
काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एसियन च्याम्पियनसिपका लागि छनोट खेल खेलिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रदर्शनबाट अखिल नेपाल फुटबल संघ एन्फाले सन्तुष्ट रहेको जनाएको छ । आज(मंगलबार) लाओसविरुद्ध राजधानी भियन्तियानस्थित न्यु लाओस फुटबल मैदानमा हुने खेललाई लिएर एन्फाका उपाध्यक्ष दावा लामाले नेपाली टोलीको अभ्यास र प्रदर्शनलाई सकारात्मक रूपमा लिएको बताउनुभएको हो ।
लामाका अनुसार, फिफा वरीयतामा २२ स्थानमाथि रहेको हङकङसँग गोलरहित बराबरी खेल्नुले टोलीको ऊर्जा बढेको छ । उहाँले लाओससँग पनि सकारात्मक नतिजाको अपेक्षा रहेको बताउँदै भन्नुभयो, ‘हामीले घरेलु मैदानमा लाओसलाई पराजित गरिसकेका छौँ, त्यसैले पाहुना टोलीका रूपमा सजग रहनुपर्छ र खेलाडीहरूले नतिजा आफ्नो पक्षमा पार्नेछन् ।’
लाओसमा रहेको अत्यधिक आद्र्रता (हृयुमिडिटी) का बाबजुद खेलाडीहरू उच्च मनोबलका साथ अभ्यासमा जुटिरहेको उहाँले जानकारी दिनुभयो । यद्यपि, उपाध्यक्ष लामाले प्रशिक्षक म्याट रसको रणनीतिमा केही प्रश्न उठाउनुभयो । उहाँले हङकङविरुद्धको खेलमा फरवार्ड पोजिसनका खेलाडीलाई अवसर नदिएको र रक्षात्मक रणनीति अपनाएका कारण जित्ने बलियो सम्भावना हुँदाहुँदै पनि बराबरीमा रोकिनुपरेको उल्लेख गर्नुभयो । प्रशिक्षकले नतिजाको जिम्मा लिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
एन्फामाथि भ्रामक आरोप लाग्ने गरेको गुनासो गर्दै उपाध्यक्ष लामाले पछिल्लो चार वर्षमा नेपाली फुटबलको विकासमा धेरै काम भएको दाबी गर्नुभयो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, होम एण्ड अवे, ए डिभिजन लिग सुचारु, बी डिभिजन लिग समापन, प्रेसिडेन्ट कपलगायतका प्रतियोगिताहरू आयोजना भएको र फिफाले विद्यालयस्तरीय फुटबल विकासका लागि ३२ हजारभन्दा बढी फुटबल सहयोग गरेको उहाँले बताउनुभयो ।
एन्फामाथि विभिन्न दोषारोपण लगाउने क्रमभन्दा पनि कार्यसमिति फुटबलको विकासमा लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पछिल्लो चार वर्षमा नेपाली फुटबलमा केही भएन भन्नेहरूले भ्रमको सिर्जना गरेका छन् । हामीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, होम एण्ड अवे, रोकिएको ए डिभिजन सुचारु, बी डिभिजन सकेको, सात प्रदेशसहितको प्रेसिडेन्ट कपलगायतका प्रतिस्पर्धा गराएको र गराउने गरी अघि बढेका छौं । फुटबल विगतमा भन्दा अहिले बढी भएको मेरो दाबी छ ।’
त्यसैगरी, एएफसीको सोसियल रेस्पोन्सिबिलिटीको सदस्य रहिरहँदा एन्फामा फुटबल फर क्लिनिक अण्डर प्रिभिलेज चिल्ड्रेन कार्यक्रमसमेत ल्याउन सफल भएको उहाँले बताउनुभयो । जसअन्तर्गत मधेस प्रदेशका विभिन्न आठवटा जिल्लाका १६ वटा विद्यालयका दुई हजार सात सय बढी र कर्णाली प्रदेशका विभिन्न विद्यालय गरी समग्रमा ६ हजार पाँच सय बढी विद्यार्थीलाई फुटबलप्रति आकर्षित गर्न एक साता सो अभियानमा जोड्न सफल भएको उपाध्यक्ष लामाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच