
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी निवासी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा अग्रज बामपन्थी नेता कृष्णलाल गोजाको सोमबार बिहान निधन भएको छ । ७३ वर्षीय गोजाको आफ्नै निवासमा अचानक स्वास्थ्य समस्या आएपछि निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मधुमेहको औषधि नियमित सेवन गरिरहेका गोजाको स्वास्थ्यमा विशेष समस्या थिएन। सोमबार बिहान करिब साढे ९ बजे उहाँ घरमै बसिरहेका बेला अचानक अचेत हुनु भएको थियो । तत्कालै उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि उहाँलाई अस्पतालसम्म पुर्याउन नपाउँदै निधन भएको पारिवारिक सदस्यले जनाएका छन् ।
वि.सं. २०१८ सालदेखि सक्रिय राजनीतिमा क्रियाशील रहेका गोजा नेपालका पुराना बामपन्थी नेता मध्ये एक हुनुहुन्थ्यो । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र हुँदै जनमोर्चा नेपाल र पछिल्लो चरणमा नेकपा (माओवादी केन्द्र) सम्म लामो राजनीतिक यात्रा तय गर्नु भएको थियो । जनताको अधिकार, सामाजिक न्याय र समानताको पक्षमा सदैव दृढ रहँदै आउनु भएका गोजा पार्टीभित्र नीतिप्रति स्पष्ट र व्यवहारमा इमान्दार नेताका रूपमा चिनिनुहुन्थ्यो ।
गोजा भूमिसुधार आयोग भक्तपुरका पूर्व जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । साथै, उहाँले मध्यपुर थिमी क्षेत्रमा विभिन्न सामाजिक संघसंस्था, सहकारी, शिक्षा, स्वास्थ्य र विकासका कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाउनु भएको थियो । उहाँको नेतृत्वमा सञ्चालित थुप्रै स्थानीय अभियानले समुदायमा सकारात्मक प्रभाव पारेको स्थानीयले बताउँछन् ।
उहाँको पार्थिव शरीरलाई सोमबार दिउँसो पार्टीको झण्डा ओढाई भक्तपुरको दधिकोटस्थित दक्षिण बाराही घाटमा सम्मानपूर्वक अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएका छन् । अन्त्येष्टिमा माओवादी केन्द्रका नेता, कार्यकर्ता, स्थानिय अगुवाहरू, समाजसेवी र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गोजाले दुई छोरा र दुई छोरीसहितको परिवार छाडेका छन् । जीवनभर सिद्धान्त, संगठन र समाजसेवामा समर्पित रहँदै आएका गोजाको निधनले भक्तपुरको बाम आन्दोलन र जनपक्षीय राजनीतिमा ठूलो शून्यता छोएको समुदायका अग्रजहरू बताउँछन् । उनका योगदानलाई स्मरण गर्दै स्थानियले उनलाई ‘इमान्दार राजनीतिकर्मी र सच्चा समाजसेवी’का रूपमा संझना गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच