काठमाडौं । मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२ को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको खुला महिला-पुरुष १० किलोमिटर प्रतियोगितामा बस्नेत र न्यौपानेले उपाधि जित्नुभएको हो । प्रथम हुने बस्नेत र न्यौपानेले जनही ५०-५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभएको थियो ।
त्यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेण्ड, तेस्रो हुने मिङ्मार सिंगी तामाङले ३१ मिनेट ५७ सेकेण्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेण्ड र पाँचौँ स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको थियो ।
महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेण्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मिनेट २७ सेकेण्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेण्ड र पाँचौँ हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो ।
प्रतियोगितामा महिला–पुरुषतर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी अठार वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ पहिलो रमेश बुढा, दोस्रो पुरण सिंह, तेस्रो रमेश शाही, चौथो भूपेन्द्र कँडेल र पाँचौँ हेमन्त नेपालीलाई क्रमशः २० हजार, १५ हजार, १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
अठार वर्षमुनिका महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौँ स्थान हासिल गर्ने निर्मलाकुमारी खड्कालाई क्रमशः २० हजार, १५ हजार, १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि