
किताबको सुराकी, चिया र चेतना
मे १३ का दिन करिब १.३० बजे दिउँसोको खान खाने समय (लन्च ब्रेक) मा कलेजका डिक्सन नामका एक सहकर्मी साथीसँग समसामयिक शैक्षिक, सामाजिक र विश्व परिवेशबारे गफगाफ भइरहेको थियो । ती साथीले अचानक सोधे, ‘तिमीले एलन पेटनको क्राइ द बिलाभ कन्ट्री पढे का छौ ?’ मलाई किताबको नाम सुन्ने बित्तिकै उत्सुकता जाग्यो । अनि, मैले सोधेँ तिमीसँग त्यो किताब छ ? उनले भने, ‘धेरै पहिल्यै पढेको थिएँ, अहिले त छैन ।’ मलाई कुनै किताबले लोभ्यायो भने किनिहाल्छु । त्यसै साँझ म घर पुगेपछि इन्टरनेटमा खोजेँ र ई-बेबाट अर्डर गरेँ । केही दिनमै किताब आयो र पढ्न थालेँ । पढेपछि लाग्यो, यो किताबको सन्देश केवल दक्षिण अफ्रिकाको सन्दर्भमा मात्र होइन, आजको नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ ।
एलन पेटन स्वयं एक शिक्षक रहेछन् र म आफू पनि । यसले झन् किताबप्रति तादात्म्यता बढायो । उनले विज्ञान विषय पढाउँथे र समाजप्रतिको उत्तरदायित्वबाट अभिप्रेरित थिए । रंगभेदको कठोर समयको बीचमा पनि उनले शिक्षाको माध्यमबाट चेतना जगाउने र सामाजिक न्यायको पक्षमा आवाज उठाउने साहस देखाए । उनीमात्र लेखक थिएनन्, समाज परिवर्तनको दूरदर्शी नेतृत्वकर्ता पनि थिए । मलाई लाग्छ, शिक्षक केवल पाठ पढाउनेमात्र होइन, समाज परिवर्तनको मेरुदण्ड हुनुपर्छ । मैले आफूलाई सधैं यही भूमिकामा राख्न खोजेको छु । समाजमा अन्याय, बेथिति र भेदभाव देखेर म अदेख झैं बस्न सक्दिन ।
‘एशियाली मापदण्ड’, ‘आधारभूत आवश्यकता’, ‘गरिबी हटाउने राष्ट्रिय अभियान’, ‘समृद्ध नेपाल-सुखी नेपाली’ यी सबै नारा हुन् । निश्चित रूपमा आकर्षक नारा सरोकारवालालाई आकर्षण गर्न आवश्यक पर्छ तर कोरा नाराले केही गर्दैन । यिनले के वास्तविक नीतिगत परिवर्तन ल्याए ? वा केवल जनताको भावनासँग खेल्ने कूटनीतिक उपकरण बने ?
१९४८ मा प्रकाशित यस पुस्तकले पेटनको छवि यति उचाइमा पुर्यायो कि उनी दक्षिण अफ्रिकाको लिबरल पार्टीको अध्यक्षसमेत भए तर दक्षिण अफ्रिकामा स्वेत शासकबाट लागू गरिएको एउटा विभेदकारी प्रणाली जहाँ श्वेत-अश्वेत समुदायलाई कानुनी रूपमा राष्ट्रिय, सामाजिक, राजनीतिक र आर्थिक जीवनका सबै क्षेत्रमा अलग राखिन्थ्यो । यसको उद्देश्य श्वेत वर्चस्व कायम राख्नु थियो । नेपालमा जातीय विभेद, नश्लीय अलगाव आदि भनी बुझ्न सकिन्छ । यो विभेदको उनले खुलेर विरोध गरे जसको कारण १९६८ मा सरकारले पार्टी प्रतिबन्ध ग¥यो । नेपालमा २०१७ सालमा तत्कालीन राजा महेन्द्र र २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गरे ‘कू’ गरे जस्तै ।
पेटन सरकारी दृष्टिमा दुष्मन जस्तै गरिए पनि दक्षिण अफ्रिकी समुदाय र अन्तर्राष्ट्रिय मञ्चमा ख्याति बढेको थियो जसको परिणामस्वरूप थुप्रै अलंकारबाट पुरष्कृत पनि भए । नेपालमा पनि बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाललगायतमाथि गरिएको व्यवहार पनि लगभग पेटनको जस्तै थियो भन्नु गलत नहोला ।
कथाको सार र सन्देश
एलन पेटनको यो उपन्यास दक्षिण अफ्रिकाको रंगभेदी व्यवस्थाको पृष्ठभूमिमा लेखिएको हो । यसमा एक गाउँले पादरी स्टेफन कुमालोको कथा छ, जो हराएका आफ्ना परिवारका सदस्य खोज्दै जोहानेसबर्ग पुग्छन् । त्यहाँ उनले सामाजिक विघटन, गरिबी, हिंसा र विभाजनको यथार्थसँग जुध्नुपर्छ । उपन्यासले प्रेम, क्षमा र पुनर्निर्माणको गहिरो सन्देश दिन्छ ।
सन्दर्भमा किताबको पुनर्पाठ
आजको विश्वमा, जहाँ युद्ध, शरणार्थी संकट, जातीय विद्वेष र सामाजिक विभाजन गहिरिँदै छन्, पेटनको सन्देश अझ सान्दर्भिक देखिन्छ । सामाजिक विखण्डनको चक्र, शिक्षा, न्यायको पहुँच नहुनु, अवसरको असमानताले धेरै देशमा स्थायित्वलाई खतरामा पारिरहेका छन् ।
नेपाल : सन्दर्भ, संघर्ष र सम्भावना
नेपाल पनि यसभन्दा फरक छैन । शिक्षा, स्वास्थ्य, भूमिसुधार जस्ता क्षेत्रमा राजनीतिक नाराले भन्दा व्यावहारिक परिवर्तनले बढी आवश्यक छ । मधेस, हिमाल, जनजाति, दलित, महिलालगायत थुप्रै समुदायहरू अझै पनि पहुँचविहीन अवस्थामा छन् ।
शिक्षा : ग्रामीण बस्तीमा अझै पनि शिक्षकको अभाव, शिक्षण गुणस्तरको गिरावट र शिक्षा नीतिको अलमलले समस्या झन् जटिल बनाइरहेको छ ।
भूमि नीति : बिचौलियामार्फत सिमान्तीकृत वर्गको जमिन खोसिने, भूमिहीनको पुनर्वास नहुनुजस्ता समस्या उस्तै छन् ।
समावेशीता : कानुनी भाषामा समानता भए पनि व्यवहारमा असमानताको अनुभव अझै तीव्र छ । बेथिति र विसंगतिका चाँङले सगरमाथाको उचाइ नाघिसके आदि इत्यादि ।
मेरो सन्दर्भ : शिक्षाको साधकबाट
म मध्यमवर्गीय अशिक्षित परिवारमा जन्मेको मान्छे हुँ तर समय, संघर्ष र अवसरको सहाराले जुन-जुन बेला जति स्तरसम्मको ज्ञान थियो त्यसकै सहाराले अरूलाई सिकाउँदै आफ्नो पनि शैक्षिक मार्गलाई अरू अगाडि बडाउँदै लगेँ । पाँच दशकअघिदेखि शिक्षाको क्षेत्रमा कार्यरत छु । सत्तरी वर्षको उमेरमा आइपुगेर बल्ल पिएचडी पनि पूरा गरेँ । मेरो मान्यता शिक्षकको भूमिकालाई केबल ज्ञान दिनेसम्म सीमित राख्न मिल्दैन । सिक्नका लागि शिक्षणको भावना राख्दै शिक्षण गरिनुपर्छ र सिक्नका लागि शिक्षणको अभ्यास गर्दै आफू पनि निरन्तर रूपले सिक्नुपर्छ भने जस्तै भयो ।
मेरो शिक्षा र शिक्षण दुवै यात्रा वर र पिपलका चौतारीमुनिबाट सुरु भयो । विसं २०२७ (ईस.१९७१) मा मैले शिक्षण पेशा रोज्नुको कारण थियो, गाउँका पछाडि परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने सपना । त्यही घ्याम्पेसालको वरपिपलको चौतारीमुनि दुल्लभ माध्यमिक विद्यालयमा आरम्भ भएको शिक्षण यात्रा २३ वर्ष ७ महिना र २३ दिनपछि त्यहीँबाट सेवा निवृत्त भएँ तर शिक्षण पेशाबाट होइन । अध्यावधि छैन । म रिटायर्ड हो तर शिक्षण पेशाबाट टायर्ड होइन । अहिले म एक विकसित देशको विश्वविद्यालयमा अध्यापन गरिरहे पनि मेरो भावना र लगाव सधैं नेपालका सिमान्तीकृत समुदायसँग गाँसिएको छ । यही पृष्ठभूमिमा मैले मेरो पिएचडी पनि ‘समावेशी शिक्षाका लागि नेतृत्वः नेपालको सन्दर्भ’ विषयमा गरेँ, जुन शिक्षामा उत्तरदायित्व, आत्मचिन्तन, गुणस्तर र समावेशी अभ्यासको मार्गचित्र हो ।
एउटा विडम्बना : शिक्षकबाट नेता बने, तर...
नेपालको राजनीतिक इतिहासमा शिक्षकमूलका नेताहरूको प्रभावशाली उपस्थिति रहँदै आएको छ-पञ्चायतदेखि बहुदल, गणतन्त्र हुँदै वर्तमानसम्म । शिक्षाको भूमि र अनुभवबाट आएका यिनीहरूप्रति जनताले न्याय, समानता र नैतिकताको अपेक्षा राखे तर विडम्बना-शिक्षक जसले समाज रूपान्तरणको संकल्प गरेका थिए, उनीहरू स्वयं राजनीति र शक्तिको दलदलमा फसे । शिक्षित पृष्ठभूमिको असली चेतना, नैतिकता र निष्ठा गुमाउँदै उनीहरू पनि उही पुरानै अभ्यासको भाग भए । पूर्वप्रधान्यापक तथा शिक्षकहरू प्रधानमन्त्रीदेखि शिक्षामन्त्रीसमेत भएका तर शिक्षामा दूरगामी प्रभाव पर्ने उदाहरण लिन सकिने एउटै भएन भनी मेरा यसअघि प्रकाशित लेखहरूमा पनि उल्लेख गरिसकेको थिएँ ।
अब नेतृत्वको पालो छ, रोएको देशलाई हाँसाउने उत्तरदायित्व तपाईंको काँधमा छ । ‘क्राइ द बिलभड कन्ट्री’ले देखाएको बाटो करुणाबाट करुणा, विभाजनबाट समता र निराशाबाट आशातर्फ जाने बाटो हो । नेपाल पनि त्यस बाटोमा हिँड्न सक्छ : शिक्षा, नेतृत्व र प्रतिबद्ध नीतिको सहाराले ।
शिक्षक-नेताहरूप्रति समाजको गुनासो यही हो, तपाईं त परिवर्तनको संवाहक हुनुपथ्र्यो, तर तपाईं स्वयं परिवर्तित भएर सत्ता, स्वार्थ र सञ्जालमा समाहित हुनुभयो । यही विडम्बनाले आजको राजनीतिक नेतृत्वप्रति जनविश्वास कमजोर बनाएको छ । पुराना दल तथा नेताहरूले केही गरेनन् भनी नयाँ व्यक्ति, समूह र दल पनि यसैबीच जन्मिए तर प्रदूषणले छोएको संसय नयाँ दलहरूमा टिप्पणी हुनु विडम्बनै भन्नुपर्दछ । यस सन्दर्भमा ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरेको चर्चित कृति पेडागोजी अफ द ओप्रेसड स्मरणीय छ । उनले भनेका छन्, ‘दविएका वर्गहरूले शोषकको छायाँ आत्मसात गरेपछि स्वतन्त्रताको डर गर्छन् ।’ नेपालको सन्दर्भमा पनि, नेतृत्व वा शासकीय संरचनाभित्र प्रवेश गरेपछि प्रगतिशील चेतनाको सट्टा त्यही पुरानै प्रभुत्वशाली ढाँचाको पुनरावृत्ति भइरहेछ ।
रूपान्तरणका कथा : जहाँ इमानदार नेतृत्वले भविष्य बदल्यो
१. रवाण्डा : नरसंहारबाट समावेशीताको यात्रासम्म
१९९४ को भीषण जातीय नरसंहारपछि रवाण्डाले पुनर्निर्माणका लागि गहिरो आत्ममूल्यांकन ग¥यो । पाल कगामे नेतृत्वको सरकारको प्राथमिकता थियो, शिक्षा, स्वास्थ्य, डिजिटल पूर्वाधार र सामाजिक मेलमिलाप । आज रवाण्डा अफ्रिकाको एक शान्त, विकासोन्मुख र महिला समावेशीतामा अगाडि रहेको देशको रूपमा चिनिन्छ ।
२. कोस्टारिका : शिक्षा र वातावरणलाई प्राथमिकता दिएर समृद्धि
कोस्टारिकाले सेना हटाएर शिक्षा, स्वास्थ्य र वातावरणमा लगानी गर्यो । सरकारी पारदर्शिता र नागरिक सहभागिताको संस्कारले त्यस देशलाई दिगो पर्यटन, हरियाली र उच्च मानव विकास सूचकांक भएको राष्ट्र बनाएको छ ।
३. केरल (भारतको एक राज्य) : शिक्षाको बलमा सामाजिक रूपान्तरण
केरल भारतकै सबैभन्दा शिक्षित राज्य हो । त्यहाँको साक्षरता अभियान, सार्वजनिक स्वास्थ्य पहुँच, र सामाजिक न्यायका कार्यक्रमहरू स्थानीय नेतृत्व, जनसहभागिता र उत्तरदायित्वको उत्कृष्ट मिसाल हुन् ।
४. नेपालभित्रकै केही प्रेरक अभ्यास
जनकपुरको शिक्षा अभियान : स्थानीय संघसंस्थाले अघि सारेका विद्यालय सुधार कार्यक्रमले मधेसमा बालिका शिक्षामा उल्लेखनीय वृद्धि ल्याएको छ । तिलोत्तमा नगरपालिका : शिक्षामा प्रविधिको प्रयोग, शिक्षक मूल्यांकन प्रणाली र विद्यार्थीको प्रत्यक्ष सहभागिता समावेश गरी उत्तरदायी शिक्षा प्रणाली निर्माण गर्ने प्रयास उल्लेखनीय छ । गुठी व्यवस्थापनको सशक्तीकरण : केही नेवार समुदायले गुठीलाई समुदाय–केन्द्रित सामाजिक सुरक्षाको माध्यम बनाएर आफ्नो इतिहास, संस्कृति र स्रोतलाई सशक्त बनाएका छन् ।
नीतिनिर्मातालाई अपिल
‘एशियाली मापदण्ड’, ‘आधारभूत आवश्यकता’, ‘गरिबी हटाउने राष्ट्रिय अभियान’, ‘समृद्ध नेपाल-सुखी नेपाली’ यी सबै नारा हुन् । निश्चित रूपमा आकर्षक नारा सरोकारवालालाई आकर्षण गर्न आवश्यक पर्छ नै तर कोरा नाराले केही गर्दैन । यिनले के वास्तविक नीतिगत परिवर्तन ल्याए ? वा केवल जनताको भावनासँग खेल्ने कूटनीतिक उपकरण बने ? मार्मिक अनि अहँ प्रश्न यहाँ छ । त्यसका लागि ठोस योजना र पत्यारिलो कार्यक्रम आवश्यक पर्दछ । राजनीतिक दल र सरकारहरूलाई आग्रह गर्न चाहन्छु लोकप्रिय नारा र भावनात्मक आवेगभन्दा बाहिर निस्केर शिक्षा, स्वास्थ्य, भूमि सुधार, सामाजिक न्यायका सवालमा व्यावहारिक, उत्तरदायी नीति निर्माण गर्नुहोस् । सामाजिक विभाजन र असमानताका आँसु चुपचाप बगिरहेछन् यी आँसु पुछ्ने संकल्प अब नेतृत्वले गर्नुपर्छ ।
अब समय आएको छ : परिक्षित विफल नेताहरूले सम्मानजनक अवकाश लिने । नयाँ पुस्ताको नेतृत्व विकास हुने र सबै दलहरले एकअर्कालाई दोष दिने होइन-आफ्नो नीति, रणनीति, कार्यान्वयन योजना प्रस्तुत गर्ने न कि अरूको मान मर्दनमा आफू उच्च देख्ने कुण्ठा पालेर ।
सोधौं अब सबै नेतासँग
‘तपाईंका योजना के छन् ? ती कसरी कार्यान्वयन गर्नुहुन्छ ? मूल्यांकनको संयन्त्र के हो ? परिवर्तनको मापन कसरी गर्ने ? तपाईंलाई विश्वास गर्न सकिने तपाईंका पहिलेका विश्वास गर्न लायक आधार के हुन् ? आदि ।
निष्कर्ष : रोएको देश हाँस्न सक्दछ । ‘प्रिय देश, किन रोइरहेछौ ?’ भन्ने प्रश्न केवल गुनासो होइन-यो हाम्रो सामूहिक आत्मसमीक्षा पनि हो । देशको आँसु पुछ्न हामी सबैको भूमिका हुन्छ तर त्यसमा अग्रसर हुनुपर्ने जिम्मा राजनीतिक नेतृत्व र नीतिनिर्माताको बढी हो । म आज एक विदेशी विश्वविद्यालयमा शिक्षक हुँ तर मेरो आत्मा अझै पनि गोरखाका ताराखासे, घ्याम्पेसालको वरपिपलमुनि, जनकपुरको गाछीछेउ, वा बझाङको स्कुल घरको भ¥याङमा अडिएको छ । म देख्छु-त्यहाँ अझै हजारौं आँखा शिक्षा, न्याय र अवसरको प्रतीक्षामा छन् । अब नेतृत्वको पालो छ-रोएको देशलाई हाँसाउने उत्तरदायित्व तपाईंको काँधमा छ । ‘क्राइ द बिलभड कन्ट्री’ ले देखाएको बाटो करुणाबाट करुणा, विभाजनबाट समता र निराशाबाट आशातर्फ जाने बाटो हो । नेपाल पनि त्यस बाटोमा हिँड्न सक्छ-शिक्षा, नेतृत्व र प्रतिबद्ध नीतिको सहाराले । मेरो यो लेख, त्यो यात्रामा एउटा सानो टेवा होस् भन्ने कामना । (डा.भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्नुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच