
घटना नं. १
सामाजिक सञ्जाल टिकटकमा अश्लील सामग्री पोष्ट गरी विद्युतीय अपराध (साइबर क्राइम) गरेको अभियोगमा सुनसरी, हरिनगरा गाउँपालिकाका जुबेर आलम मिया नाम गरेका युवकलाई प्रहरीले पक्राउ गर्यो । एक महिलाको अश्लील तस्वीर तथा भिडियो टिकटकमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाइयो ।
घटना नं. २
सिरहा धनगढी नगरपालिका घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने राम बिहारी साफीलाई प्रहरीले पक्राउ गर्यो । सामाजिक सञ्जालमा आफनी प्रेमिकाको अश्लील तस्वीर र भिडियो पोष्ट गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
घटना नं.३
काठमाडौं महानगरपालिका-१७, हाँडीगाउँ बस्ने अभिनाश प्रधानलाई एक युवतीको अनुहारमा नग्न महिलाको तस्वीर जोडी अपशब्द लेखी गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । माथि उल्लेख गरिएका घटना साइबर अपराधका केही उदाहरण हुन् । नेपाललगायत विश्वमा वर्तमान समयमा सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र विस्तारसँगै ज्ञान र अज्ञानतामा धेरै व्यक्ति यसता साइबर अपराधमा फस्ने गरेको पाइएको छ । सूचना प्रविधिको विकास सँगसँगै विश्वमा धेरै क्षेत्रमा आमूल परिवर्तन आएको छ भने यही सूचना र प्रविधिको तीव्र विकासले गर्दा शिक्षा, सञ्चार, आर्थिक, सांस्कृतिक, प्रशासनिक, स्वास्थ्यलगायतको क्षेत्रको विकासमा आमूल र परिवर्तन आएको भए तापनि यही सूचना, सञ्चार र प्रविधिको विकासले नै गर्दा यसको प्रयोग गर्ने तौरतरिकामा पनि नकारात्मक दृश्य देखापरेको छ । प्रविधिको नकारात्मक प्रयोगले गर्दा मानिस विभिन्न प्रकृतिका फौजदारी र संगठित अपराधमा संलग्न भएका देखिन्छन् ।
विश्वमा बढ्दै गइरहेको साइबर अपराधको लहरले नेपाललाई पनि नराम्रोसँग असर पारिरहेको छ । नेपालमा पनि हिजोआज साइबर अपराधसँग सम्बन्धित विभिन्न किसिमका अपराधका घट्ना बढ्दै गइरहेका छन् । नेपालमा शिक्षितभन्दा अशिक्षित मानिसहरू धेरै भएका कारण दिनानुदिन यस्ता घटना बढ्दै गइरहेको छ, जुन चिन्ताको विषय हो ।
सामान्यतयाः कुनै पनि व्यक्तिको चाहना र अनुमतिविना विद्युतीय माध्यम तथा सामाजिक सञ्जालमार्फत व्यक्तिगत सामग्री प्रकाशन तथा प्रचारप्रसार गर्ने कार्यलाई नै साइबर अपराध हो । सामाजिक सञ्जालमा अर्काको चरित्र हत्या हुने सामग्री राख्ने, फोटोको दुरुपयोग गर्ने, गाली बेइज्जती गर्ने, पासवर्ड चोरी गर्ने, हृयाकिंग गर्ने साइबर अपराधका उदाहरण हुन् ।
त्यस्तै इन्टरनेटको माध्यमबाट हिंसा-आतंक फैलाउने, यौनजन्य क्रियाकलाप गर्ने, अश्लील फोटो र तस्वीर शेयर गर्ने, नक्कली फेसबुक आइडी बनाई अरूलाई दुःख दिने, पैसा माग्ने, बैंकिङ, अनलाइनबाट हृयाकिंग गर्ने, एटिएमबाट पैसा चोरी आदि सबै साइबर अपराध आकर्षित गर्ने माध्यम हुन् । यसलाई विश्वव्यापी रूपमै फैलिएको एउटा संगठनिक अपराधका रूपमा लिने गरिन्छ । सूचना प्रविधिको उपयोगितासंगै अनधिकृत रूपमा पहुँच पुर्याई व्यक्तिगत र सार्वजनिक सुरक्षामा खलल गर्ने कार्य साइबर अपराध हो ।
अहिलेको समय भनेको सूचनाको युग हो । वर्तमान समय सूचना तथा सञ्चार प्रविधि युक्त समयको रूपमा तीव्र रूपमा विकास हुँदै गइरहेको अवस्थामा विश्व नै एउटा सानो गाउँ जस्तै भइसकेको छ । सूचना प्रविधिको विकासले नै सामाजिक सम्बन्ध, अन्तर्क्रिया तथा सार्वजनिक सेवामा द्रुतगतिमा परिवर्तन आएको छ । साइबर अपराधको घटनाले विश्वका प्रायः सबै देशलाई असर पारेको छ भने यसले गर्दा व्यक्तिगत र सामाजिक विकासमा पनि ठूलो असर पार्न थालेको छ । यसले गर्दा समाजमा नकारात्मक परिवर्तन पनि देखा पर्न थालेको छ । साइबर अपराध एउटा सामाजिक अपराध हो ।
विश्वमा बढ्दै गइरहेको साइबर अपराधको लहरले नेपाललाई पनि नराम्रोसँग असर पारिरहेको छ । नेपालमा पनि हिजोआज साइबर अपराधसँग सम्बन्धित विभिन्न किसिमका अपराधका घट्ना बढ्दै गइरहेको छ । नेपालमा शिक्षितभन्दा अशिक्षित मानिस धेरै भएका कारण दिनानुदिन यस्ता घटना बढ्दै गइरहेका छन् जुन चिन्ताको विषय हो । नेपालमा खासगरी बालबालिका, महिला, विद्यार्थी तथा डिजिटल साक्षरता कम भएका मानिस यस्ता घटनामा फसिरहेका छन् । आधुनिक प्रविधिको ज्ञानको कमी, सूचना प्रविधिको प्रयोगमा वृद्धि हुँदै गएकाले नेपालमा समेत साइबर अपराधका घटना निकै मात्रामा देखापरिरहेका छन् भने यसरी यस किसिमका अपराधमा भएको वृद्धि चिन्ताको विषय हो । र, यसले नेपाली समाजमा अनेकौ चुनौती थपिएका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा साइबर अपराध तथा अनलाइन ठगीका घटना फेसबुक, मेसेन्जर र हृवाट्सएपलगायत सामाजिक सञ्जालका मध्यमबाट यस्ता घटना हुनेगरेका छन् । आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ वैशाख मसान्तसम्म नेपाल प्रहरीको साइबर ब्यूरोमा साइबर अपराधका धेरै उजुरी दर्ता भएको देखिन्छ र यो संख्या अझै बढिरहेको छ । त्यस्तै साइबर ब्यूरोकै एक तथ्यांक अनुसार पछिल्लो तीन वर्षयता साइबर अपराधमा पुरुषहरू पनि धेरै मात्रमा पीडित भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराध तथा अनलाइन ठगीका घटनाबाट पीडित भएका पुरुषको संख्या १८९८, २०७९/८० मा ३७३५ र २०८०/८१ मा संख्या बढेर ७७१७ पुगेको देखिन्छ । यो हिसावले आर्थिक वर्षको अवधिका पीडित ४९.२ प्रतिशत र ५१.६० प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । यो वृद्धिदर चिन्ताको विषय बनेको छ ।
साइबर सुरक्षासम्बन्धी प्रविधि र प्राविधिकको कमी, सूचना प्रविधि, ज्ञानको कमी, साइबर सूरक्षासम्बन्धी जनचेतनाको अभाव, आवश्यक कानुनको व्यवस्थापन नहुनु, सूचना प्रविधिको क्षेत्रमा यथोचित लगानी नगर्नु जस्ता विविध कारणले गर्दा साइबर अपराधका घटना दिनानुदिन मौलिँदै गएको अवस्थामा छ ।
नेपालमा साइबर अपराधसम्बन्धी घटनाको नियन्त्रण तथा रोकथामको लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यो ऐनले कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममार्फत कसैले कसैकोविरुद्ध घृणा, द्वेष, अश्लील सामग्री प्रचारप्रसार गर्ने वा प्रदर्शन गरे कैद, जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । साइबर अपराधका कार्यमा संलग्न हुनेलाई अपराध गरेको प्रकृति हेरी दुई महिनादेखि तीन वर्षसम्मको कैद सजाय, पचास हजारदेखि तीन लाखसम्मको जरिवानाको व्यवस्था गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिको विकास सँगसँगै यसको प्रयोगमा वृद्धि भइरहेको छ । यसको प्रयोगमा आएको वृद्धिसँगै यससँग सम्बन्धित अपराधका घटनामा ज्यादै वृद्धि भइरहेको छ । साइबर अपराधका घटनाको उल्लेख्य वृद्धिसँगै अपराध नियन्त्रण र नियमन गर्न ठूलो चुनौती थपिएको छ । साइबर अपराध बढ्दो अवस्थामा छ भने साइबर सूचना प्रणालीमा आक्रमणको जोखिम उत्तिकै छ । यस्ता गतिविधिले कसैको गोपनीयता, विभिन्न तथ्यांकको सुरक्षा गर्ने कार्य जटिल अवस्थामा रहेको छ । विशेषगरी साइबर सुरक्षासम्बन्धी प्रविधि र प्राविधिकको कमी, सूचना प्रविधिको ज्ञानको कमी, साइबर सुरक्षासम्बन्धी जनचेतनाको अभाव, आवश्यक कानुनको व्यवस्थापन नहुनु, सूचना प्रविधिको क्षेत्रमा यथोचित लगानी नगर्नु जस्ता विविध कारणले गर्दा साइबर अपराधका घटना दिनानुदिन मौलिँदै गएको अवस्था छ ।
साइबर अपराध यसबाट व्यक्ति, समाज र देशलाई असरबारे सचेत हुन जरुरी छ । साइबर अपराध नियन्त्रण र रोकथाम तथा यसबाट हुने असरहरूको न्यूनीकरण गर्न आवश्यक प्राविधिक शिक्षामा जोड दिने तथा साइबर अपराधसम्बन्धी विद्यमान कानुनलाई समयसापेक्ष संशोधन गरी यस्ता अपराधमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाहीका लागि कानुनको व्यवस्था गर्ने, प्रविधिमैत्री संरचनाको विकासका साथै विद्यालयको पाठ्यपुस्तकमै साइबर अपराधको विषयमा पाठ्यसामग्री राख्ने, सरकारले सूचना प्रविधिको क्षेत्रमा उचित कार्यक्रम ल्याउने तथा राज्यको लगानी बढाउनुपर्छ । त्यस्तै दक्ष प्राविधिक जनशक्तिको उत्पादन, साइबर अपराधका जोखिम नियन्त्रण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र सहकार्य गर्ने, आमनागरिकलाई सूचना प्रविधिका सामग्रीको प्रयोगका सम्बन्धमा साक्षरता अभियान सञ्चालन गर्ने तथा सूचना प्रविधिसम्बन्धी जनशक्ति उत्पादन तथा क्षमतामा वृद्धि गर्नसके केही हदसम्म भए पनि साइबर अपराध र यसबाट हुने नकारात्मक क्रियाकलापलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि सरकार, व्यक्ति र समाज सबै वर्गले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान पुयाउनु जरुरी भइसकेको छ । (लेखक महर्जन सामाजिक अध्ययन विषयका शिक्षक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच