
काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यावहारिक जीवनसँग जोड्दै विद्यार्थीमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता सुरु गरेको छ । यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा(एसइई) दिएका विद्यार्थीका लागि मात्र खुला गरिएको आयोजकले जनाएकोे छ । विद्यार्थीहरूले आफ्नो सिर्जनामा आधारित वेबसाइट तयार गरी जेठको अन्तिम साताभित्र बुझाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ ।
लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलका अनुसार प्रतियोगिता केवल वेबसाइट बनाउने अभ्यासमात्र नभई जीवन बनाउने प्लेटफर्म हो । उहाँले भन्नुभयो, ‘हामी यो कार्यक्रममार्फत् विद्यार्थीलाई किताबको पानामात्र होइन, व्यवहारको प्लेटफर्ममा लैजान चाहन्छौँ, सूचना प्रविधि सिक्नु एउटा सीप हो तर त्यसलाई प्रयोग गरेर सोच बदल्नु दृष्टिकोण हो । हामी त्यो दृष्टिकोण दिन चाहन्छौं ।’
कार्यक्रम संयोजक लक्ष्मी खत्रीले प्रतियोगिता केवल कम्प्युटर चलाउने कुरामात्र नभई विद्यार्थीले वेबसाइट बनाउने सीपसँगै आफ्नो सोच प्रस्तुत गर्न सक्ने आत्मविश्वास र सार्वजनिक प्रस्तुतीकरणको अभ्यास पनि सिक्ने बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्राविधिक अभिमुखीकरण तालिम, मार्गदर्शन सामग्री र युनिक कोड प्रदान गरिनेछ, जसका माध्यमबाट मूल्यांकन सहज र पारदर्शी तरिकाले गरिनेछ । प्रतियोगितामा पठाइएका वेबसाइटमध्येबाट उत्कृष्ट २० विद्यार्थी छनोट गरिनेछन्, जसबाट अन्ततः एकजनालाई मुख्य विजेता घोषणा गरिनेछ । विजेतालाई ल्यापटप प्रदान गरिनेछ भने अन्य उत्कृष्ट स्थान प्राप्त गर्नेलाई पेन्ड्राइभ तथा अन्य सूचना प्रविधिसम्बन्धी सामग्री पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।
लाइफ कम्प्युटरले २०६८ सालदेखि सूचना प्रविधि क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ भने वेबसाइट निर्माण प्रतियोगिता २०७४ सालदेखि सञ्चालन गर्दै आएको हो । कम्पनीका अनुसार गत वर्ष सम्पन्न सिजन ६ मा देशभरका विभिन्न जिल्लाबाट एक हजार एक सय दुई जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा हिमालयन एकेडेमी सामाखुसीका विद्यार्थी योगेश स्माली मुख्य विजेता बन्नुभएको थियो । प्रतियोगितामा सहभागी हुन विद्यार्थीले लाइफ कम्प्युटरको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरी वा अनलाइन माध्यमबाट आवश्यक जानकारी लिएर सहभागिता जनाउन सक्ने बताइएको छ । एसइई दिएर भविष्यको बाटो खोजिरहेका विद्यार्थीका लागि प्रतियोगिता एउटा अवसरमात्र नभई नयाँ सम्भावनाको ढोका भएको कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच