
वर्तमान अवस्थामा देशमा भ्रष्टाचार नभएको क्षेत्र पाउन नै गाह्रो भएको छ । दिनहुँ भ्रष्टाचारका ठूलाठूला प्रकरणका समाचार आइरहेका हुन्छन् । अख्तियारको दुरुपयोग गरेको हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ र यसले आफ्नो काम गरिरहेको पनि छ । दिनहुँ यस्ता मुद्दाहरू अख्तियारले विशेष अदालतमा दर्ता गरिरहेको छ तैपनि भ्रष्टाचारजन्य प्रकरणहरूमा कमी आउन सकेको छैन । अख्तियारले आइतबार नेपाल टेलिकमको बिलिङ सिस्टम अफग्रेडमा भएको भ्रष्टाचारविरुद्धमा मुद्दा दायर गरेको छ । यस्ता शृंखलाहरू निरन्तर दोहोरिइरहेका छन् । केही दिन पहिले नेपाल दूरसञ्चार प्राधिकरणमै टेरामक्स प्रकरणमा पूर्वमन्त्री वा बहालवाला सांसदलाई यस्तै मुद्दा लागेका कारण उहाँ निलम्बनमा पर्नुभएको छ भने एक-दुई दिन पहिले मात्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएको छ ।
यस्ता अनियमितताका शृंखलाहरू सूचीबद्ध गर्ने हो भने तिनको फेहरिस्त निकै लामो बन्नजान्छ । यसको अन्तर्यमा एउटा अभेद्य सेटिङ रहेको हुन्छ र त्यही सेटिङ अनुसार नै यस्ता अनियमितताहरू हुने गरेका छन् । कोही अमूक व्यक्तिले एक्लै वा एक-दुईजनाको मिलेमतोमा मात्र यस्ता प्रकरण हुन सक्दैनन् । यस्ता अनियमिताको आधार तहमा पैसाको लेनदेनबाट पद प्राप्तिको सेटिङ रहने गर्छ । राजनीतिक पार्टीहरूमा उम्मेदवारको टिकट पाउनकै लागि पैसाको लेनेदेन हुनेगर्छ । त्यसरी टिकट पाएका व्यक्तिहरू पराजित भए भने त्यसको अन्तिम बिन्दु त्यही हुनसक्छ तर विजयी भयो भने अब फेरि अरू माथिल्ला पदका लागि त्यसरी नै क्रय-विक्रय सुरु हुन्छ । सांसद भएका व्यक्ति मन्त्री हुन चाहन्छन्, मन्त्री भएका व्यक्ति अझै बरियतामा अगाडि र मालदार मन्त्रालयमा जान चाहन्छन् ।
यसका लागि ठूलै पैसाको चलखेल हुनेगर्छ । राजदूत, अध्यक्ष, महाप्रबन्धक, बोर्ड सदस्य, सांसद, मन्त्री हरेकले पदका लागि यही शैली अपनाउनाले भ्रष्टाचार बढ्दै गएको छ । यदि यस्ता व्यक्ति पदमा पुगिहाले पनि उनीहरूको ध्यान पदमा पुग्नका लागि भएको खर्च उठाउने नै हुन्छ । त्यसपछि आफ्नो जीवनकाललाई पुग्ने सम्पत्ति कमाउनतिर लाग्छन् ।
मान्छेलाई पैसाको भोेक कहिल्यै पूरा हुँदैन, आफूलाई पुगेपछि आफ्नाहरूका लागि कमाउने काम गर्छ । यसले गर्दा भ्रष्टाचारजन्य काण्डहरूको शृंखला दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता प्रकरणको रकमको मात्रा धेरै ठूलो हुने गरेको छ । अलिक पहिलेकालाई छोडिदिने हो भने पछिल्ला दिनहरूमा भिजिट भिसा प्रकरण, पतञ्जलि जग्गा प्रकरण र टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा भएको भ्रष्टाचारहरू सार्वजनिक भएका छन् ।
नेपाली नागरिकहरूले भ्रष्टाचारको कुनै समाचार नसुनेको दिन हुँदैन । आजका मितिमा अख्तियारले कुनै अमूक विषयमा आरोपीविरुद्धमा प्रमाण जुटाएर मुद्दा दर्ता गरेछ भन्नासाथ अब भोलि कुन विषयमा कसकसका विरुद्धमा मुद्दा दायर हुने हो भन्ने लागिसकेको हुन्छ । नेपालीहरूका यस्तै बद्नियतपूर्ण कार्य र व्यवहारले गर्दा नेपाल ग्रे सूचीमा परेको छ तर यसमा सुधार गर्नुपर्छ भन्ने भावनाका साथ सम्बन्धित व्यक्तिहरूले काम गरेको अहिले पनि पाइएको छैन । नेपालको अन्तर्राष्ट्रियस्तरमै बेइज्जत हुने कामहरू हाम्रा अख्तियारधारी व्यक्तिहरूबाट भइरहने र आजभन्दा भोलि त्यसको परिमाण बढ्दै जाने गर्नाले वर्तमान अवस्था निम्तिएको हो ।
नेपाल टेलिकम नितान्त प्राविधिक स्वरूपको निकाय हो । यसमा हुने सारा कामकुरा जनसाधारणलाई थाहा हुने होइन । हुक लाएर बिजुली चोरेर बाल्नाले नेपाल विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुन्छ भने यसरी टेलिकमका टेलिफोन कलहरू चोरी गर्न मिल्दैन । कल बाइपासका घटना कहिलेकाहिँ सुन्ने गरिन्छ तर आमनागरिक यस्ता काममा विद्युत् चोरी गरे जसरी संलग्न हुँदैनन् । टेरामक्स, अप्टिकल फाइबर, बिलिङ सिस्टम अपग्रेड नागरिकले बुझ्ने विषय होइनन् । त्यसकारणले त्यसभित्रका व्यक्तिहरूलाई अनियमितता गर्ने बढी अवसर प्राप्त हुनसक्छ । अनियमिता सबैतिर व्याप्त छ । यसको जालो सबैतिर फैलिएको छ । सञ्जाल विस्तार गर्न माफिया दिनप्रतिदिन आफ्नो सक्रियता बढाउन प्रयासरत छन् ।
शिक्षा, स्वास्थ्य, जलविद्युत्, भूमि, सबैतिर यिनको पहुँच विस्तार भइरहेको छ । ठेक्कापट्टामा यिनले नै हैकम जमाउने गरेका छन् । राजनीतिज्ञहरू जो आओस् जुन दलका व्यक्तिहरूले जितुन् त्यसले त्यस्ता व्यक्तिहरूलाई तात्विक फरक पर्दैन । जो आए पनि नजराना टक्र्य्राएर काम पट्याउने गर्छन् । निश्चित समयका लागि चुनिएर आएका राजनीतिज्ञहरूलाई छोटो समयमा तुरुन्तै कमाउनुपर्ने हुन्छ । त्यसकारण उनीहरू पनि त्यस्ता व्यक्तिको जालोभित्र अल्झिन पुग्छन् । टेलिकमभित्रका अनेक अनियमितताको शृंखला पनि अन्यत्र जसरी नै विस्तार भएको हो । यसको तीव्रतालाई कसैले रोक्न सक्दैन र रोक्न चाहेको पनि छैन । त्यस प्रकारको मनोभावना भएको मानिस कोही देखापरेको पनि छैन ।
अख्तियारले मिहिनेतका साथ अनुसन्धान गरी प्रमाण जुटाएर मुद्दा दायर गर्छ तर त्यस्ता अधिकांश आरोपीहरूले पछि उन्मुक्ति पाउने गरेका छन् । यो भने रहस्यको कुरा छ । त्यस्ता आरोपीले पारेको प्रभाव वा प्रमाण नपुगेकाले नै मुद्दाहरूमा आरोपीले सफाइ पाउने गरेका होलान् भन्नेमा नै आमजनताले विश्वास गर्नुपरेको छ । नेपालमा प्रजातन्त्र आए यता हजारौं व्यक्तिका विरुद्ध अनियमिताको आरोपमा मुद्दा दायर भएका छन् तर दोषी प्रमाणित हुनेहरूमा प्रजातन्त्रको प्रारम्भिक चरणमा शक्तिमा भएका केही मानिसमात्र देखिन आए । उनीहरू कतै न कतैबाट परिबन्धमा पारिएका हुन् कि भन्ने आशंका गर्न सकिन्छ । यो एउटा मननीय विषय हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच