
काठमाडौं । सर्वोच्च अदालतले आफ्नै प्रशासनले कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक वहन गर्न नसकेको ठहर गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले निवेदन दर्तामा संलग्न अधिकारीहरूले कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक वहन गर्न नसकेको भनी न्यायिक टिप्पणी जारी गरेको हो । एक रिट निवेदनसम्बन्धी विवादमा यस्तो ठहर गर्दै सर्वोच्चले ‘प्रशासनले कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक वहन गर्न नसकेको’ ठहर गरेको हो ।
इजलासले सरोकार नै नरहेका व्यक्तिले ल्याएको रिट जाँचबुझ नै नगरी दर्ता गरेको र उक्त रिट प्रथम दृष्टिमै दर्तायोग्य नरहेको टिप्पणीमा उल्लेख गरेको छ । ‘उक्त निवेदनमा उठाइएको विषयवस्तुसँग सरोकार नरहेका यी रिट निवेदकले दायर गर्न ल्याएको प्रस्तुत रिट निवेदन प्रथम दृष्टिमै हकदैयाविहीन र फैसलाको अन्तिमताको सिद्धान्त (डक्ट्रिन अफ फाइनालिटी अफ जजमेन्ट) समेतको विपरीत देखिएकोमा निवेदन दर्ता गर्ने अधिकारीले सो कुराको जाँचबुझ नै नगरी रिट निवेदन दर्ता गरेको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ द्वारा निर्धारित काम, कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक वहन गर्न गराउन, सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराउनू भनी प्रस्तुत आदेशको प्रति यस अदालतका मुख्य रजिस्ट्रारलाई पठाउनू ।’
सर्वोच्च अदालतमा प्रशासनको मुख्य नेतृत्व गर्ने मुख्य रजिस्ट्रारको काम कारबाहीमाथि इजलासले प्रश्न उठाएको छ । हाल उक्त पदमा देवेन्द्रराज ढकाल हुनुहुन्छ । विशिष्ट श्रेणीकै विमल पौडेल र भद्रकाली पोखरेल रजिस्ट्रार पदमा कार्यरत हुनुहुन्छ । मुख्य रजिस्ट्रार ढकालले कुनै पनि रिट निवेदन दर्ता गर्ने या नगर्ने सम्बन्धमा अन्तिम निर्णय गर्न भने उहाँले रजिस्ट्रार भद्रकाली पोखरेललाई प्रत्यायोजन गर्नुभएको छ । सर्वोच्चको इजलासबाटै आफ्ना उच्च प्रशासनिक अधिकारीमाथि न्यायिक टिप्पणी गरिएपछि कर्मचारीबीच तरंग पैदा गरेको छ ।
के थियो विवाद ?
महोत्तरीको जलेश्वर नगरपालिकाका अर्जुन सिंह भन्ने मुकेशकुमार चौधरीका विरुद्धमा धनुषा, बाँके र महोत्तरी जिल्ला अदालतहरूमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, हातहतियार खरखजाना, जबरजस्ती चोरी, अपहरण तथा शरीर बन्धक र विष्फोटक पदार्थ लगायतका ११ वटा फौजदारी मुद्दामा अभियोगपत्र दायर भएका थिए । ती विभिन्न कसुरमा विभिन्न मात्राका सजाय हुने ठहर भए ।
तीमध्ये सबैभन्दा ठूलो सजाय जन्मकैद थियो र उनी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा कैद भुक्तान गरिरहेका छन् ।
उनले ४० प्रतिशत कैद भुक्तान गरिसकेकोले बाँकी कैद मिनाह गरिदिन परमादेशको माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दिए । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त यदि असल चालचलन र अन्य मापदण्डभित्र परी कैद छोट्याउन मिल्ने भए उक्त सुविधा दिन भन्दै २०७९ पुस २० मा परमादेश जारी गरिदियो । तर, सरकारले उनका पक्षमा निर्णय गरेन ।
तिनै अर्जुन सिंह भन्ने मुकेशकुमार चौधरीले आफ्ना हकमा सर्वोच्चको परमादेश कार्यान्वयन नभएकाले अदालतको अवहेलनामा कारबाही गरिपाऊँ भनी अर्को निवेदन दिए । तर, उनको त्यो निवेदन भने सर्वोच्चले दाबी नपुग्ने भन्दै खारेज गरिदियो । र, उक्त फैसला चित्त नबुझेर दिएको निवेदनमा पनि सर्वोच्चले पुनरवलोकनको अनुमति दिएन ।
गत वैशाख १० गते ती सबै निवेदन र आदेशहरू ल्याएर पुनरवलोकनको अनुमति हुन नसक्नुका आधार कारण खुलाई व्याख्या गरिदिनू भनी अर्का निवेदक दिनेश चौधरी सर्वोच्च पुगे । महोत्तरीकै जलेश्वर नगरपालिका, खैरामा बस्ने अधिवक्ता चौधरीको त्यो निवेदन प्रशासनले दर्ता गरेको थियो । सर्वोच्चले यसमा प्रशासनको दुईवटा त्रुटि देखायो ।
पहिलो कुरा, अर्जुन सिंह भन्ने मुकेशकुमार चौधरीसँग दिनेश चौधरीको कुनै सार्थक सम्बन्ध छैन । बेसरोकारका व्यक्तिले ल्याएको निवेदन यथास्थितिमा कसरी र किन दर्ता भयो ? प्रशासनले यसमा के हे¥यो ? भनी सर्वोच्चले प्रश्न गरेको छ । दोस्रो प्रश्न, सर्वोच्च अदालतकै विभिन्न इजलासले निर्णय दिएर अन्तिम भइसकेको विवाद सर्वोच्चमा पुनः किन प्रवेश गराइयो ? भनी प्रश्न गरेको छ । यिनै दुई आधार प्रस्तुत गरी इजलासले सर्वोच्चका प्रशासनिक अधिकारीहरूको कार्यक्षमता र नियतमा प्रश्न उठाइदिएको छ । आदेश गर्ने न्यायाधीश डा. सुवेदी आफैँ यसअघि सर्वोच्चको रजिस्ट्रार, मुख्य रजिस्ट्रार हुँदै न्यायाधीश हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच