागर गरेको छ ।
उनको कलात्मक शक्तिका बारेमा सोही पुस्तकको भूमिकामा साहित्यकार कलानिधि दाहाल भन्छन् : उनको यो कवित्वचेत कुर्सीको मोहमा, पैसाको प्रलोभनमा, पारिवारिक उल्झनमा, पुख्र्यौली टक्करावमा र साथी सँगातीको इष्र्यात्मक मनोवहाकावमा नलागी सडकमा नै बसेर कवितालेखनमा निरन्तरता दिएको भए, सङ्कल्पित भएर विराट् विश्वचिन्तनमा लागिदिएको भए, निर्णयात्मक बिन्दुमा पुगेर अध्ययन÷लेखनको अभ्यासमा ओर्लिदिएको भए अहिले दाजु मुकन्द साहित्यिक क्षेत्रमा अझ कवितात्मक साहित्यको कुन कर्सीमा बस्ने थिए, अनुमानमात्र गर्न सकिन्छ (पृ.ण) । उनको यो अभिव्यक्ति कविको कविता शक्ति र नेपाली साहित्यलाई लागेको घाटाको प्रमाण हो ।
दाहालका कविता एक व्यक्तिको जीवन भोगाइको इतिवृत्ति हो । आशा, निराशा, राष्ट्रप्रेम, मातृभूमि वा जन्मभूमिको प्रेम, प्रणय सम्बन्ध, प्रकृति प्रेम, जीवनदर्शनका साथमा विकृति र विसङ्गतिप्रतिको भत्र्सना यसमा पाइन्छ । वर्तमान समाजमा बढ्दै गरेको निराशा निभाएर मुस्कान र आशाको दियो बाल्न आहृवान गरिएको ‘दीपमालिका’ कवितादेखि लिएर भोका नाङ्गा जनतालाई चुस्ने जुका स्वभावका नेताप्रतिको आक्रोश व्यक्त गरिएको सुनका थालीमा माग्नेहरू र क्रान्तिकारी विचारलाई प्रस्तुत गर्दै देशपरिवर्तनको अपेक्षा राख्ने जिन्दगी हराएको हुनुपर्छ जस्ता कविता कवि चेतका उपज हुन् ।
उनले गद्य कवितामा देशप्रेमको भावलाई समेट्ने ‘अमर कीर्ति देशसित गाँस’, ‘रमिते डाँडो’, युद्ध र अभिघातको चित्रण गर्दै शान्तिको पक्षधरता अँगाल्ने ‘बुद्ध आज रोइरहेछ’, अस्थिर मनको प्रतिनिधित्व गर्ने ‘यो मनको के भर छ र ?’, गणतन्त्र आएर पनि जनताले केही हात नपारेको सन्दर्भको विरोध गर्दै ‘गणतन्त्र आयो गणतन्त्र’, शहीदलाई सम्मान गर्दै ‘शहीदप्रति’, ‘शहीद तिमी स्वतन्त्रताका पूजारी हौ’, ‘शहीदको प्रतिज्ञा’, प्रेमप्रणयलाई विषय बनाइका ‘तिमी’, ‘पर्ख ! प्रिये !’, धोका कति खाइयो, सन्तानको पर्खाइमा प्रविधिलाई कुरिरहेका म र ऊ पर्खिरहेछौँ, आजको दिन जस्ता कविताहरू सिर्जना गरेका छन् । उनले भौतिकतामा रुमल्लिएको वर्तमान समाजको यथार्थ चित्रण गर्दै आमाबाबुको सन्तानप्रतिको दायित्व र बाबुआमाप्रतिको सन्तानको दृष्टिलाई ‘पैँचो’ कवितामा यसरी व्यक्त गरेका छन् :
आमाबाबुले होइन
अस्पतालले
जन्माएको उनीहरूलाई
होस्टेलले हुर्कायो
र स्कुलले सिकायो फागत बाआमा त
करदाताको भूमिका निभाइरहेछन्
कुनै दिन
पैँचो तिर्ने छन् सन्तानहरूले
बुद्ध बाबुआमालाई
अनाथालय
र वृद्धाश्रममा भर्ना गरिदिएर । (पैँचो, २४)
उनका गद्य कविताहरू आठ हरफदेखि तीन पेजसम्म लामा आयामका देखिन्छन् । उनका यी गद्य कविताहरूमा स्थानीय परिवेश, सरल भाषाशैली, प्रचलित बिम्ब तथा प्रतीकको प्रयोग पाइन्छ । शहीदका सम्बन्धमा लेखिएका कविताहरू पुनरावृत्तियुक्त भावका देखिन्छन् । केही कविताका शीर्षकहरूमा भने सटिकता र भावगत सम्मीलनको आवश्यकता खट्किएको छ । यी गद्य कविताका भावहरूलाई मौरीको महका रस जस्तै गरी निचोरेर एउटै कविताले समेटेको स्थिति पनि छ । उनको ‘सपहिचान बाँच्न चाहन्छौ भने’ शीर्षकको कविताले देशप्रेम, सावधानी, आग्रह, भ्रष्ट नेताप्रति खबरदारी गर्दै क्रान्तिचेतलाई बुलन्द गरेको छ । उनी भन्दछन् :
मान्छे बाँच्न पनि
खतरा
र जिउन पनि
खतरा छ आज
मेरो देश पनि खतराभित्र
खतरामै छ
प्रत्येक बिहानी
र साँझ
मेरो देशको अस्मिता पनि
पग्लिँदै गरेको देख्छु आज
मेरो देशको वातावरण पनि
खतराभित्रै छ
हिमाल, तराई, पूर्वपश्चिम
साँधसिमाना पनि खतरा
मेरा पुर्खाका इतिहासहरू पनि
खतरा झेल्दै छन्..
ए, नव युवा !
युवती हो !
उठ !
जाग ! नेपाल
र नेपालीको
सपहिचान बाँच्न चाहन्छौ भने । (पृ.७५)
दाहालका पद्य कवितामा अग्रजप्रतिको श्रद्धासुमनको आधिक्य छ । त्यसपछि मातृभूमिप्रतिको प्रेम तथा विकृति र विसङ्गतिप्रतिको प्रहार सशक्त बनेका छन् । आफूभन्दा अग्रज कविहरूको सम्मानमा ‘मोतीरामको स्मृतिमा’, ‘पूर्णप्रकाश यात्रीमा श्रद्धासुमन’, ‘भानुभक्तप्रति’, ‘कवि दैवज्ञराजप्रति’, ‘महाकवि देवकोटाप्रति’, ‘भारती खरेको स्मृतिमा’, ‘सन्त शिरोमणिमा अभिवादन’, ‘योगी नरहरिनाथप्रति’, ‘स्मृति पटलमा खेमप्रसाद दाहाल’ आदि कविताहरू सिर्जना गरेका छन् । उनले जन्मभूमिको स्मरण गर्दै ‘मेरो जन्मभूमि बिगुटार’, ‘मातृभूमिप्रति’, ‘पोखरी डाँडाँको यादमा’, ‘गाउँको यादमा’, ‘आजको नेपाल’, ‘माटाको माया’, ‘देशको माटो’, ‘माता, पिता र धर्ती’, ‘मेरो देश’, ‘बिगुटारको सम्झना’, ‘यै हो नि मेरो घर’ जस्ता कविताहरू सिर्जना गरेका छन् । यस्तै देशको चिन्तालाई प्रस्तुत गर्दै देशको अवस्था, ‘देश दुखेको छ’, ‘आजको नेपाल’, ‘मेरो देश’ जस्ता कविताहरू सिर्जना गरेका छन् ।
दाहालका गद्य तथा पद्य दुवै किसिमका कवितामा नेपाली समाजको यथार्थ चित्रण गरिएको छ । समाजमा भएका विकृति र विसङ्गतिप्रति औँला उठाउँदै नेपाल रहे नेपालीको अस्तित्व रहने भाव उनका कवितामा पाइन्छन् । उनले प्रकृतिप्रेम, देशप्रेम, मानवता, आत्मिक प्रेम, क्षणिक जीवनप्रतिको चिन्ता तथा मृत्युबोधलाई कविताका विषय बनाएका छन् ।
यसरी उनका गद्य तथा पद्य दुवै किसिमका कवितामा नेपाली समाजको यथार्थ चित्रण गरिएको छ । समाजमा भएका विकृति र विसङ्गतिप्रति औँला उठाउँदै नेपाल रहे नेपालीको अस्तित्व रहने भाव उनका कवितामा पाइन्छन् । उनले प्रकृतिप्रेम, देशप्रेम, मानवता, आत्मिक प्रेम, क्षणिक जीवनप्रतिको चिन्ता तथा मृत्युबोधलाई कविताका विषय बनाएका छन् । बुद्धको देशमा बढ्दो अशान्तिदेखि नेताको बढ्दो अभिमान र देश बिग्रँदो अवस्थामा हुनुका कारकको समेत चिरफार गरेका छन् । शहीदहरूप्रतिको अपमानबोधका साथै राष्ट्रका गहना मानिने साहित्यकारहरूप्रतिको श्रद्धाभाव पनि उनका कवितामा पोखिएका छन् ।
वर्तमान युग प्रविधिले गर्दा बदलिँदै गएको मात्र छैन, मानवीय संवेदना र कर्तव्यसमेत हराउँदै गएको तथ्यलाई पनि कविताले उजागर गरेको छ । कतिपय कविताहरू अनावश्यक लामा देखिनु, कतिपयले भावको उठान गरेर बैठानमा पुग्न नसक्नु तथा गद्य कवितामा कतै श्लोकहरू परिवर्तन नगरी सोलोडोलो प्रस्तुत गरिनु र वर्णविन्यासगत त्रुटि देखिनु प्रथम कृतिका हिसाबले क्षम्य देखिन्छन् । तर पनि आज जताततै पहिचान, पर्यावरण, प्रविधिप्रतिको चिन्तन र युवामा वैदेशिक आकर्षणको प्रभावले वृद्धाश्रम बन्न लागेको देशको अवस्थाप्रति पनि अग्रज तथा सचेत लेखकका हिसाबले ध्यान पुग्न सकेको भए सुनमा सुगन्ध हुने सम्भावना देखिन्छ ।
तर, पनि कविले आफूले देखेका र भोगेका कुराहरूलाई समेटेर ढिलै भए पनि पाठकसमक्ष राखिदिनु र दाहालको दीपमालिकामा बलेको दीपले नेपाली साहित्यमा एउटा बलियो इँटा थप्ने कार्य गर्नु प्रशंसनीय देखिन्छ । कविको आगामी लेखन यात्रा थप ऊर्जावान् बनोस् भन्ने शुभेच्छा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच