म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको संगम स्थलमा अवस्थित म्याग्दीको सदरमुकाम बेनीमा रिङरोड स्तरोन्नति आयोजना निर्माण पूरा भएको छ । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बेनी बजारलाई सुरक्षित राख्न निर्माण गरिएको काउण्टर फोर्ड प्रविधिको आरसिसि तटवन्ध माथि ढलान गरी रिङरोड बनाइए पछि बेनी बजार सुरक्षित र चिटिक्क देखिएको छ ।
नेपाल सरकारले देशभरी १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रम अन्तर्गत बेनी नगरपालिका पनि एक हो । सो कार्यक्रमका लागि बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरेको र सरकारको रु तीन करोड १९ लाख बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले विकेश दुप्चेश्वर सुभम जेभीसँग ठेक्का सम्झौता गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
बेनी नगरपालिका– ८, कालीपुलस्थित कालीगण्डकी पक्की मोटरेबल पुलदेखि अगाडि दोभानसम्म कालीगण्डकीको किनार र दोभानदेखि अगाडी खुलामञ्चको पश्चिमतर्फ बहुउद्धेश्यीय मैदानको छेउसम्म नौ सय मिटर लम्वाई र पाँचदेखि छ मिटर चौढाईमा नालीसहित सडक ढलान भएको छ ।
बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार रिङरोड बनेपछि सवारी साधनलाई आवागमन गर्न सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारी साधनको चाप घट्नुका साथै दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले बताउनुभयो ।
बाढीको उच्च जोखिम युक्त जिल्ला सदरमुकाम बेनी बजार संरक्षणका लागि आरसिसी तथा मेशिनरी तटवन्ध निर्माणको काम अहिलेपनि जारी छ ।
२०७३ सालमा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेको थियो ।
२०७२ सालमा कालीगण्डकी किनारमा एक करोड ८८ लाखको लागतमा १२४.५ मिटर र त्योभन्दा अघिल्लो वर्ष ६३ मिटर पक्की पर्खाल निर्माण भएको थियो । सिँचाइ मन्त्रालयले बेनी बजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको थियो । बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ ।
कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की पर्खाल लगाउने गरी सञ्चालन भएको बहुवर्षे योजना अन्तर्गत म्याग्दी नदी र कालीगण्डकी नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गरिएको नगरप्रमुख केसीको भनाइ छ ।
काली गण्डकी र म्याग्दीको संगम स्थलमा अवस्थित बेनी बजार १७ औं शताब्दीमा वस्ती विस्तार भएको बजार हो । इतिहास चन्द्रप्रकाश बानियाँका अनुसार विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भएपछि पर्वत राज्यका सातौं राजा मलेबम मल्लले पर्वत राज्यको मुकाम (राजधानी) बेनीमा सारे पछि व्यवसायिक यात्राको सुरुआत र वस्ती विस्तार भएको बानियाँले आफ्ना कृतिमा उल्लेख गर्नुभएको छ ।
अन्नपूर्ण सर्किटको एक प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाण्डौंदेखि करिब तीन सय किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण,धौलागिरी, नीलगिरी, चुरैन, मानापाथी र गुर्जा सहित एक दर्जन भन्दा बढी हिमश्रृङ्खलाहरु देख्न सकिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि