
एउटा स्रष्टा अलिकति नामको भोकले, अलिकति लहड्को तृष्णाले गन्तव्यको उचाइभन्दा बढी तलकै पाखामा छरिन्छ । ससाना चर्मचक्षुका नानीमा भरिन्छ । यो सायद व्यक्तिका लागि क्षणिक भाइरल प्रसङ्गमा स्वाभाविक हुन सक्ला, आकर्षक पनि होला तर गम्भीर साहित्य सागरले पाउने अन्तर तरङ्गका हिसाबले यो अन्याय हो, अपराध हो, बेइमानी हो र बितण्डा पनि । यस्तै बितण्डावादी निकै स्रष्टामध्येका एक हुन् अमर त्यागी । निकै माथिल्लो कवित्वचेत, शाब्दिक मितव्ययिता, बिम्बशक्तिको द्यौराली भएर पनि लामो समय आविष्कारकका नाममा यिनले बाछिटामा समय मात्र होइन सम्पन्नता पनि खर्च गरिरहेका छन् ।
साहित्य भनेको सागर हो जहाँ जसले जे खोज्छ त्यही पाउँछ वा पाओस् । कविताका पद्य/गद्य दुवै रूपमा वा विधामा त्यस सागरपनको छताछुल्ल तरङ्ग सर्वत्र विस्तरित भएको हुन्छ । बाहिर सङ्लो बगेको दृश्य देखिए पनि सङ्लो खोज्नेका लागि यही ठीक छ, यसमै तैरिन्छ, घुम्छ र फन्का लगाउँछ कहिल्यै छोड्नु नपरोस् भन्ने हिसाबले ऊ चिदानन्द परिभ्रमित हुन्छ यसमा नै । सर्वपक्ष समाहितिको खोज गर्ने व्यक्तिले डुबुल्की मार्छ भित्रसम्म । त्यहाँ अर्थात विधागत साहित्य सागरमा बडेमानका सहरहरू, सिङ्गा गाउँका खण्डहर दृश्यहरू परिव्याप्त भएर रहेका पाउँछ उसले ।
साहित्य के हो ? अर्को संसार । नदेखेको संसार । नभेटेको संसार । सायद सामान्य मानव मनमस्तिष्कले परिकल्पना त गर्दैन गरिहाल्यो भने गरेभन्दा परको संसार । यी चिजहरू आविष्कारक बन्न आविष्कृत गरेका प्रविधामा हुन्छन् भन्ने दृढनिश्चिन्तता स्वयं आविष्कारकले पनि भन्न सक्दैनन् ।
संवेदनाका आँसु छताछुल्ल भएर बग्ने मानवीय अस्मिताको अथाह क्षितिज पनि त्यसमा खोज्नु पर्दैन, दार्शनिकले झैँ घोरिएर चिन्तन गर्नु पर्दैन । निबन्धकारले झैँ चिन्तनका चौतारीमा बसेर शब्दका पोया फुकाउनु पर्दैन । स्वाभाविकपनले उसका विस्फारित आँखा सामु उभिन्छन् । शरीर स्पर्शमा दौडिन्छन् । बिम्ब खोज्नेले बिम्ब आलोडित भएका पाउँछ । कुरा खोज्नेले बिम्बमाथि बिम्ब चुल्ठी पर्दै गफ गरिरहेको पाउँछ । अनौठो संसारको नवनिर्माण चारवटा विधामा सहज रूपमा पाउन सक्छ एउटा भावकले ।
प्रतीक व्यवस्थाको साङ्गोपाङ्ग स्वरूप मुस्कुराएको हेर्न कुनै गगल्स लगाउनु पर्दैन आँखामा । कहिल्यै नदेखिएका पाखाहरू झुलनवाग बनेर परेलीपात हल्लिदै पाखुरा स्पर्श गर्न आउँछन् । न त्यहाँ कुनै सङ्कीर्ण बिम्बसीमा छन् बाछिटाका झैँ, न कुनै पङ्क्तिसीमा छन् मुक्तकका झैँ, न कुनै बहरसीमा छन् गजलका झैँ, न गजल र अर्को नछुट्टिएर पनि भेडाका बथान झैँ देशविदेशमा लाम लाग्ने चारुकारमात्र छन्, न कुनै शब्दसीमा छन् उदकका झैँ, न कुनै पङ्ीक्त थपिदिँदा पञ्चाङ्ग बन्ने सिद्धान्त छन् त्यता, एकेक अक्षरको बढोत्तरी मात्र सीमा निर्धारण गरी नाता गाँसिने साइनो पनि रहन्न त्यता, न कुनै अन्त्यानुप्रासबद्ध र मुक्तको कसरतले सुसेली र हाइकु भेद रहन्छ त्यता, न लोकलयको गीत गाउँदै खोरिया आविष्कारकको नाक ठडिने अवसर आउँछ त्यता ।
साहित्य के हो ? अर्को संसार । नदेखेको संसार । नभेटेको संसार । सायद सामान्य मानव मनमस्तिष्कले परिकल्पना त गर्दैन गरिहाल्यो भने गरेभन्दा परको संसार । यी चिजहरू आविष्कारक बन्न आविष्कृत गरेका प्रविधामा हुन्छन् भन्ने दृढनिश्चिन्तता स्वयं आविष्कारकले पनि भन्न सक्दैनन् । व्यख्याताले बलजफ्ती गरिदिनु उसको भाइरल हुने स्वप्निल आशाको सङ्केत हुन सक्छ । म कठोर निर्णयका साथ यस निष्कर्षमा पुगेको छु । मलाई यस बिन्दु विशेषमा पुर्याउने व्यक्तिकै नाम हो अमर त्यागी ।
यसअघि केही नबुझी, केही नजानी प्रविधा जम्मैको घोरविरोधी थिएँ डायस्पोरासम्मको । अहिले जम्मै विधा÷प्रविधामा कलम चलाएर तिनका सैद्धान्तिक अन्तर मर्मबोधभित्र पसेर यिनमा लेखेर पुस्तक प्रकाशन नै गराएर पनि म यी कुनैको समर्थक अन्धआँखाले बन्न सक्दिन । घटना सानो हो र एक दिनको हो । अमर त्यागी साथी बनेका रहेछन् फेसबुकमा । अमरले आविष्कृत गरेको र खगेन्द्र बस्यालले समर्थन गरेको बाछिटा लेखनको सैद्धान्तिक व्याख्यासहित बाछिटा नै पोष्ट गरिएको रहेछ । मात्र कमेन्टका काला अक्षरमा यत्ति भनेँ–‘यस्तो पनि साहित्यिक रचना हुन्छ ?’ झनक्क रिसाउन् अमर र मजाले ठोकौँ-मेरो सोच थियो ।
उल्टै उनले तत्काल कमेन्ट बक्समै भने उनकै शब्दमा-‘तँ जस्तो यस उचाइमा पुगेको व्यक्तिले त सबै हामी जस्ता भर्खर कलम चलाउने नवसर्जकका छहारी बनेर उत्प्रेरित गर्नु पो असल हो कि ?’ म त्यस बेलासम्म अमर व्यक्तित्वबाट बिलकुल अपरिचित थिएँ । प्रश्नात्मक उत्तरको वाक्यले मजस्तो कठोर व्यक्तिलाई पनि छोयो अचम्म किसिमले । म भटाभट बाछिटा लेख्न थालेँ । प्रशिक्षक उनै रहेछन् नेपाली साहित्य विश्व सञ्जालमा । उनले माझ्दै गए, म खारिँदै गएँ बाछिटामा । प्रत्यक्ष जुममिट कार्यक्रममा यी सबै प्रविधाको सशक्तविरोधी भूमिका निर्वाह गरिरहेर पनि मैले हाइकु, कोपिला, सुसेली, खोरिया, मुक्तक, गजल, पञ्चाङ्ग, साइनो जस्ता र अन्य सबै अठचासीवटा प्रविधा बुझ्ने र लेख्ने भएपछि यी सबैको गुरु अमर त्यागीकै व्यक्तित्व हो अर्थात् अमर त्यागी नै हो ।
प्रविधा आविष्कारकमा अर्को एउटा चलाखी अनिवार्य आवश्यक छ । त्यो चलाखी प्रयोग गर्ने कम केही व्यक्तिमध्येको पहिलो नम्बरमा अमर त्यागी आउँछन् । आफू विधाविशेषमा दख्खल भएपछि छिट्टै इतिहास बनाउन वा नाम चलाउन जानेर होस् वा अनजान अवस्थामै रहेको धोकोले प्रविधाअन्तर्गत आउँछन् धेरै भने केही चाहिँ विधाविशेषको ज्ञानै नभएका र त्यसमा कलम चलाउनै नसक्ने तर साहित्यिक नामको चासोभाव भएका वा शिष्ट शब्दमा भन्दा साहित्यमा पनि केही गरौँ भन्ने व्यक्तिहरूको जमात छ । अमर त्यागी असचेत अवस्थामा नामको भोक भएर पनि सर्वविधा विशेषका निकै माथिल्ला व्यक्तित्व देखिन्छन् ।
पहिलोमा पर्छन् बुद्धि बिग्रेका अमर त्यागी । यिनले यति छिटो लामो प्रयासपछि बाछिटालाई व्यापक बनाए चकित हुन्छन् प्रविधा आविष्कारकहरू । अन्य प्रविधा आविष्कारकलाई कलेले भनेभन्दा बढी सायद केही थाहा नहुन सक्छ र थाहा पाउन पनि चाहँदैनन् यिनीहरू । कारण यस्ता आविष्कारकमा नाम अगाडि ल्याउने घोको पनि छ तर खर्च गर्ने आर्थिक उदार भावना त कुरै छाडौँ मख्खीचुसहरूको जमात छ । बरु भट्टीमा गन्थन गर्नेलाई लाखौँलाख सुम्पन तयार यी हुन्छन् तर संस्थासञ्चानार्थ चाहिँ भीख मागेर हिँड्छन् । यो दुर्बल बिन्दु अमरले ठम्याएका छन् । यसैले अमर त्यागी म जस्ता कैयौँ आर्थिक भिखारीका कृतिहरू आफ्नै पकेटका पैसाले छपाएर आफूले आविष्कृत गरेको प्रविधा विस्तारमा अनौठो उचाइ उक्लेका छन् । यतिबिघ्न नजानिँदो पाराले यस प्रविधालाई माथि उठाए अब उनी यसबाट विमुख हुन सक्दैनन् ।
कवित्व विधाका दुईवटै रूप-पद्य/गद्यमा यति खारिएका, माझिएका, परिष्कृत भएका अमर त्यागीले आफ्नो व्यक्तित्वलाई अझचौडा हुनबाट खुम्च्याएर आविष्कृत प्रविधा बाछिटामा एक्लो प्रयासले विविध पुरस्कार समेत स्थापना गरी वितरित गर्नु आफैँमा उदार साहित्यिक व्यक्तित्वको स्तम्भ हो अमर त्यागी भन्न नचाहेर पनि विवश छु म ।
अमर त्यागी बाछिटा व्यक्तित्वको व्यक्तिमात्र चाहिँ होइन, यो हुँदै होइन । गजलकार व्यक्तित्व हो अमर त्यागी । विसं २०५७ सालमा-‘बाँसुरीमा आँसुको गीत’ गजल सङ्ग्रह प्रकाशित गरेर गजलको नियम छिचोल्न सफल गजलकार व्यक्तित्व हो अमर त्यागी । ऊ सक्षम बिम्बात्मक मितव्ययी कविता विधाको कवित्वचेत पनि हो । विसं २०५८ सालमा-‘अक्षरहरूको देश’ शीर्षक कविता सङ्ग्रहले यसको पुष्टि गरिसकेको छ । एउटा कुशल सूत्र कवित्व प्रवाहको स्तम्भहो अमर त्यागी । विसं २०५९ सालमा-‘अनुभूतिको जुलुस’ नामक सूत्र कविता सङ्ग्रह प्रकाशित गरेर यस व्यक्तित्वलाई प्रमाणित गरिसकेका छन् उनले । अर्को फरक प्रविधाताङ्काको कृति-‘अभियुक्त ईश्वर’ प्रकाशित गरेर देखापरिसकेका छन् अमर विसं २०६२ सालमा । यतिमात्र होइन असल साहित्यकार कहिल्यै कुनै सर्तमा र प्राप्तिका प्रलोभनमा सत्ताको समर्थक बन्दैन तर नेपालमा प्रगतिशील नामङ्कन गरेर र राजा हुँदा राजाका पाउमा शिर झुकाउँनेहरू सम्मान र पुरस्कारका भारी सजाएर कथित राष्ट्रवादीका धोती हल्लाउँदै दरवारिया निर्णयमा महान् राष्ट्रवादी कवि बनेका छन् ।
सत्ता भनेको राजनीतिक नेता बस्ने कुर्सीमात्र होइन, यी पनि हुन् तर यस अतिरिक्त च्याउ उम्रेजस्ता सत्ताभिखारी साहित्यिक संस्थादेखि इनेगिनेका ठानिने तर नभएका मदन पुरस्कार स्थापक जगदम्बा गुठीका नायक बस्ने कुर्सीसम्मका सत्ताहरू पर्दछन् । बुझेर होस् वा अनजानमा क्रियाकलापले माओवादी निकट जस्ता लाग्ने अमर यस सङ्कीर्ण सीमामा पनि नरहुन् । स्रष्टत्वका हिसाबमा चाहिँ उनी सत्ताविरोधी नै हुन् भन्ने कुरा विसं २०७१ सालमा प्रकाशित उनको-‘अन्ध सत्ता’ शीर्षक कथा सङ्ग्रहले स्पष्ट पार्दछ ।
‘अक्लान्त’ २०७८, ‘अदृश्य’ २०७८, यसै सालमा प्रकाशित रहेको मुक्तक सङ्ग्रह-‘अमानव’ र २०८० सालमा प्रकाशित-‘अव्यक्त’ जम्मै कृतिका हिसाबले नवौँ बाछिटाका लहरमा चाहिँ तेस्रो कृति प्रकाशित भएका देखिनुबाटै उनी साहित्यिक यात्रामा समर्पित छन् भन्ने स्वतः प्रमाणित हुन्छ । कवित्व विधाका दुईवटै रूप-पद्य/गद्यमा यति खारिएका, माझिएका, परिष्कृत भएका अमर त्यागीले आफ्नो व्यक्तित्वलाई अझचौडा हुनबाट खुम्च्याएर आविष्कृत प्रविधा बाछिटामा एक्लो प्रयासले विविध पुरस्कार समेत स्थापना गरी वितरित गर्नु आफैँमा उदार साहित्यिक व्यक्तित्वको स्तम्भ हो अमर त्यागी भन्न नचाहेर पनि विवश छु म ।
अलिकति स्वार्थी भएर अब उनी विधाविशेषका लेखन/प्रकाशनमा समर्पित हुन सकून् । कारण उनले आविष्कार गरेको प्रविधा विशेषमा पुस्तौँपुस्ता प्रवाहित हुने जमात जन्माइसकेका छन् वा जन्मिसकेका छन् । अब बुद्धि नबिगारी आफ्ना माथिल्ला विधाका व्यक्तित्व जसलाई विस्फरित पोखरी वा महासागरीय पौडाइ भनिन्छ त्यसतर्फका उडानमा उन्मुक्त किसिमले लागून् र कृतिलोकार्पण गर्दा कुर्सीमा बसेका तर ज्ञानका भिखारी भेडाहरूका जमात थुपार्ने दुर्बुद्धिबाट अलग रहुन् भन्ने गालीका आदेशसँगै अक्षर तेजका गति विश्रामका द्यौरालीमा रोक्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच