काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने ‘वार्मअप’ जारी छ । २०७९ फागुनमा सात वर्षको बसाइँपछि शीतलनिवासबाट बाहिरिनुभएकी पूर्वराष्ट्रपति भण्डारी केही समयसम्म निष्क्रिय देखिनुभयो । राष्ट्रपति पदबाट निवर्तमान भएको केही समयको आरामपछि राजनीतिमा फर्किने गतिविधि सुरु गर्नुभएकी भण्डारीको सक्रियता अहिले आक्रामक ढंगले अगाडि बढेको छ । केही महिनाअघि अर्थात् गत फागुनमा आफ्नै कार्यकालका उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रूपमै माओवादी केन्द्रको सक्रिय राजनीतिमा आएपछि पूर्वराष्ट्रपति भण्डारीको गतिविधि पनि तीव्र ढंगले अघि बढेको छ । राष्ट्रपति हुनुपूर्व आफू उपाध्यक्ष रहेको नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने प्रयास जारी रहेकै बेला भण्डारीले जेठ पहिलो हप्ता उत्तरी छिमेकी चीनको नौ दिन लामो भ्रमण गर्नुभयो । भ्रमणलाई चीनले यति महत्व दियो कि बेइजिङमा भण्डारीलाई राष्ट्र प्रमुखको हैसियतकै सम्मान दियो । चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष प्रभावशाली नेताहरूसँग भेटवार्ता गर्नुभएकी भण्डारीलाई चीनले नेपालमा वाम एकताको नेतृत्व गर्नसमेत सुझाए । चीन भ्रमणले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिको औपचारिक ढोका खुलेको र राजनीतिज्ञ हैसियत प्राप्त भएको नेकपा राजनीतिक वृत्तमा चर्चा छ ।
चीनको साताव्यापी भ्रमणलगत्तै पूर्वराष्ट्रपति भण्डारी कोशी प्रदेशमा केन्द्रित हुनुभएको छ । शुक्रबार विराटनगर पुग्नुभएकी भण्डारीलाई कोशी प्रदेश सरकारका मन्त्रीहरू रेवतीरमण भण्डारी, पाँचकर्ण राई सहितका मन्त्रीहरू र सांसदहरू स्वागतका लागि विमानस्थलमा पुगेका थिए । एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै स्वागत गर्नुभएको थियो । विराटनगर पुगेलगत्तै उहाँले त्यहाँ आयोजित स्थानीय तहका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभयो । उप-प्रमुखहरूको राष्ट्रिय भेलालाई सम्बोधनपछि कार्यक्रम स्थलबाट बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा सक्रिय नै रहेको बताउनुभयो ।
विराटनगरको कार्यक्रमलगत्तै भण्डारी सिधै झापा जानुभएको थियो । विराटनगरबाट झापा जानेक्रममा पूर्वराष्ट्रपति भण्डारीसँग एमालेका प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेश सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईहरूसँगै थिए । शुक्रबार राति ८ बजेतिर झापाको बर्तामोड पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई ठूलो संख्यामा रहेका एमालेका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । नेताहरूको स्वागत ग्रहणसँगै राति साढे ८ बजेपछिको समय पूर्वराष्ट्रपतिले भेटघाटमै बिताउनुभयो । भण्डारीसँग भेटवार्ता गर्नेहरूमा युवासंघ केन्द्रीय सदस्यमा ओली समूहबाट पराजित रोजिना पाण्डेदेखि पूर्वसांसद पवित्रा खरेल, नेता निता घतानी, बिर्तामोडका मेयर पवित्रा महतरा प्रसाईं एवं कमल गाउँपालिकाका पूर्वअध्यक्ष मेनुका काफ्लेसम्म थिए । उनीहरूले पूर्वराष्ट्रपति भण्डारीसँग बसेर रातिसम्म छलफल गरेका थिए । भण्डारीको बसाइ केही महिनाअघि विराटनगरको जमघटलाई बिर्साउने खालको थियो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पूर्वराष्ट्रपति भण्डारी एमालेका नेता-कार्यकर्तासँग भेटघाटमा निकै सक्रिय देखिनुभएको छ । त्यसमा पनि अध्यक्ष ओलीसँग रुष्ट नेताहरू धेरै देखिएको एमालेकै नेताहरूको दाबी छ । शुक्रबार राति झण्डै १० बजेसम्म छलफलमा व्यस्त पूर्वराष्ट्रपति भण्डारीले एमाले झापाका पदाधिकारीसँग भेटेलगत्तै महिला नेताहरूसँग छलफल गर्नुभएको थियो । शनिबार झापामा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्नुभएकी भण्डारी दिनभरजसो राजनीतिक भेटघाटमै व्यस्त रहनुभयो । आज (आइतबार) दिउँसोसम्म झापामै रहने भण्डारीले एउटा औपचारिक कार्यक्रमबाहेक अधिकांश समय नेता तथा कार्यकर्तासँगको भेटघाटमा बित्ने बताइएको छ ।
कोशी प्रदेशको झापा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गृहजिल्ला हो । एमालेको आगामी नेतृत्वमा पूर्वराष्ट्रपति भण्डारीको चर्चा भइरहँदा कोशी प्रदेश र त्यसमा पनि झापामा केन्द्रित राजनीतिक सक्रियताले थप चर्चा पाएको छ । पूर्वराष्ट्रपति भण्डारी स्वयम्ले पनि यस पटकको कोशी प्रदेशको भ्रमणले आफ्नो थप चर्चा हुने बताउनुभएको छ । कोशी प्रदेश आफूले राजनीति गरेको ठाउँ भएकाले पनि भ्रमणको बढी चर्चा हुने उल्लेख गर्दै भण्डारीले भन्नुभयो, ‘यो पटकको कोशी बसाइको थप चर्चा हुनेछ, देशभरका उपप्रमुख तथा उपाध्यक्षहरूको सम्मेलनमा सहभागी भए । पहिलाको भन्दा योपटक बढी चर्चा हुन्छ नै, हुनुपर्छ ।’ साता लामो चीन भ्रमण सकेर केही दिनअघि मात्र स्वदेश फर्किएलगत्तै भण्डारीको कोशी प्रदेश भम्रणले राजनीतिमा थप सक्रिय बनाउने संकेत गरेको छ ।
विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुसीको विषय हो ।’ वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको उहाँको भनाइ छ ।
एमालेमाथि डरलाग्दो हमला : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीविरुद्ध डरलाग्दो ढंगले हमला भइरहेको दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको कारणले भने एमालेविरुद्ध प्रहार नभएको दाबी गर्दै भन्नुभयो, ‘कोही कोहीले ओलीजीले यताउता बोल्दिनुहुन्छ, त्यसैले विरोधी बढे भन्छन्, अनि हाम्रा कतिपय भलादमी साथीहरूलाई हो जस्तो लाग्छ । उहाँले त्यस्तो बोलेको कटाक्ष गरेको, बिम्ब लगाएर बोलेको कारणले होइन । म पूरा जिम्मेवारीका साथ भन्न सक्छु । एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी हो, जुन शक्तिका मतियारहरूले नेपाललाई कमजोर बनाउन चाहन्छन्, तिनीहरूले एमालेमाथि हमला गर्दै छन् ।’
माओवादी र एमाले फुट्नु गल्ती : किराँती
नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले माओवादी र एमाले मिलेर बनेको नेकपा फुट्नु गल्ती भएको बताउनुभएको छ । माओवादी र एमालेको एकता फुटेदेखि नै राजनीतिक अस्थिरता उत्पन्न भएको र त्यसलाई राजावादीले अवसरका रूपमा उपयोग गर्न खोजेको दाबी गर्दै किराँतीले भन्नुभयो, ‘देशका ठूला कम्युनिष्ट पार्टी माओवादी र एमाले एक भयौँ । एउटा गतिमा नपुग्दै फुट्यौँ । फुट्नु हाम्रो गल्ती भयो । यसबाट राजनीतिक अस्थिरता भयो । अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो । उक्त असन्तुष्टिलाई राजावादीले पक्डन खोज्दै छन् ।’
एमालेले गरेको गलत काम जनतालाई भन्नुपर्छ : डा.कोइराला
सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । देश अप्ठ्यारो परिस्थितिमा गएको र कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको जिकिर गर्दै कोइरालाले भन्नुभयो, ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ । हामी सरकारमा छौँ तर सत्ताको चाबी हामीसँग छैन । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुप¥यो नि । नेकपा एमाले कांग्रेसको प्रतिस्पर्धी दल हो । सत्ता सहकार्य भए पनि एमालेले गरेका नराम्रा कामहरू नागरिकसमक्ष लैजानुपर्छ ।’







नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,