
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको योगदानको स्मरणमा आगामी असार १४ गते शनिबार पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस हुने भएको छ । वीर गणेशमान सिंह फाउण्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा हुने रोड रेसमा यस वर्ष ४५० बढीले भाग लिने वीर गणेशमान सिंह फाउण्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंहले बताउनुभयो ।
प्रतियोगिता दरबारमार्गबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, केशर महल, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, नक्साल, जय नेपाल हुँदै पुनः दरबारमार्गमै समाप्त हुनेछ । प्रतियोगिता संयोजक तथा वीर गणेशमान सिंह फाउण्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंहले जानकारी गराएअनुसार, १० किलोमिटर रोड रेस महिला र पुरुष दुवैतर्फ खुला प्रतिस्पर्धा हुनेछ । वीर गणेशमान सिंह स्पोट्र्स कमिटीका संयोजक सञ्जीव तुलाधरले विजेता महिला र पुरुष दुवैले समान ६० हजार नगद पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।
त्यस्तै, प्रतियोगितामा दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दौडमा १० किलोमिटरको कोर्स रेकर्ड कायम गर्ने खेलाडीलाई थप १० हजार नगद प्रदान गरिने तुलाधरले जानकारी दिनुभयो । उहाँले यो प्रोत्साहनले धावकहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
संयोजक तुलाधरले आगामी दिनमा यस प्रतियोगितालाई अझ बृहत् बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने योजना रहेको बताउनुभयो । उहाँले नेपालमा एथलेटिक्सको विकासमा यस रोड रेसले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।
हाल महिलातर्फ राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको १० किलोमिटर कोर्स रेकर्ड रहेको छ । यस प्रतियोगिताका लागि करिब १५ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।
‘वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस नेपाली खेलकुद क्यालेण्डरको एक महत्वपूर्ण इभेन्ट बन्दै आएको छ । यसले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरमात्र दिएको छैन स्वस्थ जीवनशैलीका लागि पनि प्रेरित गरेको छ,’ तुलाधरले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच