
राजनीति नेताहरूका लागि माहुरीका लागि चास्नी जत्तिकै मीठो र सुस्वादु हुन्छ भन्ने देखिँदै छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो समयमा बढेको राजनीतिक सक्रियताबाट यो कुरा पुष्टि हुन्छ । नेपालमा राजनीति गर्नेहरूका लागि कानुनी रूपमा उमेरको हद निर्धारण गरिएको छैन । त्यसकारण उमेरले अशक्त र आठ दशक नाघिसकेका नेताहरू पनि राजनीतिमा सक्रियता देखाउने र पटक-पटक पदमा पुग्ने प्रयास गरिरहनुभएको छ । नेताहरू राजनीतिमा सक्रिय भएर अनुभवले देशलाई एउटा स्पष्ट दिशाबोध गराउनु सकारात्मक कुरा हो तर उहाँहरूको सक्रियता त्यसरी देशलाई दिशा प्रदान गरेर अगाडि बढाउने खालको देखिएको छैन । उहाँहरूको उद्देश्य सकेसम्म धेरै पटक मन्त्री तथा प्रधानमन्त्री बन्ने भन्नेमात्र हुन्छ ।
देश र जनताका लागि कुनै रचनात्मक काम गर्न नसक्ने र सरकारलाई निरन्तरता मात्र दिने हो भने त्यसका लागि त्यहाँ उहाँहरू नै पुग्नुपर्छ भन्ने छैन । त्यस ठाउँमा जो पुगे पनि समय सँगसँगै सरकारले निरन्तरता पाउँछ । देश र जनताका चाहना भने उद्देश्य र दृष्टिकोणसहितका नेता आएर परिवर्तनको महसुस हुनेखालका काम गरून् भन्ने हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनबाट नेपाली जनताले त्यस सोच बमोजिमको अनुभूति गर्न पाउलान् वा नपाउलान् त्यो अलिक परको कुरा हो तर हालका दिनहरूमा नेकपा एमालेले उहाँलाई राजनीतिमा सक्रिय बनाउँदैछ र उहाँ पनि त्यसमा अग्रसर देखिनुभएको छ ।
पछिल्लो समयमा राजनीतिमा उमेरहदको प्रश्न पनि उठ्न थालेको हुँदा विद्यार्थी संगठनदेखि युवा संगठनहरूमा भने उमेरको सीमा निर्धारण गर्न थालिएको छ । नत्र राजनीति गर्न उमेरको बारबन्जेज छैन । पूर्वराष्ट्रपति भण्डारीको त उमेर राजनीतिका लागि बाधक बन्ने बेला भएको छैन, परम्परा कस्तो बसाउने भन्नेमात्र हो । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा भने आफ्नो कार्यकाल पूरा गरेपछि सरकारले दिएको सेवासुविधा उपयोग गरेर बस्नुभएको छ । अभिभावक ठानेर कोही केही सोध्न गएकाखण्डमा वा पत्रकारहरूले कुनै विषयमा केही प्रतिक्रिया मागेकाखण्डमा बोल्नुहुन्छ नत्र अग्रसर पनि बन्नुभएको छैन ।
तर, गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति जसले दुई कार्यकाल महामहिम राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभयो उहाँ भने राजनाीतिमा फर्किनुभएको छ । पदमा बस्दा पनि उहाँलाई पटक-पटक विवादमा तान्ने प्रयत्न नभएको होइन । स्वतन्त्र वा तटस्थ भूमिका निर्वाह गर्न नसकेको भन्ने टिप्पणी भइरहेको थियो । धेरैको भनाइ थियो : नेकपा एमालेको सदस्यकै हैसियतले उहाँले काम गर्नुभयो । पदबाट हटेपछि राजनीतिमा उहाँको सक्रियता देखेपछि उहाँसँगै उपराष्ट्रपति बन्नुभएका नन्दबहादुर पुन जो माओवादीका हुनुहुन्छ उहाँ पनि सक्रिय राजनीतिमै फर्किनुभएको छ । यसलाई गैरकानुनी र अनैतिक काम त मानिँदैन तर अस्वाभाविक भने मानिन्छ । पूर्ववर्तीहरूको बाटो उहाँहरूले अवलम्बन गर्न सक्नुभएन । नेकपा एमालेमा होस् वा माओवादी केन्द्रमा अरू कुनै नेता नभएर र उहाँहरू नभए पार्टी नै नचल्ने अवस्था आएका कारणले पार्टीले उहाँहरूलाई सक्रिय गराएको होइन । उहाँहरूको विकल्पमा धेरै नेताहरू हुनुहुन्छ ।
उहाँहरूकै पार्टीका नेताहरूले उहाँहरूको पुनःसक्रियता देखेर ‘म राजनीतिमा फेरि सक्रिय हुन्छु भन्नेहरूलाई रोक्नुभएन’ भन्ने प्रतिक्रिया दिनुभएको छ । जसबाट पार्टीभित्रैबाट पनि उहाँहरूको पुनरागमनलाई रुचाइएको छैन भन्ने देखिन आउँछ । माओवादीमा भन्दा पनि एमालेमा नेतृत्व लिनसक्ने नेताहरू धेरै छन् । केही आशालाग्दा युवाहरू माधव नेपालको पार्टीमा पलायन भए पनि एमालेमा अझै बाँकी छन् । राजनीतिमा आपूmसँग प्रतिस्पर्धा गर्न खोज्नेहरूलाई रसातल पुर्याउने स्वभावका नेता केपी शर्मा ओलीले प्रखर नेता डा.भीमबहादुर रावल र वामदेव गौतमलाई रसातलमा पुर्याइसक्नुभएको छ । कम्युनिष्ट नीति परित्याग गरेको कम्युनिष्ट पार्टी भए पनि एमालेका अध्यक्ष ओलीमा भने कम्युनिष्ट नेताहरूमा हुने निरंकुशताको विद्यमानता छ ।
कोहीलाई पर्टीबाटै हटाउने र कोहीलाई उच्च जिम्मेवारी दिन नचाहने ओलीको विकल्पका रूपमा भण्डारीको अग्रसरता हुनसक्छ । भण्डारीको अग्रसरताका पछाडि ओलीको व्यवहारबाट पीडितहरूमात्रै नभएर भोलिका दिनमा सम्पूर्ण कम्युनिष्ट पार्टीहरूलाई गोलबद्ध गर्ने चिन्तन र रणनीति पनि हुनसक्छ भन्ने अनुमान गर्नु गलत नहोला । यद्यपि विगतमा भण्डारी र ओली राजनीतिक विचारबाट निकट रहँदै आउनुभएको थियो । ओलीको वार्धक्य र शारीरिक अशक्ततालगायतका कारण अब कोही न कोही अवलम्बको आवश्यकता नेकपा एमालेमा छ नै । यही कारण पूर्वराष्ट्रपति भण्डारी अगाडि आउनुभएको होला । तर, यसरी उहाँ एमालेको राजनीतिमा अगाडि आउँदा सबै शीर्षस्थान उहाँहरूलाई चाहिने ? भनेर अन्य शीर्ष नेताहरू टेडिने अवस्था आउनसक्छ । चीनमा एक हप्तासम्म भ्रमण गरेर त्यहाँका उच्चपदस्थ नेताहरूसँग भेटघाट गरी भण्डारी भरखरमात्र स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किएपछि उहाँको राजनीतिक सक्रियता थप बढिरहेको छ ।
अहिले उहाँ आफ्नै क्षेत्र झापा-मोरङतिर सक्रियता देखाइरहनुभएको छ । पत्रकारहरूसँग उहाँले आफू राजनीतिमा सधैं सक्रिय रहिरहेको बताउनुभएको छ । यसबाट उहाँ एमालेमा ओलीको विकल्पका रूपमा आइरहनुभएको छ भन्ने प्रष्ट छ । तर, राजनीति गरेर सबैभन्दा शीर्ष स्थानमा पुगेका व्यक्तिहरूले यसरी फर्की-फर्की पार्टीका ठूला पदहरू आफैं हत्याउने गर्नाले पालो पर्खिएर बसेका अन्य पहिलो तथा दोस्रो बरियताका नेताहरू भने सधैं जिल्लाराम हुनुपर्ने अवस्था आइपर्न सक्छ । यस कारण पश्चिमी प्रजातान्त्रिक मुलुकहरूमा जसरी नै हाम्रोमा पनि निर्दिष्ट पदमा एकजना व्यक्ति कति पटकसम्म बस्न पाउने हो र माथिल्लो पदमा पुगेको व्यक्तिले फर्किएर तल्लो पदमा काम गर्न पाउने हो वा नपाउने हो कानुनी रूपमै त्यस्तो व्यवस्था गर्नसक्ने हो भने यसका लागि परम्परा कायम हुनसक्ने थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच