
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ ।
जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा शुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेर्स्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ । राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ ।
चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा-आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण-तीनवटा रथको दौड र जुधाइ- आयोजना गरिन्छ ।
भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ । स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम-क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ । मान्यताअनुसार भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन् ।
महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन् । अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतिक हो । जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर-घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ ।
जात्रा सकिएको भोलिपल्टैदेखि रोपाईं शुरु गरिन्छ । पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलवार र बुधवार सार्वजनिक बिदा समेत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच