
काठमाडौं । पछिल्लो समय अर्थतन्त्रका समग्र सूचकहरूमा उत्साहजक सुधार देखिएको छ । निर्यात व्यापार, शोधनान्तर स्थितिका साथै रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार देखिएको हो । त्यति मात्रै नभई गतवर्षको तुलनामा वैदेशिक लगानीसमेत बढेको छ भने पनि हृवात्तै महँगी घटेको देखिएको छ । नेपाल राष्ट बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना अर्थात् वैशाखसम्मको तथ्यांकअनुसार विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाखमा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड मात्रै थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर नौ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ७३ हजार ३०७ र दुई लाख ३६ हजार ३९८ थियो ।
चार खर्बभन्दा बढी शोधनान्तर बचतमा
समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा तीन अर्ब २३ करोडले बचतमा रहेको छ । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाखमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाखमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाखमा १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति २०८१ असारमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाखमा ५६.८ प्रतिशतले वृद्धि भई तीन खर्ब एक अर्ब ८३ करोड कायम भएको छ । २०८२ वैशाखको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
१४ महिना बढीको आयात धान्ने विदेशी मुद्रा
२०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाखमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाखमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । त्यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब पाँच करोड थियो ।
महँगी २.७७ प्रतिशतमा झर्यो
२०८२ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लेखित समूहहरूको मुद्रास्फीति क्रमशः ६.४१ र ३.०९ प्रतिशत रहेको थियो ।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेस प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराई २.६४, पहाड २.६५ र हिमालको ४.०१ प्रतिशत रहेको छ ।
दुई खर्ब १७ अर्बको निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई दुई खर्ब १७ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.६ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७, ५.१ र ४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलंँची लगायतको निर्यात घटेको छ । त्यसो त आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९, १५.१ र २८.३ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतकोे आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइला लगायतको आयात घटेको छ । १० महिनामा कुल वस्तु व्यापारघाटा ६.७ प्रतिशतले वृद्धि भई १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले घटेको थियो ।
बैंकहरूमा चार खर्बले बढ्यो निक्षेप
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप झण्डै चार खर्ब अर्थात् तीन खर्ब ९९ अर्ब ८१ करोड (६.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार खर्ब ४३ अर्ब आठ करोड (७.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ । त्यसैगरी, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६८ अर्ब ६८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाखमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच