
काठमाडौं । ‘डेब्यु’ खेलमा नै नन्दन यादवले उत्कृष्ट बलिङ गरेपछि आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ । किफायती बलिङ आक्रमणमा उत्रिएको नेपालले सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सलाई १६ रनले हराएको हो ।
शृंखलामा यो नेपालको तेस्रो जित हो भने नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको छ । पहिलो खेलमा पनि नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलब २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन र सन्दीप यादवले तीन÷तीन विकेट लिनुभयो । नन्दनले ९ ओभरमा एक मेडन राख्दै ३९ रन खर्चेर ३ विकेट लिनुभयो ।
नेदरल्याण्ड्सका वेस्ली बारेसीले ६० बलमा सर्वाधिक ३६ रन जोड्नुभयो । दोस्रो विकेटका लागि बारेसी र माइकल लेभिटले ५० बलमा ४१ रनको साझेदारी गर्नुभएको थियो । लेभिटले २७ बलमा २७ रन जोड्नुभयो । कप्तान स्कट एडवार्डस ४७ बलमा ३० रनमा आउट हुनुभयो । कप्तान एडवार्डसले तेजा निदामानिरुसँग मिलेर पाँचौं विकेटका लागि २९ रनको साझेदारी गर्नुभएको थियो । निदामानिरु ३६ बलमा १७ रनमा आउट हुनुभयो । नोहा क्रोसले २७ बलमा २२ रन जोड्नुभयो । क्रोसले सातौं विकेटका लागि काइल क्लेनसँग मिलेर ३७ रनको साझेदारी गर्नुभएको थियो । क्लेनले ४६ बलमा २५ रन जोड्नुभयो । क्लेनसँग रोलेफ भान मिर्वोले आठौं विकेटका लागि ३१ रनको साझेदारी गर्नुभएको थियो । मिर्वो २२ बलमा १६ रनमा आउट हुनुभयो ।
स्कटल्याण्डको डन्डीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । नेपालका आरिफले अर्धशतकीय इनिङ खेल्नुभयो । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रनको योगदान गर्नुभयो । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो । आरिफले गत साता पनि नेदरल्याण्ड्ससँगको खेलमा अर्धशतक प्रहार गर्नुभएको थियो । आरिफ ‘प्लेयर अफ द म्याच’ हुनुभयो ।
भीम सार्कीले ३८ बलमा ३५ रन बनाउनुभयो । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको साझेदारी गर्नुभएको थियो । रोहित र भीम माइकल लेभिटको बलमा आउट हुनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा १६ रन जोड्नुभयो । सिरिजको अन्तिम खेलमा मौका पाउनुभएका बसिर अहमदले २५ बलमा ११ रन बनाउनुभयो । करण केसी १९ बलमा ११ रनमा आउट हुँदा नन्दन यादव १० रनमा अविजित रहनुभयो । नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गर्नुभयो । दोस्रो विकेटका रूपमा १६ बल सामना गर्नुभएका अनिल साह २ रनमा आउट हुनुभयो ।
नेदरल्याण्ड्सले १० रन पेनाल्टी स्वरूप पाएको थियो । दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाएको थियो । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिनुभयो ।
त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले चारमध्ये तीन खेल जितेको छ । नेपाल आठ राष्ट्र सहभागी लिग टुमा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत् छ । १९ खेलबाट २४ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा छ । लिग-२ मा प्रत्येक टोलीले कुल ९ शृंखलामा ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।
नेपालले अब अक्टोबरमा संयुक्त अरब इमिरेट्स (युएई)मा आफ्नो पाँचौं शृंखला खेल्नेछ । जहाँ नेपालले घरेलु टोलीसँगै संयुक्त राज्य अमेरिकासँग खेल्नेछ । युएई १६ खेलमा ६ अंक जोड्दै तालिकाको पुछारमा छ भने संयुक्त राज्य अमेरिका २० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा छ ।
डेब्युमै सानदार प्रदर्शन
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय शृंखलाका लागि नन्दन यादव दोस्रोपटक नेपाली टोलीमा समावेश हुनुभएको थियो । यसअघि पनि टिममा पर्नुभएका तर मौका नपाउनुभएका नन्दनले केही महिनाअघि मात्र हङकङमा भएको टी-२०आई शृंखलामार्फत् राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । तर, एकदिवसीयमा भने मौका पाउनुभएको थिएन । यस शृंखलामा पनि उहाँले एकदिवसीय डेब्युका लागि अझै पर्खनुपर्ने अवस्था लगभग निश्चितजस्तै थियो । तर, प्रशिक्षणका क्रममा मुख्य पेस बलर सोमपाल कामीलाई चोट लागेपछि मंगलबारको खेलमा नन्दनले डेब्युको मौका पाउनुभयो । नेपाली बेन्चमा नन्दनबाहेक अर्का पेस बलर रिजन ढकालमात्र रहनुभएको थियो जसले यो शृंखलाको पहिलो खेलमात्र खेल्नुभएको थियो । उहाँलाई बेन्चमै राखेर प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई डेब्युको मौका दिनुभयो । नन्दनले पनि पाएको मौकामा आफूलाई अब्बल साबित गर्दै नेदरल्याण्ड्सविरुद्ध तीन विकेट लिनुभयो । उहाँको बलिङ फिगर पनि सानदार थियो ।
नन्दनले नौ ओभरमा एक मेडनसहित ३९ रन दिएर तीन विकेट लिनुभयो । यो नेपालका लागि ओडिआई डेब्युमा उत्कृष्ट बलिङ प्रदर्शनमध्येको एक हो । नन्दन यादव डेब्यु ओडिआई खेलमा नै उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीको सूचीमा चौथो नम्बरमा हुनुहुन्छ । सबैभन्दा उत्कृष्ट प्रदर्शन भने पारस खड्काको नाममा छ । त्यस्तै, सुशान भारीले र सोमपाल कामीले डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
अम्पायरले किन नेपाललाई १० पेनाल्टी रन लगाए ?
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्याण्ड्सविरुद्ध अम्पायरले नेपाललाई १० पेनाल्टी रन लगाएपछि यो विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ । दोस्रो इनिङमा नेपालबाट पहिलो ओभर बलिङका निम्ति आउनुभएका करण केसीले मेडन ओभर फ्याँक्नुभयो । तर, त्यसअघि नै अम्पायरले नेदरल्याण्ड्सलाई १० पेनाल्टी रन दिएकाले ओभर मेडन भए पनि स्कोरबोर्डमा डच टिमले पहिलो बलअगावै १० रन जोडेको थियो ।
खेलको पहिलो इनिङमा नेपालका मध्यक्रम ब्याटर बसिर अहमदले पिचलाई असर पुर्याएको भन्दै अम्पायरले नेदरल्याण्ड्सलाई १० रन दिएका थिए । १० रन दिनुमा अम्पायरले बसिर खेलको ३६.३ र ३९.२ ओभरमा दुईपटक पिचमा सोझै दौडिएको कारण देखाएका थिए । बसिरका कारण पिचको स्वाभाविक प्रकृतिलाई असर पुगेको भन्दै अम्पायरले यी दुई घटनामा समान पाँच पेनाल्टी रन डच टिमलाई प्रदान गरे । यसैकारण दोस्रो इनिङमा नेदरल्याण्ड्सले स्कोरबोर्डमा १० रनसहित ब्याटिङ सुरु गरेको थियो ।
एमसिसीको क्रिकेट नियमअन्तर्गतको नियम ४१/१४/१ मा पिचलाई क्षति पुर्याउने ब्याटरबारे उल्लेख गरिएको छ । जसअनुसार ‘पिचलाई जानाजानी वा रोक्न सकिने क्षति पुर्याउनु अनुचित हो । यदि स्ट्राइकर बल खेल्दा वा खेल्दै संरक्षित क्षेत्रमा प्रवेश गर्छ भने ऊ तुरुन्तै त्यहाँबाट सर्नुपर्छ । यदि कुनै पनि अम्पायरले पिचमा उसको उपस्थिति उचित कारणबिना नै हो भन्ने ठान्यो भने ब्याटरले टार्न सकिने क्षति पु¥याएको मानिनेछ ।’
यस्तो अवस्थामा ब्याटिङ टोलीले रन लिन दौडिए अम्पायरले त्यसलाई खारेज गर्न सक्नेछन् । ‘बलरको छेउमा रहेको अम्पायरले ब्याटिङ पक्षलाई सबै रन दिन अस्वीकार गर्नेछ, कुनै पनि नटआउट ब्याटरलाई उसको पहिलेकै छेउमा फर्काउनेछ, लागू गर्न सकिने भएमा स्कोररहरूलाई नो बल वा वाइडको संकेत दिनेछ, फिल्डिङ पक्षलाई पाँच पेनाल्टी रन दिनेछ, लागू हुने अन्य कुनै पनि पाँच रनको पेनाल्टी दिनेछ, फिल्डिङ पक्षको कप्तानलाई जानकारी गराउनेछ र सम्भव भएसम्म ब्याटिङ पक्षको कप्तानलाई यो कार्यको कारणका बारेमा जानकारी दिनेछ,’ एमसिसी क्रिकेट नियममा उल्लेख छ ।
पेनाल्टी रनका बाबजुद नेदरल्याण्ड्सलाई नेपालले १६ रनले पराजित गर्यो । यो लिग-२ मा नेपालको पाँचौँ जित हो । जितसँगै नेपालले १६ खेलबाट १२ अंक जोडेको छ । नेपाल तालिकाको सातौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच