
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले जम्बो पदाधिकारी चयन गरेको छ । तेस्रो राष्ट्रिय सम्मेलनबाट वाइसिएलले सर्वसम्मत रूपमा ७५ पदाधिकारी चयन गरेको हो । पुष्प ओली नेतृत्वको पदाधिकारीमा उपाध्यक्ष मात्रै २२ जना छन् । यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिव १९ र सचिवमा ३१ जना चयन भएका छन् । कोषाध्यक्षमा राजीव गिरी सर्वसम्मत चयन हुनुभएको छ । यसअघि वाइसिएलको पदाधिकारी ३५ सदस्यीय थियो । पार्टीको निर्देशनअनुसार सबैलाई भाग पु¥याउन वाइसिएल पदाधिकारीको संख्या बढाइएको नेताहरू बताउँछन् । सर्वसम्मत नयाँ कमिटी चयन गरिए पनि केहीले भने असन्तुष्टि जनाएका छन् । वाइसिएलको नेतृत्वका लागि दर्जन बढी आकांक्षी थिए । नेतृत्व चयनमा सहमति जुट्न नसक्दा पटक-पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो ।
सम्मेलन अवधिभर ओलीको नामलाई लिएर असन्तुष्टि, खिचातानी र विवाद सार्वजनिक रूपमा देखिएको थियो । कतिपय कार्यकर्ताले उहाँलाई नेतृत्वमा स्वीकार्न मानेका थिएनन् । तर, पार्टी नेतृत्वको दबाबमा अन्ततः उहाँलाई अध्यक्ष बनाइएको ती पदाधिकारीको भनाइ छ । माओवादी शान्ति प्रक्रियामा आएपछि वाइसिएलले राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको थियो । संगठनले पार्टीका प्रमुख अभियानहरूमा अग्रणी भूमिका खेल्दै आएको थियो । तर, पछिल्ला वर्षहरूमा संगठन वैचारिक र सांगठनिक रूपमा कमजोर हुँदै गएको स्वयं वाइसिएलकै नेताहरू बताउँछन् । वाइसिएलले जम्बो पदाधिकारी बनाएपछि अर्को ठूलो कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले चिन्ता व्यक्त गर्नुभएको छ । ७५ जना पदाधिकारी बनाएर सामाजिक अराजकता फैलिएको प्रति ध्यान दिन नसक्नु दुःखद भएको उहाँको टिप्पणी छ ।
उसो त यसअघि सबैभन्दा ठूलो केन्द्रीय कमिटी पनि माओवादीले नै बनाएको थियो । माओवादीले सशस्त्र संघर्ष सुरु गर्दा २०५२ सालमा केन्द्रीय कमिटी १९ सदस्यीय थियो । तर, शान्ति प्रक्रियामा आएपछि अनेक भंगाला जोड्दै र फेरि टुटफुट हुँदै अघि बढेको माओवादीले बेलाबेलामा निकै ठूलो केन्द्रीय कमिटी बनाउँदै आएको छ । २०७८ पुसमा सम्पन्न नवौँ महाधिवेशनमा माओवादीले ३८५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । तर, महिलाको संख्या ३५ प्रतिशत नपुगेको भन्दै २०८० साउनमा २२ जना थप्दा ४०७ जना केन्द्रीय सदस्य पुगेका छन् ।
यसअघि माओवादीले चार हजार सदस्यीय केन्द्रीय कमिटीसमेत बनाएको थियो । तत्कालीन अवस्थामा नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी चार हजार सदस्यीय थियो । २०७३ सालमा सबै आकांक्षीलाई समेट्न खोज्दा केन्द्रीय सदस्यको संख्या चार हजार पुगेको थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट दुई सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । यसअघि तत्कालीन नेकपा विभाजन हुनुभन्दा पहिले अध्यक्ष केपी शर्मा ओलीले पनि एकपक्षीय रूपमा केन्द्रीय कमिटीको संख्या १५ सय पुर्याउनुभएको थियो ।
काठमाडौं जिल्ला समितिद्वारा शपथ बहिष्कार
नयाँ कार्यसमितिप्रति काठमाडौं जिल्ला समितिले असन्तुष्टि जनाएको छ । वाइसिएल काठमाडौं जिल्ला समितिले शपथग्रहण कार्यक्रम नै बहिष्कार गरेको थियो । जिल्ला समिति बैठकबाट केन्द्रीय सदस्य सिफारिश गरिए पनि महाधिवेशनमा आफूखुसी सदस्यहरू हेरफेर र थपघट गरेको भन्दै शपथ बहिष्कार गरिएको हो । जिल्ला अध्यक्ष रूपेश दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, जिल्ला समिति काठमाडौंले सिफारिश गरेका केन्द्रीय सदस्यहरूलाई हेरफेर र थपघट गरिएको प्रति असहमति जनाउँदै शपथग्रहण कार्यक्रम बहिष्कार गर्दछौँ ।’ आइतबार उनीहरूको शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिन निर्देशन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाइसिएललाई निर्देशन दिनुभएको छ । सोमबार बिहान खुमलटारमा वाइसिएलका नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रूपमा उत्रन निर्देशन दिनुभएको हो । वाइसिएलले सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । जनयुद्ध, माओवादी, युवा, वाइसिएल र जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘अब तपाईंहरूको टिम जनरल स्टाफजस्तै हो । तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु ।’
बढी पदाधिकारी भए पनि यसले संगठनलाई गतिशील बनाउँछ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई मिलाएर जाँदा सोचेभन्दा पदाधिकारीको संख्या धेरै हुन गएको स्वीकार गर्नुभएको छ । ७५ सदस्यीय पदाधिकारी टिमलाई आवश्यक क्षमताको केन्द्रीकरण भएको उहाँले तर्क गर्नुभएको छ । ‘पदाधिकारी पहिलाको भन्दा बढी बनाइयो, तर प्रकारान्तरले क्षमताहरूको केन्द्रीकरण भयो । यसले संगठनलाई गतिशील, चुस्त र दुरुस्त बनाउन मद्दत गर्छ,’ उहाँले भन्नुभयो, ‘हुन त विधान एउटा पारित गर्ने, भोलिपल्ट संशोधन गर्ने के गरेको होला ? भनेर मलाई पनि सुनाएका थिए । तर, तपाईंहरूले सहमतिमै सबै काम गर्नुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच