
नयाँदिल्ली । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले भारतीय टोलीका पूर्वकप्तान एमएस धोनीलाई हल अफ फेममा समावेश गरेको छ । उहाँले अन्तर्राष्ट्रिय र भारतीय क्रिकेटमा गरेको अतुलनीय योगदानका लागि यो सम्मान प्रदान गरिएको हो । विश्व टेस्ट च्याम्पियनसिप फाइनल २०२५ को दुई दिनअघि लण्डनमा एक समारोह आयोजना गरिएको थियो, जसमा एमएस धोनीसहित सात दिग्गज क्रिकेटरहरूलाई हल अफ फेमबाट सम्मानित गरिएको हो ।
एमएस धोनीबाहेक म्याथ्यु हेडेन, ग्रिम स्मिथ, डेनियल भेटोरी र हाशिम अमलालाई पनि हल अफ फेमबाट सम्मानित गरिएको छ । धोनी यस सूचीमा समावेश हुने ११औँ भारतीय क्रिकेटर बन्नुभएको छ । धोनीले आफ्नो अन्तर्राष्ट्रिय सन्न्यासको लगभग पाँच वर्षपछि यो सम्मान प्राप्त गर्नुभएको हो । धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएको थियो । एमएस धोनीको अन्तिम खेल २०१९ को विश्वकपको सेमिफाइनलमा भएको थियो ।
एमएस धोनीलाई ‘क्याप्टेन कुल’ भनेर चिनिन्थ्यो, जो सबैभन्दा सफल भारतीय कप्तानहरूमध्ये एक पनि हुनुहुन्थ्यो । उहाँको कप्तानीमा भारतले तीनवटा आइसिसी ट्रफी जितेको थियो । धोनीको नेतृत्वमा टिम इण्डियाले २००७ को टी-२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो ।
एमएस धोनीले २००४ मा बंगलादेशविरुद्धको एकदिवसीय खेलबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको थियो । तीन वर्षपछि २००७ मा उहाँले टिम इण्डियाको कप्तानी पाउनुभएको थियो । धोनीलाई २००८ र २००९ मा आइसिसी प्लेयर अफ द इयर अवार्ड पनि प्रदान गरिएको थियो । अहिलेसम्म आइसिसी हल अफ फेममा समावेश गरिएका भारतीयहरू धोनीसहित नितु डेभिड, डायना एडुलजी, सचिन तेन्दुलकर, विनु मंकड, राहुल द्रविड, अनिल कुम्बले, कपिल देव, विशन सिंह बेदी र सुनिल गावस्कर हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच