
विन्दा पाण्डे नेपाली राजनीतिमा सक्रिय नेता, श्रमिक अधिकारकर्मी र महिला आन्दोलनकी अग्रणी अभियन्ता हुनुहुन्छ । उहाँले नेपाली समाजमा लैंगिक समानता, श्रमिक अधिकार र राजनीतिक सहभागिताका विषयमा गहन अध्ययन र विश्लेषण प्रस्तुत गर्दै विभिन्न पुस्तकहरू प्रकाशन गर्नुभएको छ । जनआन्दोलनदेखि गणतन्त्र स्थापनासम्मको राजनीतिक यात्रामा सडकदेखि संसद्सम्म सक्रिय भूमिका निर्वाह गर्नुभएकी पाण्डे नेपालको महिला आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नेतर्फ विशेष जोड दिनुहुन्छ । ‘समानताका पाइलाहरू’, ‘संसदीय राजनीतिमा लैंगिक सहभागिता’, ‘धरतीमाथिको दाबी : अधिकारको लडाइँ’, ‘वुमन इन पोलिटिक्स’, ‘वुमन इन नेपाली लेबर मुभमेन्ट’ जस्ता पुस्तककी रचयिता पाण्डेको पछिल्लो पुस्तक ‘भुइँमान्छे’ माथि अहिले देशव्यापी विमर्श चलिरहेको छ । नेपालको वामपन्थी आन्दोलनको स्थापना, निरन्तरता र सशक्तीकरणमा योगदान गरेका सर्वसाधारणहरूको यथार्थ समेटिएको ‘भुइँमान्छे’, समसामयिक राजनीति र विविध विषयमा डा. विन्दा पाण्डेसँग हिमालय टाइम्सका लागि नकुल अर्यालले गर्नुभएको कुराकानी :
राजनीतिक संगठनको केन्द्रीय नेतृत्वमा रहिसक्नुभएको तपाईंले भुइँमान्छे किन लेख्नुभयो ?
यसबारे मैले पुस्तकमा पनि उल्लेख गरेकी छु । मलाई भुइँमान्छे लेख्न सबैभन्दा पहिले प्रेरित गरेको चाहिँ मिडियाकै साथीले हो । केपी शर्मा ओली र माधवकुमार नेपालबीच म्यारियट होटलमा भएको वार्ता मिलेन नि ? भनेर मिडियाको साथीले प्रश्न गर्नुभएको थियो । मैले जवाफमा भनेकी थिएँ– झुपडीमा बसेर बनाएको पार्टी फाइभस्टारमा बसेर गरेको वार्ता किन मिल्थ्यो ? भनेकी थिएँ । त्यो अन्तर्वार्तापछि मलाई केही साथीहरूले फोन गर्नुभयो । उहाँहरूले नेकपा एमाले निर्माणमा धेरै श्रमिकहरूले कसरी योगदान दिए भन्ने उदाहरण पनि दिनुभयो । नेकपा एमालेको आधार मानिने को-अर्डिनेसन केन्द्र निर्माण गर्दाका आश्रय दाता भक्तबहादुर आलेको कथा पनि मैले ओम कोइरालाबाट जान्ने मौका पाएँ । उहाँले आश्रय दिएको कुरा, उहाँले भूमिगत हुँदा पाएको दुःखबारे पनि थाहा पाएँ । अहिले उहाँ सुनसरीको इनरुवा मासु पसल चलाएर बस्नुभएको रहेछ । पार्टीप्रतिको प्रतिबद्धतामा उहाँको कमी आएको छैन । तर, हिजो पार्टी निर्माणका लागि जे भनेर योगदान गरिएको थियो त्यो सन्दर्भ नेताहरूले बिर्सिए भन्ने सन्दर्भ रहृयो । त्यस्तै, सबलबहालमा प्रकाश नेपालीको घरमा हामीले ट्रेड युनियन महासंघ २०४६ सालमा स्थापना गरेका थियौं । प्रकाश नेपालीले मलाई फोन गरेर हिजो संगठन बनाउँदा गरेको संघर्षलाई आज नेतृत्वले बिर्सियो भन्ने टिप्पणी गर्नुभयो । टेलिफोन संवादका क्रममा उहाँ भावुक पनि हुनुभयो । उहाँलाई भेटेरै मैले लामो कुराकानी गरेँ । त्यसपछि मलाई उहाँहरूजस्ता व्यक्तित्वहरूको कुरा लिपिबद्ध गर्नुपर्छ भन्ने लाग्यो । रातो गण्डकी भन्ने किताब पढ्दा कम्युनिष्ट पार्टी निर्माणमा आममान्छेले गरेको योगदान लेखिनुपर्छ भन्ने लाग्यो । आफ्नो गाँस कटाएर, आफ्नो ओछ्यान छोडिदिएर, नेतालाई सुरक्षा दिएर विभिन्न ढंगले सहयोग गरेर नै भुइँमान्छेहरूले यो पार्टी बनाएका हुन् । यो पार्टी नेताहरूले मात्रै बनाएका होइनन् । अघिल्लो कुर्सीमा बस्नेको, शासकको मात्रै होइन, जग बसाल्नेहरूको पनि इतिहास लेखिनुपर्छ भनेर मैले भुइँमान्छे लेख्ने निधो गरेकी हुँ ।
कम्युनिष्ट पार्टी नेताले होइन जनताले निर्माण गरेको हो ।
पार्टी निर्माणमा समाजको पिँधमा रहेको वर्गको बलिदानी छ ।
वामपन्थी आन्दोलनमा योगदान दिनेहरूको स्थिति दयनीय बन्दैछ ।
जसले कठिन समयमा तल्लो तहमा रहेर काम गरे, भुइँमान्छे तिनै हुन् ।
‘भुइँमान्छे’ लाई नेताले लेखेको कार्यकर्ताको इतिहास भन्न मिल्छ ?
मैले आफूलाई नेताका रूपमा लिएकी छैन । उहाँहरूसँग हिजो सँगै काम गरेका सन्दर्भमा देखे भेटेका कुरा पनि छन् । यो पार्टी निर्माणमा योगदान हुनेहरूको कुरा हो । नेताले नै लेखेको रूपमा नबुझिदिनुहोला । यो भुइँमान्छेको सहकर्मी भएर लेखिएको पुस्तक हो ।
हामीले देख्दा ‘भुइँमान्छे’ तपाईंको कृति हो । तपाईंको नजरमा चाहिँ ‘भुइँमान्छे’ को हो ?
भुइँमान्छेहरू भनेको हिजो म जुनबेला आन्दोलनमा लागेँ, त्यतिबेला मसँगसँगै आन्दोलनमा लाग्नुभएकाहरू नै हो । जतिबेला म मजदुर आन्दोलनमा लागेँ, प्रकाश नेपाली सफाइ मजदुर फाँटको नेता हुनुहुन्थ्यो । ओम कोइराला पहिले शिक्षक हुनुहुन्थ्यो । पेशा छाडेर पार्टीको पूर्णकालीन काममा लाग्नुभयो । पछि प्रजातन्त्र आएपछि ट्रेड युनियनमा जोडिनुभयो । हामी सँगै काम गरेका हौं । उहाँहरूले जसलाई आफ्नो बस्तीमा, कार्यक्षेत्रमा जस-जसलाई संगठित गर्नुभयो उहाँहरूकै कथा मैले लेखेकी हुँ । मेरो बुझाइमा भुइँमान्छे भनेको उहाँहरूजस्तो आधारभूत तहमा रहेर पार्टी र आन्दोलनलाई निस्वार्थ योगदान गर्ने श्रमजीवी वर्गका महिला, किसान, मजदुर, दलित, मधेसीलगायतका सर्वसाधारण जनता हुन् ।
तपाईंको लेखनमा वामपन्थी आन्दोलनको समीक्षा, पिँधमा भएको वर्ग, महिला सशक्तीकरणका सवालहरू जोडिएर आउँछन् । ‘भुइँमान्छे’ आइसकेपछि विभिन्न स्थानमा अन्तरक्रिया पनि भए । कस्तो प्रतिक्रिया पाउनुभयो ?
केही स्थानमा हामी पुग्दा प्राप्त प्रतिक्रियाहरू निकै मन छुने खालका छन् । म केही उदाहरणहरू सुनाउन चाहन्छु । म रूपन्देहीको सीतापुर गएकी थिएँ । त्यहाँ भूमिगतकालमा धेरै केन्द्रीय नेताहरूले आश्रय लिनुभएको थियो । सीतापुरमा हाम्रा आश्रय दाताहरूको बस्तीमा किताब नै लिएर हामी पुग्यौं । हालसम्म विभिन्न ठाउँका आश्रय दाताहरूलाई उपहार स्वरूप १५० थान किताब हामीले पुर्याइसकेका छौं । सीतापुरमै सेल्टर बस्नुभएकी नेतृ शान्ता मानवीकै हातबाट हामीले उहाँहरूलाई किताब दियौं । किताब लिएर फोटो खिच्ने बेलामा सीतापुरका साथीहरूले पार्टीका लागि अहिलेसम्म गरेको योगदानको पहिलो पुरस्कार पाएको बताउनुभयो । जुन मेरा लागि अत्यन्तै आत्मीय र भावुक प्रतिक्रिया थियो । दोस्रो चाहिँ २०३२ सालमा को-अर्डिनेसनको केन्द्रीय कार्यालय धनुषामा थियो । कमरेड माधव नेपालले को-अर्डिनेसन केन्द्रको काम भर्खर सुरु गर्नुभएको थियो । त्यहाँ हाम्रा धेरै नेताहरूको सेल्टर थियो । हामी किताब लिएर जाँदा त्यहाँ साथीहरूले भूमिगतकालमा नेताहरूलाई आश्रय दिएका झुपडी घरहरू देखाउनुभयो । नेताहरूलाई त्यहीँ लुकाएको, खाना खुवाएको, सुताएको स्मरण गर्नुभयो । त्यसमध्ये एकजना साथीले के भन्नुभयो भने- कुनै बेला हामीले हाम्रो घरमा आश्रय दिएका नेताहरूको आज काठमाडौंमा ठूल्ठूला घर छन् । हामी काठमाडौं गयौं भने हामीलाई उहाँको घरमा लानुहुन्छ कि लानुहुँदैन होला ? हामीलाई भान्सामा लगेर खाना खुवाउनुहुन्छ कि खुवाउनुहुन्न होला ? एकरात सुताउनुहुन्छ कि सुताउनुहुन्न होला ? यी प्रश्नहरू निकै घतलाग्दा थिए । यो अर्को सोचनीय कुरा भयो । त्यस्तै, पुस्तक चर्चाका लागि पोखरा जाँदा सूर्यमोहन सुवेदीसँग भेट भयो । उहाँसँग ट्रेड युनियनमा सँगै काम पनि गरेको हो । ईश्वर आचार्यले त्यहाँ सूर्यमोहन सुवेदीबारे बोल्नुभयो । सूर्यमोहनजीले भूमिगतकालमा पोखरा पुगेका नेताहरूलाई सबै हिसाबले सहयोग गर्नुहुन्थ्यो । बहुदल आएपछि विविध कारणले सूर्यमोहनजी समस्यामा पर्नुभयो । उहाँलाई पार्टीपंक्तिबाट खासै सहयोग भएन । कुनै बेला सूर्यमोहनजीले अब म किड्नी बेच्छु भन्नुहुन्थ्यो । हामी श्रमिक साथीहरूले नै आपसमा सहयोग जुटाएर उहाँलाई सहयोग गर्यौं । भूमिगतकालमा पार्टीका लागि सबैथोक गर्न तयार सूर्यमोहनजीहरू समस्यामा पर्दा पार्टीले खासै केही दिन सकेन भन्ने गुनासो सुन्नुपर्यो । पहुँचको हिसाबले भन्ने हो भने भूमिगतकालमा त्यस क्षेत्रको इन्चार्जको रेखदेख गर्ने व्यक्तिले नै बहुदल आएपछि किड्नी नै बेच्छु भन्नुपर्ने अवस्था आइपर्नु निकै संवेदनशील लाग्यो । सुदूरपश्चिममा यज्ञ बास्तोला हुनुहुन्छ । पुरानो साथी हो । उहाँलाई प्रदेशको टिकट दिएर पनि खोसियो । त्यसपछि पनि उहाँलाई केन्द्रीय सदस्य बनाउँदा न्याय दिन सकिन्छ भन्ने थियो । त्यो पनि हुन पाएन । पुस्तकमा उहाँको नाम पनि उल्लेख छ । उहाँले पछि के भन्नुभयो भने, इतिहास पदमा हुनेको मात्रै लेखिँदो रहेनछ, हाम्रो पनि लेखिँदो रहेछ । अर्को साथी हुनुहुछ जीवन राई । पूर्वको मान्छे भए पनि उहाँ पार्टी काम विस्तारका लागि सुर्खेतदेखि कैलालीसम्म खटिनुभयो । उहाँको योगदानबारे पनि पुस्तकमा उल्लेख छ । पुस्तक चर्चामा आएर उहाँले पनि इमान्दारीपूर्वक काम गर्दा कसै न कसैले सम्झँदो रहेछ भनेर सम्मानित अनुभव गरेको बताउनुभयो । यी केही उदाहरण हुन् । किताबबारे चर्चा गर्दा धेरैजनाले हाम्रो पनि नाम किताबमा आयो भनेर भुइँमान्छेहरूले कृतज्ञता व्यक्त गर्नुभएको छ ।
भनेपछि भुइँमान्छेको लेखनबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?
अहिलेसम्म मैले अध्ययन अनुसन्धानमा आधारितमात्रै पनि झण्डै आधा दर्जन पुस्तक लेखेँ । त्यसमध्ये आममान्छेको सबैभन्दा धेरै मन छुने पुस्तकचाहिँ भुइँमान्छे भयो भन्ने लाग्छ ।
कम्युनिष्ट पार्टीका नेताहरू पदमा पुगेपछि भुइँमान्छेलाई बिर्सिए ।
इतिहासबारे लेख्दा पूर्वाग्रह राख्नुहुँदैन, तथ्य लेख्न सक्नुपर्छ ।
भुइँमान्छेले अझै पनि आन्दोलन छाडेका छैनन् ।
कम्युनिष्ट आन्दोलनको निर्मम समीक्षा र सुधार जरुरी छ ।
पुस्तक लेख्नुभन्दा आफू जोडिएको आन्दोलन, पार्टी र आफ्नै आलोचना गर्न सक्नु निकै चुनौतीपूर्ण हुन्छ भनिन्छ । आत्मालोचनाको त्यो हिम्मत कहाँबाट आयो ?
यो मलाई कसैले भनेर भन्दा पनि मेरो प्रारम्भदेखिको नै इच्छाशक्तिसँग जोडिएको छ । यसमा मेरो परिवारको योगदान छ । गलत काम गर्नुहुँदैन, ठीक काम गर्दा कसैले केही भनिहाल्यो भने पनि आफ्नो कुरामा उभिनुपर्छ भन्ने सानैदेखि सिकाइएको थियो । म आन्दोलनमा, पार्टीमा लाग्ने बेलादेखि नै आफ्नो विवेक प्रयोग गर्नुपर्छ भन्ने सिकेर आएको हो । ट्रेड युनियन आन्दोलनमा लाग्नासाथ मैले ट्रेड युनियन शिक्षाको क्षेत्रमा काम गरेँ । त्यस दौरान ट्रेड युनियन आन्दोलनसँग जोडिएका महिलाको नामै नआएको पाइयो । कुनै पनि महिलाको योगदान नै रहेनछ त भन्ने लागेर सोधखोज गरेँ । नेपालको ट्रेड युनियन आन्दोलनका संस्थापक मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालाई भेटेर ट्रेड युनियन आन्दोलनमा जोडिएका महिलाबारे सोधँे । उहाँहरूकै भनाइअनुसार मोरङको बर्मेली टोलमा पुगेँ । त्यहाँ अनसनी बज्यै अर्थात् नन्दा नेपालसँग भेट भयो । उहाँचाहिँ २००७ सालमा प्रजातन्त्र आएपश्चात् जुटमिल बन्द भएको बेला खुलाउनका लागि उहाँसहित तीनजना महिला २७ दिनसम्म अनसन बस्नुभएको रहेछ । उहाँसँगै आन्दोलनमा सक्रिय पार्वती पासवानले हड्तालकै क्रममा बच्चा जन्माउनुभएको रहेछ । त्यसैले उहाँको छोराको नामै हड्ताली भएको रहेछ । यी कुरालाई लिपिबद्ध गर्नुपर्छ भन्ने लागेर मैले पहिलोपटक नेपालको श्रमिक आन्दोलनमा महिला सहभागिता भन्ने किताब लेखेँ । यसरी लेखनको क्रम सुरु भयो । अध्ययन अनुसन्धानमा आधारित भएर लेख्दा कुनै पूर्वाग्रह नराखी तथ्यपरक भएर जे हो त्यही लेख्नुपर्छ भन्ने लागेर सुरुदेखि नै तथ्य लेख्ने प्रयत्न गर्दै आएकी हुँ । इतिहाससँग जोडिएको विषय लेख्दा संकुचन राख्नुहुँदैन भनेकै कारण भुइँमान्छेमा पनि आधारभूत मान्छेहरूको धारणा जे हो त्यही लेखिएको हो । मैले लेखे पनि त्यहाँका कुराचाहिँ सबै पार्टी आन्दोलनमा योगदान गरेका भुइँमान्छेहरूको हो ।
तपाईंको लेखन वामपन्थी आन्दोलनका कमजोरी औंल्याउने र सुधार्नेतर्फ केन्द्रित देखिन्छ । तर, पार्टीले त तपाईंलाई नै कारबाही ग¥यो नि ?
यस्तो कारबाही त भइराख्छ । कम्युनिष्ट पार्टीमा यस्तो कारबाही सामान्य कुरा हो । मुख्य कुरा मैले उठान गरेको विषय ठीक हो वा होइन भन्ने हो । पार्टीभित्र धेरै साथीहरूले ममाथिको कारबाही गलत भयो भन्नुभएको छ । मैले राखेको धारणा सही हो भन्नुभएको छ । यद्यपि धेरैजनाले सार्वजनिक रूपमा बोल्न सक्नुभएको छैन । पार्टी कार्यालय निर्माणका सन्दर्भमा मैले राखेको विषयमा पार्टी पंक्तिका धेरै साथीहरूको समर्थन छँदैछ । कारबाही त यस्तै हो । हाम्रो पार्टीमा विगतमा फरक मत राखेकाहरूले कारबाही चाहिँ भोग्ने तर कारबाही भोग्नेकै मुद्दा चाहिँ पार्टीको मूलमुद्दा बन्ने गरेका उदाहरण पनि छन् । पार्टी सदस्यताबाटै हटाइएका नेताहरूको धारणा पनि प्रकारान्तरमा पार्टीले स्वीकार गरेका इतिहास पनि छन् । त्यसैले यस्ता कारबाहीभन्दा मूल कुरा भनेको सत्यको पक्षमा उभिने कुरा हो । आफूले उठान गरेको विषय ठीक छ भने जस्तोसुकै परिस्थितिमा अडिग रहनुपर्छ ।
भुइँमान्छेको दोस्रो संस्करण पनि आउँछ ?
पक्कै पनि आउँछ । पुस्तक चर्चाका लागि धेरै ठाउँमा जाँदा केही कुरा छुटे कि भनेर सुझाव आएको छ । ती कुराहरू समेट्नुपर्छ भन्ने लागेको छ । तथ्यगत सुधार गर्नुपर्ने विषय पनि समेट्नुपर्नेछ । अहिलेसम्म हामीले छापेको पहिलो संस्करण करिब-करिब सकिइसकेको छ । त्यसैले केही समयपछि भुइँमान्छेको दोस्रो संस्करण ल्याउने तयारी छ ।
नेपालको कम्युनिष्ट राजनीतिको इतिहास हेर्दा निकै विभाजित र विवादित पनि देखिन्छ । जबकि पार्टी बनाउने भुइँमान्छेहरू त सग्लो कम्युनिष्ट आन्दोलनका पक्षमा छन् । यसबारे के भन्नुहुन्छ ?
नेपालको वामपन्थी आन्दोलन धेरै पटक विचलित भएकै छ । यसबाट हामीले पाठ सिक्नैपर्छ । यसबारे धेरै बौद्धिक व्यक्तित्वहरूले लेख्दै बोल्दै आउनुभएको छ । हामीले सिंगो आन्दोलनको निर्मम समीक्षा गर्न जरुरी छ । त्यस्तो समीक्षा गर्दा कसैलाई ढाकछोप नगरी वस्तुनिष्ठ हुनुपर्छ । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल हुनुहुन्छ । उहाँलाई हामीले पहिलो राष्ट्रिय महाधिवेशनसम्म पनि महासचिव रहन दिएनौं । पोलिटब्युरोको प्राविधिक बहुमत देखाएर उहाँलाई हटाइयो । महाधिवेशनपछि पार्टीले विचार पुष्पलालको बोके पनि नेतृत्व उहाँको ग्रहण गरेन । यति हुँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन । पछिल्लो चरणमा हेर्ने हो भने पनि यस्ता प्रशस्त उदाहरण देखिन्छ । विचार र व्यवहारमा फरक भएकै कारणले कम्युनिष्ट पार्टीहरू जनताबाट टाढा भइसके भन्ने भाष्य बनिरहेको छ । त्यसैले कम्तीमा निर्मम समीक्षा गरेर वाम आन्दोलनको साझा धारणा र कार्यक्रममात्रै बनाएर जाने हो भने पनि भुइँमान्छेलाई खुसी दिन सकिन्छ । तर, हामी त्यो बाटोमा छैनौं । हिजो आन्दोलनले किनाराकृत गरेका शक्तिहरू फेरि सल्बलाउन थालेका छन् । हाम्रो व्यवहारले नै त्यसलाई उकेरा लाउने काम भइरहेको छ । यसलाई रोकेर आन्दोलन र पार्टीको यथार्थ समीक्षा गर्नुपर्छ । वस्तुनिष्ठ समीक्षाका आधारमा आन्दोलन र पार्टीलाई सुधारेर अगाडि बढ्नु आजको आवश्यकता पनि हो, भुइँमान्छेहरूको सुझाव पनि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच