
ढिकी बस्छ ढिकेटामा, जाँतो मझेरीमा
संस्कृत भाषाका मनीषीहरूले सिर्जनशीलतामा सबैभन्दा पहिलो अभिप्रेरक कुरो के हो भनेर धेरै घोरिए घमासान वाकयुद्ध पनि गरेर अन्त्यमा प्रतिभा, व्युत्पत्ति र अभ्यासमध्ये कुन प्रमुख हो भनेर घोत्लिँदा अन्त्यतः मानवीय प्रतिभा नै सबै कुराको मूल कुरो हो भन्ने निष्कर्षमा पुगेका भेटिन्छन् । अहिले नेपालमा नयाँ पुस्ता र पुराना पुस्ताका बीचमा पनि ठूलो द्वन्द्व सिर्जना भएको छ । २०३६/०३८ देखि देशको शीर्ष स्थानमा पुगेको एउटा वर्ग छ जो आफूलाई नै सर्वज्ञ र सर्वशक्तिवान् पनि ठान्दछ । समय र सभ्यता परिवर्तनशील हुन्छन् भन्ने कुरो आत्मसात गर्न नसक्ने अहिलेको नेपालका तीनवटा महाविद्वान्लाई गुरु मानेर पछि लाग्ने पनि यिनीहरू जस्तै महाविद्वान् बन्ने हुन् कि भन्ने डरले भने धेरैलाई समातेको हुनुपर्छ ।
यिनीहरू मात्र निर्देशन दिन जान्दछन् । यिनका दिलदिमागमा न कुनै सत्संकल्प छ न त देश र जनताको चिन्ता न करुणा छ तर जनताका अगाडि परेका बेला गोहीका आँसु देखाउन र आत्मकेन्द्रित नियमकानुन बनाएर स्वार्थको टपरी सोझ्याउन यिनलाई भस्मासुरले पनि सक्दैन । यिनीहरू ‘तँ बाहुन म बाहुन घरका पैसा कतै नजाउन्’ को नीतिमा निष्णात मानिन्छन् । एकजना महाविद्वान्को रङ, रूप र चालढाल बदल्ने कलामा छेपारो पनि लजाउँछ । अर्का सुप्रतिष्ठित विद्वान्को सत्ताका माछा समात्ने कलामा बकुल्लाको पनि केही लाग्दैन । खड्गभन्दा धारिलो जिब्रो भएका अर्का महाविद्वान्सँग चौंसठ्ठी कला विद्याकी अधिष्ठात्री देवी, जगत् स्रष्टा चतुर्मुखी ब्रहृमाले पनि हार्नुपर्छ बतासे गफ र तुक्का जोड्न भने अकबरे खोर्सानीभन्दा दुई–चार गुणा बढी नै राग पनि फैलाउँछन् ।
महादम्भी, जाली, असहिष्णु, हीनमनोग्रन्थिग्रस्त रोगी र हिंस्रक, मायावी लुटाहा सत्ता र शक्तिको प्राप्तिका निमित्त जे पनि गर्न तयार हुने दृढ जीवनचरित्र र शैली नै नभएका शासकका हातमा परेको यो हिमाली देश स्वतन्त्र भएर पनि भाइबाट लुटिने नियतिबाट कहिल्यै मुक्त नहुने अवस्थाको भूमरीमा फसेको देखिन्छ ।
यी तिनैजना भन्छन् अहिलेको नयाँ पुस्ताले गणतन्त्र बुझेन । नयाँ पुस्ताका कुरा सुन्दा तिनले देशदेशावर देखेका सुनेका र भोगेका पनि छन् । एउटा पुस्तक घोकेर पण्डित कहलाउने होइन कल्पनाशक्ति र निर्मातृक्षमताका कारणले उनीहरू विश्वका कुनै पनि देशमा गएर जीविका चलाउन सक्ने सीप र दक्षता भएका छन् । तिनले गणतन्त्र बुझेनन् भन्ने कुरो ठीक हो कि बुढागोरुले कोरली गाई ओगटे झैँ ओगटेर गाईको उर्बरक्षणलाई निरर्थक बनाएर सुकाउने थकाउने बुढा साँढे गलत अब सबैले निर्णय दिनैपर्छ । बुढा गोरुको भकारो खाली नगरे गाई ब्याउँदैन । मझेरीमा ढिकी राख्न मिल्दैन जसरी त्यसैगरी ढिकेटामा जाँतो राखेर काम चलाउन पनि सकिँदैन ।
युगको चाह युगकै राह
अहिलेका पुस्ताका समस्या हिजोअस्तिका मान्छेले बुझ्दैनन् । अतः आधुनिक परिवार सानो, छरितो र कर्मशील रहेको देखिन्छ । यसैगरी आधुनिक राज्यको नेतृत्व पनि आधुनिक युवकमा नै गयो भनेमात्र देश, समाज र व्यक्ति तथा व्यक्ति समूहले पनि आफ्ना कुरा भेट्न सक्छ । विकास निर्माणमा उत्साह, केही गरौं भन्ने हुट्हुटी हुनुपर्छ । त्यसो भएन भने अहिलेको नेपालको जस्तो हुन्छ । मान्छे उमेरले कलिलो हुन्छ र उमेरले नै वृद्ध हुन्छ भनिन्छ तर गम्भीरतापूर्वक सोच्दा यो कुरो सोरै आना सत्य होइन भन्न सकिन्छ । असल मान्छेका रूपमा चिनुन सबैले भन्ने दृढ धारणाले महान् बने बीपी भने गीतादर्शनप्रतिको अगाध आस्थाले गान्धी गान्धी बनेर प्रकट भए । कसैले चाहँदैमा र रहरले यी कुरा प्राप्त हुँदैनन् ।
समयको माग र आवश्यकता अनि व्यक्तिको सद्वृत्ति र निरन्तरको लगाव भएपछि मात्र यस्ता कुरा प्राप्त हुन्छन् । अहिलेका देश हँकुवा सम्पत्तिमा हिरिक्क हुने परे जसले गर्दा समाजमा बेथिति पैदा भयो । ट्रम्प ठूला व्यापारी नाफानोक्सान र सौदाबाजीमा नै रमाउने । पुटिन महाका क्रुर शुष्कहृदयी पदलिप्सु चतुर खेलाडी, नेतान्याहु चाहिँ दम्भी, बदलाको भावनाका पछि लाग्ने मत्ताहात्ती जस्तो प्रवृत्ति भएका । सि जिङ पिङ चतुर खेलाडी कट्टर कम्युनपन्थी यस प्रकारको विश्वका बीचमा चेपिएको हिमाली देश नेपाल पनि सत्ता, शक्ति, धन, पत्नी र अनुयायी भक्त सत्ता बकुल्लो, विवेक बुद्धिहीन ।
महादम्भी, जाली, असहिष्णु, हीनमनोग्रन्थिग्रस्त रोगी र हिंस्रक, मायावी लुटाहा सत्ता र शक्तिको प्राप्तिका निमित्त जे पनि गर्न तयार हुने दृढ जीवनचरित्र र शैली नै नभएका शासकका हातमा परेको यो हिमाली देश स्वतन्त्र भएर पनि भाइबाट लुटिने नियतिबाट कहिल्यै मुक्त नहुने अवस्थाको भुमरीमा फसेको देखिन्छ । जहिले पनि यस देशका नागरिक आफ्नै भाइबाट काटिए, लुटिए, थिचिए र कहिल्यै कुनै आएर मुक्ति दियो तर त्यो मुक्तिकार्य सहज विकास हुन सकेन । फेरि जाली छट्टु र चटकीका हातमा परेर जनता सधैं मदारीले पालेको चटक देखाउने साधन बनेको बाँनर जस्तै आज्ञाकारी बने । जनता देशका असल मालिक बन्नै सकेनन् ।
जनतालाई नै सर्वोच्च शक्तिवान् बनाएर समानता, स्वतन्त्रता र विश्वभ्रातृताका मूल्यमा आधृत सिद्धान्त भएको सावधिक निर्वाचन पद्धति मदारीको डमरु बनेको देखियो । यसरी युगको चाह अनुसारको राह देश र जनताले पाएनन् । यसमा सबैभन्दा दोषी युवापुस्ता छ । हाम्रा युवकका शरीरमा रगत होइन पानी बग्दोरहेछ भन्न म किन पनि विवश छु भने भ्रष्टले नियुक्त गरेको अर्को भ्रष्टले भ्रष्टलाई जोगाउँछ कि कारबाही गर्छ ? बिरालाले दूधको रक्षा गर्छ भनेर हाम्रा युवाहरू विश्वास गर्छन् र बिरालो गायत्री जपेर जीवन गुमाउँछन् ।
जबसम्म युवकमा उन्मुक्तिको भोक लाग्दैन, केही गरूँ भन्ने छट्पटीले काउछाले शरीर चिलाए जस्तो गरी युवकहरू बेचयन भएर देशनिर्माण र नवपरिवर्तनको मार्गान्वेषणमा लाग्दैनन् तबसम्म कुनै पनि देशमा परिवर्तन र नवप्रवर्तन भएको देखिएको छैन । जो आसलाग्दो त्यही जेठाजु पर्दो भएको छ । अहिलेका शासक निकम्मा निर्देशन दिने तर पालन भए नभएको अनुगमनसम्म गर्न गराउन नजान्ने छन् ।
म र मेरा ठाउँमा हाम्रो र हामी
दलको जन्म नै म र मेरा ठाउँमा हाम्रो र हामी भन्ने भावनाबाट अभिप्रेरित भएका मान्छेबाट म, मेरो भन्ने पद्धतिका विरुद्ध लाग्ने मनोवृत्तिबाट भएको हो । संसारमा धेरै राजा थिए जो म र मेरोमात्रै भन्थे । यसका विरुद्ध हामी, हाम्रो भन्नेहरूको जमात खडा भएर यत्रा गर्दै आउँदा आजको अवस्थामा विश्व आइपुगेको देखिन्छ । हामी र हाम्रा भन्ने नै म र मेरा भन्नेमा परिणत भएपछिको स्वरूप कति विभत्स, कति विद्रूप र कति घिनलाग्दो हुँदोरहेछ आज युक्रेन र रुस, इजरायल र हमास, अमेरिका र चीनका क्रियाकलापले विश्वमा प्रदर्शन गरेका छन् ।
दाजु-भाउजू र प्रधानमन्त्रीका लागि पर्दा लाउँदा आफ्नो चरित्र बरवाद भयो भने ? भनेर सांसदले संसद्मा नै गृहमन्त्रीलाई सोधिसके । अहिलेको एमालेको खिचलाले राष्ट्रपतिको गरिमा छाडेर राजनीतिको मैदानमा आउने स्त्रीहठ प्रदर्शित भएको पनि देखियो । अरू सबैको संगत र विश्वास गरे पनि ‘कू’ मान्छेको कहिल्यै नगर्नु ।
निश्चित अवधिमा जनताले निश्चित अवधिका लागि शासन संयन्त्रमा आफ्ना प्रतिनिधि पठाउने पद्धति नै आजसम्मको मानव मस्तिष्कले निर्माण गरेको सर्वोत्तम पद्धति हो तर यसमा विकृति आएर नेपालका महिषासुर जन्मेका देखिन्छन् । हामी र हाम्रो कुरो छाडेर म, मेरोमा रूपान्तरण नै त कृष्ण र कंस, राम र रावण बेन र ऋषि समूह, परशुराम र कार्तवीर्यका बीचको विभेदक चिहृन हो । यही विभेद राजा महेन्द्र र बीपीका बीचमा पनि रहेको थियो । बीपीकै कित्तामा थिए मनमोहन अधिकारी र पुष्पलाल पनि तर आज बीपीका अनुयायी र मनमोहन तथा पुष्पलालका अनुयायी बिस्तारै संक्रमित हुँदाहुँदै ज्ञानेन्द्रका रूपमा परिणत भएर दिँदा नखाने राति कोल चाट्ने बन्न लागेका छन् ।
ज्ञानेन्द्रका नाममा अपुताली दिएकै थियो त नेपाली जनताले त्यसलाई थेगेर खान नसक्ने अहिले जोगी सन्न्यासीले सिकाएका कुरा निर्मल निवासमा बसेर समय सकिएका केही पात्र खोजेर सडकमा नौटंकी प्रदर्शन गरिरहेका छन् । त्यस्तै नेपालका वामहरू पनि छट्पटाएर बतुराउन लागेका छन् । आत्मविश्वास गुमेका यस्ता व्यक्तिहरू आज नेपालमा बहुलवादी कित्तामा पनि र मवादी कित्तामा पनि देखिएका छन् । बहुलवादको शब्दै सुन्न नसक्ने माओवादी पनि बहुलवादका पहरेदार बनेर देखिएका बेला हिजो आफ्नो राजनीतिक दर्शन भनेर मान्छे काटेर सजाय भोगेर आएका चाहिँ अति असहिष्णु बनेर दलै सिध्याउन उद्यत् रहेका छन् ।
भागबण्डाको प्रधानमन्त्री बन्ने अनि जताततै आफ्ना मान्छे भर्नका लागि षड्यन्त्र गर्ने यिनको तल्लो तहको बानीले गर्दा नबेलामा राष्ट्र बैंकले गभरनर पायो न त विश्वविद्यालयले पदाधिकारी पाएका छन् । सत्ता साझेदार दल कांग्रेस पनि आफ्ना नाकको सिँगान पुछेको हो कि नाकै काटेको हो भन्ने छुट्याउन नसक्नेका हातको नेतृत्वका कारण उनलाई स्वर्ण मोहोरा हातमा परेको छ । धान खाने मुसो चोट पाउने भ्यागुतो भन्ने उखानको पात्र बनाएर सच्चरित्रवान् गृहमन्त्रीको राजनीतिक जीवन नै संकटमा धकेल्दै छन् ।
योगी नरहरिनाथले राजा वीरेन्द्रलाई भनेका थिए ‘सक्छौ छाता आफैं ओढ, अर्काले ओढाएको छाता उसैले लग्यो भने के गर्छौ ?’ । दाजु-भाउजू र प्रधानमन्त्रीका लागि पर्दा लाउँदा आफ्नो चरित्र बरवाद भयो भने ? भनेर सांसदले संसदमा नै गृहमन्त्रीलाई सोधिसके । अहिलेको एमालेको खिचलाले राष्ट्रपतिको गरिमा छाडेर राजनीतिको मैदानमा आउने स्त्रीहठ प्रदर्शित भएको पनि देखियो । अरू सबैको संगत र विश्वास गरे पनि ‘कू’ मान्छेको कहिल्यै नगर्नु ।
मानव र दानवको विभेद हराओस्
नेपालको इतिहासमा अहिले भएका प्रधानमन्त्री जुन–जुन बेला यो देशको प्रधानमन्त्री भए त्यस त्यसबेला कर्तव्य र अकर्तव्यको रेखा मेटिएको थियो । भोलि यिनको पालो सकिएपछि हुनेवालाका पहिले पहिलेका पालामा पनि हुने नहुने, गर्न मिल्ने नमिल्ने भन्ने शब्दावली शब्दकोशमा मात्र सीमित भएका थिए । हुने त भोलि पनि त्यही नै हो । मानवका ठाउँमा दानव पुग्नेछन् । दानवलाई मानवमात्र होइन देव नै बनाउन पनि सक्ने बहादुर भनेका नेपालका यिनै दुई प्रधानमन्त्री हुन् । यस्ता प्रभावशाली प्रधानमन्त्रीको जय होस् भन्ने कामना म पनि गर्दछु किनभने उहाँहरूका पालामा धनार्थीले धन पाउँछन्, स्त्रीयार्थीले पनि मनोहारिणी पाउँछन् त्यतिमात्र होइन साधुलाई शूली र चोरलाई चौतारो दिनसक्ने सामथ्र्य उहाँहरूमा मात्र रहेको मानिन्छ ।
नेपाली राजनीतिक वृत्तमा उहाँहरू अवतार पुरुष हुनुहुन्छ । बाँकी सबै विलाप पुरुष भएका हुनाले आगामी २०८४ सालको आमचुनावमा पनि दुई चोक्टा मासु र हरिया दुई-चारवटा नोटमा आफूलाई पाँच वर्षसम्म नुनिलो न्यानो आँसुका दहमा पौडी खेल्ने अवसरबाट कुनै पनि मतदाताले वञ्चित नगरून् भन्ने कामना पनि गर्दछु । चुनावबाटै आएका नेपोलियन बोनापार्ट र हिटलरलाई बिर्साउन सक्ने अरू मान्छे छन् भने पनि प्रमाणित भएको देखिँदैन । आफ्नै मन्त्रीको कलेजो खाने युगान्डाका एक समयका राष्ट्रपतिले देश र जनताका लागिभन्दा आफू र आफन्तका लागि जे गरेका थिए त्यसभन्दा दुई–चार कदम अगाडि बढेर काम गर्नसक्ने उहाँहरू जस्ता महापुरुषको जयजयकार गर्दै आज यो कचकचे कलम बन्द गर्छु है प्रभो !!!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच