
लेखौं के रचना भनेर कविता
लेखिन्न कविता यसै ।
मन म खोतल्छु जगमा नियाल्छु
रसिँदैन थोप्पो रसै ।।
मनभित्र शून्य कालो अँध्यारो
प्रकाश छैन कतै ।
बाहिर छ क्रन्दन चित्कार छ कल्लोल
अन्योल छ जगमा जतै ।।
लेख्न त खोज्छु कोर्न त कोर्छु
अड्किन्छ आधि-उधि ।
कोर्छु त धर्को काट्छु र च्यात्छु
भेटिन्न केही गुदी ।।
गद्य र पद्य छन्द मिलाउँदै
बुन्न त खोज्छु केही ।
शब्द सेलाउँछ भाव बिलाउँछ
लाग्दैन केही सही ।।
कोल्टे म फेर्छु सोच्दै टोलाउँछु
लेखौं के कविता मिठो ।
अड्केको मनको यो बाँध फुटाउने
आउँदैन भेल छिटो ।।
द्वन्द्व छ धेरै यो अन्तरमनमा
के रुक्छ समय गति ?
लेख्दिन भन्दा नि सन्तोष छैन
कस्तो हो यो दुर्गति ।।
लेखौं आधा पुग्दो बयमा म-
के बैंसको हुट-हुटी,
परदेशी यसरी भएर कसरी
लेखूँ म देशको छट-पटी ।
लेख्दिऊँ कि रस-रंग भरी कविता
कविलाई बय के मतलब ?
देशी-परदेशी भन्नु के अब
संसारै आफ्नो सब ।।
आहा ¤ कति राम्रो जग यो लेखूँ त
हिंसा छ चारैतिर,
हाँसोमा लुकेका ती आँशु
अविरल देखिन्छन् के नै पो र ?
युद्धको जगमा बसेको घरमा
शान्तिको भ्रम के छरूँ ?
आँशु नभए मनभित्र खोक्रो-
हाँसोले म के गरुँ ?
लेख्नलाई त लेखूँ म कविता
कविताले बास के देला,
कर्मले दिए जस्तो गरिकन
रोटीको आश के देला ।
पैसा भनी उफ्रिनु सबतिर
यत्ति हो के जिन्दगी ?
उमेरमै मन बहिरो पारे ढल्की
लाग्ने हो कि थकथकी ।।
आँखीझ्यालको प्वालबाट जसरी
हेर्छु जग एक-टक,
देख्छु सबै शिर घोप्टो औँला-
घोट्ता छन् है टिकटक ।
आफू चाहिँ म शन्त हुँ भनुँ त
आँखी-झ्याल छ यो हातमै,
शिर उठाउनु नै पो किन छ र-
संसार छ साथमै ।।
यस्तै नयाँ युगमा लेखूँ कविता
पुराना अतित भइगए,
प्रियालाई प्याराले लेखेका चिठ्ठी
सम्झना मै रहिरहे ।
बितेका सब दिन नसाँची मनमा
को पो अघि सर्दछन्,
साँचेका सब सम्झनाले गहकिला
रचनामा रंग भर्दछन् ।।
सम्झी लेखूँ, कल्पी लेखूँ म-
देखेको कविता लेखूँ,
भावभेलालाई शब्दबाँधले-
छेकेको कविता लेखूँ ।
के केमा पो म लेखूँ कविता
कविता छ चारैतिर,
हाँसो, खुसी, हर्ष देख्छ कविता-
मनका गहिरा पिर ।।
बग्छ कविता नस-नसमा कविका
देखिन्न कविता यस्सै,
उर्लिन्छ सबै बाँध तोडी कविता
लेखिन्न कविता यस्सै ।।
रिचमण्ड भर्जिनिया, युएसए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच