
काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भित्री तयारीमा जुट्नुभएको छ । प्रधानमन्त्री बनेको एक वर्ष पुग्नै लाग्दा ओलीले दिल्ली भ्रमणको तयारी गर्नुभएको हो । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार ओलीको भ्रमणका लागि भारतले ‘ग्रिन सिग्नल’ दिइसकेको छ । भ्रमणका लागि भारतले निमन्त्रणा पनि पठाएको छ । प्रधानमन्त्री ओली कहिले भारत जानुहुन्छ ? भन्नेबारे स्रोतले स्पष्ट खुलाउन चाहेन तर, चाँडै नै प्रधानमन्त्रीको भारत भ्रमण हुने स्रोतको दाबी छ । ‘भ्रमणका लागि दिल्लीबाट ‘सिग्नल’ आइसकेको छ,’ परराष्ट्र उच्च स्रोतले हिमालय टाइम्ससँग भन्यो, ‘कहिले जाने ? भन्ने अहिले नै फाइनल भइसकेको छैन । चाँडै दिल्ली भ्रमण हुनसक्छ ।’
यसअघि प्रधानमन्त्री बनेलगत्तै ओलीले दिल्ली जाने तयारी गर्नुभएको थियो । तर, भारतले ‘ग्रिन सिग्नल’ नदिएपछि उहाँ चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । चीन जानुअघि उहाँ थाइल्याण्ड र अमेरिकासमेत जानुभएको थियो ।
तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन गएर फर्केपछि भारतले ओलीलाई भ्रमणको ‘सिग्नल’ दिएको स्रोत बताउँछ । पूर्वराष्ट्रपति भण्डारी केही दिनअघि एमालेका नेतासहित चीन भ्रमणमा जानुभएको थियो । चीन भ्रमणबाट फर्केपछि उहाँले राजनीतिमा सक्रिय हुने संकेत गर्नुभएको छ । स्रोतका अनुसार चीनले भण्डारीलाई नेपालमा कम्युनिष्ट एक भएको हेर्न चाहेको र त्यो भण्डारीको नेतृत्वमा मात्रै सम्भव हुने सन्देश दिएको छ । चीनबाट फर्केपछि भण्डारीले आफ्नो सक्रियता पनि बढाउनुभएको छ ।
यसै सन्दर्भमा ओलीलाई भारतबाट भ्रमणको निम्तो आउनु अर्थपूर्ण भएको स्रोतको दाबी छ । ‘ओली प्रधानमन्त्री भएदेखि नै भारतले खासै चासो देखाएको थिएन,’ भारत मामिलाका जानकार एक परराष्ट्रविद्ले हिमालय टाइम्ससँग भन्नुभयो, ‘अहिले पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट फर्केपछि भारत भ्रमणको निम्तो आउनुलाई अर्थपूर्ण रूपमा हेर्नुपर्छ । सायद अब भारत ओलीसँग सम्बन्ध सुधार्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हुनुपर्छ ।’
चीनबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीले अब भारत भ्रमण गर्ने बताउनुभएको थियो । चीनको चार दिने भ्रमण सकेर फर्किँदा गत मंसिर २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताउनुभएको थियो । अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’
मोदीसँग दुईपटक भेट
भारत भ्रमणमा नगए पनि आलीले समकक्षी नरेन्द्र मोदीसँग भने दुईपटक भेटवार्ता गरिसक्नु भएको छ । प्रधानमन्त्री ओली र मोदीबीच पहिलोपटक गत असोज पहिलो साता न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको क्रममा न्युयोर्कमा उहाँहरूबीच भेटवार्ता भएको थियो । सो वार्ता दुई पक्षबीच करिब ४५ मिनेट चलेको थियो । चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग भएको यो नै पहिलो भेटवार्ता थियो । भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो । तर, अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओली भारत जानुभएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने तीनपटक भारत गइसक्नु भएको छ ।
त्यसपछि गत चैत २२ गते पनि ओलीले मोदीलाई भेट्नुभएको थियो । थाइल्याण्डको बैंककस्थित एक होटेलमा दुई प्रधानमन्त्रीबीच २५ मिनेट वान टु वान भेटवार्ता भएको थियो । थाइल्याण्डबाट फर्केपछि उहाँले भारतको औपचारिक भ्रमण बाहिर प्रचार गरिएजस्तो असम्भव नरहेको बताउनुभएको थियो । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किने क्रममा ओलीले विमानस्थलमा पत्रकार सम्मेलनमा भारत भ्रमण यसअघि पनि असम्भव नभएको र आगामी दिनमा पनि असम्भव नहुने बताउनुभएको थियो । ‘भारत भ्रमण तपाईंहरूले भनेजस्तो असम्भव थिएन । काँडेतार लगाएको छ र कसैले ?,’ उहाँले भन्नुभएको थियो, ‘हामी अलिकति व्यस्त छौँ । त्यसकारण हाम्रै तर्फबाट के हुनसक्छ । हामीले भ्याउँछौँ भन्यौँ भने हुन पनि सक्छ ।’
नेपालका प्रधानमन्त्रीले पहिले कुन देशको भ्रमण गर्ने ? भन्ने कुनै लिखित नियम छैन । तर, नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएलगत्तै पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने अघोषित चलनजस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ । २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्नुभएको थियो । त्यतिबेला उहाँको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो । तत्कालै प्रचण्डले प्रतिक्रिया दिँदै आफ्नो पहिलो औपचारिक भ्रमण भारतबाटै हुने बताउनुभएको थियो ।
परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको सचिवालय के भन्छ ?
तर, परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्रीको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गर्छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भ्रमणको निम्तो आए÷नआएको बारेमा प्रष्ट खुलाउन चाहनुभएन । उहाँले निम्तो आएको भए जानकारी दिइहाल्छौँ नि भन्ने घुमाउरो जवाफ दिनुभयो । ‘निम्तो आएको भए त जानकारी गराइहाल्छौँ नि,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो । तर, निम्तो आएको छैन हो ? भन्ने प्रश्नको उहाँले स्पष्ट जवाफ दिनुभएन । यो प्रश्नमा उहाँले माथिकै जवाफ दोहोर्याउनुभयो । ‘मैले भनेँ नि आएको भए जानकारी गराइहाल्थ्यौँ नि ।’
यसैगरी, प्रधानमन्त्री ओलीको सचिवालयले पनि भारतबाट भ्रमणको निम्तो आएको बारेमा खुलाउन चाहेन । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भ्रमणको निम्तो आएको बारेमा आफूलाई जानकारी नभएको जवाफ दिनुभयो । ‘भ्रमणको त्यस्तो केही छैन । केही सूचना आएको छैन । आएको भए परराष्ट्रमा थाहा होला,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच