
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमालेभित्र हलचल पैदा भएको छ । पूर्वराष्ट्रपति भण्डारी हालै चीन भ्रमणबाट फर्केर आएपछि एमालेमा हलचल उत्पन्न भएको हो । राष्ट्रपति हुनुअघि भण्डारी एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । भण्डारी जेठ पहिलो साता एमाले नेताकै हैसियतमा चीन भ्रमणमा जानुभएको थियो । एमालेभित्रको एउटा ठूलो पंक्ति भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छ । तर, पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने कोसिसले सबैभन्दा बढी भयभित अध्यक्ष केपी शर्मा ओली देखिनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतासँगै एमालेमा गुटबन्दीसमेत तीव्र बन्दै गएको छ । चीन भ्रमणबाट फर्किएलगत्तै भण्डारीले पूर्वी नेपालका झापा, मोरङ लगायतका जिल्ला भ्रमण गर्नुभएको छ । चीन भ्रमणलगत्तै पूर्वी नेपालको भ्रमणमा रहेकै बेला यता काठमाडौंमा अध्यक्ष ओलीले तीव्र असन्तुष्टि पोख्नुभएको छ ।
भण्डारीले जिल्लामा एमालेका नेता-कार्यकर्तासँग गरिरहेको भेटघाटप्रति अध्यक्ष ओली रुष्ट बन्नुभएको छ । आफ्नो सक्रियताविरुद्ध अध्यक्ष ओलीले सार्वजनिक अभिव्यक्ति दिए पनि पूर्वराष्ट्रपति भण्डारी त्यस विषयमा मौन बस्दै आउनुभएको थियो । तर, चीन भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले दिएको आश्वासनले हौसिनुभएकी पूर्वराष्ट्रपति भण्डारी आफूलक्षित एमाले अध्यक्ष ओलीका अभिव्यक्तिको प्रतिवाद गर्न थाल्नुभएको छ ।
म गुट बनाउने मान्छे होइन : भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार विराटनगर विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि आफू पार्टीमा सक्रिय रहेको उल्लेख गर्दै भन्नुभयो, ‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र ? मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ । चिनजान पनि ठूलै छ । पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो । राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि म पार्टीमा सक्रिय थिएँ । अहिले समाजसँग साक्षात्कार गर्नु, जनताको विचार, आकांक्षा बुझ्नु मेरो कर्तव्य हो । नयाँ पुस्ताका लागि देशका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्छ ।’ एमालेभित्र आफूले गुटगत राजनीति थालेको आरोपको प्रतिवाद गर्दै भण्डारीले भन्नुभयो, ‘म कहिल्यै गुट बनाउने मान्छे होइन । अध्यक्ष ओलीजीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन । उहाँले त्यस्तो भन्नुभएको पनि होइन होला । तपाईँहरूले त्यसो अर्थ लगाउनुभयो कि ? अरू आकांक्षीको मनमा प्रश्न उठेको होला । मैले त त्यस्तो आकांक्षा राखेको छैन । जहाँ जसरी हुन्छ काम गर्ने हो । उहाँले भनेको चाहिँ महाधिवेशन आउँछ । नेतृत्व निर्माण हुन्छ । मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ ।’
‘वाम एकता तत्काल सम्भव छैन’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताउनुभएको छ । नेपालका कम्युनिष्ट पार्टीहरूबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उहाँको दाबी छ । चीन भ्रमण गरेर आइसकेपछि नेपालमा वाम एकताको अलि बढी चर्चा भइरहेको भन्ने प्रश्नको जवाफमा भण्डारीले भन्नुभयो, ‘नेपालमा पहिलेदेखि वाम एकताको चर्चा परिचर्चा छ । यो समयको आवश्यकताले हुने कुरा हो । वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन । त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन । किनकि विश्वासको ठूलो संकट छ पार्टी–पार्टीहरूको बीचमा । राष्ट्रिय एजेण्डामा राम्रो छलफल गरेर एकताका साथ अगाडि बढे राष्ट्रलाई राम्रो हुन्छ ।’ दुईपटक मुलुकको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने स्पष्ट रूपमा बताइसक्नु भएको छ । पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बन्नुभएकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा हुनुभएको थियो । त्यसको केही समयपछि पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको छ ।
के थियो अध्यक्ष ओलीको चेतावनी ?
आइतबार काठमाडौंमा पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न निर्देशन दिनुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने ? भन्ने सरसल्लाह नै नभएको उहाँको जिकिर थियो । बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्ने काम भइरहेको आरोप लगाउनुभएका अध्यक्ष ओलीले यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिँदै भन्नुभएको थियो, ‘अहिले हल्ला चलेको छ । तल–तल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन् । यस्ता कुरालाई तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस् । फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस् । अर्को खेल हुन खोजेको छ यहाँ अब फलाना आउने अरे, यस्तो–यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन ।’
ओलीलाई ईश्वर पोखरेलको काउण्टर ?
नेकपा एमालेभित्र अहिले ७० वर्षको उमेर हदको सीमाबारे व्यापक बहस सुरु भएको छ । गत महाधिवेशनमा एमालेले पार्टीमा ७० वर्षको उमेरहद लगाएको थियो । यद्यपि, एमालेको विधानमा अहिले उमेरहदको प्रावधान निष्क्रिय छ । उमेरहदको बहस भइरहँदा अध्यक्ष केपी शर्मा ओलीले भने ७० वर्षको सीमा फेल खाइसकेको टिप्पणी गर्नुभएको छ । यसपछि एमालेभित्र यो विषय तीव्र बहसमा छ । पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध भइसकेको जिकिर गरेपछि त्यसविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उभिनुभएको छ । पोखरेलले आफू ७० वर्षे उमेरको सीमाको पक्षमा मात्र नभई लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्नु हुँदैन भन्ने पक्षमा अडिग रहेको उल्लेख गर्दै भन्नुभयो, ‘हाम्रो पार्टीको विगतको महाधिवेशनले नेतृत्वको बारेमा दुईटा कुरा गरेको छ । एउटा उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को, कार्यकारी पदमा लगातार दुईपटक भन्दा बेसी नहुने, डिस्कन्टिन्यु हुनुपर्छ भन्ने प्रावधान राखेको छ । लगातार दुईटा कार्यकारी पदमा बसेकाले दुई कार्यकालपछि निरन्तरता पाउनुहुँदैन भनेर हामीले लामो छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु ।’ पार्टी अध्यक्ष ओली ७४ वर्ष पूरा भइसक्नु भएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पोखरेल पनि ७३ वर्ष पूरा भइसक्नु भएको छ । एमालेको नवौंँ महाधिवेशनले लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने विधानमा प्रबन्ध गरेको थियो । २०७८ को विधान अधिवेशनले त्यो कुरालाई विधानमा समावेश गरेन । ७० वर्षे उमेरहदलाई भने निरन्तरता दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच